मेरो एकजना मित्रले ‘दसैंलाई छोटकरीमा स्मरण गर्नु भएको रहेछ अब तिहारलाई पनि स्मरण गरेर केही लेख्नुस् न ! तपाईंहरु गाउँमा जन्मिनु भो ,हुर्किनु भो ।
केही सुनाउनुस् यसै पनि गाउँका किस्सा रमाइलो खालका हुन्छन्!’ भनेपछी, दशैको टिकाको भोली पल्ट मैले हुन्छ नि कोशीस गर्छु है ! भनेको थिए नभन्दै तिहार आइपुगेछ !
बिहानै गोठ मुनीको मलखातको झिक्रा (गाईभैसीको गोबरलाई जम्मा पार्न बासबाट बनाइएको खाडल) मा बसेर काग करायो भने हजुर आमाले हा~~~गरेर उडाउनु हुन्थ्यो र भन्नु हुन्थ्यो ‘आज यो काग किन झिक्रा बसेर कराउछ !’
सुकेको बासले बारेर बनाइएको गोठको मलखातमा बसेर काग करायो भने अशुभ हुन्छ रे भन्ने कुरा हजुरआमाको मुख बाट सुनेपछी म घर हुँदा त्यो काग मलखातको झिक्रामा बस्न सम्म पाएन कराउनको त कुरै छोडौ !
त्यही काग एका बिहानै घर मुनीको कुटमेराको रुखमा बसेर कराउदा हजुरआमाले भन्ने गर्नुहुन्थ्यो ‘आज को मान्छे पाहुना आउने रैछ्न कि यसले राम्रो खबर लिएर आयो ! आवाज पनि अर्कै छ् !?’ मैले उसलाई कहिले लखेटिन आउथ्यो र दील खोलेर कराएर जान्थ्यो !
मलाई घरमा पाहुना आउँदा खुब खुशी लाग्थ्यो ! हाम्रो तिर घर बढार्ने कुँचो झुक्किएर ठाडो भयो भनेपनी पाहुना आउछन् भन्ने चलन छ् ! मैले घरमा गल्ती गरेर गाली खाने दिन पाहुना आउन भनेर कुँचो ठाडो पार्ने गर्थे कहिलेकाही त्यो आइडिया काम गरी पनि हाल्थ्यो ! घरमा मान्छे आएको बेला गाली अलिक कम खाइन्थ्यो ! पाहुना आउनु संयोग थियो जस्तो अहिले लाग्छ । त्यतीबेला त्यही कागको सन्देश या कुँचोको प्रभाब हो भन्ने लाग्थ्यो !
हजुरआमाले कौवाभाषा बुझ्नु हुन्थ्यो क्यारे शुभ अशुभ छुट्टाउनु हुन्थ्यो ! मैले मलखातको झिक्रो र कुटमेराको रुख हेरेर छुट्टाउथे !
कुकुरलाई बफादार प्राणी (घरपालुवा जनावर) भनिन्छ ! घरमा कुकुर नभए पनि बिहान खाना खांदा एकगाँस खानाको डल्लो बनाएर बाहिर राखीदिनु हुन्थ्यो ! डुल्दै आएको कुकुरले खाने गर्थे ! मलाई घरपालुवा जनावरमध्ये कुकुर मनपर्ने जनावर हो ! एकपटक रहर गरेर ल्याएर पालेको थिए त्यही नि मर्यो ! त्यसपछी पाल्ने मन लागेन !
घरमा हल गोरु थिए ।ठुटे र तारे नाम गरेका! म सानै हुँदा बेच्नु भएको त्यती सम्झना छैन ! ठुटे गोरु मान्छे जस्तो थियो ! जंगलमा चर्न जादा बाटो बिराएर हरायो भने ‘ए ! ठुटे’ भनेर बोलाउदा हम्बा~~ गर्थ्यो भन्नुहुन्थ्यो आमाहरुले !
मैले थोरै भूमिका बाधेर काग, कुकुर र गोरुको बारेमा किन लेखेको भने यो चाड यिनीहरुको पनि हो, जसले हामीलाई बर्ष भरी बिभिन्न किसिमले साथ दिएका छन !
दशैको पुर्णिमाको भोली पल्ट बाटनै तिहारको तयारीमा लाग्थे अंकल, दाईहरु!
गाउँमा ठुलो भैलो र सानो भैलो अनी देउसिरे गरेर ३ प्रकारका भैलो हुन्थे !
ठुलो भैलोमा मारुनी (मारुले), पुर्सुङे हुने गर्दथे ! यो रातीमा खेलीन्छ ।जसमा उमेरले अलिक पाका खालका लोग्ने मान्छे खेल्ने गर्दछन !
