प्रधानमन्त्री ओलीलाई जापानबाट खुला पत्र
सम्माननिय प्रधानमन्त्री
खड्ग प्रसाद ओलि ज्यु,
म तपाईको पार्टिको भोटर, समाजले पत्याएको अनि नेताहरुले न-पत्याएको मान्छे ! तर पनि त्यही नेतालाई आफ्नो भविष्य ठान्ने गर्दछु । यो १२ बर्षको अन्तरालमा मैले जति राजनीति बुझे तपाईले त्यो भन्दा बढि बुझ्नु भएकै छ र भोग्नु भएको पनि छ । तपाईहरुले भोगे जति सायद हामिले भोग्न नपाईएला । तपाइको राजनितिक जीबनलाई म सम्मान गर्छु ।
हामी जुन उत्साह बोकेर स्थायी सरकारको पक्षमा उभियौं र नेकपालाई अत्यधिक बहुमत दिएर तपाईं सरकारको प्रमुख बन्न पाउनुभएको छ । चुनाब जित्नैकालागी गरिएका तपाईहरुका बाचाहरु त्यतिबेला अत्यन्तै सस्ता भए । अब ति बाचाहरु बिस्तारै महङ्गो हुँदै गईरहेको छ ।
हामिले पहिलाका सरकारका पालाका जनमुखी कार्यक्रमलाई निरन्तरता दिन सकेनौंं । अहिले देशको लागि त्यो नै दुर्भाग्य साबित भएको छ । चुनाबताका र भोटकालागी बाँढिएका युवा रोजगार र बिदेश पलायन रोक्ने जस्ता कार्यक्रम ठिक उल्टा हुँदै गईरहेका छन ।
खै कहा उद्योग खोल्नु भयो यो अवधिमा ? खै नयाँ नयाँ बिकासका योजना ? रेल त बालबालिकालाई सुनाउने सपनाको राजकुमार जस्तो भयो, अनि पानी जहाँज ? हामिलाई रेल, पानीजहाँजका उट्पट्यांग सपना तत्कालका लागि चाहिएको थिएन काम चाहिएको थियो । स्वास्थ, शिक्षा रोजगार अनि बस शान्ति चाहिएको थियो ।
म त स्वदेशमै केही राजगार गर्न चाहन्थें । बेल्चा हान्न परे पनि तयार थिएं । खै मेरो देशले पत्याएन अहिले परदेशी भुमिमा कोरोनाको जीवन मरणको लडाई जितेर भाँडा माझेर बसेको छु । तर पनि सुर्यमा भोट हाल्नको लागि आउँदो चुनाबमा नेपाल फर्कने सोचमा छु ।
भाँडा माझ्दा कुहिएका हातले भोट हालेर फेरि पनि तपाईहरुलाई साम्सद, मन्त्री, प्रधानमन्त्री बनाउने इच्छा अझै पनि जिउँदै छ ।
हामीले नै बिदेशमा बगाएको पसिनाबाट तप्प तप्प चुहिएको रेमिट्यान्सको महासागरमा खुलमखुला भ्रष्टाचार गर्ने अनि तिनिहरुको संरक्षक मेरो देशको प्रधानमन्त्री भएको थाहा पाउँदा मलाई यस्ता कुरा सम्झिदा नेपालको नागरिक हुँ, तपाईँ जस्ता नेताबाट देश चलेको छ भन्न पनि शरम लाग्न थालेको छ ।
आफ्नो घरको चुलोमा आगो बाल्न र बा आमालाई दुई छाक मिठो मसिनो खुवाउनलाई बिदेशका गल्ली गल्लिमा पसिना बगाउने जवानहरुका आसालाई अपहरण गर्न तपाईंहरु सबै एकढिक्का भएको देख्दा कहिले काहीँ यी भोट हाल्ने हात ढुङा माथी राखेर थिचिदिउँ जस्तो लाग्छ ।
आ आफ्ना गाउँ घर बस्तिहरुमा मोटर बाटाहरु त पुगे होलान् । तर खै न्याय अनि सुरक्षाको प्रत्याभूति ? दिनहुँ महिला बलत्कार अनि उनिहरुले बर्षौंसम्म न्याय नपाएको खवर विश्वभर छाएको छ । न त जन जिबिकाका कार्यक्रम, न नयाँ उद्योग, रोजगार र समाजबादी ब्यबस्था सब चुनावमा जनतालाई ढांट्ने भाषण रहेछ भन्ने सबैले अनुभूत गरिसकेका छन् ।
नाकाबन्धिमा देखाईएको देश प्रेमको झिल्को देशको सिमाको नक्सा छापिएको पुस्तक पढ्न बाट जनतालाई बञ्चित गराएर सत्ता जोगाउनुभएको खवर छ्यालव्याल भएको छ । दिनभर सोझा साझा जनतालाई मिठा मिठा सपना बाड्ने रातभर देश र जनता बिरुद्ध सम्झौता गर्ने तपाईलाई अब कसरि पत्याउने हामिले ? यो त अति भएन प्रधानमन्त्री ज्यु ?
