(Japan) 18 th March | 2025 | Tuesday | 5:57:50 AM || (Nepal) 2:42:50 AM
 
 


जापानका नेपाली कुकका पिडा-खर र मट्टितेल छ बस एक झिल्को आगो चाहिएको छ !

Amar Dev Bastola   POSTED ON : Tuesday, 11 August, 2020 | Views : 26118

जापानका नेपाली कुकका पिडा-खर र मट्टितेल छ बस एक झिल्को आगो चाहिएको छ !


हुन सक्छ जापान एउटा सपनाको देश हुन सक्छ । रहर अनि अवसरको देश हुन सक्छ । राम्रो कमाई हुने रोजाईको या सबैको गन्तव्यको देश हुन सक्छ । तर यो रोजाई र भोगाई कति सम्म सत्य हो ? आउनुहोस् केही देखाई, भोगाई, सुनाई र यथार्थ तिता अनुभवहरू जुटाएर हेरौं । 

झण्डै तेह्र करोड कुल जनसंख्या रहेको जापानमा लगभग सत्ताईस लाख तीस हजारको हाराहारीमा रोजगार तथा ब्यापारको शिलशिलामा आएका तँपाई हामी जस्ता बिदेसी नागरिकहरु मानिन्छौं ।

यसमा झण्डै एक लाखको हाराहारीमा हामी नेपालीहरू पर्दछौं । कति बिद्यार्थी भिसामा, कति वर्किङमा, कति ब्यापार ब्यबसायमा त कति कुक स्किल लेभर भिसामा रहेर आ-आफ्नो जीविको पार्जन गर्दै आएका छौं । यस मध्ये आज कुक भिसामा आउनु भएका संपूर्ण नेपाली दाजु भाईहरू प्रति समर्पित भएर उहॉंहरूको आवाज लेख्ने प्रयत्न गरेको छु । मैले यहॉं सुनेको भन्दा पनि देखेको र प्रत्यक्ष कसैले भोगेको पिडा समेट्ने जमर्को गरेको छु । 

रमेश कुमार 'नाम परिवर्तन' राती कामबाट साईकलमा घर फर्कदै गर्दा गाडीको ठक्करले खुट्टा भॉंचियो । अस्पताल भन्छ एक डेढ महिनाबेड रेस्ट गर्नु पर्छ । उता साहु भन्छ, तीन दिन जति रेस्ट गरेर काममा आउ नत्र भए भिषा खारेज गरिदिन्छु । एक किसिमको खा धम्कि साहुबाट आउछ । खुट्टाले उभिन हुंदैन बरु काम नै छाड्छु भनेर भन्दा पनि अर्को मान्छे नपाउन्जेल आउनै पर्ने अडान साहुले लिएपछी, हात्तीको पाईला जत्रो भएर सुन्निएको खुट्टा लतार्दै, एउटा खुट्टामा मात्र जुत्ता उनेर, एक महिना काममा दलाईयो र पछी मान्छे पाएपछी छोड्न लगाईयो ।

घाईते खुट्टो संगै मानसिक र शारीरिक पिडा लिएर कहिले जीवन बिमाको कागज, कहिले कुयाक्स्यो, कहिले बिमा कम्पनि, कहिले अस्पताल त कहिले दुर्घटनाको केस भएकोले पुलिस चौकी धाउनु पर्ने त्यो समस्याको घडीमा, एक कम्पनि मालिकको र अभिभावकको नाताले गर्ने भुमिका यति सम्म तठस्थ थियो कि न कुनै दिन अस्पताल गईयो न कुनै दिन पुलिस चौकी नै । न आर्थिक, न मानसिक, न शारीरिक तवरले नै कामदारलाई सहयोग गरियो बरु उल्टै धम्क्याईयो । किनकी उहॉं भनाउदा “साहुजी” हुनु हुन्थ्यो । 

मेरो श्रीमतीको साथिको बुडा भएको नाताले र उहाँलाई भाषा नआउने भएको कारणले, मलाई सहयोग गरिदिनु हुन अपिल गरियो र मैले बिमा कम्पनि देखि पुलिस चौकी सम्म धाएर सहयोग गरेको थिएं । भनौं भने उहॉं संगको पहिलो भेट नै पुलिस चौकी जाने क्रममा भएको थियो । तापनी मैले यो एक नेपालीले नेपालीलाई गर्ने माया भन्दा पनि मानवीय धर्म र कर्तव्य ठानेर, मैले सकेको मेरो ठॉंउबाट गरेको थिएं । 

