अप्रिल ७ मा फर्कने टिकट लिएर मार्च ६ मा नेपालको यात्रा गरें । अप्रिल सम्म त केही हुन्न होला गएर आइहाल्छु नि भन्ने कुरामा विश्वस्त थिए । नेपालमै रमाइराखेकी थिएं । तर विस्तारै सबै देशमा कोरोना तिब्र रुपमा फैलिरहेको हुँदा हवाई सेवा पनि बन्द हुन पुग्यो । त्यसपछि नेपाल बसाई निकै कष्टकर बन्न पुग्यो । जापानमा स्कुल पनि छिट्टै सुरु हुने क्रममा थियो तर मेरो जापान फर्कने कुनै टुंगा थिएन । आफ्नो देशमा आफ्नै मान्छेहरुसँगै हुँदा पनि म खुसी थिईन । किनकी मेरो भविष्य अनि भविष्यप्रतिको सपनाको योजना सबै जापानसँग जोडिएको थियो । त्यतीबेला आफु नेपाली हुनुमापनि धेरै दया लागेर आएको थियो । म मात्र होइन त्यतिबेला म जस्तै तनावमा धेरै जना हुनुहुन्थ्यो ।
१ दिन स्कुल संचालन पछि जापानमा पनि कोरोनाको कारण आपतकाल अवस्था सुरु भएको कारण स्कुलहरु पनि बन्द हुने खवर सुनें । त्यो दिन म धेरै खुसी भएकी थिएं । किनभने काम गर्न नपाएपनि पढाई नछुटोस् भन्ने चाहना थियो । विस्तारै नेपालबाट जापान आउनको लागि चार्टर उडानको व्यवस्था हुन थाल्यो । टिकट पाउन सारै गाह्रो, कुन ट्राभल र एजेन्सीले गरिरहेको छ थाहा पाउन नि मुस्किल हुन्थ्यो । फोन गर्यो फोन नउठाउने, धेरै अफ्टेरो थियो । एउटा ट्राभल एजेन्सीको गलत सूचनाको कारण मैले एउटा फ्लाईट गुमाउन पुगेको कुरा विर्सन नसक्ने थियो ।
जापान समाचारका सम्पादक गोकर्ण अधिकारी जि सँग फेसबुकमा भेट भयो र सिटि कनेक्ट ट्राभलकी श्रीसु आचार्यको सहयोगबाट जुन ४ को जापानको लागि टिकट काटें । यसमा गोकर्ण जी र श्रीसु दिदी प्रति धेरै आधारी छु ।
टिकट त काटे अब जापान फर्केपछि के गर्ने, ३ महिना पछाडी परेकी छु भनेर गम्भिर सोचमा परें । तर घरको भाडा, विजुली, पानीको पैसा सबै साथिहरुले तिरिदिएका थिए । साथिहरुले पनि बारम्बार फोन गर्दै राम्रोसँग आउ पैसाको पिर नगर हामी छौ नि भनेर भन्दा मन शान्त अनि बलियो भएको थियो । त्यतिबेलाको मिठो सहयोगको लागि शिखा दिदी, मालती अनि समिक्षा हरुप्रति धेरै आभारी छु । तिमिहरुले देखाएको असल मित्रता म कहिल्यै विर्सने छैन ।
३ महिनाको नेपाल बसाईपछि जसोतसो जापान आएं । त्यसपछिको १४ दिनको क्वारिन्टिन साथीहरुसँगै टिकटक अनि स्कुलको छुटेको गृहकार्य गर्दा गर्दै सकियो ।
२ बर्षे कोर्ष ढिलै भएपनि सुरु भयो । म नेपालबाट सुरक्षित आएको कारण साथिहरु, शिक्षक, शिक्षिकाहरु अनि काम गर्ने ठाउँका सबै व्यक्तिहरु खुशी थिए । म झन धेरै खुशी थिएं ।
पढाई विस्तारै कडा हुँदै थियो । प्राक्टिकल अनि त्यसपछिको खाइगोको राष्ट्रिय परीक्षा सोच्दा पनि डर लागेर आउँथ्यो ।
