कोरोनाले आफ्नो दायरा संसार ब्यापी रुपमा फराकिलो गर्दै लगेको अवस्थामा काठमाडौँमा पुन: गरिएको लकडाउनको बाबजुद आफ्नो नियमित स्वास्थ्य परिक्षण लगायत केहि घरायसी कारणले अचानक अगस्ट २८ को कतार एयरवेजको काठमाडौँ नारिता उडानबाट आउने गरि अन्तरिक तयारी गरियो । जापान सरकारको उडान सम्बन्धि नियम अनुसार ७२ घन्टाको PCR नेगेटिभ भए मात्रै उड्न पाउने भएपछी उडानको अघिल्लो दिन २७ तारिक PCR परिक्षणको लागि गइयो ।
त्यसै दिन बेलुका रिपोर्ट आउने भएकोले रिपोर्ट नआउन्जेल के हो, के हो ! भन्ने भएकोले आफन्त र वरपरका लाई जापान जादैछु भन्न पनि नसकिने अवस्था हुदोरहेछ ।
यता टिकट पनि भनेको त छ तर त्यो पनि रिपोर्ट नआउन्जेल के हो के हो ! अवस्था भयो । धन्न २७ तारिखको साँझ रिपोर्ट नेगेटिभ आयो । अर्थात कोरोनाले छुन पाएको रहेनछ । ढुक्क भए जापान जाने निश्चित भयो ।
अव भोलि पल्टको लागि भनिएको उडानको लागि टिकट सुरक्षित गर्ने काम प्रमुख थियो । कोरोना कहरको बीच बृद्द बुवा, मुवा, छोरा, छोरी छोडेर जानु पर्ने पिडा त आफ्नो ठाउमा छदैनै थियो ।
हाम्रो देशको परिस्थिति र अवस्था अनुसार यावत समस्याहरु पार गर्दै अगस्ट २८ को टिकट अघिल्लो दिन २७ तारिखको साँझ तय भयो । जापानको नारिता सम्मको उडान भएकोले जापान सरकारको नियम अनुसार सार्बजनिक सवारीको साधनहरु १४ दीन सम्म प्रयोग गर्न नपाउने नियमको पालना गर्दै ओसाकासम्म जानु पर्ने अर्को समस्या थियो । यद्यपी मेरो त श्रीमान नै ओसाकामा हुनु भएको र वहा आफै गाडी लिएर लिन आउनुहुने भएकोले लामो दुरी बाहेकको अन्य चिन्ता म मा केहि थिएन । चार्टर उडानहरु शुरु भएदेखिकै नारिताबाट जापानको विभिन्न ठाउमा जानु पर्ने नेपालीहरुलाई एनआरएन जापान म आफु बसेको क्षेत्र कान्साई लगायतको केहि पदाधिकारी अहोरात्र खटेर गन्तव्यमा पुग्न सम्बन्धित व्यक्तिको खर्चमा ब्यबस्थापकीय सहयोग निरन्तर गरिरहेको कुरामा भने म पनि जानकार नै थिए ।
काठमाडौँबाट ४ घण्टा ३५ मिनेट कतार सम्मको यात्रा, त्यसपछि झन्डै साढे ४ घण्टाको ट्रान्जिट र कतारबाट पुन १० घण्टा ३० मिनेटको लामो हवाई यात्राको तालिका देख्ने बित्तिकै एक किसिमले हतास भए । तर मेरो सामु अगाडी बढ्नु बाहेक अरु उपाय केहि थिएन ।
२८ तारिक काठमाडौँबाट साँझ १८:०० बजे उडेर भोलिपल्ट साँझ १७:०० बजे नारिता ओर्लने तालिका थियो । त्यसपछि नारितामा PCR टेस्ट गरि त्यसको रिपोर्ट आएपछि मात्रै बाहिर निस्कन सकिने र झन्डै ४,५ घण्टा लाग्ने भन्ने कुरा अवगत भएकोले त्यसपछि फेरी गाडी चढेर ओसाका पुग्नु पर्ने सकसपूर्ण समय सम्झिदा कहालीलाग्दो थियो ।
