टोकियोको मेगुरो रेल स्टेशन सामुन्ने सामान्य कालो ज्याकेटमा पछाडी झोला भिरेर मुखमा मास्कले ढाकेको अवस्थामा देखा परिन् उनि । उनि अर्थात् सोनिया मियाहारा । जापानमा हिमालयन काईहात्सु कम्पनी, नेपालमा 'ट्रान्स हिमालयन टुर' तथा 'होटल एभरेष्ट भ्यु'की संचालिका सोनिया यति सामान्य रुपमा भेटिन्छिन् होला भन्ने सामान्य सोच बाहिरको विषय थियो । अझ किनपनि भने बेलायतको दि लण्डन स्कुल अफ ईकोनोमिक्स एण्ड पोलिजिकल साइन्स बाट अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन, ब्राण्डिइज विश्वविद्यालय अमेरिकाबाट अर्थशास्त्रमा स्नातक, युनिभर्सिटि अफ नताल दक्षिण अफ्रिकाबाट बैदेशिक कार्यक्रम अध्ययन गरेकी सोनिया युवा लगानीकर्ता तथा व्यवसायी हुन् । अनि करोडौं सम्पत्तिकी मालिकको हातमा सुनका एकदुई औंठी, गलामा दुई चार तोला सुनका सिक्रि, लवाई लाख माथिको अनि खवाई खान्दानी त हामी नेपालीको आम अपेक्षा नै हुन्छ !
मलाई कुराको सुरुवातमै उनको खाँट्टी नेपाली लवजले झस्काईदियो । भलाकुसारीका दौरान ताकासी मियाहारा जसले नेपालको पर्यटन उद्योगलाई 'गिनिज वल्ड रेकर्ड'मा दर्ता सहित अन्तर्राष्ट्रिय बजारमा चिनाउन आफ्नो जीवन समर्पण गरे उहाँ अर्थात् पिता प्रतिको उनको भावना र पथ पछ्याउन गरेको त्यागले आँखा रसायो । टोकियो, सिंगापुर देखी अमेरिकासम्म खाईपाई आएको सवै सुख, सुविधा सहित धेरै अवसरको जागिर त्यागेर 'जन्मभुमि प्रतिको माया र पिताको पथ पछ्याउने त्यो आँट कसरी बनाउन सकिन् ?'भनेर अझै सोचमग्न बनाईदिई राखेकोछ ।
वास्ना बहने शहर छाडेर धुवाँ र धुलोको कहरमा कसरी होमिन तयार भईन् ? मातृभुमीको ममता, आमा बुवा र परिवार प्रतिको कर्तव्य र जिम्मेवारी, जीवन प्रतिको कर्तव्यवोध, दृढ ईच्छाशक्ती र प्रेरणादायी यात्रा एकसाथ कसरी एउटै व्यक्तिले बहन गर्न सक्छ ? उतारिएका शब्दहरु अपर्याप्त बन्न सक्छन् तर कुराकानीका क्रममा आँखा र मुहारमा देखिएको मनको भावले सोनिया मियाहाराका जीवनकथा बोलिरहेझैं लाग्दथ्यो ।
नेपालसँग सम्बन्धको सुरुवात
ताकासी मियाहारा जन्मले जापानी नागरिक थिए । हिमाल आरोहण र शाहसिक यात्राका शौखिन २८ बर्षे युवा जोशमा उनी नेपालको मुकुट हिमाल आरोहण गर्न हौसिए । सन् १९६२ को वसन्त ऋतुमा पश्चिम नेपाल यात्रा गरेका मियाहाराले हिमालको सफल आरोहण गरेरै छाडे । आरोहण पश्चात जापान फर्किएपनि मिहाराको मन नेपालले चोरी सकेको थियो । नेपालको प्राकृतिक सौन्दर्यता, नेपाली सौहार्दता र आतिथ्यले लोभ्याएको