सानो भैलो मजुरा र खैजडीको समिश्रण सहित बनेको हुन्छ । अत्यन्तै निर्दोष ! यो टिम ९ देखी ११ जनाको हुन्थ्यो, जो सँग बजाउने चिज छन उनिहरुलाई प्राथमिता साथ सम्मानपुर्बक टिममा राखिन्थ्यो ! केही नहुनेहरु टिममा पर्ने सम्भाबना न्युन हुन्थ्यो ।
अर्को हुन्थ्यो देउसिरे ! जहाँ दिदी बहिनीहरु खेल्ने गर्नुहुन्थ्यो ! यो ठ्याकै कस्तो हुन्थ्यो मलाई अड्कल भएन ! दिदीबहिनीहरु खेल्ने भएकोले नाचगान पक्कै हुन्थ्यो रमाइलो हुन्थ्यो होला !
देउसी खेल्ने भन्ने प्रचलन भएपनी भनभन भाई हो भैलो नै हुन्थ्यो ।
अब सानो भैलोलाई थोरै स्मरण गरौ !
ए काकी के गर्न लाग्नु भो ?
‘बल्ल दैलो-कुँचो, घुर-कसेर गरेर सकियो अब भैंसीलाई पानी दिएर जुठो-भाँडो सकाए पछी चिया पकाउने हो ! कता हिडिस् ठुला !?”
खैजडीको जोहो गर्न जादा बाटा मुनीकी काकीले भन्नु हुन्थ्यो !
दशैलाई बिदाइ गरेपछी तिहार आइपुग्न २०/२२ दिन लाग्छ ! यो बिचमा जोत्न बाँकी रहेका बारी, काट्न सकिने खरबारीको खर ! सकिसक्नु पर्ने चटारो हुन्थ्यो ! यसैपनी गाउँका काम केही गरे सकीदैनन् ! ‘तिहारा मओल जानी भनिकिम हेर छोरा ! तिहार नि आइसको ! रोटा पकाउन त्यसै छ्न ! माला बनाउन फुल नि गतिलो फुलेन’ काकीले भन्नुहुन्थ्यो !
गाउँदेखी पारीपट्टी जोत्नी दाईको घर थ्यो ! दाईले गहुँ छर्न आएको बेला तिम्लाई खैजडी दिउला भनेका थिए।
पुर्णिमाका अर्को दिन बाट धाउदा धाउदा गाई पूज्ने दिनको बिहान सम्म बल्ल हात लाग्थ्यो । पहिले नरम भएर दिन्छु भनेका दाईले भाडा लाग्छ भन्थे ! त्यही दिनबाट भैलो खेल्ने हो ! साथीहरुलाई बचन दिएको छु ! अब नलीई गए भने, भैलो खेल्न नि नपाईने, विश्वासघाती नि हुने भैगो लैजान्छु त नि भनेर आफ्नो गोजीबाट २० रुप्पे भाडा तिरेर लिएर आएको थिए !
मलाई डम्फो (खैजडी) बनाउने हुटहुटी चलेको थियो ! सधैं अरुको मागेर कती बजाउनु ! आफ्नो हुनुपर्छ भन्ने लागेको थियो । जीजु हजुरबाको पालामा त मजुरा खैजडी घरमै थिए अरे ! हजुर बा, बा र हाम्रा पालासम्म आउदा ति लोप भैसकेका थिए !
गोहोराको छालाबाट खैजडी बनाउन सकिन्थ्यो आफ्नो त्यती उपती थिएन । एकदिन गाउँका काका पर्ने गोहोरो(गोही प्रजातीको स्थानधारी जिब) मार्नु भएको रैछ ! ‘साना म सँग छाला छ, तिम्ले ठेकाको मुख जुवाड गर !” काकाले भनेका थिए ! खैजडी बनाउन मही बनाउने ठेकी वा दही जमाउने ठेकीको खाँचो पर्थ्यो! मही बनाउने अलिक ठुलो हुन्थ्यो! दही जमाउने ठीक्क हुन्थ्यो!
मैले घरमा दही जमाउन राखेको ठेकीको मुख (घाटीबाट) काटेर लिएर गए! त्यसपछि पाएको सजायले रत्नाकर जस्तो म बाल्मिकी जस्तो हुन पुगेको थिए !
समग्रमा मलाई यस्ता काम गर्नु स्वाभाबिक लाग्थ्यो !
