(Japan) 17 th April | 2024 | Wednesday | 4:17:53 AM || (Nepal) 1:02:53 AM
 
 


भागेर टोकियो काम खोज्न आएका सुगा जापानका भावी प्रधानमन्त्री (संक्षिप्त जीवनी)

  POSTED ON : Tuesday, 15 September, 2020 | Views : 12208

भागेर टोकियो काम खोज्न आएका सुगा जापानका भावी प्रधानमन्त्री (संक्षिप्त जीवनी)


संभवत जापानमा कमजोर पारिवारिक पृष्ठभुमिबाट संघर्ष गरेर प्रधानमन्त्री बन्न सफल व्यक्तिको पहिलो नम्वरमा पर्दैछन् योशिहिदे सुगा । बुधवार शिन्जो आबेलाई जापानी प्रधानमन्त्रीका रुपमा विस्थापन गर्ने भएका सुगा पछिल्लो पटक भने रेईवा बाजेले परिचित छन् ।

जापानमा सम्राट परिवर्तनसँगै फेरिने युगको नयाँ नाम सार्वजनिक रेईवा घोषणा गरेका सुगालाई अधिकाशं जापानीले त्यसपछि रेईवा सान् का रुपमा चिन्ने गरेको पाईन्छ ।

राजनीतिक रुपमा भने हालैका दिनमा उनलाई प्रधानमन्त्री र सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी० को सम्भावित अध्यक्षका रुपमा नसोच्दासम्म उनी लो प्रोफाइलमै थिए ।  तर उनको काम गराईको शैलीकै कारण उनी प्रधानमन्त्रीका बलिया दाबेदारका रुपमा अगाडी देखापरे ।

सुगाको जन्म सन् १९४८ मा आकिता प्रिफेक्चरमा भएको थियो । उनका पिता वासाबुरो किसान थिए भने माता तासु विद्यालयकी शिक्षिका । उनी घरको सबैभन्दा ठूलो छोरा थिए । त्यसैले सानो छँदा उनी खेतबारीको काममा परिवारलाई सघाउँथे पनि । ठूलो भएपछि उनले पारिवारिक खेतीपाती नै सम्हाल्थे भन्ने अपेक्षा गरिएको थियो ।

वासाबुरो साउथ मन्चुरिया रेल्वे कम्पनीमा काम गर्थे । वर्ल्डवारको बेलामा जापानले आत्मसमर्पण गरेपछि उनी जापान फर्किए । यसबेला उनले बेमौसमी प्रजातीको स्ट्रबेरीको विकास गरे । स्ट्रबेरी खेतीबाट राम्रै आम्दानी भइरहेको थियो । तर सुगा भने किसान बन्न चाहेनन् । उच्च शिक्षा तहको पढाई पछि उनी टोकियोमा काम खोज्नका लागि भनेर घरबाट भागे ।

सन् १९९६ मा होसेई विश्वविद्यालयमा भर्ना हुँदै उनले कार्डबोर्ड कारखानामा काम गरे । त्यतिबेला विद्यार्थीहरुले जापान–अमेरिका सुरक्षा गठबन्ध विरुद्ध प्रदर्शन गरिरहेका थिए । अनि भियतनाम  वार पनि चलिरहेको थियो । तर यतिबेला सुगा भने विद्यालयको पढाई खर्च जुटाउन सुरक्षा गार्ड, समाचार पत्रिकामा कनिष्ठ सहायकलगायत विविध काममा व्यस्त थिए ।

व्यस्त समयतालिकाबीच पनि उनी खेलकूदका लागि भने समय निकाल्थे । पछि उनी कराते टोलीका उप–क्याप्टेन भए । 

स्नातक तह पूरा गरेको केही वर्ष पछि सुगाले इलेक्ट्रिकल मर्मत कम्पनीमा आबद्ध भए । बिस्तारै उनमा राजनीति प्रति चासो पनि हुन थाल्यो । उनी डायट मेम्बर्सको सचिव भए । अनि एक दशकसम्म यही पदमा रहेर विभिन्न कुरा सिके । सन् १९८७ मा उनी योकोहामा शहर सभाको सभाध्यक्षमा चुनिए । उनी सन् १९९६ मा राष्ट्रिय राजनीतिमा प्रवेश गरेका हुन ।

प्रतिनिधि सभाका एक वृद्ध सदस्यको सट्टामा सदस्य बनेका नीति निर्माताको अचानक मृत्यु भएपछि सभामा एलडीपीको तर्फबाट एक सिट खाली भयो । सोही सिटका लागि चुनाव लडेपछि ४७ वर्षको उमेरमा सुगा प्रतिनिधि सभामा छिरे ।

सुगा आफ्नै बलबुतामा यो स्तरसम्म आइपुगेका थिए । उनको सिद्धान्त नै ‘जहाँ इच्छा त्यही उपाय’ भन्ने थियो । उनको पृष्ठभूमि बुधवार विस्थापित गर्ने आबेको भन्दा ठिक उल्टो छ । आबेको पारिवारिक पृष्ठभूमि राजनीतिक छ । उनका हजुबुबा र काका हजुरबुबा समेत प्रधानमन्त्री बनिसकेका छन् ।