तर एक कम्पनिको मालिक र कामदारको नाताले यो साहुले गर्नु पर्ने कर्तव्य हो र कामदारको हक, अधिकार दुबै हो । कुनै पनि कामदारको अभिभावकत्व बहन गर्न नसक्ने साहुले कुन हैसियत र कुन सम्झौता गरेर कुक भिषामा कामदार ल्याईन्छ ? यस प्रश्नको लिखित जबाफ तयार पारेर बस्नुहोला कुनै दिन संबन्धित निकायबाट नसोधिएला भन्न सकिन्न । पैसा कसैको लागी बाध्यता हो कसैको लागी रहर या सपना तर यहाँ कसैको लागी पैसा नसा बनेको छ र यही नसामा नजानिदो पारामा मान्छेको श्रम र हक हितको ब्यापार गरिरहेछन् कतिपय नेपाली साहुहरू जापानमा ।

हेर्नुस् यो नेपाल हैन, कसैको धम्कि र पैसाको आडम्बरमा कसैको काम बनोस् । भाषाको समस्या, आर्थिक समस्या लगायत बिभिन्न समस्याले आफ्नो आवाज उठाउन नसक्ने कमजोर वर्गहरू प्रति गरिएको धम्किले शोषणले जापानको नियम अनुरुप एक मिनेटमा तँपाईलाई कानुनको कठघरामा उभ्याउने छ र कारबाहीको भागीदार बन्नु पर्नेछ ।

नियम पल्टाएर हेर्नुस् २०११-२०१२ मा संसोधन गरिएको ह्यारेस्मेन्ट संबन्धि नियमावलीमा, धम्कि गाली गलौज र पावर ह्यारेस्मेन्ट गर्द के हुन्छ ? स्पस्ट उल्लेख गरिएको छ ।

यसको उदाहरण २०१६ सालमा एक जापानिज कम्पनिमा जापानिज म्यानेजरले जापानिज कामदारलाई “ कान सुन्दैनस् भोली सम्म यो काम क्लियर हुनु पर्छ भनेको” भनेर बोलेको एक वाक्यमा कामदारले मुद्दा हाल्दा verbal abuse & physiology attacks  'क्योहाकु हिदोई बोउगेन सेईसिन तेकी कोउगेसा' केस ठोकेर जेल चलान गरिएको थियो ।

यो देशको नियम कानुनले आफ्नै जनतालाई क्षमा गर्दैन भने याद गर्नुस् तपाई हामी त यहॉं आफ्नो दुनो सोझ्याउन आएका हौं । कतै यस्तो नहोस् भुईंको लोभले पोल्टाको पोखिएर यता न उता जेल भित्र खुट्टा हुनु परोस् । 

अर्को केस, विशाल खनाल 'नाम परिवर्तन' कुरै कुराको शिलशिलामा भन्नु हुन्छ “ थाहा भएन सर के गर्नु बुडीको डिपेन्डेन्ट भिषा एप्लाई गर्दा साहुले ६ लाख लिएको थियो पछी थाहा भयो डिपेन्डेन्ट एप्लाई गर्दा पैसा लाग्दो रहेनछ । 

एउटा अर्को केश, काम गर्दै गरेको कामदारलाई छोडेको देखाएर त्यही कोटामा नेपालबाट १२,१५ लाखमा अर्को मान्छे वर्किङ भिसामा ल्याउदा रहेछन् पछी बुडी सुत्केरी हुने बेलामा कुयाक्स्योमा कागज मिलाउन जॉंदा ७ महिना काम नगरेको देखियो जबकि ३६५ दिनमा ३६० दिन दिन काम गरेको थिएं । 

यी त भए मैले देखेको र प्रत्यक्ष अनुभव गरेको केसहरू । यसको अलावा डुप्लीकेट लाईसेन्स, फेक म्यारिज, फेक डिपेन्डेन्ट भिसा आदि इत्यादि सुन्नमा र समाचारमा पढ्नमा नआउने गरेको पनि हैन । यस्तै अनैतिक, अब्यवहारिक र नियम बिपरीत गरिने हामी नेपलीको हरकतहरू जापानले झेल्दै आएको दौरानको अनुभवमा आजकल नेपालीहरूको यस्ता क्रियाकलापले नेपालीलाई प्रमुख टार्गेट बनाएको छ । यस्को असर सिधा साधा आफ्नो काम गरेर खाने मध्यम वर्गका मान्छेहरूलाई पनि प्रत्यक्ष परिरहेको र यसैको नतीजा भिसामा कडिकडाउ लगाईएको छ ।

यसैगरी वर्तमान परिवेशको कुरा गर्ने हो भने कोरानाको कहरले विश्व बजारको आर्थिक स्थितिले टाउको जोतेको अवस्थामा जापान सरकारले प्रत्येक पसल र ब्यापार ब्यबसायीहरूलाई २५ लाखको दरले आर्थिक राहत, ६० प्रतिशत भाडामा कटौती र ५ बर्ष सम्म शून्य ब्याजदरमा २ करोड सम्म ऋण उपलब्ध गराउने जस्ता सुबिधाहरू प्रदान गर्दै आएको छ ।

