माई लाईफ माई रुल यसो भन्दै गर्दा म आफ्नो परिवार आफन्त र समाजबाट टाढा भन्दा पनि धेरैनै टाढा परदेशमा छु । मैले यहाँ जे गरेपनि खासै कसैलाई थाहा हुँदैन । जे गरे पनि कसैले देख्दैन । यसको मतलव यो होइन कि, मैले यहाँ जे गरे पनि हुन्छ ।
३ वर्ष अगाडिमात्र पनि नेपालमा हुँदा सधैंको खर्च भन्दा १०० रुपैया बढी पैसा चाहियो भने पनि त्यो पाउनको लागी पर्फेक्ट रिजन भएन भने पाउन असम्भव जस्तै हुन्थ्यो । अझ भनौ पाईंदैन थियो ।
एक दिन साथिहरुसंग बाहिर घुम्न जानको लागि मम्मिलाई कति फकाउनु पर्थ्यो, अझ घरको काममा यति हेल्प गरिन्थ्यो फकाउनलाई भनि साध्य छैन । त्यतिले मात्र पनि कहाँ हुन्थ्यो र कहाँ जाने, को संग जाने रु सँगै जाने साथिलाई पनि घरमा उपस्थित नगरार्इ हुँदैन थियो । बेलुका बाहिर बस्नेत कुरानै नगरौं वेलुका भनेको समय भन्दा थोरै मात्र ढिला भयो भने पनि घरको ढोकाबाट छिर्न पाईंदैन थियो ।
छिमेकिहरुले सोथ घरको बरण्डनान आएर सोधेर हैरान पार्थे के भयो भनेर । विल्ला को त नकुरा गरम । त्यति महाभारत गरेर गेटबाट भित्र त गयो अव १ २ कुच्चो नभेट्नेत कुरै भएन ।
हप्ता दिन जती त घर बाट स्कुटर स्टार्ट बन्द गरेर वा कसैले थाहा नपाउने चाल गरेर बाहिर हिँड्नु पर्थ्यो । फर्किंदा त म्यानेज हुन्थ्यो । विहान घरबाट निस्किदा नै स्कुटर स्टार्ट नै नगरी हिँड्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । स्टार्ट गरेपछि यताउता साउन्ड सुनेर छिमेकीहरु कसैले देख्ने पो हो कि भनेर मनमा कुरा खेलिरहन्थ्यो । महिनौं सम्म घरमा आफूले भने जस्तो गर्न पाइदैन थियो ।
अझ बाहिर जाने कुरा गर्यो भनेत अव बेलुका ढिला आउने हो भने आउनु पर्दैन । जहाँ जो सँग गएको त्यहि उसैसँग बसे हुन्छ भन्नु हुन्थ्यो । अब बस्नू चाँहि कहाँ रु साथिको घरमा गएको हुन्थ्यो । उसकोमा सँधै कसरी राख्नु मलाई ।
यस्तो पारिवारिक वातावरणबाट आएको म कुनैदिन घुम्न जानलाई अलिधेरै पैसा खर्चे हुने ठाउँछ भने कलेज जाँदा खाजाखानको लागी पाएको खर्च जोगाएर राख्नु पर्थ्यो ।
महिना दिन अगाडिदेखि कलेजमा साथिहरुले क्यान्टिन जाउँ भन्दा मलाई आजकल क्यान्टिनको खाजा मिठो लाग्दैन । वा अनेक बहाना गरेर टार्नुपर्थ्यो ।
मिठो भैन भन्दा त्यहिकुरा साथिहरुले क्यानटिन को अंकललाई भनेर बिचरा क्यान्टिनको अंकल के भएर मिठो नभएको होला आजकाल खाजा भनेर मिठो बनाउन लागिपर्नु हुन्थ्यो । त्यति गरेर १ महिनादेखि पैसा कलेक्सन गरेर राख्यो त्यै पनि कुनैबेला मम्मिले पैसा भेट्नुभयो भने अर्को महाभारत सुरु हुन्थ्यो । ल भन यो पैसा कहाँबाट लेराएको कसले दिएको भनेर । हे भगवान उल्टो पिटाई पो खानु पर्थ्यो ।
