मामाघरमा हामीलाई मामाले दिने रेट नै ५० रूपैयाँ थियो र त्यो नयाँ पटपटे ५० को नोट हुन्थ्यो ।
मामाले बा-आमालाई खाममा दिनुहुन्थ्यो दक्षिणा । भान्जा-भान्जीलाई चाही खाम हुदैनथ्यो । मामाले १-२ पटक हामीलाई पनि दक्षिणा खाममा दिएको याद छ मलाई ।
हामी घरभन्दा बढी स्वतन्त्र हुन्थ्यौ मामाघरमा । मामाले दक्षिणा दिदा साथ फाटफुट खोलीहाल्ने, पैसा गोजीमा हाल्ने खाम फाल्दीने । अहिले याद आउँछ हामीले त्यतीवेला खामको महत्व राखेनौ । त्यसपछि मामाले हामीलाई सधै खामरहीत टिकाटालो गर्नुभो ।
२०-२५ वर्ष पहिले ५० रूपैया दक्षीणाको महत्व ठुलै थियो । दशैमा मामाघर नगएको पनि दशक पुगेछ । यही बिचमा माइलो मामाले त संसारै छोडेर जानुभयो । जब-जब दशै आउँछ यावत सम्झनाहरूले मनभरी डेरा जमाउँछन् ।
दिदीहरू दक्षिणा जतनले राख्थे । उनीहरूले धेरैजनाबाट अल्ली धेरै जम्मा गरेर आफुलाई मनपरेको सामान किन्ने योजना हुन्थ्यो, त्यो बाहेक बा अथवा आमालाई राख्न दिने पनि गर्थे त्यो पनि ब्याजमा ।
उनीहरूको पैसा नचलाई राख्दिन पर्ने अनि ब्याज पनि दिनुपर्ने अचम्मको नियम थियो । हाम्रो घरमा प्राय दिदीहरूले खुत्रुके बनाएनन किनकी उनीहरूलाई माटोको खुत्रुकेमाथी विश्वास भएन मेरै कारण, जो म चकचके थिए ।
नयाँ लुगा पाइन्थ्यो, केहीदिन मिठो-मिठो खान पाइन्थ्यो, स्कुल १५ दिन विदा हुन्थ्यो । गाउँमा पिङ हुन्थ्यो । टिकाटालो गरेर पैसा पाईन्थ्यो त्यो बाहेक पनि आमालाई फकाएर बा को अस्कोटको गोजीबाट छलछाम गरेर एक/दुइसय रूपैया पैसा जम्मा गरिन्थ्यो ।
जसको मुल उद्देश्य हुन्थ्यो झण्डी-मुकुट खेल्नु । धेरै ठाउँमा यो खेललाई लङ्गुरबुर्जा र खोरखोरे पनि भन्छन् । झण्डी-मुकुटमा कहिल्यै जितीएन । आज जितेपनि त्यो भोली जान्थ्यो टिक्दैनथ्यो । मैले ठुलो भएपछि थाहा पाए जुवा त्यसरीनै निर्माण गरिएको हुन्छ, खेलाउने कहिल्यै हार्दैन र त संसारभरी क्यासीनोको उदय छ ।
दसैं भन्ने वित्तिकै मनमा यतिधेरै संझनाहरू आईदिन्छन् की हामी सबैसंग अनेक संझना छन् । नहुन पनि कसरी, हामी हिन्दु धर्मावलम्बीहरूको जीवनको सबैभन्दा महत्वपूर्ण चाड, समय र भोगाई हो दसैं ।
परदेशमा सबैभन्दा बढी मिस हुने भनेको देश र दसैं रहेछ । यसपाली त झनै मन अमिलो हुनुमा कोवीड-१९ को प्रमुख दोष छ । घरदेशमै पनि रौनक छैन, जुन हरेक वर्ष हुनेगर्दथ्यो ।
स्टारबक्स कफीको एउटा कुनामा बसेर आमालाई फोन गरें । एक कप कफी र एउटा कुकीजले मलाई गिज्याईरहे यो नवदुर्गाको साँझ । आमाले धेरै कुरा गर्न मान्नुभएन । आमा कस्तो भा’छ गाउँ ? कस्तो हुदैछ दसैं सोधे, खासै रमाईलो नरहेको बताउनु भो ।
फेरी सोधे ताईले रोटी (सेल) हाल्नु भो, अनरसा बनाउनु भो ? छैन भन्नु भो, मेरो मन खिन्न भो । मैले आमालाई किन भनेर सोधीरहनु जरूरी थिएन, आमाले आफैं भन्नु भो भोलीतिर दुई-चारवटा रोटी बनाउनु पर्ला हातको सोभा ।
तिमी-दाइ दुवैजना नभयपछि, तिम्रो दिदीहरू पनि टाढा-टाढा भएपछि यी सब बनाएर के गर्ने, उता मामाघर पनि त खाली-खाली छ ।
म आँफैलाई आत्मग्लानी भईरहेछ जुन की वितेका हरेक साल मैले अर्कोसाल भनेर झुट बोलेको छु । यसपाली त अर्को साल भन्ने सामर्थ्य पनि जुटेन मेरो मनमा । मेरो निधारको मलाई कत्ती चिन्ता होईन यो विरानो मुलुकमा कस्लाई पो के थाहा हुन्छ र यत्रो ठुलो चाडको दिनपनि यो काममै छ र यसको निधार खाली छ भनेर ।
आक्कल झुक्कल ट्रेनमा कोही नेपाली देखिए भनेपनि उनीहरू उस्तै अवस्थाबाट गुज्रेका हुन्छन् । कानमा एरफोन ठोस्यो हिँड्यो, अथवा एकले अर्कोलाई नदेखे जस्तै गर्यो ।
मनमनै धेरै कुरा खेल्छन, मेरो निधार खालीहुदाँ म सहीदिन्छु, किनकी यहाँ सबैका खाली हुन्छन् तर धेरै वर्षदेखी मेरा आमा-बुवाको हात खाली छ ऊनीहरू कसरी सहन्छन् होला ?
