आपतकालको अन्त्य घोषणा गर्दै कोरोना नियन्त्रणको नजिक पुगेको जापानमा केही हप्ता यता संक्रमणको दरमा उच्च वृद्धि भएको छ ।
राजधानी टोकियो सहित मुख्य शहरक्षेत्र कोरोना संक्रमणको मुख्य थलो बन्न थालेका छन् ।
महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाईरस नियन्त्रण गर्न विश्वका शक्ति राष्ट्रहरूले समेत लकडाउनको नीति अवलम्बन गरिरहेका छन् ।
केही युरोपेली राष्ट्रले त नागरिकहरुलाई अनावश्यक बाहिर हिडडुल गरे जरिवाना वा जेल सजायसम्मको कडा नीति समेत अवलम्बन गरेको पाईन्छ ।
तर, विश्वमा नै भिन्न प्रयास स्वरूप फरक तरीकाबाट कोरोनालाई धेरै हदसम्म नियन्रणमा राख्न सफल जापान यति बेला पुन संकटपूर्ण अबस्थामा पुगेको देखिन्छ ।
व्यापार व्यवसाय र जनताको आर्थिक अवस्थालाई मध्यनजर गर्दै पहिलो चरणमा फैलदो भाईरसलाई सामान्य आपतकाल र सामाजिक दुरी कायम गरेर धेरै हदसम्म मत्थर पारेको जापानले संक्रमण पिरलो नटर्दै पुन कोरोनाको डर र त्रास खेप्नु परेको छ ।
जापानमा संक्रमण घटेसॅगै एक महिना अघिबाट विद्यालय तथा शैक्षिक संस्था विस्तारै सुचारु अवस्था उन्मुख थियो भने कलकारखाना क्रमश सुचारू हुन थालेका थिए ।
आपतकाल घोषणा नगरिएपनी पुन बढ्दै गएको भाइरस संक्रमण यही अनुपातमा उकालो लाग्ने हो भने स्थिति पहिलेको भन्दा जटिल हुने देखिन्छ । जसलाई अमेरिकामा दोश्रो लहरमा बढेको कोरोना महामारिको अवस्थाले पुष्टि गर्दछ ।
पुन बृद्दिको गती बढ्दै गर्दा आवे सरकारले कुन नीति लिएर अगाडी वढ्छ भोलीका दिनमा जापानमा कोरोना महामारिको असर त्यसमै निर्भर गर्ने निश्चित छ ।
यो अवस्थामा आबे सरकारको नीति पर्खने भन्दापनी नागरिक स्तरमा हामी आफै भने सचेत रहन र यो विपत्तिसॅग जुध्न जरुरी छ ।
कोरोनाको वेवास्था गर्दै कतिपय मानिसहरू पार्टी, सेमिनार वार्रविक्यू, नाचगान, स्वागत र बिदाइको श्रृंखलाबद्द भद्दा मजाक गरिरहेका छन । रमाइलो के भने संक्रमण फैलेला भनेर अर्ती बाड्दै फेसबुक लाइभ गर्ने समाजका अगुवाहरु भिंड जम्मा गर्ने यही हुलमै हुन्छन् । अब यसमा शब्द खर्चेर केही होला त !
सोचौ त परिवार सहित आफ्नै ब्यापार ब्यवसाय गरेर आनन्दमा वस्नेहरूलाई त खासै असर नपर्ला तर जो दैनिक काम गरेर पढिरहेका छौ ! जो कोरोनाको बहानामा बेरोजगार बनेका वा बनाइएका वा थोरै काम र कमाइले नै दैनिकी चलाइरहेका छन उनिहरूमा संक्रमण देखिइहालेमा स्वास्थ्य, काम, अनि खर्चको सन्तुलन मिलाउन कति धौधौ पर्ला ?
विभिन्न उद्घेश्य बोकेर परदेशिएका हामीले स्वास्थ्यको ख्यालै नगरी लहै लहैमा दौडदा भोलीको दिनमा आइपर्ने गार्हो अफ्टेरोलाई पनि ख्याल गर्नु पर्छ ।
बाचें रमाइलो त पछी गर्न पाइएला तर ज्यान नै रहेन भने त यो बिरानो मुलुकमा एक घुड्को पानी पिलाउने पनि कोही हुदैनन् । यसो भन्दैमा आबश्यक काम र हिडडुल त गर्नु पर्छ तर प्रकृया पुरा गरेर । अर्थात् सजक र सतर्क रहेर !
आत्मवल र आत्मविश्वास भन्दा ठुलो कुनै पनि औषधि छैन। आफ्नो ख़्याल आफै राखौं ! माक्सको प्रयोग गरौं सामाजिक दुरी कायम गरौ ! अनावश्यक भीडभाडमा नजाऔ । अनावश्यक जमघट नगरौ, सहभागी नबनौ । महत्वपूर्ण काम बाहेक बाहिरी भ्रमण तत्कालका लागि स्थगित गरौ ।