हो यस्तो पारिवारिक व्याकराउण्ड बाट आएको हुँ म । मँ एक पात्र हुँला तर अधिकांशको वास्तविक विगतको हविगत यो भन्दा धेरै फरक छैन ।
यहाँ आँफै महिनाको दुई देखी ३ लाख कमाउछु । आफूलाई जे गर्न मन लागेपनि अरु संग पैसा देउन भनेर भन्नु पर्दैन । विदेसमा छु, जे गरेपनि कसैले देख्दैन । देखेपनि खासै मतलव हुदैन । घरबाट फोन आउदा फोन रिसिभ नगरेर काममा थिए भन्दिए हुन्छ । मलाई हप्तामा १ पटक फोन गर्दिए भयो घरमा । घरबाट पनि जतिबेला पनि फोन गर्नु हुन्न । गरेको बेलामा पनि उठेन भने ममिबावालाई बिजि होला छोरि भन्ने हुन्छ । यहाँ म आफूले भने झैं गर्न सक्छु । कसैले पनि रोक्ने वाला छैन । कोहि कसैले केहि भन्यो भने मैले के भन्छु थाहा छ माई लाईफ माई च्वाईस वा माई लाईफ माई रुल ।
त्यस्तै परे फेसबुक सम्म माई लाईफ माई रुल वाला ट्रोल सेयर गर्छु । म आफ्नो लागि चाहिने पैसा आफैँ कमाउन सक्ने भएको छु । नेपालमा हुँदा अरुको घरको दहिसम्म खानलाई मन नलाग्ने म, यहाँ रेस्टुरेन्ट अनि वारमा गएर बियर अनि वाईन खाम्पाई गर्दै घण्टौं पिएर बस्न सक्ने सक्षम भएकि छु ।
आफुभन्दा ठूलो मान्छे आफनो आफन्त कोहि घरमा खाना खाने गरि आउदा पेटमा चाँहि भोक लागेर मुसाले झगडा गर्न थालेको हुन्थ्यो र पनि मम्मिले खानाखान बोलाउदा भोक लागेको छैन, पछि खान्छु भन्थे । किनभने मलाई अड लाग्थ्यो आफूभन्दा ठूलो मान्छे आफन्त संगसँगै बसेर खाना खान । यस्तो मान्छे म अहिले त्यहि मान्छेसंग संगै बसेर बियर अनि वाइन पिउने भएको छु । घर बाहिरको मान्छेको अगाडि कपाल कोर्न सम्म लजाउने म अहिले पब्लिक ट्रेनमा मेकअप गर्दै हिडने भएकी छु ।
कलेजको ओरिएन्टेसन डे को दिन कोहि साथिहरुले ट्याटु हानेको देख्दा यो मान्छे चाही मेरो सेक्सनमा नपरेपनि हुन्थ्यो भन्ने म आज आँफै ट्याटु खोपेर ट्याटु सहित आउनेगरी त्यो पनी अर्धनग्न शरिर देखाएर अनेक पोजमा फोटो र भिडियो खिच्दै सामाजिक संजालमा प्रोफाइल फोटो राख्ने भएको छु ।
नेपालमा हुदाँ विहान ५ बजे उठेर सँधैजसो घर नजिकैको मन्दिरमा गएर पूजागर्ने म, अहिले कोहि साथिहरुले पूजागरेको फोटो फेसबूकमा हालेको देख्दा पनि यसको नाटक पूजापाठ गर्दै बस्ने भए नेपालमै बस्नूनि भन्ने सम्म भएको छु ।
केहि हदसम्म ठिकै हो समय परिस्थिति अनि ठाउँ अनुसार चेन्ज हुनुपर्छ । तरपनि हामि आफ्नो लागि मात्र नभएर परिवार आफन्त अनि आफू कस्तो सोसाइटि बाट हुर्केर आएको हो भन्ने पनि सोच्नुपर्छ ।
