(Japan) 25 th August | 2026 | Tuesday | 9:16:09 PM || (Nepal) 6:01:09 PM
 
 


'तिहारमा पैसा फिजारेर हैन खुशीहरु कनिका जस्तै हुन् जुन ससाना कुरामा पाईन्छन्'

Amar Dev Bastola   POSTED ON : Sunday, 15 November, 2020 | Views : 6010

'तिहारमा पैसा फिजारेर हैन खुशीहरु कनिका जस्तै हुन् जुन ससाना कुरामा पाईन्छन्'


लेखौं नलेखौं, लेखौं नलेखौं भनेर मच्चिएको मन भित्रको युद्धमा आखीर लेख्ने मनले विजय प्राप्त गर्यो र केही शब्दहरू समेट्न मन लाग्यो । यो लेख नितान्त व्यक्तिगत धारणा स्वरूप नितान्त वर्तमान परिवेशलाई नियालेर लेखिएको हो मन नदुखाउनु हुन अनुरोध स्वरूप लेखको मूल धारमा प्रवेश गर्दछु । 

नि:सन्देह हाम्रो देश अथाह संस्कृति, परम्परा धार्मिक सहिष्णुता र विविधताले आलंकृत विश्वकै एक उदाहरणिय देश हो । यीनै चाडपर्व संस्कृति र परम्परा नै हाम्रो समाज र राष्ट्रको एकता(समृद्धि, प्रेम, मेल(मिलाप, आपसी सद्भाव कायम गर्ने प्रमुख माध्यमहरू हुन् । जन्मकाल देखी अन्त्यकालसम्म यही परम्पराको साङ्लोमा बॉंधिएर अपार उल्लास र आनन्द अनि पवित्र भावना सम्प्रेषण गर्दै आउने हाम्रो पृथकता नै हाम्रो पहिचान हो । 

युग परिवर्तनसँगै प्रभावित बनेको विश्व बजार एवं हाम्रो मौलिकता र शैलीमा पनि आमूल परिवर्तन आईरहेको यस परिप्रेक्ष्यमा के कति कुराहरू बिना परिवर्तन यथावत नै उचित र लाभदायक हुन्छ । संस्कृतिलाई पछ्याएर हेरौं सजीव निर्जीव सबै बस्तुलाई सम्मान गर्ने उदारवादी संस्कृति संगै, ढुङ्गा, माटो, पानी देखी फलाम, सुन सम्म र हरेक जीव जनावर जस्तो नाग, गाई, गोरु देखी कुकुर र काग सम्म पुज्ने एक पृथक परम्परा हाम्रो छ भने चाड पर्व मनाउने र मान्ने हक सडक पेटी देखी दरवार सम्म र रैती देखी राजा सम्म समान नै रहन्छ । 

वर्तमान समयमा हाम्रो गॉंउ समाजमा बर्षेनी मनाईने चाड पर्वहरू अप्रत्याशित रूपमा भड्किलो बन्दै गएको उदाहरणहरू प्रशस्त देख्नमा आएकोछ। र यस्तो भड्किलो रबाफ र प्रदर्शनले हामी र हाम्रो समाजमा के कस्तो प्रभाव पर्छ एकपटक मनन गरेर हेरौं ।

अहिलेको परिवेशलाई मध्य नजर गर्ने हो भने कोरोनाको कहरले विश्व बजारको आर्थिक स्थितिले टुक्रुक्कै घुँडा टेकेको अवस्था छ । यहाँ जापानको सन्दर्भमा जापान सरकारले आफू डुबेर भए पनि जापानमा बसोबास गर्ने स्वदेशी बिदेशी नागरिकलाई समान रुपमा आर्थिक राहत वितरण गरेर तमाम पीडामा मलम लगाएको अवस्थामा पनि, हजारौं लाखौंले रोजगार गुमाएको र दैनिक स्तर अत्यन्त असहज बनेको स्थिती पनि अबगत नै छ । झन हाम्रो नेपालको परिवेश हेर्ने हो भने निम्न वर्गका परिवारहरूको दैनिकी खोसिएर बास र गास बाट पनि बञ्चित हुनु परेको एक दर्दनाक अवस्था सर्वविदित नै छ ।

यो अवस्थामा हाम्रो दोस्रो महत्वपूर्ण चाड तिहारको सन्दर्भलाई लिएर हेर्ने हो भने धन धान्यकी देवी लक्ष्मी पूजाको अवसरमा सन्जालको भित्ताहरूमा देखिएको केही तस्वीरहरूले के कस्तो सन्देश देला त हाम्रो समाज र निम्न वर्गहरूमा ? 