म बिश्वकै सुन्दर देशमा जन्मेको युवा हुँ । मेरो मातृभुमी प्रती कुनै गुनासो छैन । तर मेरो मातृभुमिलाई छिया छिया बनाईरहेको देखिरहदा मन कसरी सम्हालुँ म ?
आफ्नो देश र जनतालाई सम्बृद्ध बनाउने जिम्मेवारी सरकार प्रमुख को हैन र ? काम पनि केही गर्न नसक्ने, पद छोड्न परे मैंले छाडे देश बर्बाद हुन्छ भनेर कोकोहोलो मच्चाउने । पार्टी फुटाउँछु, कु गर्छु भन्ने यो धम्किले नेपाली जनता डराउलान र प्रम ज्यु ? जनताकै बलमा फेरिएको ब्यबस्था हैन यो ?
सहयोद्दाहरु माथी पदकै लागि दिएका धम्की, घुर्कीले प्रस्ट पारेको छ तपाईको नियतलाई । जनताको स्तर बदल्नु छ भने पहिला आफुलाई बदल्नुस । जनताले कसरी बुझेका होलान त्यतापनि ध्यान दिनेकि ?
आफ्ना आसेपासे जसले पद, शक्ति र सत्ताको आडमा राज्य ढुकुटीको दोहन गरिरहेका छन् तिनको वाहवाही र प्रशंसा सुनेर जताततै बिकास गरेको छु भनेर तपाईले गर्ने प्रचार र गफ मुतको न्यानो मात्र हो । अहिलेलाई तपाईंले यत्ति बुझ्नुस् ।
कार्यकारी अध्यक्षले पार्टी सचिवालय बैठक बोलाउँदा विभिन्न बाहना पारेर बैठकमा उपस्थित नहुने उल्टै पार्टी बैठकको खिलाफ मन्त्री परिसद बैठक बोलाउने, यो पनि कुनै दलका शिर्ष नेताको राजनैतिक चरित्र हो ? पार्टी बिपरित गतिबिधी गर्न तपाईलाई कुन बिधानमा त्यस्तो विशेष अधिकार दिइएको छ ? न सरकार चलाउन सक्ने न पार्टी चलाउन सक्ने, तपाईंको माहारोगिको सिकार ३ करोड जनता र देश बन्धक भएको छ ।
देश र जनताको लागि बाँचेको हुँ भन्दै भाषण गरेको याद आउँछकी आउदैन तपाईलाई ? खै बुझेको, खै महसुस गरेको ? खै जनतालाई बिश्वस्त बनाउन सकेको ?
भाषण गर्ने तर काम सिन्को नभाँच्नु यो शैली के ले हड्डी ओगटे भनेजस्तै हो । अति भयो प्रधानमन्त्री ज्यु, देश र जनताका लागि आराम गर्नुस । तपाईका आसेपासेले त एक दुई पुस्ताका लागि राज्यढुकुटी लुटेर थुपारिसके । अब तपाईंलाई थप के चाहियो ?
...
जीवन पोखरेल कन्चन
टोकियो जापान