(Japan) 18 th March | 2025 | Tuesday | 7:08:11 AM || (Nepal) 3:53:11 AM
 
 


जापानमा नेपालीको टिकटक उपद्रो-क्षणिक रमाईलोले कारवाहिमा परिएला !

Sangita Bhatta   POSTED ON : Tuesday, 04 August, 2020 | Views : 17140

जापानमा नेपालीको टिकटक उपद्रो-क्षणिक रमाईलोले कारवाहिमा परिएला !


म टिकटक फ्यान अर्थात दर्शक । अरबौ प्रयोग कर्ता रहेको टिकटकबाट म पनि अछुतो छैन ।

म सॅग नाच्ने, अभिनय गर्ने, हसाउने रूवाउने कला त छैन तर फुर्सदको घण्टौ समय टिकटकमै व्यतित गर्छु । टिकटक समय बिताउने सजिलो 'नशा' जस्तै बनेको छ मलाई । म दर्शक त टिकटक नसामा छु भने भिडियो बनाउनेहरूका लागि र अझै भनौ 'भाईरल'हरूका लागि टिकटक लोकप्रिय बन्नु कुनै अनौठो कुरा नै भएन ।

लोकेशनका कारण मेरा टिकटकमा जापानमा बनेका भीडियोहरू धेरै देखिन्छन् । तर टिकटक हेर्दै गर्दा बीच बीचमा कुनै कुनै यस्तो भिडियो आउछ की जसले मन नै झसॅग बनाउछ ।

पछिल्लो समय टिकटकमा जापानमा रहेका नेपालीहरू आफूले काम गर्ने संघसंस्था, कम्पनीका नीति नियम उलंघन गरेर कोम्बिनी, बेन्तो, हाउसकिपिङ, होटल रेष्टुरेन्टहरूकै ड्रेसमा बिभिन्न अनैतिक कृयाकलाप सहित बनेका भिडीयो बग्रेल्ती भेटिन्छ ।

नियम जान्दा जान्दै र बुझ्दा बुझ्दै पनि सीसी क्यामेराकै अगाडी मजाले कम्पनिकै ड्रेसमा कम्पनि भित्रै छम छमी लाजै नमानि नाचिरहेका हुन्छौ । खाराआगे चाखिरहेका हुन्छौ,  ग्राहकको भिडियो खिचिरहेका हुन्छौ ।

मेन्सेचुको दिन कियाकु गर्दा 'फोटो भिडियो नो अल्लाउड' लेखेको  ठॉउमा नाम लेखेर 'हान्को' हानेको विर्सनु भएको हो र ?

लसनको ड्रेसमा टिकटक बनाएर “मैले फेमिलिमा राती एक्लै काम गर्छु भन्दा साथीहरूले पत्याउनुहुन्न क्या“ भन्दै भिडियो बनाउछौ ! उदाहरणका लागि त्यही एउटा भिडियोलाई लिन सकिन्छ । 


१, भिडियो बनाउन नपाउने ठॉउमा भिडियो 

२, कम्पनिको ड्रेसमा भिडियो 

३, जिब्रो त चिप्लियो नि ! लसनको कपडा फेमिलिको नाम !

पहिलो गल्ति नगरेको भए दोस्रो र तेस्रो गल्ती हुदैन थ्यो की ?


केहि समय अघि जापानमा काफल चोरेको पनि टिकटकमा कम्ति भिडियो बनेनन् । हरेक कुराको सही समय हुन्छ । समय र प्रविधिको सहि सदुपयोग गर्न नजान्दा कतिपय अवस्थामा सजाएको भागिदार पनि बन्नु पर्ने हुन्छ ।

जथाभावि टिकटक भिडियो बनाउने नेपाली सहित कयौं कामदारकै कारण विभिन्न पसल तथा रेष्टुरेन्टहरूले ग्राकहसँग माफी माग्नु परेको विभिन्न समाचार पत्रले खबर पनि लेखेका छन् । 

सबैलाई थाहा छ विदेशिनु रहर होईन बाध्यता हो । रहरले विदेश जानेहरू त केही समयका लागि घुम्न मात्रै जान्छन् तर, बाध्यताले विदेशिनेहरू कि गरिबी कि त उच्च शिक्षाका लागि विदेशिन्छन् । अर्काको ठॉउमा अर्काकै भाषा, अर्कैको देशको नियम, कानुन, हावा पानी चालचलन गार्हो छ विदेशी जिन्दगी ।

तैपनि आएपछि सॉहुको ऋण पनि तिर्नै पर्ने । जापानको ठॉउ, विश्वकै महङ्गो शहर टोकियो । खानु, बस्नु, महङ्गो कलेज फी, ट्याक्स, स्वास्थ्य विमा बापतको रकम तिरेर अझै केही बचाउनु पनि छ । 

त्यसैले जति असजिलो परिस्थितिमा पनि काममा बिदा बस्न धेरै जसोको मन मान्दैन । जापान सरकारको मापदण्ड अनुसार विद्यार्थीलाई हप्ताको २८ घण्टा कामले कलेज फि तिर्न पनि गार्हो छ । त्यसैले त हामी लुकिछिपी 'जाइर्यू कार्ड' नदेखाई ह्यान्ड क्यास काम पाए खोज्छौ नि होइन ? अझै १/२ पैसा बढी हुने आशमा त्यो पनी रातिमा ! हो, यो जापानमा विदेशी विद्यार्थीको वाध्यता हो । यो त बाध्यता भयो । के गर्नु जिविका चलाउनै पर्छ !

घर परिवारबाट टाढा रहेर उद्धेश्य जुन पुरा गर्नु पर्ने छ त्यो पक्कै पनि कठिन छ । परिस्थिति कठिन भएपनि पछिल्लो समय प्रविधिको विकासले मनसॅग मन जोड्न सहज गराएको छ । भौतिक दुरीमा टाढा रहेकालाई छिन भरमै नजिक गराउने ताकत प्रविधिसंग मात्रै छ । त्यसैले त हामी सामाजिक सञ्जालको प्रयोग गर्छौ ।

प्राय जुन क्षेत्रमा काम गरे पनि विदेशीले जापानमा कुर्सीमा बसेर गर्ने मानसिक दुखको काम बिरलै भेटीन्छन् । लगातार ८/१० घण्टा उभिएर मेसिनसॅगै हात त चलाउनै पर्छ त कतै मुख । लगातारको परिश्रमले थकान महशुष नहोस् भन्नका निम्ति हामी मिलेसम्म भन्दा पनि सकेसम्म विभिन्न तरिका अपनाई रहेका हुन्छौ ।

कति थाहा पाएर त कति थाहा नै नपाई । हुन त आफूले गरेका हरेक कर्म आफूलाई सही लागेर नै गरिन्छ तर ठॉउ परिबेश नमिल्दा कहिले काही दुख पाइन्छ र अपमान महशुष गरिन्छ । हो पछिल्लो समय लोकप्रिय टिकटक भिडियोले पनि यस्तै भूमिका खेलिरहेको छ ।

नियम बिपरित हो भनेपछी सामान्य कुरा लागेपनी डराउनै पर्छ । सचेत रहनुस् 'अन्जानमा भोली कारवाहीको भागिदार हुनु नपरोस् ।'