(Japan) 25 th August | 2026 | Tuesday | 9:13:23 PM || (Nepal) 5:58:23 PM
 
 


परदेश र दशैं...

Tikaram Gautam   POSTED ON : Monday, 26 October, 2020 | Views : 5932

परदेश र दशैं...


परदेश, सानो हुंदा यो शब्द सुन्दा नै कस्तो बिरानो शब्द लाग्थ्यो र डाँडाघरे काका परदेशमा छन् भनेको सुन्दा म घण्टौं रोएथें र भनेथे बाबा म कहिल्यै परदेशी बन्दिन । तर मेरो बालपनको जस्तो बाबालाई परदेशी बन्दिन भनेर कहां सुख पाउथे र १ घरको जिम्मेबारीले थिचेपछि बाध्यता म नै वर्षौं देखि परदेशी भुमीमा रुमलिन बाध्य छु । हो यसरी मेरो जस्तै सोच भएका म जस्ता लाखौं नेपाली रहर वा वाध्यताले परदेशीनु परेको छ । 

परदेशी आफु परदेश भएपनि मन घरदेश मै हुन्छ । वर्षौं देखि घर आउने भाका सार्नु पर्दा मनहरु जलिरहेको हुन्छ । हरेक परदेशी आफन्तबाट टाढा हुंदा हरेकको मनभरी पिडा तहिरीरहेको हुन्छ । भविश्यको चिन्ताले  मन पोलिरहेको हुन्छ । तर याद भन्दा पनि भविश्यको चिन्ताले हरेकलाई परदेशी बनाएको हुन्छ ।

जब नेपालमा चाडबाडको रौनकले तात्तिन थाल्छ, त्यही तातेको रौनकले परदेशीको मन जल्ने गर्छ । नेपाल तिर रातो टिकाले निधार र पहेंलो जमराले कान सजिंदै गर्दा परदेशी भने ४० डिग्रीको गर्मीमा पसिनाको धारले सजिरहेको हुन्छ ।

नेपालमा अगरबत्तीहरुको सुगन्धले मगमगाईरहँदा त्यही अगरबत्ती किनीदिने परदेशी भने पसिनाको गन्धले सजीएको हुन्छ । यसरी घरको यादले मनमा दन्किएको आगो ज्वाला भुल्दै, आफन्तको खुसीले मानाएका दशैंका तस्बिरहरु हेर्दै मुस्कान छर्न बाध्य छ परदेशी ।

मैंले पनि त्यस्तैगरि मन जलाउदै दशैं नमनाएको पनि १५ वर्ष बिति सकेछ । यही १५ वर्षमा यहां बसेर चुहिने घरको छानो टालिएको छ, बाबाको पटपटी फुटेको खुट्टामा नयां जुत्ताले सजिएको छ, आमाको लागी गुन्यु र श्रीमती र छोराछोरीलाई पल्ला घरे साउले जसरी नयाँ लुगा किन्दिन सक्दा मात्र जलेको मन खुसिले फुरुङ्ग भएको छ । तर परदेशीएकाले चाडबाडमा पनि उजाडिएका गाँउहरुको चित्कारले आफन्तको मन रेटिन पर्दाको पिडा साह्रै दर्दनाक हुने गर्दो रहेछ आमा । 

तर के गर्नु बाबा हजुरको हातबाट १५ वर्ष देखि निधारमा दशैंको टिका लगाउन पाएको छैन, सानोमा जसरी ठुलो मान्छे बनेस, प्रगति गरेश भनेर पाउ छोएर आशिर्बाद लिन पाएको छैन् । तर बाबा हजुरले दिएको आशिर्बादले होला परदेश भएर पनि सुखले नै बस्न पाएको छु, आपटारे भक्तेको जस्तो झण्डै ५० डिग्रिको तातोमा काम गर्न परेको छैन । डाडाघरे काईलो जसरी परदेशमै जेलमा सडिन परेको छैन् । 

त्यो देउराली डाडोमा हालेको लिङ्गे पिङ, दिनभरी लगाएर ल्याएको कमेरो र रातो माटोले पोतिएको घर, मामा घरमा जाँदा पाएको त्यो हरियो नोट र मामाघर जान तछाडमछाड गरेको कुरा हिजो जस्तै लाग्छ ।

हो आमा यस्तै कुराले दशैंको धेरै याद दिलाउने गर्छ । मनलाई जति कठोर बनाउन खोजे पनि बरबरी आँखा रसाउंछ । हरेक वर्ष जब दशैं आउँछ तब फोनमा कुरा हुंदै गर्दा दशैं आयो आमा भन्दा, संधै भन्ने गर्छेउ दशैं त हरेक साल आउंछ तर त पो कहिलै आउदैनस् त । मलाई पनि रहर छ आमा, आफ्नो प्रत्यक्ष भगवान हजुर र बाबाको पाउ छोएर आशिर्बाद लिने तर बिडम्बना साउले हत्याएको गैरी खेत आफ्नो बनाएर तपाईहरुको मुहारमा खुशीको रंग थप्नु छ ।

आमा आज त टिकाको दिन सबै परिवार र आफन्तहरु घरभरि जम्मा भएका होलान् है । टिका थाप्न आउने जानेको भिडमा पनि आफ्नो छोरो खोज्दै फरियाले आँसु पुछ्दै छेउ होला । टिका मुछ्दै गर्दा यो मेरो लागि पनि मुछेर लगाईदिने बेला मलाई नदेख्दा आँसुले भक्कानिएको मन पखाल्दै छेउ होला । मलाई सानोमा आशिर्बाद दिदा भन्थेउ नी आमा ठुला मान्छेको बोली कहिलै नकाट्नु, हो आमा अहिले पनि साउको बोली काट्ने हिम्मत आएन ।

आमा, म परदेश हिड्ने बेलामा भन्थेउ नी, हरेक दशैंमा फर्केस है । तर आमा कहिल्यै फर्किन सकिन् । हरेक वर्ष जसरी यो वर्ष पनि जसरी पनि दशैं मनांउन आउछु भनेको थिएँ आमा, तर अर्काको खटनको मान्छे म आउन सकिन् । अर्को वर्ष चै जसरी पनि आउनेछु ।

हो आमा, पहिले जसरी आशिर्बाद लिन आउनु छ । बाबाको पाउमा ढोग्दै ठुलो मानिस बनेस भन्ने आशिर्बाद लिनुछ । सानी छोरीको हात समाउदै चिजबल किन्दिन मन छ । छोरालाई बाईकमा राखी मावल पुर्याउन छ । वर्षौं पछि बाबा आमा सँगै सानोमा जसरी मावल जान मन छ । 

अन्तमा, म जस्तै रहर र बाध्यताले परदेशमा रहेका तथा घरदेश जहां भए पनि यो वर्ष घर वा जहाँ हुनुुहन्छ त्यहीँ दशैं मनाएर बिताउ । कोरोना महामरीमा बाहिर ननिस्कम, अर्को वर्षको दशैंमा बरु आफ्नो परदेशी फर्किएछी सँगै मनाऔं ।

जो जहां छौ त्यही बसौं सामाजिक संञ्जाल र भिडियो कलबाट खुसी साटासाट गरौ । जसले कोरोनाको थप महामारी नफैलिओस् । देश बिदेश रहनु हुने सबै नेपालीहरुमा बिजया दशमी २०७७ को शुभकामना...