घरभरी सुन्तला हुन्थे, साथीको लहलहीमा लागेर छिमेकीका सुन्तला चोर्नु ! गाडा बनाउन खरबारिका बाँस काट्नु, त्यही गाडाको डिजेल बनाउन ! गिठिका बोक्रा काट्नु, बारीका मुला गोड्नु खाएको खानु नखाएको फाल्न्नु, स्कुलबाट आप टिप्न जानु, तिजु(खल्टुक)का रुख चाहार्नु, काफल र ऐसेलु खादै जंगल डुल्नु, तिजुको रुखबाट लडेर मुख भरी चोट लाग्दा ठेस लागेर लडेको भनेर झुट बोल्नु, माछा भनेर ठुलो टाउको गरेका चेपागाडा छोपेर ल्याउनु, तिनै चेपागाडा पाल्न भनेर गहुँको बिऊ भन्डार गर्न ल्याएका गिलेन काट्नु, खाजा (यो खाजा, नास्ता वाला खाजा हैन साथीहरु मिलेर खाने अहिलेको पार्टी जस्तो) खान भनेर लुकिलुकी जानु यस्तै यस्तै....
यती गर्दा पनि अरुसँग कुटपिट लडाईंझगडा भने कहिले भएन !
तिहारका मादल बजेपछी कटुसको दाना कानो हुन्छ भन्ने चलन छ !
गोबर्धन पूजाको अघिल्लो साँझ चिउरिको दुनामा तेल राखेर घरको ढिकि,जाँतो, गोठका बस्तुभाउलाई निमन्त्रणा गरिन्थ्यो !
गाईपूजाको दिन गाईपूजे पछी बसुधारा (तेल, चामलको पिठोमा टिका राखेर घोलेर ढोकाको संघारमा) हाल्ने गरिन्थ्यो । त्यस पछी बल्ल देउसी भैलो खेल्ने बाटो खुल्थ्यो ! घर को दोबाटो काट्ने गरेर बाधेको तोराणले छुट्टै रंग भर्ने गर्थ्यो!
पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा पौराणिक कथाहरूको अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू धर्मशास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले 'हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्' भन्ने वरदान मागिन् ।
यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ ।
तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पारेको छ ।
यसरी हर्षोल्लास पूर्वक चाडबाड नमनाएको बर्षौ भएछ ! एउटै कोखको दिदी बैनी नभए पनि निधार खाली बस्नु नपर्ने, टपरी भरीका रोटी आज पनि उतिकै याद आउछ्न !
उमेर बढदै जादा जिम्मेवारि थपिदै जानु र रमाइलो घट्दै जानु स्वाभाबिक हो ! तै पनि ति दिन स्मृतिका पानामा स्वर्णिम अक्षरले लेखिएका छ्न !
चाडबाड हरेक बर्ष आउछ्न उस्तै उमंग लिएर अनी धेर थोर खुशी दिएर जान्छन् ! हिन्दु धर्मका चाडबाडका आफ्नै महत्व छन ! त्यसो त अन्य धर्मालम्बीहरुका चाडबाडले पनि आफ्नै महत्व बोकेका छन्, अझ भनौ छुट्टै पहिचान बोकेका छन ! हिन्दु धर्मलाई मान्नेहरुले मनाउने चाडबाड एउटै भएपनी मनाउने तरिका भने जातजाती अनुसार फरक फरक छ, जुन आँफैमा रोचक छ !
हामी नेपालीहरुले एकअर्काका धर्म होस् या संकृती सबैलाई सम्मान गर्दछौ ! यो हाम्रो बिशेष पक्ष हो ! देश भित्र आफ्ना आफ्नै पहिचान भए पनि समग्रमा हाम्रो राष्ट्रिय पहिचान नेपाली नै हो !
पछिल्लो समयका बालबालिकाहरुले चाडबाडको महत्व बिर्सिदै गरेको आभाष हुन्छ ! चाडपर्बलाई फेसनको रुपमा लिनु, मौलिकता हराउनु र अश्लीलता भित्रदै जानुले पनि हाम्रा मौलिक पर्बहरुको महत्व घट्दै गएको त हैन ! भन्ने कताकता आभास हुन थालेको छ ।
भलै पहिले पहिलेको जस्तो किस्सा नबन्लान तर अहिलेको बालबालिकाहरुलाई पनि मौलिकतामा रमाउन सिकाउनु पर्दछ ।
सानातिना कुरानै किन नहुन सुनाउनु पर्दछ ! जसले गर्दा महत्व सधैं रहीरहोस । उनिहरुलाई पनि हौसला बढोस चासो रहीरहोस !