चर्को आवाजमा मोबाइलको अर्लाम बझे संगै हरेक दिन जस्तै यता उति छामछुम गरेपछि मोबाइल भेटेंं, अनि मोबाइलमा फेसबुक खोलें सुरुमै । मलेशियाबाट एकैपटक १८ जना नेपाली युवाको शव नेपाल लगिएको दुःखद खबर देखें । खवरले मनमा अनेक बिचारहरु खेल्न थालेसँगै सुर्योदयको देश जापानबाट केहि मनका कुरा लेख्दैछु ।
राजनीति भनेकै आफ्नो र आफ्नाका लागि गरिने रहेछ जनता जाबो मरेनि बाचेनि हामिलाइ के रु हामि बाचौं हाम्रो परिवार बचाउँ यस्तै देखिन्छ देशको राजनीति हेर्दा । भन्नलाई सादा जिवन उच्च बिचार भन्नुहुन्छ नेता ज्यु, जुन आशा थियो जनतामा तर सबैबाट निराशा पाईंदैछ । नेता त धेरै देखियो तर हामिलाइ जननेता चाहिएको छ भाषण होईन, सहि शासन गर्ने जननेता चाहिएको छ ।
जनता कोहि देशमै कठ्याङ्ग्रिने चिसोले ज्यान गुमाइरहेका छन, बचेका खाडीका देशमा तातो घाममा ज्यान गुमाइरहेका छन् । जाडो होस या गर्मि, धुलो होस या धुँवा नाकाबन्दी होस या बाढिपहिरो, भोकमरी होस या चेलि बलत्कृतका घटना, दिदि बेचुन या देश यहाँ केहि दिनको मात्र मुख्य समचार बन्छन । केहि दिन हामि सबै तात्छौं, अनि केहि दिनमै सेलाउछौं । यो सब केका लागि, किन र कसरि ? यि सब देखेर पनि म टुलु टुलु हेर्न बाहेक केहि गर्न सक्दिन ।
कलिला रहरले शहर खोज्दैछन । देश भन्दा परदेश प्यारो मान्दैछन युवाहरु । अचेल कहिले विद्यालयतह पढाई सकिएला र बिदेश जान पाईएला भन्ने धेरैको मुख बाट सुन्न पाईन्छ । उनिहरुलाई त्यो देशको अवस्था, संघर्ष र समस्यासँग सरोकार छैन मात्र देशमा नेताहरुको घिनलाग्दो राजनीतिबाट टाढा हुनुछ ।
एकपटक आफैंले सोचें, म आफ्नै देशमा चोरिन, लुटिन अनि अनाहकमा मारिन सक्छु तर बिदेशमा स्वतन्त्र नेपाली भनेर हिड्न पाएको छु । त्यो नेपाली माटो भन्दा बिदेशी बालुवा राम्रो लाग्न थालेको छ । किनभने यो बालुवा नै सहि तर यहा मेरो मिहेनत परिश्रमले ठाउँ पाएको छ । यो स्थिति देखेर मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेउ माझि छौ कि कोहि आइ बचाइदेउ भन्ने सत्य, स्वरुपको गित गुन्गुनाउनु बाहेक हामी विकल्पिहिन अवस्थामा पुर्याईएका छौं ।
हिजोका हर्क बहादुरहरु देश छोडपछि भलै ह्यारि भएर बिदेशका गल्लिमा रल्लिएका होउन । तर सबैको मनको साझा आवाज हो स्वाधिनताले देश र जनता भन्थ्यो भने मेरो भोको पेटमा मुसाले म्याराथन खेल्दैन थियो । त्यो बेला मलाई मेरो पेटले मात्र एउटै कुरा बुझ्यो र पेट भर्ने कुरा खोज्यो । मैले बिदेशमा बनेको एउटा बिस्कुट पानी संग चोपेर खाएर बसे, मेरो पेटले भोक बुझ्यो । भोकले त्यो विस्कुट कुन देशमा बनेको बुझेन ।
