(Japan) 18 th April | 2024 | Thursday | 12:05:50 PM || (Nepal) 8:50:50 AM
 
 


'जापानमा पढ्नकै लागि पेट भोको राख्नुपर्ने दु:ख भोगें'

Sangita Bista   POSTED ON : Monday, 29 March, 2021 | Views : 9146

'जापानमा पढ्नकै लागि पेट भोको राख्नुपर्ने दु:ख भोगें'


आफ्नै देशमा दुःख सुख गरी जीवन विताउने सोचाईमा नेपालमै संघर्ष गरिरहेको थिएं । २०१५ अप्रिलको फुईंचालोको कारण बेरोजगार अवस्थामा पुगें । त्यसपछि पनि नेपालमै अर्को जागीरको खोजी गरे । आफुले पनि खोजें र आफुले चिने जानेको अग्रज व्यक्तिहरुलाई पनि हार गुहार गरें तर जागीर पाउन सकिन । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो खुट्टामा आफैं उभिनुपर्छ भन्ने सोचाईमा हुर्केको भएर होला एउटा सामान्य गृहणी भएर पटक्कै बस्न पनि मन लागेन ।

त्यतिकै दिनहरु वित्दै थिए । जापान जान अरु देशभन्दा सजिलो हुने र सामान्य भाषा पढेमात्र पनि जापानको भिषा लाग्छ भन्ने कुरा धेरैले सुनाए । आफ्नो परिवारसँग सल्लाह पछि जापानी भाषा पढें र ३/४ महिना पछि जापानको भिषा पनि लाग्यो । सन् २०१६/४/२५ गते फ्लाईट थियो । सबै जनाको आँखामा आँसु थियो । आफ्नो सपना पुरा गर्न अनि उज्वल भविष्यको खोजीमा आफुलाई माया गर्ने सबै मान्छेहरु अनि आफ्नो प्राण भन्दा प्यारो देश छोडेको दिन म कहिल्यै विर्सन सक्दिन ।

हिजो बिरानो देश, बिरानो ठाउँ अनि परिस्थिति मान्छे र अनौठो भाषा अचम्म लाग्यो । घर परिवार सबैको यादले सताइरहेको थियो, धेरै रुन मन लाग्यो, रोएर नि के गर्नु के भयो । किन रोएको भनेर सोध्ने मान्छे नि नभएपछि रुन पनि मन लागेन । धेरै सोच विचार गरेर आफुले जसरी हुन्छ दुःख संघर्ष गर्नुपर्छ, यहि नै मेरो कर्मभूमी हो दुःख गरेर भोलीको जीवन सजिलो हुन्छ भन्ने कुरा आफ्नो मनलाई बुझाई आफैंले अठोट गरें । त्यति गर्न भन्दा अरु कुनै विकल्प नै थिएन दुःखसँग हार्न पनि त मिलेन ।

त्यसपछि बहिनी रोशिका शर्मासँग भेट भयो । आफ्नै मान्छे जस्तो पहिले बाटै चिने जानेको जस्तो गरी विश्वास, मायाँ गर्ने मान्छे भेटेर दंग थिएं म । रोशिकासँगै काम अनि जापानीज भाषाको स्कुल पनि सँगै भएर धेरै सहज भएको थियो । धेरै दुःख कष्ट रातभरी नसुती काम गरियो । रातभरी कामगर्दा नेपालको धेरै याद आउँथ्यो । फुजिफुड मा काम गर्दा शिखा दिदीसँग भेट भयो । २/३ महिनापछि शिखा दिदिको रुममा सरियो । आफ्नै मान्छे, परिवार जस्तो लाग्ने । धेरै माया गर्ने अनि केयर गर्ने केही गल्ती भएमा धेरै सम्झाउने मान्छेको साथ पाएर होला परदेशमा पनि मायाको कमी भएको थिएन मलाई ।

जसोतसो जापानिज भाषाको स्कुल सकियो । त्यसपछि नारीतामा नै संचालित कोकुसाई फुकुसी सेनमोन गाक्कोउको पढाई सुरु भयो । खाइगो पढ्ने सोचाइका कारण खाइगो को १ बर्षको आधारभुत कोर्ष पढ्ने सोचेको थिएं, तर सोचे भन्दा पढाई धेरै कष्टकर थियो । काम पनि गर्नुपर्ने भएका कारण पनि सोचेजस्तो सामान्य पढाई नहुने रहेछ ।

