(Japan) 25 th August | 2026 | Tuesday | 2:27:56 PM || (Nepal) 11:12:56 AM
 
 


अन्तर्राष्ट्रिय नारी दिवसका १११ बर्ष, कहाँ छ नेपाली महिला आन्दोलन ?

Sajina Moktan   POSTED ON : Sunday, 07 March, 2021 | Views : 5322

अन्तर्राष्ट्रिय नारी दिवसका १११ बर्ष, कहाँ छ नेपाली महिला आन्दोलन ?


८ मार्च अर्थात् १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस । ८ मार्च महिलाहरूको ऐतिहासिक, संघर्षशील एवं गौरवमय गाथासँग गाँसिएको उत्सवको दिन हो ।

आमाको काख, दिदी बहिनीको स्नेह, श्रीमति अनि प्रियसीको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरीको पल्को भित्र नै एउटा पुरुषको जीवनको अस्तित्व संभव छ र चलायमान हुन्छन् । अन्तर्राष्ट्रिय नारी दिवस समाजमा, राजनीतिमा र अर्थशास्त्रमा महिला कत्तिको उचाइमा पुगे भनेर उत्सव मनाउने दिन हो । जबकि त्यस दिनको राजनीतिक जडको अर्थ हडताल र विरोध प्रदर्शन, समाजमा निरन्तर कायम रहेको असमानताको विरुद्ध चेतना जगाउन आयोजित गरिएको समनताको लागि थियो । 

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस श्रम आन्दोलनबाट बढेर संयुक्त राष्ट्र मान्यता प्राप्त वार्षिक कार्यक्रम हो । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको एउटा कपडा मिलमा सन् १८५७ मार्च ८ मा महिलाले पुरुष सरह नै ज्याला पाउनु पर्दछ भन्दै पहिलो पटक संगठित भएर आन्दोलन गरेका थिए । जतिबेला न्यूयोर्क शहरका करीब १५ हजार महिलाहरूले महिला माथी हुने गरेको शोषणको प्रतिवाद गरेका थिए । त्यस्तै अमेरिकाको सिकागोका महिलाले आफ्नो श्रमको उचित मूल्य हुनुपर्ने, स्वस्थकर वातावरण र सामाजिक सुरक्षा हुनुपर्ने, ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा विश्राम गर्न पाउनुपर्ने जस्ता माग राखी सन् १८९७ मार्च ८ कै दिन महिला अधिकारका लागि विशाल जुलुस, आमसभा र हडताल गरेका थिए । यसले पछि आन्दोलनको स्वरुप लियो ।

पछिल्लो समयमा महिलाले सार्वजनिक क्षेत्रमा पनि प्रवेश पाउनुपर्ने, रोजगारीको अधिकार सुनिश्चित हुनुपर्ने, मताधिकार हुनुपर्ने जस्ता कुरामा पनि बहस चल्न थाल्यो र महिला अधिकार ज्वलन्त बहसको विषय बन्यो । न्यूयोर्कमा नै तत्कालीन समाजवादी पार्टीको सन् १९०९ फेब्रुवरी २८ र सन् १९१० मा सम्पन्न अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनले नारीलाई पुरुष सरहको अधिकार हुनपर्ने मागसहित दिएको सुझाव अनुसार प्रत्येक वर्ष नारी दिवस मनाउन थालिएको देखिन्छ । यो अमेरिकाको सोशलिस्ट पार्टी हो जसले एक वर्ष पछि पहिलो अन्तराष्ट्रिय राष्ट्रिय महिला दिवस घोषणा गर्‍यो।

यस दिनलाई अन्तर्राष्ट्रिय बनाउने विचार क्लारा जेटकिनले गरेकी थिइन । सन् २०१० मा क्लारा, रोजा लग्जेम्बर्गको अगुवाइमा कोपेनहेगनमा भएको श्रमिक महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले यो दिवस मनाउने निर्णय गरेको थियो । १७ देशका एक सय बढी महिला सहभागी त्यो सम्मेलनमा दिवस सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको थियो ।

संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महिला वर्ष, सन् १९५५ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन शुरू गर्‍यो । सन् १९७७ मा, संयुक्त राष्ट्र संघको महासभाले आफ्ना सदस्य राष्ट्रहरुलाई ८ मार्चलाई महिला अधिकार र विश्वशान्तिका लागि संयुक्त राष्ट्र दिवसको रूपमा घोषणा गर्न आमन्त्रित गर्‍यो । तर यो केका लागि, र कहिले देखि मनाउन शुरु गरियो, यो उत्सव हो कि विरोध हो, अन्तर्राष्ट्रिय महिला दिवस नै किन भन्ने प्रश्नहरु पनि उठ्ने नगरेको होइन । 

जतिबेला क्लारा जेटकिनको नेतृत्वमा सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस स्थापना गरे । जब संयुक्त राष्ट्रसंघ (यूएन) ले पनि सन् १९५५ देखि त्यो दिन मनाउन थाल्यो र त्यस घटनालाई आधिकारिक बनाइयो । युएनद्वारा अपनाएको पहिलो बर्ष सन् १९९६ मा विगतको उत्सव मनाउने, भविष्यको लागि योजना गर्ने भन्ने थियो । यो बर्ष एक समान संसार सक्षम संसार निर्माणमा केन्द्रित छ र एक बराबर विश्व सिर्जना गर्न मानिसहरूलाई सँगै काम गर्न आग्रह गर्दछ । 

तर क्लारा जेटकिनको त्यो विचारले अझै स्थान पाइसकेको थिएन । औपचारिकता प्राप्तका लागि रूसी महिलाहरुले रोटी र शान्ति को माग गर्दै सन् १९१७ मा युद्धकालीन हडताल भयो । र चार दिनसम्म महिला हडताल गरेर जारलाई झुकाए । त्यसपछि अस्थायी सरकारले महिलालाई मतदान गर्ने अधिकार प्रदान गर्‍यो । महिला हडताल जुलियन क्यालेन्डरमा शुरू भएको मिति, जुन रूसमा त्यतिबेला प्रयोगमा थियो । जुन दिन आइतवार २ फेब्रुअरी थियो । त्यो दिन ग्रेगोरियन क्यालेन्डरमा ८ मार्च थियो जुन दिनलाई आज अन्तराष्ट्रिय महिला श्रमिक दिवसका रुपमा मनाइन्छ । 

सन् १९११ मा पहिलो पटक अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विजरल्याण्डमा प्राविधिक बर्षको रुपमा मनाइएको थियो । प्राविधिक बर्षको रुपमा मनाइएको त्यो १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस थियो । आज अन्तर्राष्ट्रिय महिला दिवस रसिया लगायतका धेरै देशहरूमा राष्ट्रिय बिदाको रुपमा मनाइन्छ । जहाँ ८ मार्चको वरिपरि तीन वा चार दिनमा फूलहरूको बिक्री दोब्बर हुने गरेको बताइन्छ।

त्यस्तै चीनमा, धेरै महिलालाई मार्चमा आधा दिनको छुट दिइन्छ । इटालीमा, अन्तर्राष्ट्रिय महिला दिवस, ला फेस्ता डेला डोन्ना, मिमोसाको फूल दिएर मनाइन्छ । यस परम्पराको शुरुवात अस्पष्ट छ तर यो रोममा दोस्रो विश्वयुद्ध पछि शुरू भएको हो भन्ने विश्वास गरिन्छ । त्यसै गरी अमेरिकामा मार्च महिना महिला इतिहास महिना हो । प्रत्येक वर्ष जारी राष्ट्रपति घोषणाले अमेरिकी महिलाहरुको उपलब्धिहरुलाई सम्मान प्रदान गर्दछ । 

नेपालले १९७५ देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसको रूपमा मनाउँदै आएको छ । नारी मुक्तिकै आवाजलाई बुलन्द गरिरहँदा नेपालको महिला आन्दोलनको पाटो पनि उत्तिकै महत्वपूर्ण रहेको छ । भोजपुरको कुलुङ मजुवाबेशीमा विस १९२४ मा जन्मेकी योगमाया न्यौपानेको योगदानलाई नेपाली माटोले र्बिसेको छैन् । उनको त्यो आत्म बलिदान महिलाहरू माथि थोपारिएको असमानता तथा अन्याय विरुद्ध राणा शासनप्रति प्रकट गरिएको चरम असन्तुष्टिको अभिव्यक्ति थियो । उनले राणा प्रधानमन्त्री समक्ष २६८ वटा माग प्रस्तुत गर्ने हिम्मत गरेकी थिइन् । विधवा विवाहलाई मान्यता दिइनुपर्ने, सति प्रथाको अन्त्य गरिनुपर्ने, महिलालाई पुरुष सरह शिक्षा तथा समान अधिकार दिइनुपर्ने जस्ता मुद्दाहरू समेटिएका थिए । यिनै आवाजहरू कविता र गीतको माध्यमबाट उठाउने क्रममा योगमाया न्यौपाने र उनका ६८ जना अनुयायीहरूले विस १९९८ को असार महिनामा अरुण नदीमा हाम फालेर सामुहिक आत्महत्या गर्नुपरेको थियो । 