त्यसैले म संगै टोक्यो निवासी मेरो देवर बाबुको छोरी आउने भएकोले एक दुइ दिन म देवर बाबुकोमा नै आराम गर्ने अनि त्यसपछि मात्रै यहाको नियम अनुसार निजि सवारी साधनमा ओसाका जाने भनेर पारिवारिक सल्लाह गरेर यात्रा तय गर्यौ।
कतारको लामो ट्रान्जिटको समयमा श्रीमानको फोन आयो र भन्दै हुनुहुन्थ्यो ‘धेरै जस्तो नेपालीहरुले हामीलाई नेपालको एयरपोर्टबाट हिड्ने बेलामा अथवा नारिता आइपुगेर सम्बन्धित ठाउसम्म लगिदिन सहयोगको याचना गर्छन । आफ्नो यात्राको बारेमा गम्भीर नभई लापरबाही सोचले आउने अनि अन्तिम अवस्थामा आएर एनआरएन गुहारेपछि जादुको छडी चलाइदिन्छन कि जस्तो सोच्ने भएकोले बेला बेलामा धेरैले तिनीहरुकै लापरबाहीको कारणले दुख पाएको छन् । त्यसर्थ तिमि संगैआउने उडानमा कान्साई एरियाको कोहि नेपाली भएमा बुझेर तुरुन्त खबर गराउ’ भन्ने वहाको चिन्तापूर्ण अनुरोध थियो ।
आफ्नो गन्तब्यसम्म कसरि पुग्ने भन्ने सबैलाई चिन्ता हुनैपर्छ । यद्यपी त्यस्तो कोहि भएमा म बुझौला भनेर श्रीमानलाई जानकारी गराए । तर त्यो दिन नेपालीहरु पनि थोरै भएको र ट्रान्जिटको वरिपरि सम्बाद गर्न अनुकुल कोहि पनि नदेखिएकोले त्यसै अनुरुप जानकारी गराए ।
नारिता एयरपोर्ट आइपुगेपछि...

२८ तारिख साझ १८:०० बजे काठमाडौँ छोडेको हामि २९ तारिक निर्धारित समय भन्दा आधा घण्टा अगाडी १६:३० मा नारितामा हामी चढेको प्लेन ल्याण्ड भयो । प्लेनबाट ओर्लेर एयरपोर्ट भित्रको बस चढेर जाने प्राबधान भए पनि कोरोनाले गर्दा प्लेन बाट झरेर सबैलाई भित्रसम्म हिडेर जानु पर्ने नियम बनाइएको रहेछ ।
हिंडेर भित्र पुगेपछि केहि समय लाइनमा बसियो र त्यसपछि उडान अनुसारको यात्रुहरुलाई चार चार जना गरि बर्गिकरण गरेर अलग अलग कुर्सिमा राखी हामीलाई PCR टेस्टको लागि पर्खाइयो ।
ओर्लेर झन्डै एक घण्टा जति बितिसकेको यो बिचमा टेस्टको पालो आएपछि मेरो स्वाब (थुक) परिक्षणको लागि लिइयो र नम्बर दिएर रिजल्टको लागि प्रतिक्षा गर्न भनियो।
बिचमा समय अनुकुल मिलाएर नेपालीहरुको गाइगुइ कुरो सुनियो । जसमा बाहिर निक्लिएपछी शिन्कान्सेन ट्याक्सीहरु चढ्न मिल्छ भनि एक आपसमा कुरो गरिरहेको थिए । कोहि हैन भन्ने त कोहि मैले नेटमा देखेको भन्दै दाबि गर्नेहरु थिए ।
यतिकैमा मैले श्रीमानलाई फोन गरे र शुरुमै भने यहाँ त शिन्कान्सेन र ट्याक्सी चढ्न दिन्छ भनिरहेका छन् त ! वहाले सोध्नु भयो ‘कसले भनेको ?’
