हो हामि नेपालि हौं । जापान रहौं वा विश्वको जहाँसुकै आफ्नो संस्कृती र परम्परालाई कदापी भूल्नु हुँदैन । नेपालमा हुँदा जतिकै गर्न नसकेपनि आफ्नो संस्कृति बचाउनको लागी आफूले जति सकिन्छ त्यति कर्म र धर्म निर्वाह गर्नुपर्छ ।
तर आफ्नो धर्म संस्कृतिलाई भूल्नु हुदैन भन्दैमा विशेष परिस्थिति परेको कोरोना महामारी जस्तो संकटकालिन समयमा धेरै मानिसहरु जम्मा भएर नाचगान वा भोजभतेर गर्नु कत्तिको जायज होला ?
जापानमा तीज आउनुभन्दा हप्तौं अघिदेखी रेस्टुरेन्टहरुमा धेरैजना जम्मा भएर तीज मनाउन थालेको फोटो र भिडियोहरु सामाजिक सञ्जालमा देखिईरहेका छन् । विगतमा यस्तो महिनौं अगाडी सुरुहुने भएपनी यसपटक केही हप्ता अघिबाट बाक्लिएको छ ।
दुई चार जना नितान्त पारिवारिक र आफ्नै परिवारका निकट सदस्य घरमै भेटघाट गरेर त्यो पनी सावधानिका उपाय अपनाएर आत्मियता साट्नु परम्परा धान्ने र मनाउने हिसाबले ठिकै मान्न सकिएला तर चार दिशाबाट आएका दर्जनौं देखी सयौं व्यक्तिसम्म जम्मा भएर तीज मनाएको देख्दा र सुन्नु पर्दा यो कुवेलामा मन नै खल्लो बनाउँदो रहेछ ।
केही व्यक्ति भेटघाट गरेर मनाएर आपसी आत्मियता र भाईचारा साट्नु त राम्रै हो तर हामिहरुलाई तिजको फोटो, भिडियो फेसबुक, इन्स्ट्राग्राम देखी टिकटक सहित भएभरका सामाजिक सञ्जालमा हाल्नै पर्छ । हामीलाई त्यतिमात्र नभएर 'लाइभ'नै गर्नुपर्छ । किनकि 'हामि नेपालि हौं नि !' भनेजस्तै छ ।
जोशमा सामाजिक परिवेश र जिम्मेवारी बोधलाई गम्भिर रुपमा नलिई राखिएका त्यहि फोटो र भिडियो धेरै जनाले हेर्नुहुन्छ र उहाँहरुलाई पनि त्यसैगरि तिज मनाएर सामाजिक सञ्जाल रंग्याउन मन लाग्छ । तपाईले सामाजिक सञ्जालमा राखेको तिनै सामग्रीका कारण थोरै समयमा नै अर्को त्यस्तै समूह बन्छ तिज मनाउनको लागी, अनि त्यहाँ पनि त्यस्तै बेपर्वाह नाचगान गरिन्छ ।
कोरोना संक्रमण राजधानी टोकियोमा मात्र होईन जापानभर बढेको बढ्यै छ । धेरै जना एकसाथ जम्मा हुनहुँदैन भन्ने सबैलाई थाहा छ । तर त्यहाँ धेरैजनाले के भन्नुहुन्छ भने 'केहि हुन्न, हिजो अरुहरुले त २०/३० जना जम्मा भएर क्या रमाइलो गरेका थिए कोरोना लाग्ने भए तिनिहरुलाई पनि लाग्थ्यो नि, हामीत १० र १५ जनामात्र त होनि !'
यस्तो गर्दागर्दै प्रत्येक नेपाली रेस्टुरेन्टहरुमा केहिदिन यता दिनदिनै जस्तो तिजका कार्यक्रमहरु भईराखेको पाईन्छ ।
हामी जापान जस्तो सभ्य देशमा छौं भनेर भनिरहन नपर्ला । हामी नेपालीहरु जो कोहिसंग सजिलैसंग घुलमिल हुन सक्ने भएको कारणनै होला धेरैजसो जापानिहरुलाई नेपालको बारेमा धेर थोर थाहा भएको पाईन्छ ।
हामि महिलाहरु जुन पहिरनमा तिज मनाउन हिँड्छौं त्यो ड्रेस हेरेर नै जापानिजहरुले बाटोघाटो देखी ट्रेन वा रेष्टुरेण्टमा नै सजिलै भन्न सक्छन यिनिहरु नेपाली वा ईण्डियन नै हो भनेर । धेरैजसो जापानीहरुले भाषागत लवज तथा हाम्रो ईण्डियनहरु भन्दा केही भिन्न पहिरनका कारण सहजै नेपाली नै हुन् भन्ने ठम्याउन सक्छन् । जसरी हामी चिनियाँ, कोरियन तथा जापानीहरुलाई छुट्याउँछौं ।
उनिहरुले 'डाईरेक्ट' हामिलाई नभने पनि यो समयमा त्यसरी ग्रुपमा चाडपर्व सेलिब्रेसन गरेको देख्दा हामि नेपालिलाई हेर्ने दृष्टिकोण पक्कैपनि नकारात्मक हुनजान्छ ।
केहीदिन अगाडि १ जना जापानी आमासंग नेपाली रेस्टुरेन्टमा खाना खान गएको थिएं । ११/१२ जना नेपालि दिदिहरुको तिज 'सेलिब्रेसन' चलिरहेको रहेछ । त्यहाँ एकजना दिदिपनि हुनुहुँदो रैछ मैले चिनेको । मलाई देखिहाल्नु भयो, अनि केही मिनेट कुराकानी भयो उहाँसग ।
अनि म सँग जानुभएको जापानिज आमाले भन्नुभयो 'नविना वा नेपारु जिन नानोनि नान्दे साक्किनो ओन्नाको को ताचीतो ओनाजि तिज यात्ने नाई देसका ?' भनेर ।
अनि भने अहिले कोरोनाले गर्दा धेरै मान्छे जम्मा भएर गर्ने काम नगर्दा राम्रो भनेर अनि उहाले भन्नुभयो -'नेपारु जिननो नारादे इप्पाई निहोननो रुरुमामोत्ते इनाई हितोमो इमास्ने !' भनेर ।
त्यसपछि म केहि बोल्नै सकिन...!
...
परदेश, पिडा र जापान क्वारेन्टाइन - नेपाली बिद्यार्थीको संघर्षको कथा !