(Japan) 25 th August | 2026 | Tuesday | 9:16:50 PM || (Nepal) 6:01:50 PM
 
 


रेमिट्यान्स VS हुण्डी

Rabin Sharma   POSTED ON : Thursday, 14 January, 2021 | Views : 14858

रेमिट्यान्स VS हुण्डी


पैसा केहो ? पैसाको उत्पती र समय चक्रको बारेमा कोट्याउन थाल्यो भने समयसंग सापटी मागेको समय पनी सकिन्छ । समय पुग्दै पुग्दैन न त मान्छेलाइ पैसा पुग्छ ।  मान्छेको समय सासमा सकिन्छ र पैसा घाटमा सकिन्छ । अन्तिम दाहसंस्कार गर्ने बेला पनी मान्छेहरु भएका सबै खल्ति टकटकाउन थाल्छन । 

समय मान्छे र पैसा झट्ट हेर्दा परिवारका सदस्यहरु हुन् । 

समय घर हो ?

के पैसा र मान्छे सदस्य ?

मान्छे घर हो ?

पैसा र  समय सदस्य ? 

अनी पैसा घर हो ?

समय र मान्छे सदस्य ? 

यो प्रश्न हजुर हरुलाई छाडें, आखिर नभइ नहुने अनी नबगाइ पनि नहुने  । 

यो बिषय झन्झटिलो हुन सक्छ, सजिलो बिषय खोज्न लेख्न छाड्नु पर्छ, अफ्ठ्यारो बिषयमा डर हुन्छ, लेख्न छाडियो भने थाहा नभएका हरुलाई थाहै नभइकन सकिन्छन कुराहरु । मनमा बसेको कुरा लेख्नु पर्छ, आखामा बसेको कुरा लेख्नु पर्छ ।।

पैसा मान्छे र समय लेखेर सकिने चिज हैन रैछ । 

कालो पैसा लेख्न कालै मन चाहिने हो र ?

सेतो कागजमा कालो मसिले कालो पैसा लेख्दै छु आज ।।।। 

बच्चा बेलामा मन्दिरमा भेटी पैसा संकलन गर्न राखिएको भाडोलाइ “हुन्डी “ भनिन्छ भनेर बुझेको थिएँ । 

उ बेला बुझाई त्यही अनुसारको थियो । पछी थाहा भयो हुण्डीको आकार ठुलो रहेछ, हुण्डीको झुन्ड धेरै रहेछ । समुन्द्र तटमा पैसा सुकाएर बुद्दको सेतो मुटु भएकाहरुले पैसाकै कालो बजार किन गरी रहन्छन ?

येनलाइ एजेन्टबाट हङकङ र सिंगापुरमा डलर बनाएपछी कसरी मेरो देशमा रुपैयाँ सेतो हुन्छ ? सेतो बुद्धको मुटु भएको देशमा जन्मेको मान्छेले किन कालो बनाएको छ रुपयाँ पैसा ? 

दुख्नु पर्ने हो मञ्चमा राष्ट्रियताको भाषण गर्दै गर्दा, कालो बजार गर्नेको मन पनी ।  लगाएको टोपी र सामाजिक संजालमा नेपालको झण्डा बोकेको फोटो देख्दा अलिकती लाजले पनी लाज मान्दो हो आज भोली ।


सोझो हिसाबमा भन्ने हो भने एक ठाउमा पठाइने पैसा अर्कों ठाउमा पठाएर कमिसन खाने प्रक्रिया लाइ हुन्डी भनिन्छ । एउटा बजार कालो हुन्छ अर्को बजार सेतो हुन्छ । कालो बजार गर्नेहरुसंग सजक रहनु पर्छ । सुकिला मुकिला कुरा गर्दै बिभिन्न माध्यमहरुको प्रयोग गरी हातमा कालो ब्याग बोकेर हिड्नेहरुसंग सजक रहनु पर्छ । थाहा छ हजुरलाई हजुरले पठाएको पैसा कहाँ पुग्छ ? हुन्डी गर्नु भनेको अपराध हो । नजानिदो किसिमले हामिले अपराध गरिरहेका हुन्छौं । तपाइले जतिनै पैसा परदेशबाट कमाउनुस तर हुन्डी गर्नु भएको छ भने  राष्ट्रका लागी योगदान शुन्य बराबर हुन्छ । 


यताको कुरा गरौ, जापान ? कोरिया ? ऑस्ट्रेलिया ?

