(Japan) 25 th August | 2026 | Tuesday | 9:15:20 PM || (Nepal) 6:00:20 PM
 
 


पिडा र जिम्मेवारी बोध नेतृत्व अर्थात् आबे भर्सेस ओली !

Gokarna Adhikari   POSTED ON : Sunday, 30 August, 2020 | Views : 4718

पिडा र जिम्मेवारी बोध नेतृत्व अर्थात् आबे भर्सेस ओली !


गोकर्ण अधिकारी-

यसअघि नै बेसारको महात्य गाएर बेतुकको गफ गर्दा जनताबाट आलोचित भएका नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले फेरी शुक्रबारको एक अन्तर्वार्तामा उस्तै बखान गर्न भ्याए 'बेसार'को !

ठिक त्यसको एकदिन अघि म अहिले बसेको देशका प्रधानमन्त्री आबे शिन्जोले स्वास्थ्य अनुकुल नरहेको भन्दै पदबाट राजिनामा घोषणा गरेका थिए । जाँदा जाँदै प्रधानमन्त्रीले भने 'आगामी बर्षको मध्यसम्ममा सबै जापानवासीहरुको लागि कोरोना भाइरसको भ्याक्सिन उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाएको छु ।'

अर्थात् खरिदको लागि रकम व्यवस्थापन सहित वितरण गर्ने निकाय समेत छनौट गरिएको छ ।

परम्परागत उपचार पद्धती सहित आधुनिक विज्ञानको हरसम्भव उपाय अपनाईरहेको र अपनाउन सक्ने क्षमता राख्ने जापान अबको उपाय भ्याक्सिन मात्र हो भनेर संक्रमणलाई नियन्त्रणमा राख्दै त्यस तर्फ अघि बढिरहेको छ ।

प्रधानमन्त्री ओली जी, तपाईंले भनेजस्तो बेसारले सबै ठिक हुने भए दुई सय जना नेपालीले ज्यान गुमाईसक्दा तपाईंले जाबो बेसार पनी व्यवस्था गर्न नसक्ने कस्तो शासन चलाईराख्नुभएको छ, लाज लाग्नुपर्ने हैन ?

महिना दिन अघि ८ बर्ष अघिको जस्तै पेटमा आन्द्राको एक किसिमको क्यान्सर जस्तो रोग बल्झिएपछी प्रधानमन्त्री आबे अस्वस्थ देखिन्थे ।

लगातार डेढ सय दिन एकदिन पनि विश्राम नगरी महामारीको चरणमा पुगेको कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा ल्याउन सफल भएका आबे बढी खटाईले होला लगत्तै बिरामी हुन पुगे । त्यहि बिरामीका कारण जिम्मेवारी तोकिएको समयमा पुरा गर्न नसक्ने भएं भन्ने अनुभुत गरेर आबेले पदत्याग गरिदिए ।

पद त्याग घोषणा मात्र गरेनन् नागरिक र देशसँग क्षमा माग्दै मलिन अनुहारमा पिडा आत्मबोध गर्दै भनेका छन् 'ओलम्पिक आयोजना गर्न सकिएन, उत्तर कोरियाले अपहरण गरेका नागरिकको टुंगो लगाउन सकिएन, संविधान संशोधनबारे मैंले अघि बढाएको विषय टुंगोमा पुर्याउन सकिन, कोरोना संक्रमणको यस्तो महामारीमा अकस्मात बिरामी भएर राजिनामा दिनुपर्यो, मलाई माफ गरिदिनुहोला ।'

'कोरोना भाइरसका कारण सयौं व्यक्तिले ज्यान गुमाईसके उनिहरुप्रती श्रद्धाञ्जली व्यक्त गर्छु र यसमा मलाई दुख लागेको छ उनिहरुको ज्यान बचाउन सकिएन । अनि धन्यवाद यस्तो महामारीमा पनि ज्यान जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुप्रती ।'

म अहिले कर्मले यो देशमा भएपनी यहाँका प्रधानमन्त्रीको यो महानता देखेर लज्जित छु तपाईको अनुहार हेर्दैमा ! मलाई पिडाबोध हुन्छ तपाईका हरेक शब्दमा ।

एक पटक हिजैको अनि दुई हप्ता अघिको दुई अन्तर्वार्ता हेर्नुस् त ! तपाईंलाई नागरिकको ज्यान गएकोमा कहाँ कहिले पिडा भएको छ ?

