(Japan) 18 th March | 2025 | Tuesday | 6:31:31 AM || (Nepal) 3:16:31 AM
 
 


जापानी जीवन शैलीको लोभले जापानमा 'सन्तान गुमाउँदै' नेपालीहरु !

Bhawani Panta   POSTED ON : Wednesday, 10 June, 2020 | Views : 33626

जापानी जीवन शैलीको लोभले जापानमा 'सन्तान गुमाउँदै' नेपालीहरु !


पछिल्लो करिव १ दशक यता जापानमा नेपालीहरुको संख्या बाक्लिंदै जाँदा बसाई समेत लम्बिन थालेको छ ।

जापान बसाई लम्बिंदै जाँदा आफ्ना बाल बच्चाहरु यतै ल्याउने र यतै पढाउने प्रचलन ह्वात्तै बढेको छ ।

म बाबु आमा संगै बच्चाहरुलाइ राखेर पढाउनु पर्छ भनेर सबैलाइ भन्ने र आफुले पनि लागु गर्ने पक्षपाती नै हुँ । यो बच्चाहरुको लागी समेत राम्रो हो भन्ठान्छु ।

जापान यस्तो मुलुक हो जहाँ बालबालिकाहरुलार्इ सुरुदेखि शिक्षामा आत्मनिर्भर हुनु पर्छ भनेर सिकाईन्छ । विश्व परिवेशमा यो अति राम्रो पनि हो ।

यहाँका बालबालिकाहरु विद्यालय जाने समय उत्साहित हुन्छन्, किनकी यहाँ पढाइको नाममा रगडाइ हुँदैन । उनिहरु प्रशस्त खेल्न पाउने, आफुले ईच्छाएका गतिविधि गर्ने मौका पाउछन । अर्थात् नेपालमा जस्तो किताब घोकाई र पढाई मात्र सिमित रहन्न ।

यहि बानीमा बच्चाहरुले शिक्षा हासिल सुरुवात गर्छन । विद्यालयमा प्राय आफ्नो केन्द्रीत र आफ्नो भन्ने भाब नै घुमिरहने पाइन्छ ।

प्रसंग बदलौः

गत शनिबार म रेष्टुरेन्टमै थिएं । एक जना ग्राहकले फोनबाट खाना अर्डर गरेर लिन आए ।

अर्डर दिएकै समयमा आए, खाना तयार हुदैथियो केही मिनेट कुर्नपर्यो । जुस पिउँदै कुरा गर्दा खाना लिन आएका व्यक्ति नेपाली भन्ने कुरा थाहा भयो ।

तर लवाइ, खवाई, बोलाइ सबै जापानीज थियो । अलिअलि नेपाली बोल्ने ति भाइसंग एक छिन गफिने मौका मिल्यो ।

उनको बाबा आमासंगै एकजना दाजु र एक दिदी संगै जापान बस्दै आएका रहेछन् । तर उनि अहिले आफ्नै तरिकाले छुट्टै बाहिर बस्दा रहेछन ।

बाबा कता भन्दा खोइ पहिले मैले छोडेकै स्थानमा हुनुहुन्छ होला भने । किन भेट हुदैन ? भन्ने जिज्ञासा स्वभाविक बन्ने नै भयो । उनले २ बर्ष पहिले भेट भएको बताए ।

अनि दाइ कता भन्दा, खोइ दाइ कता छ भेट भएको छैन रे !

दाइ पनि दाइगाक्को पढ्न छोडेर आफैं कताकता काम गरिरहेको भन्ने बुझियो ।

अनि दिदी भन्दा दिदि पनि काम गर्छन होला । ४,५ महिना पहिले कुरा भएको भन्ने कुरा उनले सुनाए ।

म केही समय तरंगित भएं जापानमा नेपाली परिवारको यो बसाई र सम्वन्धले ।

तपाई एकपटक सोच्नुहोस् त, नेपाली परिवार के यस्तै हो त जापान बसाई भएको कारणले मात्रै ?