यता जापानिज कम्पनिमा काम गर्ने कामदारलाई कतै मास्क, कतै चामल, कतै धेर थोर आर्थिक सहयोग गर्दै संपूर्ण श्रमिक या ब्यापार ब्यबसायीहरुको हक हितको सुरक्षाको साथै सामाजिक र मानसिक तवरले यो विषम परिस्थितिसंग सामना गर्ने हौसला प्रदान गरिरहेको अवस्थामा, कतिपय नेपाली रेस्टुरेन्ट साहुजिहरुले भने उता राहतको रकम बटुलेर अनि २ करोड लोन घोषणा भएको हप्ता दिन नहुंदै लोन लिएर, यता कतै कामदारलाई बेतलब बिदा राखिएको त कतै तलब पछी मिलाउला भन्दै झुलाईएको जस्ता केसहरू देख्न र सुन्नमा आएको छ । 

जापानको श्रम संबन्धित कानुन पल्टाएर हेर्नुस् स्पस्ट उल्लेख गरिएको छ । र यो पनि स्मरण गर्नुस् की कामदारलाई नेपालबाट झिकाउदा के कस्ता दायराहरू पूरा गरेर झिकाईएको थियो ? र यो पनि स्मरण गर्नुस् कि यहाँ के कति तलब दिंदै आउनु भएको छ । ८ मानरु १० मानरु या १२ मानरु मुस्किलले १५,१६ मान दिएको ठाउमा मलाई त बहुत दिएका छन् मेरो साहुले भनेर हाँसी हाँसी काम गर्ने कामदारहरू हुनुहुन्छ । तर नियममा स्पस्ट अंग्रेज़ीमा पनि उल्लेख गरिएको छ कि “It is a prerequisite that your salary as a cook will be at least around 250,000 yen per month. For the visa to be issued, it is necessary that the foreigner will be treated as well as a Japanese counterpart, or better.” भनेर। 

सोच्नुस् जापानको श्रम कानुन कति सम्म कडा छ भनेर । “टोकियो रोदो क्योकुमा” मात्र एक कल फोनको भरमा जापानीज कम्पनिहरू प्रति त अनुसन्धान सुरु हुन्छ भने तँपाई हामीलाई छोड्ने कुरै आउदैन । स्पस्ट भाषामा भन्नेहो भने र ९० प्रतिशत नेपाली रेस्टुरेन्ट ब्यबसायीहरुको आन्तरिक चुरो खोतल्ने हो भने सबै “बुराक्कु किग्यो” नै हुन् । यो बुझ्नुस् कि “law to Protect workers” मा के उल्लेख गरिएको छ बुराक्कु किग्योको संबन्धी ।

संपूर्ण कुक भिसामा आउनु भएका नेपाली दाजु भाई, दिदी बहिनीहरू, तपाईको साहुहरू झन झन साहु हुंदै गएको, एक तेम्पोबाट अर्को तेम्पोको बिस्तार हुंदै गएको मात्र तपॉंईहरूको पसिना र मेहनतको फल हो । बुझ्नुस् नेपालबाट आउदा के कस्ता मापदण्डहरू पूरा गरेर आउनु भएको थियो । प्रत्येक महिना पाउने स्यालरी हातमा लिएपनि लिखित कागज बनाउनुस्, तपाईहरू नेपालबाट संपूर्ण प्रकृया पुर्याएर आउनु भएको हो डराउनु पर्ने आवस्यकता नै छैन । 

जापान सरकार आफू डुबेर भए पनि जापानमा बसोबास गर्ने संपूर्ण स्वदेशी या विदेशी नागरिकलाई समान दृष्टिले प्रति व्यक्ति पैसाबाँडेर या मास्क बाँडेर अभिभाकत्व निर्वाह गरिरहेको अवस्थामा कतिपय साहु भनाउदाहरू जस्को रगत र पसिनाले साहु बनेर, टोयोटाको प्रियुस लेक्सस देखि बेन्ज र बि एम डब्लु जस्ता गाडी चढेर हिड्छन्, उनिहरू नै कामदारलाई आर्थिक, मानसिक र शारीरिक तवरले शोषण गर्दै भिसा खारेजको धम्कि दिन्छन् । 