त्यसैगरि राणाकालमा मङ्गलादेवी सिंहले महिलाहरूलाई समान मताधिकार दिइयोस् भन्ने माग लिएर तत्कालीन प्रधानमन्त्री पद्मा शम्शेर समक्ष पुगे बापत जेलको सँजाय पाएकी थिइन् । त्यसै गरि कामक्षदेवीले महिलाहरूलाई घरेलु कामकाजमा मात्रै सीमित राख्ने परम्परा तोड्नुपर्छ भन्ने आवाज उठाएकी थिइन् । पछि २००४ सालदेखि महिला नेतृत्वले मताधिकार तथा निर्वाचनमा उम्मेदवार बन्ने समान अधिकारको खोजी गर्न थाल्यो । जसको फलस्वरूप २००८ सालमा महिलालाई मताधिकार र निर्वाचनमा उम्मेद्वारीको अधिकार प्राप्त भयो । महिला आन्दोलनको क्रम जारी रहिरहँदा महिला सहभागिताले विस्तारै गति लिन थाल्यो । जसको फलस्वरूप २०१५ सालको आम निर्वाचनमा पहिलो पटक र्निवाचित महिला र पहिलो मन्त्री हुने महिलाको रूपमा द्धारिका देवी ठाकुरानीको नाम नेपाली इतिहाँसमा लेखिन पुग्यो । त्यसै गरी साहना प्रधानले पनि महिलाले पढ्न पाउनुपर्छ भन्ने आवाजलाई बुलन्द रूपमा उठाएकी थिइन् । 

विस २०५२ सालको १० वर्से जनयुद्धले महिला जागरुकताको पाटोलाई अझ माथि उठाइदियो । युद्धकै क्रममा लैङ्गिक असमानताका विरुद्ध लड्दा हजारौँ महिलाहरुले बलिभेदीमा जिवनलाई उत्सर्ग गरे । अन्ततः महिलालाई लिङ्गको आधारमा कार्य विभाजन गरिदिने समाज महिलाको कामप्रति लज्जित हुँदै महिलाको सम्मान गर्न बाध्य हुनुपर्‍यो । २०६२/२०६३ को दोस्रो जनआन्दोलन पछि महिला सशक्तिकरणले काँचुली फेर्न थाल्यो । तैपनि अन्तरिम संविधानको १६ सदस्यीय मस्यौदा समितिमा महिलाको संख्या शून्य रहेपछि ठुलै संघर्ष गर्नुपर्यो र उक्त समिति पुनर्गठन गरी ४ जना महिला थप गरियो । त्यसपछि पुनस्थापित संसदले ३३ प्रतिशत महिला सहभागिताको घोषणा गरेपछि संविधान सभाको र्निवाचनमा १९७ मा ३२.७८ प्रतिशत महिला सहभागिता रहन गयो । 

नेपालको इतिहासमा यो महिला सहभागिताको ठुलो परिणाम र सकरात्मक पक्ष हो । जसमध्ये ३० जना प्रत्यक्ष र्निवाचित, १६१ जना समानुपातिकबाट र ६ जना मन्त्री परिषदबाट मनोनित रहेका थिए । त्यतिबेला नेपालमा रहेका ३१ राजनीतिक दलमध्ये २३ दलको मात्र महिला सहभागिता रहेको थियो । तर दुर्भाग्य संविधान बन्न नपाउँदै संविधानसभाको अवसान हुन पुग्यो । त्यसै गरी दोस्रो संविधान सभामा पनि प्रत्यक्षबाट दस जना र समानुपातिकबाट १६२ जना गरी १७२ जनाको मात्र सहभागिता भएको थियो । अर्थात ३३ प्रतिशत सहभागिता हुन सकेन ।