जापान आउने बेलामा बाबा मम्मीले कतिधेरै सपनाहरु मनमा राखेर हामिलाई पठाउनु भएको हुन्छ । कयौंसंग हात जोडेर बिन्ति गरेर पैसा मागेर यहाँसम्म पठाउनु भएको हुन्छ । उहाँलाई पनि कहाँ मन हुन्छ अरुको अगाडि दुईहात जोडेर विन्तिगर्न । त्यो सबै आफ्ना सन्ततिको खुसिको लागि हो भन्ने हेक्का हामीलाई सँधै हुनुपर्छ ।
तर हामिलाई त्यो कुरा कहिल्यै मनमा आउदैन । कसरी हुन्छ आफूलाई आफ्नो लाइफ रिल्याक्स पारामा जिउनु छ । आफन्त अनि समाजको मान्छेले के सोच्छन् खासै मतलव हुन्न ।
हो बावामम्मि ले आफ्नो बच्चाहरु खुसि भएको हेर्न चाहनुहुन्छ त्यहि भएर आफ्नो मनमा लागेको कुरा पनि भन्नु हुन्न । घरका देखी पारिवारिक समस्या र पिडाका कुरा सुनाहुनुहुन्न हामीलाई मनमा पिर र चिन्ता पर्छ भनेर । किनकि हामि विदेशमा छौं । यसको मतलव त्यो पनि हैनकि हामिले जे गरेपनि हुन्छ । हामी आँफै सामान्य रूपमा पनि सोच्न सक्छौँ विदेशमा भएको हामीले केहि नराम्रो गर्दा हाम्रो बारेमा अरुकसैले त्यो कुरा नेपालमा बाबा मम्मिलाई सुनाइदिदाँ मनमा कस्तो पर्छ होला उहाँलाई भनेर ।
हामिले एउटा सानो फूलको विरुवा कहिँबाट किनेर लेराएर रोप्यौँ भने त्यसलाई सधैँ पानी हाल्छौं । कसरि हुन्छ त्यो सानो विरुवालाई राम्रो बनाउन लागि पर्छौं । हामी चाहान्छौ आफूले रोपेको त्यो विरुवा हेरेर आफ्नो रुम वा घर करेसामा कोहि आउदा कति राम्रो विरुवा रहेछ भन्दियोस । साथिहरु रुममा आउदा आहा तिमिले रोपेको फूलको विरुवा कति राम्रो भएको भन्दा हामि कति खुसि हुन्छौँ ।
त्यसैमा कोही एक जनाले मात्र तिमिले रोपेको विरुवा खासै राम्रो रहेनछ भनिदियो भने कति नराम्रो लाग्छ हामिलाई ।
त्यो त केवल एउटा फूलको विरुवा न हो । हामिले अर्को बिरुवा लेराएर फेरी रोप्न पनि त सक्छौं । तर बाबा मम्मिसंग हाम्रो बारेमा नराम्रो कसैले भन्यो भने उहाँहरुलाई कति नराम्रो लाग्छ होला फूलको विरुवा जस्तो उहाँहरुले आफ्नो बच्चाहरु लाई त चेन्ज गर्न पनि सक्नु हुन्न ।
त्यसैले कसैले देख्दैन मैले आफ्नो कमाइले गरेको हो भनेर नचाहिने गलत र लाजमर्दो असामाजिक काम नगरौँ । बिदेशमा छौं भन्दैमा नेपाली परम्परा, संस्कृती र आफ्नो कर्मलाई नभुलौं ।
विदेशमा अरु कसैले नदेखेपनि भगवानले त देख्नुहुन्छ । अरुलाई झूट बोलेपनि आफ्नो मनलाई कहिलेपनि झूटवोल्न सकिदैन । हामीले गलत काम गरेमा कुनैन कुनै रुपमा त्यसको सजाय ढिलो चाँडो भोग्छौं नै ।
त्यसैले अरुसंग उनिहरुको अगाडि आँफैले या आफ्नो कारणले आफ्नो परिवार, समाज र देशले शिर झुकाउनु पर्ने काम नगरौँ । पहिला परिवारलाई खुसी बनाऔ अनि आफू खुशी बनौं ।
परिवार र आफु राम्रो कामले खुशी बन्न सके संसारमा सबैजना खुसि भएको देख्न सक्छौं ।