आदरणीय कुक जन समुदाय जाग्नुस् यो भ्रमको जालोबाट आखा उघार्नुस् । यहाँ हक अधिकार र न्याय पाउन नेपाल जस्तो सयौं, हजारौंको भिड जम्मा गरेर जिन्दाबाद र मुर्दाबादको नारा लगाउदै, टायर बालेर सडक तताउनु पर्दैन । मात्र संबन्धित निकायमा आधिकारिक प्रमाण सहित एक निवेदन पेश गर्नुस्, बश तपाईको प्रक्रिया सुरु हुन्छ अनि हेरौंला भिसा कस्को खारेज हुंदो रहेछ । याद गरियोस् हर व्यक्ति व्यक्तिमा गरिएको श्रम शोषणको जुर्माना क्षतिपूर्ति सहित चुक्ता गर्नु पर्ने हुन्छ । 

हामी नेपालीहरू मेलामा आएका हलि, बाउसे, रोपारे र दाँई हाल्न आउने दयेंरालाई मासु भात, लट्टे, सेलरोटी, खिर थपि थपि खुलाएर पठाउने संस्कारमा हुर्किएका हौं । 

घरमा खाना खाने बेलामा टु्पुल्क कोही आई पुग्दा गासै काटेर भए पनि बाँडेर खाने चलन छ हामी सबैको घरमा । हुन सक्छ ब्यापार र संस्कार फरक पाटो हुन सक्छ तर दुर्घटना हुंदा सहयोग गर्नुको सट्टा कामबाट निकाल्नु कति सम्मको न्याय संगत हुन सक्छ । यस्तै नदेखिएका समस्याहरू र दबिएका आवाजहरू कैंयौ छन यहाँ । 

आखिर कहिले सम्म ज्वाईँ, जेठान, साला, भेना, मामा, भान्जाको, साईनो लगाएर श्रम शोषण गर्ने र गराईने ? दबिने र दबाईने ?

च्याउ जस्तै उम्रिएका जिल्ला जिल्लाका, जात जातिका, साहित्यका र राजनितीका संघ संस्थाहरूले यस्ता आवाजहरू उठाउदैनन् । यो परदेश हो, यहाँ अन्तिम अवस्थामा कोही कसैको लागी बोल्दैनन । बिचार गर्नुस् आजकल मान्छेका अनुहारहरू काम र कर्तब्यमा भन्दा “खादा” र “डि एस एल आर” क्यामेराको अगाडी बिक्छन् ।

यसर्थ माथि उल्लेख गरे जस्तै पैसा कमाउनु कसैको लागी बाध्यता हो त कसैलाई नसा । र नसामा गरिएको यात्राले ढिलो चॉंडो दुर्घटना अवस्य निम्त्याउछ ।

याद गर्नुस् नसा जुन सुकै ब्रान्डको होस् आयु केही घण्टाको लागी मात्र हो । यो कागज बोल्ने देशमा लाटोले पनि न्याय पाउछ । यो कसै संग संबन्धित धम्कि नभएर आवाज हो र आवाजहरू संबन्धित निकायमा पुर्याउने प्रशस्त माध्यमहरू छन् । 

यहाँ गुनासो कसैलाई कसैसंग छैन । साहुहरू साहुकै तौर तरिकाले जिउनुहोस् कामदारलाई कामदारकै हैसियतले जिउन दिनुहोस् । कसैको गास नखोसियोस्, कसैको हक हित नखोसियोस् । कुनै नेपाली कामदारले कुनै नेपाली साहुको अत्याचार खेप्नु नपरोस्, रुंदै हिड्नुनपरोस् बस् ।

अन्यथा म जस्तो सरफिरा भोली अर्को आउनेछ । आज कलम बोलेको छ के भर भोली मुख बोल्नेछ अनि जापानको कानुन बोल्नेछ ।जापानको अदालत, जापानको सरकार बोल्नेछ अनि नजाने कस्कस्को मुखमा र पसलमा एकैचोटी ताला लाग्ने छ ।

किनकी यहाँ ब्यबहारले आजित भएका हजारौं कामदारहरू, हातमा कोही सुकेको खर त कोही मट्टितेल लिएर बसेका छन् मात्र एक झिल्कामा सबैको हबिगत खरानी हुन्छ । मानवअधिकार कसैको हनन नहोस् नगरियोस् ।


-अमर देब बास्तोला, टोकियो जापान

...

यस बिचार, ब्लग, अन्तवार्तामा प्रकाशित सामग्रीहरु सम्वन्धित व्यक्तिका नीजि बिचार तथा अभिव्यक्तिहरु हुन् । यसले समाचार संस्थाको आफ्नो बिचार प्रतिनिधित्व गर्दैन । साथै लेख तथा अन्तर्वार्ताहरुमा अभिव्यक्त बिचारहरुको जिम्मेवार सम्वन्धित व्यक्तिहरुनै हुनुहुनेछ ।

-सम्पादक