निश्चित सेवा शुल्क तिरेर बैंक वा रेमिट्यान्स कम्पनीमार्फत पैसा घर पठाउनुको साटो, आफुले कमाएको पैसा विदेशमै कुनै एजेण्टलाई दिएर सोही एजेण्ट सम्बद्ध व्यक्तिमार्फत स्वदेशमा आफन्तलाई नेपाली मुद्रा उपलब्ध गराइने प्रक्रियालाई पनी हुण्डी भनिन्छ ।

राज्य स्तरबाटै हुण्डी निरुत्साहित गर्नका निम्ती त्यसमा सरकारी नीति नियम मात्र नभइ काम गर्न जाने नेपालीहरुलाई पनि यथेष्ट जानकारी गराउनु उत्तिकै महत्वपूर्ण हुने देखिन्छ । मान्छेहरुलाई मान्छेलेनै हो ठग्ने, प्रलोभन देखाउने । तपाईँले आफूले परिचय सहितको नेपाल पठाएको रकम नेपाल भने पुग्दैन । यो रकम हङकङ वा सिंगापुर पुग्नेगर्छ । यसो गर्दा कतै तपाईको नाम र कामलाई जापानी निकायले छड्के नजरले हेरिरहेको हुनसक्छ । दुई चार रुपैयाँको लोभले तपाई खराब बाटोमा त हिँड्नु भएको छैन ?


यस्तो शंका गर्ने प्रसस्तै ठाउँ दिएको छ । अहिले नेपालबाट भ्रष्टाचार र श्रोत नखुलेका पैसा यता ल्याउने, उता पठाउने ठूलो खेल समेत भइरहेको एक जापानका ब्यापारीले बताए । त्यस्तो पैसा करौडौमा आउने र यहाँ छोरा छोरीको नाममा ब्यवसास खरीद गर्ने, नेपालमा घर जग्गा किनबेच गर्ने गरेको पाइएको छ । गैर कानुनी रूपमा जापानबाट जाने पैसा नेपालमै लिने र यताबाट पठाएको पैसामा रूपान्तर गरी त्यतै दिने क्रमले यतिखेर तिब्रता पाएको छ ।

जापानमा उठाएको येन पठाउने वा केहीले यतै चिनियाँ ब्यापारीलाई दिने र कमिसनको मोटो रकम असुल्ने क्रम बढेको छ । एक दिन एक जना चिनिया नागरिकले नेपालीको फोटो देखाउदै यस्लाई चिन्छस भनेर सोध्यो, पछी बुझ्दै जाँदा थाहा भयो उ नेपाली संग मिलेर हुण्डी कारोबार गर्दो रहेछ । नेपाली फरार भएपछी चोकचोकमा फोटो लियर बस्छ ।  कुनै दिन त्यो फोटोमा तपाइले चिनेको मान्छेको अनुहार पनी आउन सक्छ । यस्ताबाट सजक बन्नै पर्छ । यसले मुलुकलाई प्रत्यक्ष रुपमा घाटा त पुगेको छ नै नेपालका भ्रष्ट र कालाबजारीयालाई प्रोत्साहन पनि मिलेको छ ।  

श्रोतनै नखुलाइ पठाएको पैसा कालो धन हो । तपार्इ जतिनै पसीना बगायर पैसा कमाउनुहोस यदी हुण्डी गर्नु भएको छ या हुण्डी मार्फत पैसा पठाउनुभएको छ भने अपराध गरे सरह हो । हुण्डी गर्नेहरुको घरमा पैसाको चाङ हुन्छ, झोला भरी पैसा हुन्छ, मान्छे नै बैंक बनिरहेको हुन्छ । यो जापनको कानुन बिपरीत हो ।  यदी घरदेशको कानुन बलियो बनेर छानबीन भयो भने स्रोत नै नखुलेको पैसा कालो धन हो, बनाएको घर र जोडेको सम्पत्ति शुन्यमा झरेर उठिवास लाग्ने अवस्था आऊनु अगाडिनै सोचौं !

याद राखौं करोडको मान्छे रोडमा आउन समय लाग्दैन !!!

...

रबिन शर्मा