देश आर्थिक रुपमा टाट पल्टने अवस्थामा पुगिसक्यो, तपाईंलाई त्यहि महामारीमा लुट मच्चाउने आफ्ना आसेपासेको बचाउ गर्नु बाहेक देशलाई पूर्ववत् अवस्थामा फर्काउन के गर्ने भन्ने योजना कस्तो छ ? कसैलाई बताउन सक्नुहुन्छ ?

जनता परिक्षण समेत समयमा नभएर, संक्रमणपछि उपचार गर्ने ठाउँ समेत कतै नभेटेर, सामान्य उपचार पनि नपाएर दैनिक मरिरहेका कहालिलाग्दो खवर सुनिरहनुपरेको छ । तलाईंको मन, मन होकी ढुंगा ? अलिकति पिडा हुँदैन ? लाज लाग्नुपर्ने होईन ? मैंले नागरिकलाई बाँच्ने वातावरण समेत बनाउन सकिन माफ गर्नुस् भनेर पद त्याग गर्नुपर्ने होईन ?

कोरोनाका कारण भन्दा धेरै गरिबि र यससँग जोडिएका आहतमा राज्यबाट केही राहत पाउन नसकेका हजार बढी व्यक्तिले आत्महत्या गरेको खवर तपाईको कानमा कहिल्यै पुग्दैन हो ?

राजनीतिक आन्दोलनमा जेल बसें भन्दैमा एउटा जुनी सर्लक्कै अमृत पिएझैं अजर अमर भएर अलौकिक व्यक्ती यो दुनियाँमा कहाँ को भएको छ ? तपाईं, तपाईंका आउरे पाउरे धुपाउरेकै कारण कहिल्यै सुध्रिनु भएन ।

'मृगौला रोगी, सन्तान पनि छैनन् देशलाई केही गर्लान्' भनेर धेरै पटक जनताले माफ दिईसके । दियौं हामीले ! तर अरुले गरेका काममा जस लिने र फुर्ती लाउने 'चोरको ठूलो स्वर' भने जस्तो बाहेक तपाईंले केही गर्नुभएको छैन ।

काठमाडौंका खाली र चिल्ला सडकको तस्विर राखेर देश स्वर्ग भईसक्यो भन्ने 'तोरी लाउरेहरु' 'मुर्दा शहर' भईरहेको छ भन्ने बुझ्दैनन् र तपाईलाईं बुझ्न पनि दिंदैनन् ।

'मैंले पद छाडे सबै नासिन्छ, सत्यानासै हुन्छ' भन्ने मनोरोग त्याग्नुस् । तपाईकै पार्टीमा कोहि त होला जो बालुवाटार, सम्धी, करोड देखी यती र उती भन्दै नहिँड्नेहरु ।

उखान तुक्कामा तपाई त बिख्यात मान्छे, हाँसो पनी उखानमा-पिडा पनी उखानमा भन्न सक्ने क्षमता भएको मान्छे । उखान त नभनौं आम लोकोत्ती याद राख्नुस् प्रधानमन्त्री ओली जि ! 'राजा मर्दैमा राज्य अड्किंदैन ।'

राजा बिरेन्द्र मरे, मरे के भनौं बंश नास भयो । त्यसको ठाउँमा ज्ञानेन्द्र आए । खराबै सही, जनताले चाल पाए र ठेगान लगाएर भनेपनी बिकल्प खोजे ।

तर बिकल्पकै यो गती भयो भने त अतिमा खती हुन्छ । यो अब तपाईका लागि अन्तिम समय र अवसर हो । अर्को मृगौला फेरुन्जेल जनताको अवस्था फेर्न तिर लाग्नुस्, सक्नुहुन्न भने मैदान छाड्नुस्, क्षमतावान अर्को आउँछ ।

त्यसले पनि नसके अर्को खोजौंला । चुनाव पनी नजिक आउँदैछ । हामी बिकल्प रोजौंला ।

तपाईंहरुले 'दुई तिहाईको कुशासन' हामीलाई देखाउनु भयो, अबको चुनावमा हामीले के देखाउनु पर्छ "हामीले जान्या छ ।"

...

यसअघि आजको लागि प्रकाशित गर्ने भनिएको लेख समय सन्दर्भ अनुसार नपरेकाले आगामी हप्ता प्रकाशित गरिनेछ ।