मियाहाराको मन धेरै समय जापान टिक्न सकेन । आफुले पाएको त्यो न्यानो आत्मियपनको ऋणलाई चुक्ता गर्न पेशाले मेकानिकल इन्जिनियर मियाहाराले लघु तथा साना उद्योग विभागमा दुई बर्षे करारको रोजगार पाए । तर साहसिक यात्रा र पर्यटनको क्षेत्रमा रहेको लगावले मियाहारालाई गरिराखेको काममा सन्तुष्टि मिलेन । अनि बाटो मोडियो अथाह सम्भावनाको पर्यटन क्षेत्रको यात्रामा ।
संयोगको यात्रामा सगरमाथा क्षेत्र पुग्दा तेगंबोचेमा मियाहारालाई भोटे कुकुरले टोकिदियो । प्रथम सगरमाथा आरोही एडमण्ड हिलारीले संचालना गरेको क्लिनिकमा उपचार गराएर बसेको समयमा दु:खद घटनाले उनको लागि नयाँ सुखद यात्राको थालनी गराईदियो । सगरमाथा आधार शिविरमा पर्यटनको अथाह सम्भावना र त्यहाँ होटल खोल्न सकिने योजना बुनेर उनि काठमाडौं फर्किए । उपचार गराउँदा बुनेको योजनालाई निको हुन नपाउँदै उनी मुर्तरुप दिन अहोरात्र खटिए र सन् १९६८ बाटै थालनी गरे 'होटल एभरेष्ट भ्यू' निर्माण । २ लाख घण्टा खर्चेर सन् १९७१ मा होटल तयार भयो । त्यो एक होटल मात्र रहेन नेपालको विश्वमाझको चिनारि बन्यो र खडा भयो विश्वकै अग्लो स्थानमा रहेको होटल । जसले 'गिनिजवल्ड रेकर्ड' राख्दा नेपालको पर्यटन क्षेत्रको प्रचार संसारभर फैलन पुग्यो । जसको श्रेय मात्र मियाहाराको पोल्टामा जान्छ ।
एक यात्राले मन चोर्दा फर्किएका मियाहारा आफ्नो दिर्घकालिन योजनाले मूर्तरुप पाएपछि जापान फर्कने कुरै थिएन । उनले जन्मभूमीको यात्रा बर्षेनी गरित रहे तर आफुलाई जापानी नभई नेपालीको रुपमा चिनाउन गर्व महशुस गर्दै घरजम मात्र नेपालमा गरेनन्, जापानी नागरिकता त्यागेर पूर्णत नेपाली नागरिक बने । स्यागंबोचे बिमानस्थल निर्माणको परिकल्पनाकार समेत रहेका मियाहाराले 'जापानी रियल स्टेट कम्पनी मित्सुई फुदोसान'को लगानी समेत नेपाल भित्राए । रोचक कुरा त के भने अहिले सुखी नेपाली समृद्ध नेपालको नारा भित्र भट्याईराखिएको पूर्व पश्चिम विद्युतिय रेलमार्ग, उत्तर दक्षिण सुरुगंमार्ग सहित द्रुत र पर्यटकीय पहाडहरुमा राख्न थालिएको केवलकारका पहिलो योजनाकार उनै मियाहारा हुन् । जसले नेपालको विकासको सपना मात्र देखेनन् मुर्त बनाउन काम गरे । जापान कामको शिलशिलामा पुग्दा अस्वस्थ हुँदा समेत नेपाल भूमिमै जीवन त्याग्ने दृढ ईच्छा व्यक्त गरेर आफुले पसिना सिर्जेको पवित्र भूमी नेपालको स्यागंबोचेमै प्राण त्याग गरे ।
नाभी भुल्न नसकेकी सोनिया