त्यतीखेर विद्यार्थीहरुलाई धेरै काम गरेको नियम पालना नगरेको भनेर भिषामा असाध्यै कडाई गरिरहेको थियो । मेरो १ बर्षको भिषा त आयो तर म सँगै बस्ने बहिनीलाई भने नेपाल पठाईथियो । त्यो दिन म धेरै रोएकी थिए । यो विरानो ठाउँमा आफुलाई निस्वार्थ माया गर्ने मान्छे बिरलै भेटिन्छन् ।

खाइगोको पढाई गरीरहेको कारण शिक्षकले खाइगोको काम खोजीदिनु भयो । नारीतामा भएको तोकुवेचु योउगो रोजीन होम होउराई नो मोरीमा अन्तर्वार्ता भयो र काम पनि तुरुन्तै पाएं । बृद्धबृद्धाहरुको हेरचाह गर्ने काम सुरु गरें ।

त्यतीबेला मान्छेहरु म प्रति धेरै हाँसेका थिए, यस्तो घिनलाग्दो काम के गरेको ? छि, गु सोर्ने काम पनि गर्छन् भनेर धेरै मजाक पनि उडाए । पहिला त यस्तो भन्ने मान्छेहरुसँग झगडा पनि गरें तर पछि मुसुक्क हास्थें र म बोलीले होइन काम गरेर देखाउने छु भनेर मौन बसे । तर मलाई भने त्यो काम गर्दा धेरै खुसी अनि त्यहाँ काम गर्न जाँदा धेरै रमाइलो लाग्थ्यो । आफ्नो इच्छाको कुरा हो खाइगोमा अरु विषयहरु भन्दा धेरै सुविधाहरु छन् भन्ने कुराहरु मैंले बुझिसकेकी थिएं, अरुले मजाक उडाए के भयो र ?

धेरै कडा मेहेनत र परिश्रमका साथ खाइगोको आधारभुत कक्षा पनि सकियो । अब भने खाइगो अझै २ बर्षको कोर्ष पढ्न बाँकी नै थियो । जापानी विद्यार्थीहरुसँगै एउटै क्लासमा बसेर पढ्नु धेरै अफ्टेरो थियो । शिक्षकहरु पनि धेरै चिन्तित थिए । पहिलो पल्ट यतिधेरै अन्तर्राष्ट्रिय विद्यार्थी र जापानी विद्यार्थी एउटै कक्षामा पढ्ने कुराले ।

जापानी विद्यार्थी सँगसँगै पढ्ने कुराले गर्दा म पनि धेरै चिन्तित थिएं । भाषाको समस्या, पढाइको समस्या, उनीहरुको शान्त अनि लजाउने बानी प्रति, तर विस्तारै वानी पर्दै गयो । खाइगोको पढाई सोचेजस्तो कहाँ हुन्थ्यो र ? विहान ९:१० बजे बाट बेलुकी ५ बजेसम्म पढ्नु पर्ने, काम नगरी छाक नटर्ने । हप्ताको २८ घण्टा काम जीवन धेरै कस्ष्टकर बन्दै थियो । काम गरिरहेको कम्पनीबाट ३ बर्षको कन्ट्याक्टमा छात्रबृत्ति लिएर पढेको कारण स्कुलको पैसाको चिन्ता त थिएन तर त्यो बाहेकको दुःख त थियो नै । विस्तारै पढाइ अनि कामको व्यालेन्स पनि मिल्दै गयो । प्रयोगात्मक कक्षाहरु पनि धेरै हुने गर्दा काममा पनि धेरै विदा बस्नुपर्ने कारणले बारम्बार आर्थिक समस्या परिरहन्थ्यो ।

एकदिन काममा नजाँदा पनि अर्को महिनामा असर पर्ने ठाउँमा पढाईको कारणले धेरै हप्ता विदामा बस्दा खान बस्न पनि धौ धौ हुन जान्थ्यो । महंगो ठाउँमा बाँच्नको लागि धेरै दुःख कष्ट गर्नुपर्यो तर कहिल्यै हिम्मत हारिन । १ बर्षको कोर्ष विस्तारै सकिंदै थियो । नेपाल जाने चाहना भएकाले गर्दा टिकट पनि काटें कोरोनाले जापानमा पनि पेल्दै थियो । जस्तो पर्छ त्यस्तै टर्ला भनेर टिकट क्यान्सल नगरी नेपाल जाने अठोट गरें । क्रमश...

संगिता विष्ट 'फुच्ची'


...

दोस्रो भाग आगामी सोमबार प्रकाशित हुनेछ !