इजाखाया, कोन्बिनी, फास्टफुड, ताक्युबिन (लजिस्टिक्स) हरु हाल बिदेशी बिधार्थीको भरमा चलेका छन् भन्दा पनि अत्युक्ति नहोला । जापानको जनसख्यामा जन्मदरमा गिरावट र बृद्धदरमा बृद्धिले गर्दा काम गर्ने उमेरका ब्यक्तिहरुको कमि आएको छ ।
जापानकै पढाइ सकेका युवा युबतीहरु डेस्कवर्क गर्न बढि रुचाउने हुदाँ यस्ता सेवामूलक काम जुनमा बिशेष सीपको आवश्यकता पर्दैन त्यस बिषयमा बिदेशी बिधार्थीहरुले बढि काम गर्ने गर्दछन्। बिगतमा चीन तथा कोरियाका बिधार्थीहरुले गरेका यस्ता कामहरुमा हाल भियतनाम र नेपालीहरुले बढि गर्ने गरेको पाइन्छ ।
जापानमा आउने बिदेशी बिधार्थीहरुमा चीन, भियतनाम पछि नेपाल प्रमुख राष्ट्र हो । यि देशका बिधार्थीहरु प्राय स्कुल फि तथा जीविकोपार्जन गर्न र केहि रकम देशमा रहेको परिवारलाइ पठाउन अहोरात्र काम गर्ने गर्दछन । हुनत जापानले कानूनत बिदेशी बिधार्थीहरुलाइ गर्मी बिदा जस्तो लामो बिदा बाहेकको समयमा हप्तामा २८ घन्टा बाहेक काम गर्न दिदैन । यो जापानको अध्यागमन ऐन धारा १९ मा उल्लेखित बिदेशी बिधार्थीहरुको काम गर्ने अनुमतिसंग सम्बन्धित छ । उलंघन गरेमा देश फिर्ता पठाउन सक्ने सम्मको प्राबधान छ तर जापानमा बस्न खान अन्य मुलुक भन्दा महंगो पर्ने हुनाले पनि बिधार्थीहरुले धेरै काम गर्नु पर्ने बाध्यात्मक अवस्था पनि छ ।
नियम जे जस्तो भए पनि वास्तविकता भने घन्टामा १००० ऐनले काम गरेपनि हप्तामा २८ हजार, महिनामा १ लाख १२ हजार मात्र हुन्छ। जापानको बजारभाउ हेर्ने हो भने २८ घन्टाको बन्धनमा बाधिएर बिधार्थी स्वयमले सबथोक पुर्याउन कठिन अवस्था छ ।
जापानको अहिलेको अर्थतन्त्रलाइ धान्नको लागी कतिपय बिषयमा बिदेशी कामदारहरु नलिइ सुखै छैन । तर यसरी बिधार्थीहरुलाइ सस्तो रोजगारको रुपमा लिएर न त बिधार्थीको भविष्य बन्छ, नत जापानको अन्तराष्ट्रिय जगतमा छविनै राम्रो रहन्छ ।
कलेज लामो बिदा हुने समयमा 長期休暇中 भने १ दिनमा बढिमा ८ घन्टा सम्म काम गर्न सकिन्छ र हप्ताको कुल काम गरेको समय ४० घन्टा भित्र हुनु पर्नेछ । उदाहरणको लागी त्यो कलेज लामो बिदा हुने समयमा कम्बिनिमा बिहान ४ घण्टा र इजाखायामा बेलुका ४ घन्टा गरि दिनमा ८ घण्टा हप्तामा ५ दिन गरेमा हप्ताको ४० घन्टा हुन्छ। नियममा पाउने हप्ताको ४० घन्टा भित्र पर्ने हुनाले दुइ ठाउमा काम गरेपनि फरक पर्दैन । तर कम्बिनिमा ४ घन्टा र इजाखायामा ५ घन्टा दिनको ९ घन्टा