विदेशी डलर, येन, दिराम र नेपाली ५००, १००० रुपैयाँका नोटहरू देखी गर गहना, डेविड र क्रेडिट कार्डहरू चॉंदीको प्लेट या नाङ्लोमा फिजाएर माता लक्ष्मीको पूजा आराधना गरेको तस्वीरहरू छ्याप छाप्ती भए । सोच्नुस् त, यसले निम्न वर्गका परिवारमा के कस्तो असर पर्ला श्र.? के उनिहरूलाई दशैं दशैं जस्तो र तिहार तिहार जस्तो लाग्ला ? यो भड्किलो पन र रबाफले हामीलाई क्षणिक इज्जत र शान्ति देला तर यसले ति निम्छरो वर्गका परिवारमा प्रत्यक्ष, अप्रत्यक्ष कस्तो प्रभाव पार्छ भन्ने कुरा आत्महत्या देखी चोरी डकैतीका केसहरू प्रमाणको लागी काफी छन् होला । 

व्यक्तिगत रूपमा आर्थिक समृद्धि आउनु सबल र सक्षम पक्ष अवस्य हो । तर विश्वको ३० औं गरीब देशको सूचीमा रहेको हाम्रो देश र झण्डै ५५ लाख युवाहरू रोजगारको क्रममा बेचिनु पर्ने बाध्यातमक परिस्थितिले आक्रान्त बनेको देशका हामी जस्ता जनताहरूले पैसा फिंजाउनु कति सम्मको हाँस्यास्पद कुरा हुन सक्छ मनन गरौं । एक तर्फ विपन्न वर्गका मानिसलाई यसले दुरुउत्साहित र चोरी डकैती जस्ता अपराधलाई उत्साहित गर्छ । र हामीले मनाउने चाड पर्वको उद्देश्य अवस्य पनि यो होईन । 

यति मात्र नभएर तिहार वा अन्य कर्ममा पनि सजावट र देखावटका लागी मात्र गरिएको कामले कहिल्यै पनि राम्रो परिणाम दिदैन । सन्जालको भित्तामा सजावटको लागी राखिएका लक्ष्मि माताको प्रतिक मानिने, लक्ष्मि माताकै स्वरूप पैसा पनि तँपाई हाम्रो सानो अपरिपक्वताले जलेर राख भएको र कतै घरमा आगलागी भएको जस्ता घटनाहरू पनि पोहोर साल र हाल साल देख्नमा नआएका हैनन । पैसा सुन चॉंदी सजाएर माता लक्ष्मीको हातबाट पैसा बर्षने पनि हैन होला र यस्ले माता लक्ष्मी प्रसन्न हुने पनि हैनन । यसरी हतारमा गल्ति गरेर, फुर्सतमा बहुत पछुताउनु र रुनु भन्दा केही परिपक्व भएर सोचौं र यस्ता घटनाबाट बचौं र अरुलाई पनि बचाऔं । 

जे सुकै होस् मान्छे होस् या वस्तु आगोको फैसला मात्र खरानी हो र याद गर्नुस् खरानीको कुनै मोल हुंदैन । कर्मको मोल मेहनत र पसिनामा हुन्छ भने धर्मको मोल उपकारमा र कसैको घाउमा मलम लगाउनुमा हुन्छ। यसको उदाहरण जापानको साईतामामा रहदै आउनु भएका १० वर्षका बालक “अपिकल पुडासैनीले” एक महिना अगाडी आफ्नो जन्मदिनमा हुने खर्च सबै कटौती गरी, बा आमा नाता गोता, ईस्टमित्र साथी भाई सबैलाई उपहारको सट्टा आर्थिक रकम सहयोग गरिदिनु हुन अपिल गर्दै हामी सबैको स-सानो सहयोगले जम्मा भएको रकम “हाम्रो टिम नेपाल” र “नभ किरण चिल्ड्रेन होम” लाई प्रदान गरी कैंयौ अशक्तहरूको मलम र भोको पेटको भोजन बन्न सफल भएको थियो। सायद यस्तै काममा नै अथाह खुसी र धर्म मिल्छ भन्ने कुरामा दुईमत नहोला । 

याद गर्नुस् खुसीहरू कनिका जस्तै हुन् स साना कुरामा नै खुसी पाईन्छ र त्यसरी नै टिप्नु पर्छ खुसी पनि कुराले चारो टिपेको जस्तै। साधारण कुरामा नै अथाह खुसी मिल्छ । कतिपय कुराहरु पानी जस्तै तरल र सरल नै मीठो र स्वच्छ मानिन्छ । सरल जीवन शैलीले दुखमा र अभावमा पनि सम्यम्ताको साथ खुसी खुसी बॉंच्न सिकाउछ । के थाहा आजको जस्तो कमाई भोली रहला नरहला आजको जस्तो रबाफ रहला नरहला तर यो पर्व कालचक्रमा घुमीफिरी अवस्य आउछ । 

यसर्थ पर्वलाई सहजीकरण गरौं ताकी सबैले सहज रूपमा प्रेम र सद्भाव बॉंडेर अ‍ैंचो पैंचो सर सापट गरेर मनाउन सकुन् किनकी हामीहरू आगोको अगुल्टो, दूध मोही देखी मुरी पाथी धान चामल अ‍ैंचो पैंचो गरेर सुख दुःख र भोक प्यास साटासाट गर्ने सरल जीवनशैलीमा असाधारण खुसी ब्यक्त गर्ने खुला हृदयका नेपाली हौं । युगको परिवर्तन संगै यो हृदयमा परिवर्तन नआओस् । यही प्रार्थनाको साथ शुभ दिपावलीको मंगलमय शुभकामना ।