काठमाडौं लिंकन स्कुल देखी बेलायतको दि लण्डन स्कुल अफ ईकोनोमिक्सको अध्ययन, टोकियो देखी सिंगापुरसम्म अन्तर्राष्ट्रिय स्तरको जागिर । भनेजस्तो तलब, रहर लाग्दो सुविधासम्पन्न बसाई, अझ चाहेको स्थानमा जानसक्ने आर्थिक र ज्ञानको सामर्थ्य । छेकबार केहीको थिएन, नेपाली माटोमा हुर्किएपनि आमा निना राणाको मायाँ अनि बाबा ताकासी मिहाराको मार्गदर्शनले उनलाई खुल्ला पंक्षी जस्तै उड्न बाटो खोलिदियो । जीवनभरको सघर्षबाट आर्जेको व्यवसाय र सपनालाई छोरीले धानिदेओस् भन्ने मनमा त सायद हुँदो हो 'तर बाबाले कहिल्यै मलाई नेपाल फर्क होटल र ट्राभल सम्हाल भनिबक्सेन ।' राणा खान्दानकि चेली सोनियाले राणा लवजमै भनिन् 'अझ मामुले समेत कहिल्यै मलाई छोरी मान्छे यस्तो गर्न हुन्छ यस्तो हुँदैन भनेर कहिल्यै मेरो ईच्छा रोकिबक्सेन, जहिल्यै मेरो लक्ष्य र सपना पुरा गर्न सघाईबक्स्यो ।'
परिवारको साथ पाएर सोनियाले माध्यमिक तहसम्मको पढाई नेपालमा सकेर बाँकी पढाई बिदेशमा गरिन् । जागिरको सुरुवात पनि उनले जापानबाट सुरुवात गरिन् । तर सोनिया भन्छिन् 'जापान काम गर्न आउँदा पनि मन लागि नलागी आएको थिएं । सिंगापुरमा रहिरहँदा मलाई लाग्यो मैंले मेरो देशनै फर्किएर केही गर्नुपर्छ । मेरो बुवाको सपना साकार बनाउन, मैंले विदेशमा सिकेको ज्ञान र शिपलाई सदुपयोग गरेर नेपालमै केही गर्नसक्छु भन्ने लक्ष्य बोकेर मैंले बिदेश बसाई छाड्ने निर्णय गरें । सोही अनुसार सन् २०१४ को अन्त्यतिर नेपाल फर्किएं ।' नेपाल फर्किएपछिको समय सम्झंदै सोनियाले भनिन् 'हाम्रो संस्कार पनि हो कि हामीले बुवा आमालाई बुढेसकालमा हेरचाह गर्नुपर्छ । उहाँहरुको सेवा गर्नु हाम्रो कर्तव्य र धर्म दुवै हो । तपाई जापानको समाजमा यस्तो देख्न सक्नुहुन्न तर नेपालको हाम्रो संस्कारले हामीलाई यो कुरा सिकाएको छ ।'
हजार माइलको यात्रामा सोनियाका सुरुवाती पाईलाहरु
निडर, सक्षम र सबल बनाउन पिता मियाहाराले सानै उमेरदेखी एडभेन्चर यात्राका लागि छोरीलाई अभ्यस्त तुल्याउन थालेका थिए । आफु सरहका साथीहरु बिदामा परिवारको साथमा फुर्सदले समय काटिरहँदा बालखे सोनियालाई भने त्रिशुली नदिमा पौडी खेलाउँदै नदि वारपार गराएर मियाहारा साहस भरिरहेका हुन्थे । तर यो सब नदि किनार बसेर पानिको छाल हेर्दै आमा निना भने डराईरहन्थिन । ६ बर्षकै उमेरमा एभरेष्ट भ्यूको लागि बुवाले लगिसेको थियो सोनियाले बाल्यकालको रोमाञ्चक यात्रा स्मरण सुनाउँदै भनिन् '९ बर्षको उमेरमा होटल एभरेष्ट भ्यू बाट जीरीसम्म बुवा आमासँगै हिँडेको थिएं, जुकाले टोकेर हैरान !'
