करिब १५ लाख खर्च गरेर आफु र परिवारको उज्वल भबिस्यको सपना देखेर आज भन्दा ४ बर्ष अघि जापानको राजधानी टोकियोमा अबतरण गरेको म अर्थात 'कुक दाई' ।
जापान आऊनु अघि मैले जे सुनें र कल्पना गरें, आएपछि भोगेको भवसागर संघर्ष कि मलाई थाहा छ, कि त म जस्तै पिडा भोग्ने 'कुक' लाई !
जापानमा म जस्तै कुक दाई हजारौको संख्यामा छन । केही दिदी कुकहरु पनि आउनुभएको पाईन्छ ।
अनुहार, स्वभाव र ठेगाना फरक फरक भएपनि हामी सबै कुक दाईहरुको समस्या र अनुभूति भने उस्तै छ । अब यहाँ दिदिहरु पनि दाई पात्रमा बुझिदिनुहोला ।
रेमिट्यान्सले चलेको देशमा जन्मे संगै हुर्के पछि कुक दाई बन्नु धेरैका लागि बाध्यता संगै कतिपयका लागि रहर पनि होला !
आऊनु अघि रहर बाध्यता जे भए पनि आए पछि सबैले स्वीकार्नु पर्ने कहर नै हो । स्विकार्न नसकेका कयौंले जापानबाट कहिल्यै नफर्कने बाटो पनि रोज्नु भएको छ । त्यो गलत वाटोको कुरै नगरौं यहाँ ।
कुक दाई जापान किन आए ? को मार्फत आए ?
भन्दा पनि कोरोनाको समयमा कुक दाईहरुको अवस्था कस्तो छ ? भन्ने कुरा महत्वपूर्ण होला ।
जापान आऊनु अघि नै पटक पटक ठगिएको यो कुक दाई संघर्ष गर्दै अगाडि बढेकै थियो तर अहिले कोरोनाले नमज्जाले गाँजेको छ ।
बिहान ८ बजे कोठा छाडेर मध्यरात कोठा पुग्ने कुक दाई आफ्नो कर्मबाट विकल्पहिन बन्नुपर्दा सन्तुष्ट नै थिए ।
कामको लागि दैनिक १५ घण्टा बढी छुट्याएका कुक दाई अहिले (३/४ महीना देखी) फाल्टु छन । सिधा भनौं बेरोजगार भएका छन् ।
बिश्वलाई नै माहामारीले गाँजेपछि कुक दाईलाई पनि असर गर्नु स्वभाविक नै हो । कुक दाई संगै रहेकी भाउजु पनि लामो समय देखी फाल्टु छीन अचेत ।
अघिपछि खासै समय नपाऊने कुक दाई र भाउजु यसपाली भने मज्जाले समय पाएका छन र गफगाफ गरिरहेका छन ।
विडम्बना, कुक दाई र भाऊजुको गफगाफमा न त कुनै स्वाद छ नत मिठास नै । छ त खाली पिडा र रोदन ।
मासिक ६० हजार आसपासको कोठा भाडा, जोईपोईको गरेर २० हजार आसपासको मोबाइल बिल, १५ हजार ग्यास, पानी, बिजुलीको बिल । खानेकुराको त कुरै नगरौ ।
आएदेखी नै स्वास्थ्य बीमाको पैसा खासै नतिर्ने बानी गरेका दाई भाउजुलाई यी सबै बिल जोड्दा टाउको मात्र दुख्दैन प्रेसर बढेर औषधी सम्म खानु पर्छ । घर परिबार र ऋणको कुराले त अस्पताल नै पूर्याउछ । त्यसैले कुक दाई तपसिलका विषयमा खासै सोच्दैनन् । किनभने कुक दाईलाई अस्पताल जानु छैन यतीबेला ।
यी र यस्तै कुक दाईको समस्या समाधानको लागि जापान सरकारले धेरै राहत प्याकेजको घोषणा गरेको छ । १ महीना अघि नै १० मान राहतको निवेदन भरेर प्रतीक्षामा बसेका दाईलाई अरू यस्ता राहत प्याकेज सुन्दा पनि आजकाल पट्यार मात्र लागछ ।
बिधार्थीलाई यति राहत, वर्किंग भिसाकोलाई यति राहत, व्यवसायीलाई यति र उति राहत भन्दै पटक पटक समाचार सुनेका कुक दाईलाई यी सबै 'लंकामा सुन छ, कान मेरो बुचो' जस्तै भएको छ ।
विद्यार्थीको राहतमा आफु परिन्न, व्यवसायीले सरकारबाट लिने राहत कर्मचारीलाई एक येन चुहाउँदैनन् ।
बरु नेपालमा बैंकमा राखेर व्याज लिन्छन् वा यतै ऋणमा लगाउँछन् । आफुले पाउने राहतको लागि समेत कागजपत्र पाउन मुस्किल साहुजिबाट कुक दाईहरुले केही राहत पाए होलान् भन्ने सोच्नु भएको छ भने तपाईको त्यो सोचलाई पुजा गर्छु तर हात लाग्यो सुन्नामा छन् कुक दाईहरु ।
संघर्षले खारिएका कुक दाईले यस्ता समस्यालाई सहजै लिए पनि बेला बेलामा कुण्ठा र आक्रोस पलाऊनु स्वभाबिक नै हो ।
अन्त्यमा, आज यी सबै परिस्थिति र भोगाईबाट कुक दाई एउटै निष्कर्षमा पुगेका छन, 'सुने जस्तो देखेको र देखे जस्तो भोगेको संसार एउटै हुदो रहेनछ ।'
भन्दा आदरको 'कुक दाई' त छौं, तर जापानका हामी नेपाली कुक दाईहरु दलिएको दलियै हुने दाई मात्र बनिरहेका छौं ।
बाँकी पिडा नजिकका चिने जानेका कुक दाईहरुसँग सोध्नुहोला । सुन्ने ठूलो छाती र दह्रो मन बनाएर । यो पहिलो भेटमा यतिनै भने नमस्कार !
...
दीपक आचार्य
टोकियो, जापान