मैले भने ‘यहाँ नेपालीहरुले कुरा गरिरहेको छन्’
बोलि खस्न नपाउदै ‘हचुवाको भरमा निराधार कुरा गर्नेहरुको भर नपर्नु, एयरपोर्ट बाहिर भाइ लिन आएको छ, थपक्क उसको घरमा गएर आज बस्ने भोली म गाडी लिएर आउछु अनि बिस्तारै आउला’ भने पछि हाम्रो सम्बाद तत्काललाई टुंगियो ।
यो बिचमा म लगायतको सबै यात्रु PCR रिजल्टको प्रतिक्षामा थियौ । त्यसै बीच श्रीमानको फोन आयो र भन्नु भयो ‘क्योटो बस्ने ३ जना बिद्यार्थी भाइ/बैनीहरु पनि त्यहि उडानमा आएका र एनआरएन जापानको आफ्नो एक मित्रलाइ सहयोगको याचना गरेको र तिन जना मात्रै आउनु पर्दा तिनीहरुलाई पनि आर्थिक भार पर्ने भएकोले तिमीलाई गार्हो हुदैन भने तिनीहरु संगै मिलेर आएमा उनीहरुलाई पनि ठुलो सहयोग हुन्छ’ भन्ने आशय ब्यक्त गर्दै तिनीहरुसंग सम्पर्क गराउनु भयो ।
यता देवर बाबु आफ्नो छोरी र मलाइ लिन भनेर एयरपोर्टको बाहिर प्रतिक्षारत हुनुहुन्थ्यो ।
यो बिचमा अगाडी केहि नेपालीहरुले शिन्कान्सेन र ट्याक्सी चढ्न मिल्छ रे ! भनेर गरेको मनगढन्ते कुरा गलत साबित भैसकेको थियो, भने मेरो श्रीमानको मित्र (एनआरएनए जापान आबद्द) एक ब्यक्तिले जानकारी गराए अनुसार त्यो बिचमा त्यो भाइहरुले वहालाई गाडी रिजर्ब गर्न भनिसकेका रहेछन् ।
शनिबारको दिन रातको समय भन्ने बित्तिकै अचानक पैसा जति तिर्छु भने पनि ओसाका क्योटोसम्म साधन पाउन त्यति सजिलो पक्कै छैन ! तथापी कठिन परिस्थितिको बाबजुद त्यो भाइहरुले गाडीको टुंगो लगाएका रहेछन भने यता तिर म संग भेट भएपछी उनीहरुलाई आफुहरुको कुनै टुंगो नलागेको र केहि सम्भावना भए सहयोग पाए हुनेथियो भन्ने आशय प्रकट भएपछी मैले तत्कालै श्रीमानलाई जानकारी गराए । वहाले आफ्नो ठाउबाट प्रयास गर्दै बिद्यार्थीहरुको लागि कसरी सुलभ र राम्रो तरिकाले व्यवस्था गर्न सकिन्छ भनेर बुझ्ने यद्यपी तिनीहरुलाई पनि आफ्नो ठाउबाट जिम्मेवार भएर सम्पर्कमा रहिरहन भन्नुभयो ।
यो बिचमा PCR टेस्टको रिजल्ट प्रतिक्षा गरेको झन्डै दुइ घण्टा जति, प्लेनबाट ओर्लेको चार घण्टा जतिमा रिपोर्ट आएको खबर प्राप्त भयो र हामी सबै आ-आफ्नो रिजल्ट लिने तिर लाग्यौ ।
रिजल्ट नेपालमा परीक्षणको रिपोर्ट अनुसारनै भएसंगै इमिग्रेसनको प्रक्रियामा अगाडी बढियो ।
यो प्रक्रियाको बिचमा नेपालबाट आउदाको PCR को रिपोर्ट लगायत भिषाको प्रक्रिया अनुसार अन्य आवस्यक कागज लिएर हाम्रो प्रक्रिया शुरु भयो । इमिग्रेसन अनुसन्धानको क्रममा १४ दिनसम्म सार्बजनिक यातायातको साधनहरु प्रयोग गर्न नपाइने, सेल्फ क्वारिन्टिनको नियम अनिवार्य पालन गर्नुपर्ने, आफ्नो नजिकैको क्वारिन्टिन सेन्टरबाट बेला बेलामा फोन गरि दैनिकको ज्वरो लगायत स्वास्थ्य स्थिति बुझ्ने त्यहाको अधिकारीहरुले सम्झाउनुभयो ।