भन्नलाई त नेताहरु युवाहरुलाई देशमा आउ केहि गर भनि टोपल्छन् । साथि देशमै केहि गर्न सकेको भए मलाइ चाहि कहाँ रहर थियो र परदेशी बन्न । देशमै केहि गर्न सकेको भए, केहि गर्ने वातावरण मिलेको भए मेरो राहदानीमा छाप र मेरो पसिनाको माग परदेशमा हुन्न थियो होला । रहरले शहर खोज्नु र कहरले आफ्ना भन्ने सबै छोडेर परायाकोमा आउनु धेरै फरक कुरा हो । ठुलो सपना बुन्दै यो सानो हत्केलामा मेहनत गरेर भाग्य रच्न र निधारमा राहदानी भन्दा पनि ठुलो परदेशिको छाप हानेर मुग्लान छिरेको हुँ । केहि समय, केहि बर्ष र केहि दशकको लागि सधैको लागि भन्ने चाहि होइन ।
परदेशमै नेपाली राहदानी त्यागेर बसेका थुप्रै हर्के दाइहरु देख्न पाइन्छ आजकल । बिदेशी ब्रान्ड लगाएर मात्र नपुगेर बिदेशी बन्न र भन्न खुसि हुने धेरैछन । माख्ला घरे दिदिले परदेशमै बिहे गर्नु भएछ बिदेशीसँगै । कारण ढिकिजाँतो, मेलापाखा गर्न मन छैन रे अब ।
प्रश्न धेरैलाइ गरें, कारण फरक फरक पाएँ । कोहि रहरले त कोहि कहरले बसेको पाएँ । कोहि मैलेत दुःख पाएँ, मेरो सन्तानले त्यो दुःख देख्न नपरोस, त्यो आफ्नै देश भएर के गर्नु आफ्नहरुसँगै डराएर हिड्नुपर्ने अबस्था छ । नेताहरु जस्तो सुकै उपचार गर्न सक्छन्, बिदेश पुग्छन् तर हामी आफ्नै देशमा उपचार नपाएर मर्नुपर्ने अवस्था छ । आफुभन्दा ठुलो सन्तानको खुसि हो, सन्तानकै खुशीका लागि भनेपनि यस्तो निर्णय गर्न परेको भन्ने तर्क पनि पाएँ ।
यसो भनिरहदा मन चिसो भएर आउँछ, त्यो घरको र त्यो गाउँबेसीको यादले सताउँछ । देशको माया कति लाग्छ, त्यो त एक परदेशीलाइै सोधे पुग्छ । अचेल माया भनेको बुझ्दैछु, घर परिवार र देशको माया भनेको के हो भनेर । बिपनामा त के, सपनामा पनि आफ्नो देश गएको देख्दा मन खुसि भएर आउँछ । त्यो धुवाँ धुलो नै किन नहोस, आफ्नो देशको भएपछि प्यारो लाग्दो रहेछ । हुर्केको, खेलेको ठाउँ र साथिहरुले सदैव बोलाइरहेको आभास हुँदोरहेछ । हिजो पैसा थिएन म सँग, धेरै साथि र समय थियो तर अहिले म सँग केही पैसा छ तर ति साथि छैनन । समय छैन । छ त केबल ति बितेका पलहरुको यादहरु मात्र छन् ।
पहिला पहिला पल्लाघरे दाइले देशको बारेमा लेखेको देख्दा किन यस्तो लेखिरहेको होला बिदेशमा त्यस्तो मोज मस्ति रमाइलो ठाउमा भएर भने जस्तो लाग्थ्यो । अहिले बुझ्दैछु दाइले त्यतिखेर लेखेको मर्म र भाव अहिले आफैं लेख्न विवश हुँदा । नेतालाइ गालि गर्दै छु र भन्दैछु ठिकैछ सरकार तिमिलाइ हाम्रो रेमिट्यान्सले पुगेन भने ति परदेशिको आँखाको आँसु र फर्केर आएको लासको बाकसबाट पनि कर असुल तर परदेशमा दुःख गरौंला तर आउने दिनमा कोहि नेपाली परदेशी हुने दिन नआओस् ।