हुनपनि हो हामी हुन्थ्यौ र पो सबचिज बन्थे नाङ्लाभरी, डालाभरी रोटी हुन्थे । आमा सेल रोटी पकाउनु हुन्थ्यो, मैले रोटीको अग्ला-अग्ला चाङ्ग लगाउथे र भन्थे आमा यस्तै हुन्छ धरहरा ?
दसैं-तिहार पछिपनि हप्तादिन सम्म कसले खाईदियोस बिहानै उठेर चियामा डोबेर सेलरोटी । कसले सेलरोटी समाऊदै चौर तिर दौडिदियोस पिङ खेल्न भन्दै । था’छ मलाई घरमा जती धेरै खाना बन्छ, केही नयाँ चिज पाक्छ आमाको मन भारी हुन्छ । वहुत याद आउँछ आमा दीपावलीको साँझ बार्दली भरी, पिढीभरी मैन बालेर दगुर्दै ठुल्बाको घर पुगेर हेर्थे आफ्नो घर, त्यतीवेला दरबार जस्तो लाग्थ्यो मेरो घर, स्वर्ग जस्तो ।
मलाई खुब बच्चा हुन मन लागेको छ अचेल, किनकी हरेक दसैं-तिहारमा घरमै हुनसकु, आमा तिम्रै साथ हुनसकु ।
बढ्न त जमरा यहाँपनि बढिरहेछन् तर घरको यादले वहुत सताईरहेछ । जानी-नजानी प्रयास त गर्छु तर अभाव खड्की हाल्छ । केराको पात हुनुपर्ने थियो र आमाको हात हुनुपर्ने थियो जो संभव रहेन । कहाँसम्म आयो आमा दसैं ? कार्कीनेटा, ज्ञादी, कुस्मा बजार, वलेवाचौर की भैरमथानको नेटोमै आईपुग्यो ? को-को आए आमा यसपाली गाउँ, त्यहाँ जमरा कत्रा भएनी ? अनि लठो यसपाली पनि ठुल्दाईले नै बाटीदिए ? यावत प्रश्न गर्छु भन्छु सक्दिन । थाहा छ यी कुरा गर्नु हजुरलाई दुखाउँनु हो ।
जहाँ बाटोमा हिँड्दा काँढाले चिथ्रोर्थ्यो र पनि खुसि थिए । किनकि त्यही सबथोक थियो मेरो लागि । जन्मे, हुर्केको थलो जति प्रिय अरू संसारको कुनै ठाउँ नहुने रहेछ मान्छेलाई ।
फूलहरू ढकमक्क फूलेहोलान, चराहरूको चिरविर उस्तै होला, लहलह झुलेको धानले मन्द बास्ना छरेहोला खेतभरी । म छैन र त के भो, अरू गाउँका मान्छे त उही छ नि है, चित्त बुझाउछु फेरी अर्को मनले सोच्छ हुनत गोरेटोले मेरै पाइला खोज्दो हो !
यसपाली पनि सवैजना कोट पुग्लान पुजा-आजा गर्न, तरबार नाच हेर्न मनभरि उमङ्ग बोकेर । आमा रोलिन, बाले चित्त बुजाउलान, आफन्त साथीभाईहरू, छर-छिमेकिले सम्झलान् । कामबाट थोरै फुर्सद पाएभने रेल स्टेशनको कुनामा बसेर दुईथोपा आँशु झारूला मन बुझाउला ।
पैसा तिरेर आफै मच्चीने पिङ्ग यहाँपनि नभयको होईनन तर साथीले घचेटेर मच्चीने बावीयोको लठो खोज्दो रै'छ मनले । अग्ला-अग्ला घर, चिल्ला बाटा, सुकीला फोटा यी देख्नलाई मात्र हुन, जे भन जसो गर परदेशीको मन हरेकपल गाउँमै पुगेको हुन्छ चाडवाड आउँदा ।
आमालाई खुव भन्न मन थियो आमा जव गाउँ छोडेर टाढा बनीयो दुईचार पैसा त भयो तर जिन्दगी वेचैन भयो । यी सब कुरा त फोनमा गर्न सक्दिन र गर्नु पनि हुदैन । मलाई थाहा छ यस्ता शब्दहरू बोलीरहे भने, त्यो दुखेको छाती झन चर्किन्छ त्यसैले हजुरलाई भन्न नसकेका कुरा फोन काटेपछि लेख्न मन लाग्छ डायरीका पानाभरी र यसरी नै पोखीने गर्छु हरसाल...!
...
दीप पाठक
बाग्लुङ वलेवा
हाल : टोकियो जापान