म दंग परे, एकछीन सोचें र उनलार्इ भने भार्इ जे भए पनि बाबा संग भेट्न पर्छ, दिदी दार्इलार्इ फोन गर्नु पर्छ भने ।

संगै उनी भने म संग नम्बर नै छैन, कसरी फोन गर्नु भनेपछि कुरै त्यसै बिट मर्यो ।

नेपाली संस्कार र पारिवारिक मिलन बास्तबमै बिश्वकै उत्कृष्ठ लाग्छ । आफन्त , नाता गोता, आफ्नो मान्छे भन्ने कुरा नेपाली संस्कारले मात्र चिनाउँछ । र मलाई यहि विशेषता नै उत्कृष्ठ लाग्छ । विश्वमा हामी फरक र आत्मिय हुन यहि संस्कारले सिकाएको छ ।

मैले यो कुरा कहाँ नेर जोड्न खोजेको हो भने जापानमा बच्चाहरु राखेर पढाउनुहोस, राम्रो शिक्षा दिन सकिन्छ । हो, जापानको शिक्षा प्रणाली उत्कृष्ठ पनि छ ।

तर आफ्ना बाल बच्चाहरुलाई सानै देखि सकि नसकी आफु पनि जापानी बोलेर नेपाली बिर्षन बाध्य नबनाउनुहोस् ।

जब बच्चा जापानी संस्कारमा पूर्णत बिलिन हुन जान्छ त्यतिखेर तपाइले चाहेर पनि नेपाली संस्कारमा जोड्न सक्नु हुन्न ।

तसर्थ विद्यालयमा उनिहरु अध्धयन गर्छन राम्रो छ, तर घरमा बाबा आमाले आफ्ना सन्तानसँग जापानीज नबोलिदिनुहोस, ताकि बच्चाले कम्तिमा नेपाली भाषा सिक्ने मौका पाओस् ।

झुकेर मात्र संस्कारी बनिन्न, नेपाली मौलिक संस्कार पनि सिकाउनुहोस् ।

घर वा निकटका आफन्तसँग फोनमा कुरा गर्दा अनिबार्य बच्चालाइ कुरा गर्न लगाउनुहोस । जसले उनिहरुलाई आफ्ना आफन्त चिन्न र घुलमिल हुन बानि पार्दछ ।

अन्त्यमा यसैमा अर्को एक प्रशंग जोड्न मन लाग्यो ।

सम्भवत् सन् २०१७ सालमा गल्कोट समाजको सांगितीक कार्यक्रम चलिरहेको थियो ।

केहि जापानमा हुर्केका बालबालिकाहरु परिवार संगै कार्यक्रम स्थलमा आएका थिए ।

नेपाली लोकप्रिय गितले पुरै हल गुञ्जायमान थियो । ९९ प्रतिशत सहभागी गितमा रमाएर नाच्दै गाउँदै मनोरञ्जन लिईरहेका थिए ।

तर जापानमा हुर्केका त्यहाँ रहेका एकाध बालबालिकाहरु कानमा हेडफोन लगाएर मोबाइलबाट गित सुनिरहेको तिर मेरो नजर पर्न गयो ।

यसले के प्रष्ठ गर्दछ भने नेपाली र नेपाली सस्कृतिसंग जापानमा हुर्किएका हाम्रा बालबालिकाहरु टाढिईसकेका छन् ।

तसर्थ हामी बेलैमा सचेत बनौं । बालबालिकाहरुलाई अहिलेदेखीनै आफ्नो पन र आफ्नो मन बचाई राख्न नेपाली कला र संस्कार सिकाउनेगरौं ।

नेपालीमा कुरा गरौं, नेपालीमै गाली गरौं तर बिन्ति नेपालसंग टाढा नगराउ ।

अहिलेत उनिहरुले जापानी भाषा सिकेको र उत्कृष्ठताको नतिजाले तपाईलाई खुशी देला तर पछि माथि उल्लेख भएका प्रतिनिधि पात्रको जस्तै अवस्थामा तपाईका सन्तान तपाईंबाट टाढिएभने तपाईलाई जीवनभर पछुतो मात्र हुनेछ ।

त्यतिखेर न सन्तानलाई साथमा ल्याउन सक्नुहुन्छ, न स्वदेश फर्किएर आफन्तजन पाउनसक्नुहुन्छ ।

नेपाली माटो र मनमा हुर्केका हामी, जतिसुकै सुखसुविधा र विदेशी संस्कारमा रमेपनि बुढेसकालमा भएरपनि नभएजस्तो सन्तान बिनाको अन्तिम सास लिन कहाँ त्यति सजिलो छ र ?

त्यसैले व्यक्तिगत भाव र अनुभुतिको यो विषयमा सोच्नु होला है ।