तत्पश्चात ओशाकासम्म कसरी जाने भनेर सोधपुछ भएपछी म आज टोकियो आफन्तकोमा बस्ने । त्यसपछि आफ्नै साधनमा भोलि या पर्सि जाने भनेर भनेपछि टोकियो बस्ने ठाउँको ठेगाना मागियो र मैले तत्काल देवर बाबुलाई फोन गरेर ठेगाना उपलब्ध गराए पछि बल्ल बल्ल त्यहाको प्रक्रियाले गति लियो ।
यो बिचमा श्रीमानको क्योटो आउनुपर्ने बिद्यार्थी भाइहरुसंग पनि कुरो भएर उनीहरुको कुरा अनुसार त्यो दिन फर्किने अत्यन्त महँगो परेको र सम्भब नभएको अनि जाने ठाउँ पनि कतै नभएको भन्ने कुरा आएकोले देवर बाबुलाई अनुरोध गरि वहाले चिनेको एक जनासंग भोलिपल्ट क्योटो, ओसाकासम्म लगिदिन अनुरोध गरि सम्बन्धित व्यक्तिले अत्यधिक अनुरोध पश्चात शशुल्क लगिदिन तयार भए ।
तर भोलि पल्टको कुरा भएकोले त्यो भाई बैनीहरुलाई बस्ने ठाउको समस्या भएकोले देवर बाबुलाईलाई वहाकै घरमा दुख सुख राखीदिन अनुरोध गर्यौं । वहाले आपतमा परेका नेपालीलाई सहयोग गर्न तयार भएको कुरा जानकारी दिनुभएपछि बाकि अन्य प्रक्रिया पुरा गरेर १६ः३० मा ल्याण्ड भएका हामी बल्ल बल्ल रात २१ः३० मा बाहिर निस्कन सफल भयौ ।
बाहिर निस्केर देवर बाबुसंगै ३ जना भर्खरै चिनजान भएका भाई बैनीहरुलाई लिएर वहाको निवास टोकियोतिर लाग्यौं । त्यतिकैमा श्रीमानको फोन आएर त्यो भाइहरुले गाडी रिजर्भ गरेको र त्यो गाडी
उनीहरुलाई लिन नारिता जान तयारी गरि निस्कन लागेको तर फोन सम्पर्क हुन नसकेकोले सम्पर्क गराउन भनि त्यहि भाईहरुको अनुरोधमा यातायातको ब्यबस्थापन गरिदिएका एनआरएन जापानका पदाधिकारीको आफुलाई जानकारी आएको भन्ने खबर प्राप्त भयो ।
तत्पश्चात त्यो भाइहरु हामीले कुरा मात्रै गरेको तर पठाउनु भनेर ओके गरेको थिएन भन्ने यता त्यस्तो कठिन घडीमा नेपालीको लागि सहयोग गरौ भनेर लागि पर्नु भएकाले उनीहरुकै अनुरोधमा मैले गाडी ओके गरेको र अब यो समयमा आएर क्यान्सिल गर्दा २०,००० येन त्यो कम्पनीले क्यान्सिल चार्ज मागेको कुरा जानकारी गराउनु भयो ।
यो कुरा त्यो भाईहरुलाई जानकारी गराउदा हामीले ओके नगरेकोले तिर्न नसकिने कुरा व्यक्त गरे । देवर बाबुले बस्ने ब्यबस्था पनि मिलाइदिएको र भोलि पल्ट आउने टुंगो पनि सबै भएकोले उनीहरु आफ्नै किसिमले पक्कै ढुक्क भए पनि श्रीमानलाई र एनआरएन जापानको पदाधिकारीलाई भने निस्वार्थ सहयोग गर्न खोज्दा नेपालीहरुको लापरबाहीले गर्दा जापानिज कम्पनिलाई २०,००० येन पेनाल्टी तिर्नु पर्ने कुरा सेवाको सजाय रुपी प्रतिफल भएर खडा भयो ।
कान्साइको नेपाली भएकोले ब्यबस्थापकीय सहयोग गर्ने प्रयास गर्नु भएका पदाधिकारीले त्यो बिद्यार्थीहरुको सम्पूर्ण कुरा एनआरएन कान्साईको सम्बद्ध व्यक्तिलाई जानकारी गराउनु भएछ ।
