(Japan) 25 th August | 2026 | Tuesday | 9:15:52 PM || (Nepal) 6:00:52 PM
 
 


जापानमा नेपाली-संख्यासँगै समस्या बढ्दो, साना लाग्ने कुराले समस्या थपिंदो

Arjun Thapa   POSTED ON : Monday, 25 January, 2021 | Views : 12626

जापानमा नेपाली-संख्यासँगै समस्या बढ्दो, साना लाग्ने कुराले समस्या थपिंदो


सेन्दाइ जापानको राजधानीबाट लगभग ३५० किलोमीटर टाढाको शहर । यो तोहोकु क्षेत्रकै ठूलो शहरको रुपमा रहेको छ । म जापान आएको ४ बर्ष भएछ । धेरै  ज्ञान नभए पनि थोरै थोरै बटुलेर लेख्ने प्रयास गरेको छु । हुन त जापानमा धेरै लामो समय बिताएर धेरै ज्ञान बोक्नु भएका अग्रज नेपालीहरु हुनुहुन्छ र उहाँहरुले सिकाउनु भएको कुरालाइ लिएर अगाडी पनि बढ्दै छु ।

जापान आउनेवित्तिकै सफा शहर, सफा मानिस, सफा वातावरण देख्दा म त सपनामा हराएको जस्तो भएको थिएँ । आफैले आफैंलाइ समाल्न नसक्ने जस्तो भएको थिएं । त्यसमाथी सेन्दाइ जापानकै धेरै सफा शहरहरुको छैटौं नम्वरमा रहेको बताईन्छ । ब्यस्तताको कुरै नगरम सबै जना टाइ शुटमा रिमीक झिमिक भएर हतारहतारमा लम्किरहेका मात्र देखीन्थे । म अचम्ममा पर्थें, र सोच्ने गर्थें बिकसित देशमा सबैले टाइ शुट लगाउने रहेछन् । 

दिन प्रतिदिन जापानमा बिदेशीको जनसंख्या बढ्दै गएसंगै नेपालीको संख्या पनि बढेको छ । जसका कारण हामो राम्रो कुराहरु भन्दा नराम्रो कुराहरु बढीरहेको र सार्वजनिक भएको पाईन्छ ।

भिषाको समस्या पनि दिनप्रतीदिन कठिन हुदै गएको छ । भनिन्छ घर बनाउदा जग बलियो भएन भने छत बलियो हुदैन र धेरै टिकाउ पनि हुदैन । मैले के भन्न खोजिरहेको छु भने हामी एक अल्पबिकसित मुलुकबाट आएका हौं र हाम्रो देश अबको दुइ चार बर्षमा कोल्टे फेरी हाल्न सम्भव हुने कुरा होइन । हामीले जापानमा पछि सम्मको कुरा सोचेर अगाडी बढ्ने हो भने नियम पालनाको कुराहरुमा आँखा चिम्लन भएन । नियमानुसार तिनुपर्ने बिलहरु समयमा तिर्न पर्यो, झुटा कुरा गर्न भएन । म स्वयम गाक्कुसेइ हुँदा तिर्न नसकेको बिलहरु अहिले तिर्दै छु र अरुहरु पनि धेरै कुराहरु छन ।

साइकल चोरी देखी लिएर रातिको समयमा बत्ति बिना हुइकिने देखी लिएर जथाभाबी पार्किंग निषेध गरीएको ठाउमा पार्किंग गरेको जस्ता कुराहरु हामीलाइ समान्य लाग्न सक्छ । तर जापानमा यस्ता कुरालाई गम्भीरतापूर्वक लिने गरिन्छ । बाहिर निस्कँदा जाईर्यु कार्ड संगै लिएर नहिडेकोले गर्दा प्रहरीले समातेको भन्ने खबरहरु धेरै सुनिन्छ । भलै पछील्लो समय खास गरी डिपेन्डेन्ड दिदिहरुले काफल टिप्ने अनी झोलामा हालेर लैजाने जस्ता कुराहरु पाइएको भन्ने पनि सुनेको थिए । त्यही कुरालाइ मध्यनजर गर्दै सार्वजनिक स्थानमा टिकटक बनाउने जस्ता कुराहरु पनि नगर्दा राम्रो होला कि भन्छु ।

मेरो बिचारमा जापान सुरक्षाको हिसाबले संसारको पहिलो देश जस्तो लाग्छ यहाँ मानब अधिकार आयोग जस्ता संस्थाहरु छन कि छैनन जस्तो लाग्छ । किनभने यहाँ एक ब्यक्तीले अर्को ब्यक्तीको सम्मान मात्र गरेको देखिन्छ । यहाँ तपाईंले एकपटक बोलेको बोलिको धेरै ठुलो महत्व राखेको हुन्छ । धेरै महत्वपूर्ण कामहरु तपाइले बोलेको भरमा हुन्छन । पोष्ट अफिसका मान्छे तपाइले बोलाएको समयमा आइपुग्छन । रेल लाइन तोकिएकै समयमा आईपुग्छ । निर्धारित समय भन्दा ढिला भएमा क्षमा माग्ने गरेको कुरा हामी सबैलाइ थाहै छ । हामी पनी एक ब्यक्तीले अर्को ब्यक्तीलाइ सँधै सम्मान गरौं, कुरा काट्ने होच्याउने, तल पार्ने जस्ता प्रबृत्ति हटाएर जापानमा रहनुभएका सम्पुर्ण दाजु भाइ दिदि बहिनी मिलेर हाम्रो देशमा असल समाज निर्माणमा हातमालो गरौं ।

