(Japan) 25 th August | 2026 | Tuesday | 9:16:16 PM || (Nepal) 6:01:16 PM
 
 


जापानमा किन नेपाली विद्यार्थीहरु आत्महत्याको शिकार बनिरहेका छन ?

Mohan Kunwar   POSTED ON : Tuesday, 10 November, 2020 | Views : 11936

जापानमा किन नेपाली विद्यार्थीहरु आत्महत्याको शिकार बनिरहेका छन ?


जुनसुकै देश भएपनि विदेशिभुमि हामीले सोचेको र कल्पना गरेको भन्दा नितान्तै फरक हुन्छ, जसलाई हामी समायोजन गरेर अघि बढ्नैपर्छ ।

ब्यक्ति र परिस्थिति अनुसार सबैको आ आफ्नै सपनाहरु बुनेका हुन्छन् । देश अनुसार जाने खर्च तथा लगानि पनि फरक फरक रहेको हुन्छ । सामान्यतया जापान आउदा एउटा विद्यार्थीले १ वर्षको कलेज शुल्क, ६ महिनाको होस्टेल फि र केहि आवश्यक सामान किनेर करिब १३/१४ लाख खर्च गरेर जापान आएको हुन्छ ।

प्रायजसो विदेश जादा हामी नेपालीहरु ब्याजमा ऋण खोजेर जानुपर्ने बाध्यात्मक परिस्थिति रहेको हुन्छ ।


आत्महत्या के हो ?

जानीजानी, आफूखुसी अर्थात् कसैको दबाबमा नपरी र सामान्यतस् लुकिछिपी आफ्नो जीवनको अन्त्य गर्नुलाई आत्महत्या भनिन्छ । चरमनिराशा र तनाव उत्पन्न भएपछि मानिसले आफुलाई कमजोर सोचि आत्महत्याको बाटो अँगाल्छ । अर्थात् जब व्यक्तिले बाच्नु भन्दा मर्न सजिलो वा सुखद ठान्छ अनि आत्महत्याको बाटो रोज्छ । यस्ता घटनाहरु जापानमा रहेका नेपाली विद्यार्थीहरु बाट बारम्बार घटिरहेका छन् ।

विद्यार्थी जीवन सुनौलो भविष्यको लागि एउटा सङघर्षको पाइला हो ।  जहाँ विभिन्न परिस्थितिको चुनौतिलाई सामना गर्दै अघि बढ्नु पर्नेहुन्छ । जापान एउटा यस्तो देश हो, जसले निरन्तर रुपमा इमान्दारीताका साथ समयको पालना गर्दै अघि बढ्न सिकाएको हुन्छ । जुन ईमान्दारिताको निरन्तरताबाट सफलता हात पार्न सकिन्छ । देश अनुसारको भेष भने जस्तै आफुलाई पनि ठाउँ र परिस्थिति अनुसार बदल्न सक्नु नै मानिसको एउटा सकरात्मक पक्ष हो ।


जापानमा विद्यार्थीको एक महिनाको औषत खर्च

छोरा पढ्न भन्दा पनि पैसा कमाउन गएको छ भन्ने कुरा तपाई हाम्रो परिवारको आर्थिक अवस्थाले सोच्न बाध्य बनाएको हुन्छ । महङ्गो शहर सङ्गै दैनिक खर्चहरु लगायत बस्ने कोठा पनि त्यहि दरमा हुनु एउटा अर्थशास्त्रको नियम नै हो । त्यसैले जापानलाई महंगो अनि खर्चिलो देशको रुपमा चिनिन्छ ।

एउटा सामान्य कोठाको भाडाा सहित बिजुली, ग्याँस, खानेपानी गरेर  करिब ७०-८० हजार तिर्नुपर्ने हुन्छ । जुन कोठामा औषतमा ३ जना जतिबस्न सकिन्छ ।

कलेज शुल्क एक महिनाको ६५-७५ हजार रहेको हुन्छ र बाँकी खर्चहरु खाना तथा खाजा खर्च, ट्रेन भाडा, मोबाईल र ईन्टरनेट, सरकारलाई तिर्नुपर्ने कर र बीमाको रकम गरेर करिब १६ १७ मान (१मान-१०,००० रुपैयाँ) सम्म महिनाको खर्च पुग्ने गर्दछ ।


विद्यार्थीहरुको लागि तोकिएको काम गर्ने समय

कानुनी नियम अनुसार विद्यार्थीहरुको लागि प्रतिहप्ता २८ घण्टा काम गर्ने समय तोकिएको हुन्छ भने सामान्यतया प्रति घण्टा दिउँसोको समयमा १००० येन र रात्रि समयमा २५ प्रतिशत बढी पैसा कमाई हुन्छ । जसबाट कानुनी नियम अनुसार काम गर्दा आम्दानि महिनाको ११ १२ मान जति हुन आउछ । जसले कलेज शुल्क तिरेर आफ्नो खर्च पुर्याउन पुग्दैन ।

प्रायजसो नेपाल, भियतनाम, श्रीलंका, बङगलादेश र म्यानमार बाट आउने धेरैजसो विद्यार्थीहरुले २ ओटा काम गरेका हुन्छन । जसको कारण काम धेरैजना भिषाको समय थप्ने बेला चेकिङ्ग मा पर्यो भने इमिग्रेसनले भिषा रद्द गरिदिने सम्भावना बढी रहेको हुन्छ ।

अहिले जापानमा पहिले भन्दा विद्यार्थीहरुको नियम अलिक कडा भएको छ । त्यसैले जापानमा विद्यार्थी भिजामा आउनु भन्दा पहिले राम्रोसँग सोच्न जरुरी छ ।


आत्महत्याका घटनाहरु किन बढिरहेका छन ?