हप्ता मा ३ दिन मात्र गरेपनि २७ घण्टा हुन्छ। हप्ताको ४० घण्टाको हिसाबले कम भए पनि १ दिनमा ८ घन्टा भन्दा बढि काम गर्न नपाउने नियम भएकोले गर्दा त्यो गैरकानूनि हुन जान्छ । बिशेषगरी भाषा कक्षा पछि बिश्व बिधालय जान चाहानेहरुको लागी त अझै तयारी गर्ने समय र भर्ना शूल्कसमेत थपिएर आउने हुदाँ त्यति ब्यवहारिक देखिदैन । छात्रवृति पाएको, अविभावकको सहयोग पाएको वा धेरै शुल्क पाउने बिशेष काम गर्ने बिधार्थी बाहेकलाइ जापानमा पढ्न गार्हो छ ।
जापानको अहिलेको अर्थतन्त्रलाइ धान्नको लागी कतिपय बिषयमा बिदेशी कामदारहरु नलिइ सुखै छैन । तर यसरी बिधार्थीहरुलाइ सस्तो रोजगारको रुपमा लिएर न त बिधार्थीको भविष्य बन्छ, नत जापानको अन्तराष्ट्रिय जगतमा छवि नै राम्रो रहन्छ । बरु यसले त काम गरुन्जेल र फि तिरुन्जेल जापान बस्न पाउने तर पढाइ पछि जागिर पाउन नसकेर देश फर्कनु पर्ने बाध्यतामा बिदेशीहरु फस्न सक्छन । जापानको भाषा संस्कृति र रहनसहन बुझेका यस्ता बिदेशी बिधार्थीहरु जो जापानमा रोजगार गर्न चाहन्छन र जापान स्वयम पनि त्यस्ता बिधार्थीहरुको काम प्रति निर्भर गर्दछ भने उनीहरुलाइ जापानमा रोजगार गर्ने बातावरणको तयारी गर्न सबै पक्षले भूमिका खेल्नु आवश्यक छ ।
1) बिधार्थीहरु शरणार्थीमा जानु पर्ने बाध्यता वा देश फर्कनपर्ने अवस्था बाट रोकी बैधानिक रुपमा जापानमा बस्न र कामगर्न बिशेष ब्यवस्था गर्नको लागी भियतनाम, नेपाल जस्ता मुलुकहरुले संयुक्त रुपमा जापान सरकार संग अनुरोध गर्नु आवश्यक देखिन्छ ।
2) जापान आउने बिधार्थीहरुले पनि पढाइ पछीको भविष्य सम्म सोचेर बिधार्थी जीवनमा राम्ररी भाषा तथा बिषयगत पढाइ सकेर रोजगार पाउन मिहेनत गर्नु पर्ने देखिन्छ ।
3) बिधार्थी जापान पठाउने कन्सलट्यान्सीहरुले पनि पढाइ पश्चात काम गर्न मिल्ने बिषय तथा त्यसको तयारीको लागी आवश्यक कुराहरुको उचीत परामर्स गरी पठाउनु पर्दछ ।
माथि उल्लेख गरिएझै बिशेष त यो बिधार्थी स्वयमले बुझ्नु पर्ने कुरा हो तर पनि हजारौको संख्यामा जापानमा आएका नेपाली बिधार्थीहरुमा बेरोजगारी र देश फर्कनुपर्ने बाध्यता लाइ सोच्दा बिधार्थी स्वयमको जिम्मा भनेर देश र समाजले पन्छिन भने कदापी मिल्दैन । बिधार्थी साथीहरु पनि बिदा पिच्छे नाँचगान र भोज भतेरतिर नलागी भबिष्य बनाउन तर्फ लाग्नुहोस । सरोकारवाला पक्ष बसेर एक कार्यदल गठन गरी यस्ता समस्याहरुलाइ सुल्झाउन पहल चालौ ।