१ महिने प्राक्टिकल स्कुलमा कोरोना भेटिएपछि विचैमा रोकियो । कोरोना अनि पढाइको कारण काम पनि थिएन । काम नभएपछि दाम त नहुने नै भयो । साथिहरुसँग सहयोग मागौं भनेपनि साथिहरु सबैजना आ आफ्नै समस्यामा थिए । पैसा नभएकै कारण धेरै कुरामा कटौती गर्न थालें । खान मन लागेको अनि लगाउन मन लागेको सबै आफ्ना ईच्छाहरुलाई मारेर अगाडी बढिरहें ।
यतिसम्म कि पैसा बचाउनको लागि सस्तो बस अनि बिच बाटोमा झेरर हिँड्दै फर्कन पनि सुरु गरें । सेलमा राखेको तरकारी अनि जे जे सस्तो छ जसरी सस्तो जिवन जीउन सकिन्छ हरपल कोशिस गरिराखें । घरमा पनि कसरी माग्नु, पैसा छैन होला पठाईदिनुपर्छ भनेर त सोध्नुहुन्थ्यो तर कसरी छैन भन्ने सँधैभरी छ पर्दैन भनेर फोन राख्थें अनि भक्कानिएको मनलाई जसोतसो सम्हाल्थें ।
आखिर यो मेरो मात्र समस्या होइन, सबैलाई यस्तै त होला भनेर मन बुझाउथें । आफ्नो मनमा धेरै पिडा, दुःख हुँदा पनि नक्कली हाँसोको साथ धेरै संघर्ष गरेको दिन सम्झंदा पनि कहाली लागेर आउँछ अहिले ।
भनिन्छ नि मनको खुशी हुनुपर्छ सपना त सबै कहाँ पुरा हुन्छ र भनेर तर सहि समयमा सहि निर्णय गरेर हरबखत संघर्ष गर्ने मान्छे जो कोहीले पनि आफ्नो सपना पुरा गर्न सक्छ यसमा धैर्यता र अठोट चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई । जनवरी ३१ मा खाइगोको राष्ट्रिय परीक्षा दिएको थिएं । नतिजा मार्च २६ मा आयो ।
एक लेभलको पढाईको संघर्ष अब सकियो । अब काम हो, अहिले आरुवाइतो गरिरहेको ठाउँमा सिउसोकु पनि फिक्स भइसकेको छ तर काम त्यति सजिलो छैन, यद्यपी मलाई साह्रै मन पर्ने काम भएकाले कडा मेहनतको काम भएपनि काम गर्दा सारै आनन्द लाग्छ । जिम्मेवारीहरु पनि धेरै हुनेछ अब र त्यो पनि राम्रोसँग पुरा गर्न मेहनत गरिरहेको छु ।
जापान बसाईको क्रममा मैले आफ्नो देशको कुराहरु, आफ्नो मान्छेहरुको माया पाएं, धेरै आफ्नो मान्छेहरु पनि गुमाए भने जापानबाट पनि धेरै कुराहरु पाएकी छु । एकदिन मर्नको लागि नमरुन्जेल धेरै दुःख गर्नुपर्ने मानव जीवन सोच्दा आफैंलाई अचम्म लाग्छ । त्यसैले आफैंले आफ्नो बाटो बनाउ कसैसँग मनमुटाव नगरी मिलेर आफ्नो सपना र र लक्ष्य पुरा गर्न तर्फ लागौं । जीवनमा सँधै अँध्यारो वा दुःख मात्र हुँदैनन्, अँध्यारोपछिको उज्यालो पनि आउँछ र त्यो अँध्यारो चिरेपछिको उज्यालो धेरै प्यारो हुँदो रहेछ । जुन मार्च २६ को खाइगोको राम्रो नतिजाले मलाई दिलाएको छ ।
'जापानमा पढ्नकै लागि पेट भोको राख्नुपर्ने दु:ख भोगें'