'आँट्यो भने नहुने काम केही छ जस्तो लाग्दैन' बालखकालमा बुवाले भरिदिएको त्यहि शाहस र उर्जा अनि आफुले आर्जेको ज्ञान र पौरखको विश्वस्त भनाई राख्दै सोनियाले सुनाईन् 'होटल अन्नपूर्ण भ्यू, सारगंकोट सुरुवात देखी अन्नपूर्ण केवलकार योजनासम्मका वुवाका कर्महरु ।'
'भलै वुवा जापानी हुनुहुन्थ्यो तपाईं अहिले नेपाली हुनुहुन्छ…?' प्रश्न राखि नसक्दै सोनियाले हाँस्दै भनिन् 'एक्चुअल्ली मेरो बुवा पनि नेपालीनै हुनुहुन्थ्यो ।' उनले जापानी राष्ट्रियता त्यागेर नेपाली नागरिकता लिएको वुवाको तथ्यलाई खुलाउन चाहिन् ।
प्रश्नलाई फेरी जोड्दै सोधें 'नेपालको खास के कुराले तान्यो ?' अँग्रेजी शब्द मिश्रित गहन उत्तर दिंदै सोनियाले भनिन् 'आई थिंक हामीले हाम्रो लाईफमा हाम्रो प्राइयोरिटी के हो भनेर बुझ्नुपर्छ । हामीले के गर्दा सबैभन्दा बढी खुशी हुन्छ । कसैलाई पैसा कमाएर, त्यो पैसामा घर, गाडी किनेर, शोखमा बस्ने उनिहरुलाई त्यो खुशी होला । कसैलाई आफ्नो आमाबाबुलाई सेवा गरेर, आफ्नो देशमा पनि केही गरौं भन्ने त्यो खुशी होला ।' बिचमै प्रश्न राख्दै सोधें 'तपाईलाई ?' 'अभियसली म सेकेण्ड वाला खुशी रोज्ने परें । मलाई चाहि मेरो बुवा र मामुले मेरो लागि यत्रो गरिस्यो भने मैंले पनि केही न केही गर्नुपर्यो नि । बुवाले आफ्नो जीवननै नेपालको टुरिजम डेभलपमेन्टको लागि दिईबक्स्यो । मामुले पनि बुवालाई यत्रो बर्ष सपोर्ट गरिबक्स्यो । मलाई पनि जहिले सपोर्ट गरेर यस्तो राम्रोसँग हुकाईबक्स्यो । म अहिले जे छु त्यो त म आफैं भएको त पक्कै पनि होईन नि !'
परिवार, समाज र देश प्रतिको माया र भक्तिसँगै जिम्मेवारीलाई सहज रुपमा राख्दै सोनियाले भनिन् 'आफ्नो आमालाई बुवालाई पनि हेर्नुपर्छ । एकत म मामुलाई एकदमै माया गर्छु, मामुसँग बस्नेपनि मेरो चाह, बिदेशमा बस्नपनि ईच्छा छैन मामुलाई । मेरो पनि रगत नै होला कि बुवा जापान नागानोको र्योगाकिनकै छोरा होइबक्सिन्थ्यो । त्यसैले बुवाले आफ्नो किताबमा पनि लेखिबक्सेको छ दि एप्पल डज नट फल फ्रम दि ट्रि भनेर । मेरो बिचारमा म पनि त्यहि होला । मेरो धेरै कुरा बुवासँगपनि मिल्छ ।'
'बुवाले यत्रो गरिसकेको छ भने यसलाई त्यतिकै छोड्न पनि भएन नि, अब हामीले आफ्नो काम आफुले हेरे जस्तो अरुले गरेर हुँदै जस्तो पनि लाग्यो । पैसा मात्रै सबैकुरा होईन, फेरी खानै नपाएको पनि होईन । जे भएपनि आफ्नो जीवन त छँदैछ, आफुले के गर्न सक्छु भनेर हेर्नुपर्दछ जस्तो लाग्छ । ठिकैछ बिदेशमा काम गर्नुपनि नराम्रो हो म भन्दिन, आ-आफ्नो कुरा भयो । तै पनि नेपालमा काम गर्नपनि धेरै डिफिकल्ट त छँदैछ सबैलाई थाहछँदैछ, नेपालमा काम गर्न कत्तिको अफ्टेरो छ । त्यो सबै