सानो सानो कुराहरुलाइ किन टिप्पणी गर्न चाहे भने यि साना साना कुराहरुलाइ बेवास्ता गरेको भए आज जापान जापान हुँदैन थियो होला १ हामी एक जनाको गल्तिले गर्दा धेरै जनाले दुख पाइरहेको हुन्छ र एकजनाले राम्रो गर्यो भने सबैको लागी भलाइ हुन्छ । यहाँ जापानिजको नजरमा ब्यक्ति हेरींदैन फलानो देशको ब्यक्ति भनिन्छ । बियर वा अन्य खानेकुरा खाएर फोहोर पार्कमा जथाभावी छोडी हिड्ने, चुरोट जताततै तानी दिने, रेलमा यात्रा गर्दा ठूलो स्वर तथा फोनमा बोल्ने जस्ता कारणले पनी जापानीबाट हामीलाइ हेर्ने नजर बदलिंदै गएको जस्तो लाग्छ ।

हामीहरु जापानीजहरु धेरै काम गर्नुको कारण पैशाको लागी भन्ने गर्छौं । तर एक कारण पैशा भए संगै एक मुख्य कारण आफ्नो कारणले अरुलाइ दुख दिन नचाहनु पनि हो । सोच्नुस् उनिहरुले आफ्ना हरेक काम, समस्या, ठूला गर्जोहरु सबै आफैं टार्छन् । अर्थात् कसैससँग हात फैलाएर माग्ने अवस्था आउन दिंदैनन् । त्यसैले सकेको मेहनत गरौं, काम र कर्ममा विश्वास गरौं स्वावलम्बी र देशभक्ती तब देखिन्छ ।

एकचोटी बाटो काट्ने क्रममा सेन्दाइमा नेपाली सवारी दुर्घटनामा पर्नुभयो । यस्तो घटना अब नदोहोरियोस, काममा हतार भयो भनेर रातो बत्तीमा बाटो काट्नु मुर्खता हो । समयलाई नियन्त्रणमा राख्न सकिन्न तर आफुलाई समय अनुचार चलाउन सक्नुभयो भने सबै कुरा ठिकठाक चल्न सुरु गर्छन् । तर समयको बेवास्ता गरेर हिँड्न खोज्दा माथि भएको जस्तै दुर्घटना निम्तन सक्छ अर्थात् भैपरी आउने समस्याको भागीदार तपाइ आफै हुनु पर्नेछ ।

अर्को फरक विषय आजकल फेसबुकबाट सामान किनबेच प्रबृतिले धेरैलाइ समस्यामा ल्याएको कुरा जगजाहेर छ । होसियार रहनु होला धेरै साथिहरुबाट सुनेको थिए अमाजोनमा काडबाट पैशा तिर्न लगाउने र सामान नआउने भन्ने कुराहरु धेरै पाइएको हुनाले भन्न चाहेको मात्र । आधिकारिक र विश्वासप्राप्त ठाउँबाट मात्र सामान किन्ने गरौं । जसको प्रमाणले कसैगरि सामान नआएमा दाबी गरेर फिर्ता पाउन सकियोस् त्यस्ता ठाउँबाट कारोवार गरौं ।

जापानभर कोरोना संक्रमण फैलिरहेको छ । जोखिम बढ्दो छ त्यसैले सावधानी अपनाउनु होला । सार्वजनिक स्थान तथा सामाजिक दुरी कायम गर्न असम्भव स्थानमा अनिवार्य मास्क प्रयोग गर्न नबिर्सीनु होला  । साबुन पानीले हात धुनुहोला ।सामाजिक दुरी कायम राख्नुहोला ।

आजको लेख खास गरी जो जापानमा नया प्रवेश गर्नु भएको छ उहाँहरुलाइ मध्यनजर गरेर लेखेको छु । र जो पुरानो हुनुहुन्छ उहाँहरु पनि सायद राम्रो सेइखाचु गरीरहनु भएको होला भन्ने ठानेको छु । जापान पैशाको लागी नभएर हामीले हाम्रो जीबन नै परीवर्तन गर्न सकीने देश भएकाले केही कुराहरु बुझेकोले बुझाऔं र नबुझेकोले सेन्पाइसंग सल्लाह लिएर अफ्ठ्यारोमा कोही नपरौ, केही राम्रा प्रयास आफु गरौं, अरुलाई राम्रो गर्न प्रेरणा दिऔं ।

...
सेन्दाइ बाट-
अर्जुन थापा