सन् १९७० र ८० को दशकमा उत्तर कोरियाले अपहरण गरेका जापानी नागरिकहरुको स्वदेश फिर्तीको प्रयासमा आबे र सुगा एक अर्काको नजिक आए । सन् २००६ देखि सन् २००७ को बीचमा आबेको पहिलो कार्यकालको बेलामा सुगा पहिलो पटक मन्त्री बने । त्यही बेला उनलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मा दिइएको थियो । यस क्रममा सुगाले ग्रामीण क्षेत्रको स्थानीय सरकारलाई दान दिनेलाई कर छूटको लगायत उपायसहितको कर कार्यक्रम ल्याए । सन् २०१२ को अन्त्यतिर आबे पुनः प्रधानमन्त्री बन्नुमा सुगाको महत्वपूर्ण भूमिका रहेको छ ।

सुगा काम भने पछि मरिहत्ते गर्थे । आठ वर्ष प्रमुख क्याबिनेट सचिवका रुपमा रहँदा उनी बिहान सबेरै उठेर मेल चेक गरेपछि हल्का व्यायाम गरेर नास्ता खाएर बिहान ९ बजे प्रधानमन्त्रीको कार्यालय जान्थे । दिनको समयमा प्रधानमन्त्रीको शीर्ष प्रवक्ताको रुपमा उनले २ चोटी पत्रकार सम्मेलन गर्थे अनि २ दर्जन जति भेटघाट, छलफल र बैठक । समय बर्बाद नहोस् भनेर खाजामा उनी सोबा नूड्ल्ज खान रुचाउँथे ।

साँझ ६ः४५ प्रधानमन्त्रीको कार्यालयबाट बाहिरिएपछि उनी अन्य राजनीतिकर्मीका सगै प्राज्ञिक व्यक्तित्वहरुसँगका नीतिबारे धारणा आदानप्रदान गर्न भेटघाट गर्थे । हरेक रात खानपिनको वास्ता नै नगरी उनी यस्तै खालका २ ३ वटा भेटघाट गर्थे ।

उनी योकोहामास्थित आफ्नो घरमा विरलै सुत्थे । बरु आपतकालीन अवस्थामा प्रतिक्रिया जनाउन सहज होस् भनेर नजिकैको सरकारी क्वार्टरमा बस्थे ।

गत वर्षको अप्रिलअघि सुगालाई सर्वसाधारणले खासै चिन्दैनथे । त्यतिबेला जापानको नयाँ सम्राटको युग सार्वजनिक गर्ने बेलामा उनले ‘अंकल रेइवा’ भन्ने निकनेम पाए अनि उनको लोकप्रियता पनि चुलियो ।

सुगाकी श्रीमती मारिको पनि लो प्रोफाइलमै छिन् । सुगा र मारिको दम्पत्तिका तीन छोरा छन् । जापानको ‘फस्ट लेडी’ बन्न लागेकी मारिको सार्वजनिक रुपमा खासै उपस्थित भएको पाइएको छैन । एलडीपीको अध्यक्षको रुपमा आफ्नो उम्मेदवारीको लागि श्रीमतीलाई मनाउन निकै कठिन भएको सुगा बताउँछन् ।

आफू जति खटिन्छन् आफू मातहतका कर्मचारी पनि उतिनै खटिउन भन्ने सोच्छन् सुगा । क्याबिनेट ब्यूरो अफ पर्सनल अफेयर्समा राम्ररी काम नगर्ने अनि आफ्नो विचारसँग सहमत नहुनेलाई सुगाले पाखा लगाउने गरेका थिए । अरुले आफूलाई डरलाग्दो भनेपनि आफ्नो काम राम्ररी गर्नेको लागि आफू निकै राम्रो भएको सुगाले शनिवार एलडीपी नेतृत्वको अन्य दुई उम्मेदवारसँगको अनलाइन वहसमा भनेका थिए । तर उनका प्रतिद्वन्द्वीहरु पूर्व विदेशमन्त्री फुमियो किशिदा र पूर्व रक्षामन्त्री शिगेरु इशिबाको तुलनामा सुगाको कूटनीतिक र सुरक्षा सम्बन्धी क्षेत्रमा कम अनुभव छ । उनी बरु मोबाइल फोनको शुल्क घटाउने, पयर्टन क्षेत्रलाई टेवा दिन ‘गो टू ट्राभल’ अभियान ल्याउने जस्ता घरेलु मुद्धामा बढी केन्द्रीत रहन मन पराउँछन् ।

जापानको लागि सुगासँग ‘ग्र्यान्ड भिजन’ छैन भन्छन् वासेदा विश्वविद्यालयमा पोलिटिकल साइन्सका प्राध्यापक इसुशी तानिफुजी । प्रमुख क्याबिनेट सचिवका रुपमा उनको यो नीतिले काम गरेपनि प्रधानमन्त्रीका रुपमा यो समस्याकारी हुन सक्ने तानिफुजीको भनाइ छ । तर सुगासँग कुनै विचारधारा नभएको समेत उनले बताएका छन् ।

...

क्योदो न्युज