कुरा बुझेर जानेर फेरी त्यहि कुरामा कम्प्लेन मात्र गरेर मात्र पनि त भएन नि ! त्यसलाई पनि लिएर अगाडी बढ्ने भनेर सोच्नुपर्ने हुन्छ । हामीसँग विश्वकै एकमात्र आईकनिक होटल छ भने त्यो प्रोपर्टिलाई प्रमोट गर्नु मेरो ड्युटि मात्र होईन मेरो लागि त्यो प्रिभिलेज पनि हो । मान्छेलाई सगरमाथा हेर्ने भन्ने सपना हुन्छ । उसको सगरमाथा हेर्ने सपना पुरा गर्नु एकदमै खुशी लाग्ने काम हो । त्यसैले मलाई यो काम रमाईलो पनि लाग्छ ।'
माटोको माया
'पहिला हाम्रो कम्पनी भएकाले हामीले हाम्रो स्टाफको लागि नै केही गर्न सक्नुपर्यो । त्यसपछि अझै नेपालीहरुलाई काम दिन सकौं । त्यसपछि अझै बिदेशीहरु नेपाल आएभने धेरैले रोजगार पाउँछन् । हामी सन्तुष्ट बनाउने काम गरिरहेका हुन्छौं । किनभने हामीले गर्दा धेरै जनाले रोजगार पाईरहेका हुन्छन् ।'
'बिदेश छाडेर देश फर्कंदा आफ्नो माटोमै केही गर्नपर्छ भन्ने कुराले छोयो कि छोएन ?' भन्ने जिज्ञासामा थप्दै सोनियाले भनिन 'मेरो घर कहाँ भनेर सोध्दा मैंले कहिले पनि मेरो घर जापान हो भनिन, नेपाल हो भन्थें, भन्छुपनि किनकी आफ्नो घर भनेको आफ्नो मन जहाँछ त्यहिँ हो । मेरो मन चाहिँ अमेरिकामा पढेपनि जहाँ पढेपनि, जहाँ काम गरेपनि जहिलेपनि नेपालमै रहन्थ्यो । नेपालनै जहिलेपनि प्यारो लाग्थ्यो । बिदेशमा जहाँ बस्दाखेरी पनि त्यहीँ बसौं भन्ने कहिल्यै लागेन । बिचमै प्रश्न राख्दै सोधें जापानमा पनि ? सोनियाले हाँस्दै उत्तर दिईन जापानमा त झनै लागेन । न जापानमा लाग्यो, न कहिँ लाग्यो । नेपालमै केही गर्छु भनेर फर्किएँ ।'
'नेपालमा रहेक बिदेशी खाना देखी सुविधाहरु सबै छन् ।' बिदेशमै बस्नुपर्ने रहर र बाध्यता अब नरहेको बताउँदै सोनियाले भनिन् 'जस्तो खाना खान चाहेपनि, सपिगं मल, घुम्न जाने ठाउँ सबै चिज अहिले नेपालमा छ । नेपालमा पनि विस्तारै विस्तारै बिकास र सुधार भईरहेको छ ।'
एकपटक म नेपालमा स्कुलमा पढिरहँदा मेरो बुवाले मामुसँग सल्लाह गरेर 'छोरीलाई जापानमै पढाउने होकी ?' भनेर सल्लाह गर्नुभएको थियो रे ! अनि मेरो मामुले चाहिँ 'छोरीलाई आफुसँगै राख्नुपर्छ' भनेर जापान पठाउनुभएनछ । 'म यो कुरामा सबैभन्दा धेरै आभारी र खुशी छु । म नेपालमै हुर्केर आएं । म यो कुरामा धेरै धेरै खुशी छु । जुन अनुभव र सम्वन्ध हामीले आमाबुवा र परिवारसँग बनाउँछौं नि, तपाई जापानमा हेर्नुहुन्छ नि आफन्त भनेको के हो, को हो ? कतिलाई त्यो पनि थाहा छैन होला ! आफ्नै बुवा आमाको पनि कतिको मतलब छ छैन, त्यो आफ्नो कुरा भयो । तै पनि हामी एउटा संस्कारमा हुर्किएपछि चाहिँ त्यो संस्कार हामीमा पनि आउँछ नि त ! त्यसैले गर्दा पनि हाम्रो आफ्नो धरातल बलियो बनाएको छ । नेपाल सुन्दर छ त्यो हामीले भनिराख्नै पर्दैन । त्यसैले हाम्रो देश नेपाल अरुले हेरेर क्या राम्रो देश, कस्तो सुन्दर ठाउँ, कस्तो प्रतिष्ठित होटल भनोस् भन्ने मेरो ईच्छा हो ।'