तत्पश्चात श्रीमान र वहाहरुको कुरा अनुसार सकभर त्यो भाई बैनी हरुलाई उनीहरुकै कारण गरिएको क्यान्सिल चार्ज उनीहरुलाई नै तिर्न अनुरोध गर्ने कुरा भएछ । यद्यपी आफ्नो स्वार्थ पुरा भएपछी बेखबर हुने अधिकांश नेपालीहरुको बानि भएको र यसको कारणले क्यन्सिलेसन त्यो कम्पनिलाई नतिरेमा त्यस्तै लापरबाही तरिकाले आएर हार गुहार गर्दा रातको समयको पनि पर्बाह नगरी गाडीको व्यवस्था गरिदिने कम्पनिसंगको सम्बन्ध बिग्रने र त्यसले आगामी दिनमा समस्यामा परेका नेपालीलाई सहयोग गर्न नसकिने भएकोले त्यो पेनाल्टी स्वरुप को २०,००० येन एनआरएन कान्साईबाट तिर्ने भनि यहाँबाट निर्णय गरेको भनि श्रीमान मार्फत जानकारी पाए ।
उनिहरुको लापरबाही देख्दा सार्है घृणा जागेर आयो भने अरुलाई निस्वार्थ सहयोग गर्न खोज्दा र अन्य नेपालीको आगामी दिनको सहयोगको बाटो खोल्न आफैले सजाय भोग्ने निर्णय गरेको सुन्दा एनआरएन कान्साई र श्रीमान प्रति सम्मानको साथमा निशब्द भए ।
टोकियोबाट ओसाका र सेल्फ आइसोलेसन अनुभब
भोलि पल्ट देवर बाबुको ब्यबस्थापकीय सहयोगमा म आफु पनि त्यो भाई बैनीहरुसंग ओसाका आइपुगे । टोकियोबाट बिहान ११ः३० तिर हिँडेका हामी तीनजना बिद्यार्थीहरुलाई छोडी बेलुका ओसाका स्थित निवासमा आइपुग्दा रात ८ बजेको रहेछ ।
घर पुगे पश्चात पुन इमिग्रेसनमा जानकारी गराएर ओसाकाको कुवारेन्टिन सेन्टरबाट हिजो मलाई फोन आयो र आएको दिन देखिको ज्वरो नापेको छ कि छैन, दैनिक कस्तो छ ? स्वास्थ्य स्थिति लगायतको बिषयमा सोधपुछ भयो ।
सबै जवाफ दिए पछि १४ दिन सम्म ४ दिनको फरकमा हामीले फोन गर्छौ तथापी हरेक दिनको ज्वरो नाप्नु र स्वास्थ्यमा केहि समस्या परेमा तत्काल सम्पर्क गर्नु भनेर सम्बद्ध सम्पर्क नम्बर उपलब्ध गराए ।
त्यस्तै अत्यावस्यक किनमेल गर्नको लागि मात्र आवस्यक परेमा मास्क र स्यानीटाईजरको प्रयोग गरि सुपरमार्केट जाने बाहेक १४ दिन सम्म अन्यत्र हिडडुल नगर्न पटकट पटक अनुरोध गरिरहेका थिए ।
जापान बसेको दशकौं भएकोले यहाको प्रबिधि, सेवा सुबिधाको बारेमा धेर थोर त म जानकार नै छु, यद्दपि कोरोनाले संसार त्राहिमाम बनाएको र त्यसबाट जापान पनि स्वाभाविक रुपमा अछुतो नरहेको अवस्थामा हरेक नागरिकप्रति यहाको सरकारले देखाएको समान व्यवहार र हामीले पाएको सेवा सुबिधाले साँच्चै मन छोएको छ ।
जापानमा जीवन यापन गरिरहेका करिव एक लाखको संख्यामा रहेका हामी नेपालीहरुले यहाको संस्कार र अनुशासन थोरै भए पनि अनुशरण गर्न सके यसले हाम्रो देशलाई पनि धेरै नै सहयोग पुग्ने थियो जस्तो अनुभूति भएको छ । कम्तिमा आफ्नै जीवनमा मात्र भनेपनी धेरै अनुशासन बन्न सिकाउँछ ।
...
