धेरै पछि गोकर्ण दाइको म्यासेज आयो, 'दसैंको शुभकामना सहित दसैं बारे केहि लेख्नुस न संगीता जी' भनेर...
दाइ ! 'रदेशीको दसैं त के दसैं हुन्छ र ? लेख्ने कुरा पनि हजुरको जस्तै दसैं हो मेरो पनि । संझिनेकुरा र गाउँकै यादहरु नै बढि हुन्छन् । थोरै बिगतको दसैंलाइ कोट्याएर लेख्न बसेँ ।
दाइ मसंग गाउँका, घरका, दसैंका संझना धेरै छन् । खेतमा धान काट्ने बेला भएपछि, घरमुनिको ढिकामा बेलाउती पहेलपुर भएपछि, घर छाडेका लाहुरे बर्षौंपछि गाउँ फर्कन थालेपछि, पहेलोँ, रातो माटो र सेतो कमेरोले घर लिप्न थालेपछि, किराना पसलेले अलि धेरै चामलका बोरा पसलमा राख्न थालेपछि र बिहान उठ्दा दिदिले दसैंका जस्तै घाम लागे भन्न थालेपछि दसैं आएझै लाग्थ्यो । हामीलाई ।
बुबाममिले दसैंको बेला तलब बुझ्नुहुन्थ्यो । हामीले १०० रुपैँयाका दरले तलब बुझेपछि खर्च गर्ने पैसा पाउँथ्यौँ । सदरमुकामबाट उस्तैरंगका जामा आउथ्यो, दसैंको 'सपिंग'को रुपमा । घरमा मासुको परिकार अलि धेरै बन्थे । कांक्रोको अचार सेलरोटि पनि पाक्थे । स्कूल बिदा हुन्थ्यो । 'होमवर्क' गर्न अल्छि लाग्थ्यो । स्कूल बिदा सकिने बेला तिर बल्ल हतारो हुन्थ्यो 'होमवर्क' गर्न ।
हामी ममिलाई घरधन्दा गर्न सघाउन पाउथ्यौं । दक्षिणा पाउनु र खुत्रुकेमा पैसा खस्नु पनि दसैं आउनु थियो । हामी मामा घर जान पाउँनु बुबाका भान्जाभान्जी हाम्रो घरमा आउनु पनि दसैं आउनु थियो । त्यो दसैं संझिदा पनि छुट्टै मन आनन्द हुन्छ । समय बहुत सुन्दर र प्यारा थिए दाइ, उ बेलाका दसैंका समय !
पाल्पाको रेडियो मदनपोखरामा दसैंका गीत बज्थे । सबैभन्दा रमाईलो त दसैंमा माटो बोक्न बुल्मको चौर जानुपर्थ्यो । बिचबाटोमा 'ममि'ले बनाईदिएको खाना राख्ने एउटा चिनजानको घर थियो । त्यहि घरमा सबैजनाले खाना राखेर जान्थे । फर्कदा खाने खाना । कहिलेकाहिँ त जो अघि आउथ्यो उसैले खाइदिन्थ्यो, अनि भोकै पनि घर फर्कनुपर्थ्यो । घासँ अलि धेरै काट्नुपर्थ्यो, नत्र अर्जै इस्मा तोरिखर्कको सरायँ नाच हेर्न जान पाईदैनथ्यो । तोरिखर्कको जेरिले मुख गुलियो बनाउथ्यो । 'ममि' सरायँ हेर्न नजाने अलिकति जेरि ममिलाइ पनि बोकेर ल्यान्थ्यो जेरिको गुलियोले हाम्रो सम्बन्ध झन मिठो बनाउँथ्यो ।
आहा ! ति समय, त्यो दसैं त्यो बालापन फेरि कहिले फिर्ला र त्यस्तो दसैं !