जन्मभुमीलाई छ्या भन्दा दुखि सोनिया
युवाहरुको विदेश पलायन र नेपालप्रतिको धारणामा असहमती र असन्तुष्ट देखिएकी सोनियाले भनिन् 'पहिला सुरुमा हामी आफैंले आफ्नो देशलाई हेप्नु भएन । हामी नेपाली नै भएर यहाँ यस्तो, उस्तो भनेर त केही परिवर्तन हुने वाला छैन नि ! हामी पहिला कहाँबाट आएको त्यो हेर्नु पर्यो नि ! हामी जन्मेको त नेपाल हैन र, हामी हुर्केको त नेपाल हैन र ? छ्या यस्तो नेपाल, यस्तो फोहोर ठाउँमा कसरी बस्न सकेको होला भन्न त मिलेन नि ! त्यसैले आफ्नो देशलाई रेस्पेक्ट चाहिँ गर्नसिक्नुपर्छ । धेरै कुरा ठिक छैन, त्यो त सबैलाई थाहा छ । तही पनि हामीले जे कुरामा डिसिजन गर्यौं त्यसमा चाहिँ बस्नुपर्छ जस्तो लाग्छ ।
अब म नेपाल फर्किने भनेपछि कसरी अगाडी बढ्ने भनेर सोच्नु पर्यो । जो बिदेशमा बसेर नेपाल फर्किन्न भनेर बसेका छन् । उनिहरुका बुवा आमालाई कस्तो फिलिगं हुन्छ होला त्यो सुनेर । उनिहरुले त्यो कुरा सोच्नु पर्यो नि । हाम्रो जेनेरेशनको जो अहिले अमेरिका छ, अष्ट्रेलिया छ, कहाँकहाँ छ, उनिहरुका बुवाआमा न उनिहरुसँग बिदेशमा २४ सै घण्टा बस्न सक्छन, न ईच्छा होस् । न ६० ७० बर्षको उमेरमा आफ्नो देश समाज बसेर आएको हुन्छ नि, त्यो सबै छाडेर छोराछोरीको छोराछोरी हेर्न त के रमाईलो होला र ? कोहीकोहीले त सक्ला । तर प्रायलाई चाहिँ मेरो बिचारमा त्यो ईच्छा छैन होला । बाध्यता मात्र । आफ्नो भएका बृद्ध आमाबुवालाई चाहिँ एउटा नर्स वा एकजना काम गर्ने मान्छेको भरमा छाडेर आफुहरु चाहिँ वाईन खाएर, रेष्टुरेण्टमा बसेर त मतलब भएनकि जस्तो मलाई लाग्छ । मेरो बिचारमा सबैलाई नेपाल फर्कनुपर्छ भन्न पनि गाह्रो छ । बालबच्चा उतै हुर्किराखेको हुन्छ । तर नेपालमा पनि अवसरहरु छन् नि । नेपालमा फर्किरहेकाहरु पनि छन् नि । पठाओ जस्ता कम्पनीहरु, नयाँ रेष्टुरेण्टहरु यो सबै नयाँ जेनेरेशनले नै गरिरहेका छन् । त्यसैले नेपालमा पनि सम्भावनाहरु छ । आफुलाई कति स्वरोजगार बनाएर अघि बढ्ने ईच्छा हुन्छ त्यसमा पनि भर पर्छ म बुझ्छु ।'
नेपालको सरकारी सिस्टमले नै धेरैलाई निराशा बनाउँछ