अन्त्यमा नेपालमा सहयोग गर्ने परसु बस्नेत बाबु, नारिता एयरपोर्टदेखि टोकियोसम्म र मलार्इ मात्रै नभएर अचानक मेरो श्रीमानको अनुरोधमा सहयोग गर्नु परेको बिद्यार्थीलाई समेत आपतकालीन समयमा बस्ने व्यवस्था यातायात लगायतको अमुल्य सहयोग गर्ने टोकियो निवासी नरेश बस्नेत बाबु, यातायातको सहयोग गर्ने वहाँको साथी र श्रीमानले गरेको अनुरोध अनुसार अचानकको खबरमा दुखमा परेका नेपालीलाई सहयोग गर्न खोज्दा खोज्दै केहि प्राबिधिक त्रुटी लगायतले शनिबारको रातको ढिलो समयमा गाडी रिजर्भ गरि अचानक क्यान्सिल गर्नुपर्दा तिर्नु परेको क्यन्सिलेसन लगायतमा अहोरात्र खटिनु भएका एनआरएन जापानका जीवन गुरुङ, एनआरएन कान्सार्इका दिलिप शर्मा बाबु र आगामी दिनमा नेपालीहरुलाई अचानक ब्यबस्थापकीय सहयोग गर्नु पर्दा बाटो बन्द नहोस भनेर सम्बन्धित व्यक्तिहरु क्यन्सिलेसन चार्ज तिर्न आजको दिन सम्म सम्पर्कमा नआएकोले त्यो चार्ज मेरो श्रीमान लगायत एनआरएन कान्साइको पदाधिकारीहरुले मिलेर संकलन गरि सम्बन्धित कम्पनिलार्इ तिरेको कुरा सुन्दा एनआरएन कान्साई प्रतिको सम्मान अझै बढेर गएको छ ।
नेपालीहरुले जापान जस्तो देशमा बसेर पनि किन स्वार्थ पर्दा मात्रै लम्पसार पर्ने, स्वार्थ पुरा भएपछी बेखबर हुने संस्कारबाट बाहिर निस्कन नसकेका होलान भनेर दुख पनि लागिरहेको छ ।
अन्त्यमा बिट मार्दै गर्दा कोरोनाको कहरका बिचमा आफ्नो जीउज्यान जोखिममा राखेर निस्वार्थ समाज र नेपालीहरुको सहयोगमा खट्ने सम्पूर्ण प्रति हार्दिक सम्मान ब्यक्त गर्दछु । कठिन समयको मेरो यात्रा अनुभब धेरैलाई सहयोगी बन्न सक्छ भन्दै लेख्न प्रेरित गर्दै यो आलेखमा अतुलनिय सहयोग गर्ने मेरो श्रीमान नरेन्द्र बस्नेत 'दिनेश'प्रति विशेष आभारी छु ।