आफुले सोचे अनुसारको प्रतिफल प्राप्त गर्न नसकि दिमागमा धेरै कुराहरुलाई नकरात्मक तरिका बाट सोच्नुनै आत्महत्यालाई मुख्य कारणको रुपमा लिन सकिन्छ ।

विशेषगरी नेपालबाट आएको ऋण तिर्न नसक्नु,

भाषाको कमिले गर्दा सोचे जस्तो काम नमिल्नु,

कलेजले तोकेको समयमा शुल्क तिर्न नसक्नु, 

भाषाको कमिले गर्दा सेनमोन गाक्कोउ तथा दाइगाकु प्रवेशको परीक्षा पास गर्न नसक्नु, 

कामको लागि कम्पनि प्रवेश गर्न नसक्नु , 

लिभिङ टुगेदरको अपरिपक्कता, 

विश्वासिलो साथिबाट आफ्नो ब्यक्तिगत घटना बाहिर आउनु,

स्वास्थ्यमा ठुलै समस्या देखिनु र दुर्घटनामा परि अङ्गभङ्ग हुनु जस्ता समस्या सिर्जना भएमा पनि जापानमा विद्यार्थीको अवस्था जटिलहुने गर्दछ र यस्तै विभिन्न कारणले यहाँ रहेका केहि विद्यार्थीले आत्महत्यालाई अन्तिम विकल्पको रुपमा आत्मसाथ गरेका हुन्छन् ।


आत्महत्याका घटनालाई न्युनिकरण गर्न चाल्न सकिने कदमहरु 

विशेषगरी विदेश एउटा सङघर्ष गर्न सक्ने ब्यक्तिहरुको लागि अवसरको मैदान हो । त्यसैले कुनै पनि देशमा जानु पूर्व आफुमा सङघर्षगर्न सक्ने क्षमता तथा आत्मविश्वासलाई राम्ररी विश्लेषण गरेर मात्र विदेश प्रवेशको यात्रा सुरु गर्न जरुरी हुन्छ ।

नेपालबाट आउनु भन्दा पहिले एउटा कन्सल्टेन्सिको भरमा र अरुले गरेको प्रगतिलाई देखेर आउने लहैलहैको प्रबृतिको अन्त्य गरौँ । जहा सुनेको र अरुको प्रगति देखेको भन्दा धेरै फरक यथार्थता रहेको हुन्छ ।

सानै उमेरमा विदेशमा पढ्न जाने सपनाको अन्त्य गरौँ

घरको आर्थिक अवस्था कमजोर छ भने ब्याजमा ऋण खोजेर १९/२० वर्षमै जापान आउने अवस्थालाई नियन्त्रण गर्नु अत्यावश्यक छ । 

जापान आइसकेपछि आर्थिक अवस्थाको भारलाई पुरा गर्न पढाइ भन्दा पैसा तिर केन्द्रित भएर भाषाको कमिले गर्दा कलेज प्रवेश तथा कम्पनि प्रवेश चरणको अवस्था चुनौतीपूर्ण बन्न पुग्छन् ।


एक्लोपनबाट टाढा हुने प्रयास गरौँ

परिवारबाट टाढा हुँदा जो कसैलाई पनि एक्लो महसुस हुन्छ तर कलेजका साथिभाई तथा काम गर्ने ठाउँका साथिभाईहरु सँग नजिक हुने आफ्नो मनका कुराहरु एक अर्कामा सेयर गर्ने साथै कहिलेकाहीँ घुमघाम तथा रेस्टुरेण्ट तिर सँगै खाना खान जाने गरियो भने केहीहदसम्म भएपनि मानसिक रुपमा खुशि प्राप्त गर्न सकिन्छ ।

आर्थिक अवस्थाको व्यवस्थापन 

विशेष गरी जापानमा हरेक सेवा सुविधा देखि लिएर दैनिक प्रयोगका सामानहरु अत्यन्तै महङ्गो हुने गर्दछ । त्यसैले साथिहरु सँग अनावश्यक रुपमा सापट लिने, अनलाईन शपिङ्ग तथा ठुला ठुला खर्चमा क्रेडिट कार्डको प्रयोग गर्ने जस्ता बानीको अन्त्य गरौँ । सकेसम्म खर्च कम गरेर वचत गर्ने बानी बसाल्न सकियो भने भैपरी आउने समस्यालाई सजिलै समाधान गर्न सकिन्छ ।

सबैले सोचेको र कल्पना गरेको भन्दा केहि फरक छ जीवनको भोगाइ । त्यसैले हरेक परिस्थितिलाई सहज रुपमा लिई अघि बढ्नुपर्दछ ।आफुमा सामाजिक तथा सहयोगी भावनाको विकास गर्न सकियो भने धेरै साथिभाईहरु सँग घुलमिल हुन सकिन्छ । जसले गर्दा आफुलार्इ समस्या पर्दा सहजै रुपमा समाधान गर्न सहयोग प्राप्त हुन्छ । नेपालबाट आउदा बोकेका सपनाहरुलाई पुर्णता दिनको लागि सङघर्षको पाइला जारी राखी आत्महत्याको सोचलाई मनबाट टाढा राखौँ । किनकी जीवन अमुल्य र सुन्दर छ ।

...

मोहन कुवर, सत्यवती-२,चेहेमी गुल्मी 

ओसाका, जापान