'कहिले कहिले त अवश्य पनि फ्रस्टेट भई नै हाल्छ । धेरै जस्तो कानुनी र प्रशासनिक कुराहरु छन् । अफिसको केही कामहरु गर्नुपर्दा जे कागजात बनाउनुपर्छ नि त्यो मलाई सारै नै झण्झट लाग्छ । किनकि हुने कामलाई पनि ढिलो गरिदिने, नहुने कामलाई झन के हो के हो ? त्यसैले खाली स्पष्ट भईदिए हुन्थ्यो । एउटा प्रक्रिया भएपछि सँधै त्यहि प्रक्रिया हुनुपर्यो नि । एउटा कार्यालय गयो एउटा भन्छ, अर्कोमा गयो अर्को भन्छ, त्यो होईन नि त सिस्टम । एउटै सिस्टम कहिँ छैन । जब म अस्ति नारिता बिमानस्थल आईपुगें । त्यहाँ आउने वित्तिकै सबैकुरा सिस्टममा छ । अब यो गर्ने, त्यसपछि यो भनेर सबैकुरा सिस्टम अनुसार मिलाईएको छ । सबै ठाउँमा मानिस राखिएको छ, पिसिआर परीक्षणमा कहाँ कुर्ने, कसको पालो, रिपोर्ट कति समय सबैकुरा तोकिएको छ । अब जापान र नेपालको यस्तै बेलामा धेरै कुरा अभाव खड्किन्छ । जबकी जापानमा कोरोना महामारीमा सरकारले सबै कम्पनीहरुलाई अनुदान र सहयोग गरिराखेको छ, नेपालमा खै त रु केहीपनि नै छैन । आफुले सके सह्यो सकेन भने बन्द गर्यो । गर्ने के त ? कानुनी रुपमा यो यो कुरा मात्र भनेर त भएन नि । यो बेलामा पर्यटन क्षेत्र त पूर्ण रुपमा डेढवर्षदेखी धराशायी छ । १० लाख जति व्यक्ति पर्यटन क्षेत्रमा रोजगार थिए । उनिहरु कति मारमा परेका होलान् ? हामीले हाम्रा स्टाफ, गाईडहरुलाई हेरेका छौं, तर सबैले त हेरेको छैन नि ! उनिहरु कस्तो अवस्थामा होलान् अहिले ? यसको बारेमा कसले सोच्ने रु कसलाई केही मतलब नै छैन ।
यि सबैका बिच अब छिट्टै पर्यटन क्षेत्रलाई व्युँताउन सुरुवात गर्दैछौं । मैंले जापानमा रहेको कार्यालयमा पनि सबै सल्लाह गरिसकें । नेपालमा पनि होटल, बिमान कम्पनी लगायतले सबै कोभिड प्रोटोकल पालना गरिरहेका छन् । अब सुरु गर्नुपर्दछ । अब पनि यस्तै रह्यो भने दुई बर्ष नाघेपछि धान्न सकिँदैन । किनभने जतिधेरै पुँजी उति धेरै भार रहन्छ । '
परदेशिएका युवाहरुमा अनुरोध
जापानमै आउँछु भनेर 'डिसाईट' गरिसकेपछि त सकेसम्म हामीले जापानीसँग उनिहरु सरह सक्षम हुनको लागि जापानी भाषा सिक्नैपर्ने हुन्छ । फेरी काम चलाउ मात्र होईन कि यो मेरो काम हो, म जापानमै रहेर मेहनत गर्छु भनेपछि त सकेसम्म राम्रोसँग गर्न सक्नुपर्छ । पैसा कमाउन त पछि गरेपनि हुन्छ । पहिले राम्रोसँग पढ्न र भाषा सिक्नु पर्यो । अनि त्यसपछि पैसा कमाउने बाटो त झन आउँछ नि । हामीले हामीलाई नै सिमित गरेर यतिमात्र पढ्यौं भने, होला पैसा कमाउला अहिले तर पाँच बर्षपछि पनि त्यही होला, १० बर्षपछि पनि धेरै लेभल फरक नहोला । पढे पो 'लेभल' धेरै माथि जान्छ, नपढे कसरी जान्छ ? कि आफुले बिजनेस गर्नुपर्यो । बिजनेस पनि आफुले सोचेजस्तो त्यती सजिलो हुँदैन । त्यसैले मान्छे के उदेश्यले जापान आउँछन् मलाई थाहा छैन, धेरै जसो पैसा कमाउनकै लागि होला । अब पैसा कमाउनको लागि नेपालमा घर किन्ने, गाडी किन्ने अनि आफुले आफ्नो लागि चाहिँ के गर्ने त रु भन्ने कुरा पनि सोच्नुपर्छ । मान्छेले अरुलाई देखाउनको लागि काठमाडौंमा ४ आना जग्गा किनेर