नेपालमा महिलाहरुलाई विशेष अधिकार प्रदान गरिएको छ । सन् १९९० को संविधान अनुसार कुनैपनि पुरुषले महिलालाई कुनैपनि प्रकारको भेदभाव गर्न पाउदैन । सन् १९९७ मा कुनै पनि महिला यदि ३५ वर्ष सम्म अविवाहित रहिन भने उनलाई पनि अंशको उत्तिनै हिस्सा मिल्नु पर्छ भन्ने नियम बनाईयो । बिस २०६३ को संविधानले महिलाहरुको स्थिति सुधारमा विशेष ध्यान दिएको छ । यस अनुसार छोरीलाई पनि छोरा जतिनै अंश मिल्छ र यदी कोही महिलाले समबन्ध बिच्छेद गर्छिन भने उनको श्रीमानको सम्पत्तिको आधा हिस्सा अर्थात् ५० प्रतिशत सम्पत्ति पाउँछ भनिएको छ । यसका साथै सम्बिधानसभामा ३३ प्रतिशत आरक्षण सिट महिलाको हुने नियम छ । तर पनि पितृसतात्मक सोचमा आधारित सामाजिक मूल्य मान्यता तथा सदियौंदेखि चली आएको महिला प्रतिको भेदभाबपूर्ण व्यबहार नेपाली समाजको यथार्थताले अझै सार्थकता पाइरहेको छ । 

नेपालको नयाँ संविधान दक्षिण एसियामै उत्कृष्ट र महिलामैत्री मानिन्छ । तर विडम्बना आज सहरमा महिला मुक्तिका नारा लगाउदै गोष्ठी, सेमिनार आयोजना भैईरहेका बेला दूरदराजका महिला भने बहुविवाह, बाल विवाह, दाइजो प्रथा, कुटपिट, सम्बन्ध विच्छेद, गालीगलौज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जबर्जस्ती करणी, वैवाहिक करणी, विधवा प्रथा, घुम्टो प्रथा, अनमेल विवाह, छाउपडी प्रथा, वादी प्रथा, देउकी प्रथा आदि महिला हिंसाका सिकार हुनुपरिरहेको छ । 

निर्मला र भागीरथीहरु बलात्कारको सिकार भएर न्यायका लागि आवाज उठाइरहँदा कानुन अन्धो भएर न्यायको बर्खिलाप गरिरहेको छ । 

जसको फलस्वरुप आज पनि नेपालका ग्रामिण तथा श्रमिक महिलाहरुलाई नारी आन्दोलन र दिवसले छोएको छैन । नारी आन्दोलन र अधिकारका कुरा नारा र प्लेकार्डमा मात्र समेटिएको छ । अहिलेपनि नेपाली नारीहरु बत्तिमुनिको अँध्यारोमा रुमलिरहेका छन् भन्दा अत्युक्ति नहोला । एकफेर सोचौं, हामीले हाम्रा दिदी बहिनीहरुकालागि कत्तिको सहज अनि समान समाजको निर्माण गरिरहेका छौँ । चाहे हामी महिला हौं या पुरुष, नारी समानताका लागि हाम्रो भुमिका उत्तिकै महत्वपूर्ण छ ।

अन्त्यमा शौचालय देखि सदन सम्म छाउगोठ देखि संविधान सभा भवनसम्म नारी मैत्री स्वरहरु गुञ्जियोस् । महिला सरोकारवालाहरु, संघ संस्था, राजनीतिक दल, राज्य र सम्बन्धित निकायले फेरि पनि नारी समानता भनेको नारी र पुरुषहरु विचको टक्कर वा द्वन्द्व नभएर अगुवाइ गरीरहेको सामाजिक संरचनाले तोकिदिएको महिला पुरूषबिचको विरोधाभाष परिधि, सीमा अनि समानताको दूरीलाई चिर्न अबका दिनहरुमा महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ । चिकित्सा विज्ञानलाई नै चुनौती दिएर विश्वभरका मानिसलाई आक्रान्त पारिरहेको कोभिड-१९ को महामारीबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔँ । नारी दिवसको सबैलाई शुभकामना ।

...

सजिना मोक्तान
हाल : जापान