दसैंमा सबैभन्दा नरमाईलो लाग्ने समय हाम्रो घरमा टिकाको दिन सबै परिवार संगैँ हुन्थ्यौँ तर टिका लगाइदिने बेला 'मम्मी' सधै रुनुहुन्थ्यो । किन रुनुहुन्थ्यो ? हामीलाई थाहा थिएन तर ममि रोएको देखेर हामी पनि संगै रुन्थ्यौँ । अल्लि बुझ्नेभएपछि सोचेँ सायद यो बर्ष जस्तै अर्कोबर्ष मनाउन पाईन्छ पाईदैन भन्ने पिरले होला 'ममि' रोएको । मैले सोचेँ तर 'ममि'लाई अहिले सम्म सोधेकी चाहिँ छैन् ।
परदेश पसेपछि झण्डै ६ बटा दसैं यतै बितिसकेछन् । परदेशमा पनि हामी पारिवारिक चिनजान साथीभाइ जमघट रमाईलो गरेर बिदा राखेर मनाउथ्यौँ दसैं, त्यसले घरका यादहरु कम गराउँथ्यो । तर यसपाली यो कहरले परदेशीको दसैं पनि झन नरमाईलो बनेको छ ।
यतिबेला संसार कोरोना भाईरसको संक्रमण र डरको भयले डराईरहेको यो बेलामा परदेशीलाई झन के को दसैं आउनु ! हरेक चाड पर्व मनाउन उत्सव र रमाईलो बन्न त मन खुसि हुनुपर्छ । कोहिका आफन्त अस्पतालमा हुनुहुन्छ, कोहि 'आईसोलेसन'मा, कसैको घरमा एक छाक खान धौधौ छ । कसैको घरमा ऋणले रात भरि निद्रा पर्दैन होला, पारिवारिक झगडा हुन्छ । यस्ता चिन्ता र पिरका बिच आएको दसैंले मन भारी बनाउदोरैछ दाइ !
कहिलेकाहिँ सोच्छु सामाजिक संजालमा कोरोना 'पोजेटिभ' देखिदा बित्तिकै 'बल्ल खायो भनेको मानेन किन जानुपर्थ्यो जमघटमा ?'
थाहा छ, यति बेला जमघट पाटिहरु गर्नुहुदैनथ्यो । जानुहुदैनथ्यो तर कोरोना 'पोजेटिभ' भएपछि आइसोलेसनमा बसेकाहरुलाई सकारात्मक उर्जा दिनुको सट्टा नकरात्मक कुरा लेखेर सामाजिक संजालमा मनोबल नै गिराउने तरिकाको शब्द देख्दा मन खिन्न लाग्थ्यो ।
हो हामी सतर्क हुनुपर्छ तर मलाई कोरोना लागोस् । भनेर त कसले जमघट गरेको हुन्छ र ? कहिले काहिँ नजान्दा, थाहा नपाउदाँ आफैलाई कहाँबाट कोरोना लाग्यो भन्ने पनि थाहा हुदैन । त्यो भोली आफूलाइ पनि पर्न सक्छ भनेर हामीले बिर्सिनुहुन्न । कोरोना 'पोजेटिभ' देखिएकालाई हौसला माया र आत्मियता बाँढेर उर्जा दिनुपर्छ ।
यो कोरोना कहरमा आएको दसैं खासै मन परेको खुसि धेरैको छैन् । तर हामीले दसैं नआए हुन्थ्यो भनेर हुन्न । जमरा ठुला भइसके, आमाले टिकाको तयारी गर्ने बेला भए होला । गाउँमा पुग्न सकेका लाहुरे कहर बिच पनि पुगे होलान् ।
यसपाली परदेशको दसैं पनि जमघट नगरेर या कम गरेर मनाउनुस् । हामी स्वस्थ्य रहियो भनेँ फेरि यस्ता उत्सव मनाउने समय आउनेछ, टिका छ भनेँ । भगवानको पुजा गर्ने ठाउँको दियो बाल्नुस् । घरमा जोजो हुनुहुन्छ टिका लगाउनुस् । बुबा आमा आफन्तसंग गफगाफ इन्टरनेट, फोनमा आशिर्वाद लिनुस् । खुसि बाड्नुस् र दसैं मनाउनुस् । सबैजनालाइ बडा दसैंको शुभकामना ।