भनेपनि घर बनाउने सबैको त्यहि ट्रेन्ड छ । अब हामी काठमाडौंमा जन्मे हुर्केको मान्छेले त्यो भन्न त मिल्दैन होला । जे कुरा पनि ट्रेन्डसँग चल्नुपर्छ भन्ने छैन । अब यहाँ १०/२० बर्ष बसेर युवा उमेरमा यहाँ एकदमै मरिमेटी काम गरेर अनि नेपाल गएर गर्ने के ? अनि यो विषयमा कति सोच्नुभएको छ, कति जनाले थाहा भएन । मरिमेटेर काम गर्नुभएको छ भनेपनि आफ्नो लागि समय निकालेर, परिवारको लागि समय निकालेर रमाईलो गर्ने, घुम्न जाने गरेमा जीवनमा सन्तुलन मिल्छ ।
आफ्नो देशमा फर्कन रहर र सबैलाई ईच्छा हुन्छ होला । नेपाल फर्किएपछि के गर्नेत ? भन्ने कुरा जापान आउनेवित्तिकै सोचेर कृषि हुन्छ कि अरु हुन्छ कि, त्यही अनुसार काम खोज्ने, कामको लागि सम्बन्ध बढायो भने सम्भावना धेरै छ । जापानको टेक्नोलोजि नेपालतिर चलाउन मिल्छ भनेपनि त्यो पनि छ होला । अरुले गरेको कुरा भन्दा पनि अलि फरक केही गर्न सकिन्छ कि भनेर सोच्यो भने राम्रो हुन्छ जस्तो लाग्छ । केही गरि पैसा कमाउन नसकेपनि हार नमान्नुस् । काम असफल हुने र नहुने भनेको कहिलेकाहीँ मेहनत गर्दागर्दै लकले पनि फेवर गर्नुपर्छ जस्तो लाग्छ । तर कोसिस गरेको नै सबैभन्दा ठूलो कुरा हो । यसले हामीलाई थप बलियो भएर अघि बढ्न पाठ सिकाउँछ ।
महिला भएकै कारण परेको अफ्टेरो बारे सोध्दा सोनियाले त्यसमा केही हदसम्म परेको संकेत गरिन् । 'मलाई अहिलेसम्म त्यस्तो फिल त भएको छैन । म केटी मान्छे भएर कसैले त्यस्तो नजरले हेरेको, म केटा मान्छे भएको भए यस्तो गर्थे भन्ने त्यस्तो प्रत्यक्ष फिल त भएको छैन । तर बुवा स्वर्गिय भएपछि चाहिँ मलाई धेरै मान्छेले तिमि एउटी केटी मान्छे मात्र कसरी यो सब गर्ने, एउटा केटा मान्छे चाहिन्छ । एउटा केटा मान्छे भयो भने अरुपनि सतर्क हुन्छन्, तर्सिन्छन् । आफ्नो ठाउँमा बस्छन् भन्ने कुरा हुन्छ नि त्यस्तो भन्छन् । अनि मलाई त्यो चाहिँ बकवास लाग्थ्यो । किनकी केटा मान्छे होस्, केटी मान्छे होस् काम गर्न सके त भईहाल्यो नि, त्यसले केही अर्थ राख्दैन जस्तो लाग्छ । नेपाल अवश्यपनि पितृसतात्मक समाज हो । तर नेपालमा अहिले धेरै सक्षम लिडर महिलाहरुपनि छन् । म भन्दा क्यापेबल कम्पनीहरु संचालन गर्ने महिलाहरु छन् । केटा वा केटी भन्दा पनि काम गर्न सक्ने मान्छे भए पुग्छ जस्तो लाग्छ मलाई । केटा मान्छे भएर तर्सनको लागि, हामीलाई क्लवको लागि बाउन्सर चाहिएको त होईन नि ! हामीलाई अफिस राम्रोसँग चलाउने सक्षम मान्छे चाहिएको हो ।' बाउन्सरकै कुरा आउँदा प्रश्न राखें 'तपाईको पर्सनल बाउन्सर चाहिँ छ कि छैन नि अहिलेसम्म ?' हाँसो सहित सोनियाले भनिन् 'अहिलेसम्म पर्सनल बाउन्सर छैन ।'
...
प्रस्तुती : गोकर्ण अधिकारी