हर नेपालीले आफ्नै परिवारसँगै देशमा बसेर केहि गर्ने वातावरण बनोस् । नेपाली श्रमजीवीले आफ्नै देशमा श्रमको उचित मुल्याङ्कन भएको हेर्न पाईयोस् । मेरो बुवो १५ बर्ष बिदेशिनु पर्यो, हाम्रो लागि म आफैं पनि बिदेशिनु पर्यो, हाल परदेश मै छु । अब मेरो या हामि सबै नेपालीको भाबि सन्ततिले आउने दिनमा यो नियतिलाई पछ्याउनु नपरोस् ।
देश चिन्न बिदेश आउन पर्ने रहेछ । समय होस या माया एक एक चिन्न सिकाउँदो रहेछ यो परदेशी भूमिले । परदेश आएपछि धेरै कुराहरु नजिकबाट नियाल्ने र बुझ्ने मौका पाएको छु ।
प्राकृतिक श्रोत हेर्ने हो भने हाम्रो देश धेरै सुन्दर र अनुपम छ तर पनि हाम्रो देशमा सोचेको जति बिकास छैन यसको एउटा र प्रमुख कारण भनेकै राजनीतिको नाममा भएको अराजनीति र अस्थिरता हो ।
पर्यटक आकर्षक गर्न सहि प्रचारप्रसार सुबिधा र सुरक्षा दिन नसक्नु । देशको जनशक्ति विदेशमा पलायन हुनु । अरु देशले कृतिम बस्तु देखाएर नै पर्यटक भित्राईरहेका छन् । मरुभुमिको बालुवा होस या समुन्द्रमा शहर, होटेल बनाएर होस्, बिश्वको ध्यान तान्न अनेक उपाय लगाएर देश समृद्ध बनाईरहेका छन् ।
हाम्रो रगत र राष्ट्रियता अलि कमजोर नै भन्नु पर्छ । जुन एकैछिन तात्छ अनि एकैछिनमा सेलाउछ । धेरै कुरा भाषणमा मात्र सिमित देख्छु । हाम्रो देशको ति उर्बर भुमिले युवा जनसक्ति, युवा पौरखि हातहरुलार्इ पर्खिदैछ, आउ युवा आफ्नै देशमा केहि गर भनेर । अनि चाडै नयाँ सोच, प्रबिधि, आर्थिक योजना, दिर्घकालिन बिचार लिएर आफ्नै देशमा केहि गर्न चाडै फर्किन सकौं हामि परदेशीहरु पनि । अनि हाम्रा यि पौरखि हातको शिप मेहेनतले भरुभुमिलाइ त हराभरा बनाउन सक्यौं भने हाम्रो देशलाई श्रुगांरेर स्वर्ग तुल्य बनाउन सक्छौं ।
पहिला भन्दा धेरै कुराहरुमा देखियो परिवर्तन । युवा शक्तिको चासो र देशमै केहि गरौं भन्ने आत्मबलले म लगायत धेरै परदेशमा हुने नेपालीहरुलाई पनि आफ्नै देशमा चाँडै गएर केहि गर्न चाहेको आभास हुन्छ । केहि सिप सिकौं, बुझौं र बुझाउँ, तर परदेशलाई घरदेश नबनाउ नेपाली । आफ्नो संस्कृती राष्ट्रियतालाई सँधै माया गरौँ, राम्रो होस या नराम्रो, नराम्रो छ भने मिलेर सुन्दर बनाउँ हाम्रो देशलार्इ । भनाइनै छनि आफ्नो आमा झुत्रि नराम्रो हुनुहुन्छ भनेर अरुको राम्री आमालार्इ आफ्नो आमा भन्न मिल्दैन, जे छ त्यसैलार्इ राम्रो बनाउ । आउँ हातेमालो गरौं, देश बनाउन ।
...
अनिल गिरी
हाल जापान टोकियो ।