(Japan) 13 th November | 2025 | Thursday | 8:07:52 PM || (Nepal) 4:52:52 PM
 
 


राष्ट्रघात गर्ने बिरुद्ध कुर्लिनु अघि म कति राष्ट्रबादी छु भनेर सोच्ने की ?

Kamal Bastola   POSTED ON : Monday, 25 May, 2020 | Views : 6318

राष्ट्रघात गर्ने बिरुद्ध कुर्लिनु अघि म कति राष्ट्रबादी छु भनेर सोच्ने की ?


आजकाल नेपालमा राष्ट्रियता भन्ने शब्दको खुबै चर्चा भएको पाइन्छ । 

खै हाम्रो समाज त के भयो, कता गयो, वास्तविकता के छ, त्यो कुरालाई परै राखेर फेसबुक हेर्यो भने नेपाल बिश्वमै सबैभन्दा बढी राष्ट्रबादीहरु भएको देश हो जस्तो देखिन्छ ।

तर पनि हाम्रो देश किन यस्तो कमजोर भएको होला है ? यति धेरै राष्ट्रबादी भएको देश त अलिकति राम्रो हुनु पर्ने होइन र ?

के यति धेरै राष्ट्रबादीहरुको देश प्रेम २/४ जना नेताहरु कै कारणले समृद्धि र परिवर्तन शुन्यमा परिणत भएको हो र ?

सामाजिक संजाल हेर्दा त सबैले त्यस्तै भनेको देखिन्छ । नेतालाई गाली गर्यो, सरकारलाई गाली गर्यो, उत्तेजित कुराहरु बोल्यो पोस्ट गर्यो !

अनि भारतको बिरोध गर्यो भने वाहवाहि पाइने । हजारौं लाइक तथा सेयर हुने । त्यसैलाई राष्ट्रबादी भनिने क्रम बढेको देखिन्छ ।

आखिर के त्यो नै राष्ट्रियता हो र ? अलिकति सोच्नु पर्ने कुरा छ । अरुको सोचाई र भोगाइ फरक-फरक होला तर मेरो सोचाई र भोगाइमा मैले कति राष्ट्रवादी कुरा गरे भन्ने कुरा गर्न मन लागेको छ ।  

याद आउँछ सानो उमेरमा पढ्ने गरिन्थ्यो जातीय भेदभाभ गर्नु हुन्न । भगवान सबै बराबर हुन, सबैको सम्मान गर्नु पर्छ । त्यो बेला सोचिन्थ्यो राम्रोसंग पढ्नु पर्छ, नेपालमै जागिर खानु पर्छ ।

दिउँसो अफिस जाने, बिहान बेलुका घरको काम गर्ने त्यो नै एउटा सुखी र खुशी परिवार अनि उमृद्ध जीवन हो ।

अहिले मलाई लाग्छ त्यो सोचाई नितान्त राष्ट्रवादी थियो । तर जब प्रविणता प्रमाणपत्र तह पास भइयो, अनि त्यो बालापनको सोचाई पुरै परिवर्तन भयो ।

जीवनमा पैसा कमाउनु पर्छ । जुन विदेशमा मात्रै सम्बभ छ । यो देशमा केहि सम्भावना नै छैन, भन्ने सोच आउन लाग्यो ।

त्यसैले सकिनसकी ऋण गरेर विदेश जाने सोचाई आयो । विदेश लागियो । नेपाल मै केहि गर्ने सोचाईले ऋण मागेका आफन्तले कहिल्लै ऋण पत्याएनन् ।

तर विदेश जाने भनेपछि ऋण दिन सबै तयार हुनुभयो । अहिले सोच्दा मलाई लाग्छ यो मेरो सोचाई अनि मेरो आफन्तको सोचाईमा कुनै राष्ट्रवादीपन थिएन ।

त्यो केवल आफ्नो आवश्यकता र फाइदाको सोचाई मात्रै थियो । जुन जीवन जिउनको लागि आवश्यक पनि छ ।

नेपाल हुँदा कै केहि घटनाहरु छन् जुन अहिले सम्झिंदा सबै राष्ट्रघाती नै लाग्छन ।

छिमेकमा २ जना सरकारी जागिरे हुनुहुन्थ्यो । एकजना बहुत इमान्दार हुनुहुन्थ्यो, आफ्नो काम राम्रो संगगर्ने पदको दुरुपयोग नगर्ने । मतलब, उँहाको कमाइ तलब मात्रै थियो ।

अर्को इमान्दार हुनुहुन्थेन, मतलब उँहा हरेक काममा आफ्नो फाइदा हेर्ने गर्नु हुन्थ्यो । काम पनि विभिन्न बहानामा बिदा बस्न सक्ने खालको हुनुहुन्थ्यो ।

खै कसरि हो, उँहा धेरै पैसा कमाउने जस्तो देखिनुहुन्थ्यो । जसलाई  गाउँ घरमा पनि सबैले टाठोबाठो भन्ने गर्थे । सबैले उंहाकै जयजयकार गर्थे र मैले पनि त्यहि गरें ।

ईमान्दार भएर काम गर्नेलाइ केहि न कामको सोझो भनेर कसैले मान्छे नै नगन्ने, तर चाहिने नचाहिने गरेर कमाउनेलाइ टाठोबाठोको नाम म बस्ने समाजले दिने गर्थ्यो, अनि मैले पनि त्यहि नै गरे ।

अनि समाजमा टाठाबाठा नै समाजसेवीको नामले चिनिने र पछि उहाँहरु नै नेता बन्ने, देशको सेवा गर्ने भनेर भाषण गर्नुहुन्थ्यो ।

नेता पनि बन्नु हुन्थ्यो, मैले पनि उहाँहरुलाइ नै भोट हालें । अहिले म दोधारमा छु । अब मैंले नै चुनेको नेतालाइ गाली गर्ने हैसियत राख्छु या राख्दिन !

देश र हाम्रो अवस्था जुन अवस्थामा तिनै नेताले पुर्याए जसलाई मैंले नै मत दिएर जिताएं अनि के मलाई राष्ट्रवादी भन्न मिल्ला र ?

यस्ता घटनाहरु धेरै छन् जुन हामिले जानी नजानी हरेक क्षेत्रमा राष्ट्रघात गरिरहेको छौं ।

मैंले पनि आफ्नो बाध्यता र आवश्यकताको लागि जानी नजानी राष्ट्रघात गरिरहेको जस्तो मलाई लाग्छ । देशमा रोजगार नहुँदा बिदेशिनु बाध्यता होला तर आफ्नो देशका समस्यासंग जुध्न छोडेर सजिलोको लागि विदेश पस्ने काम पनि मलाई कुनै पनि कोणबाट राष्ट्रबाद लाग्दैन ।

देशमा रोजगार भएन बिदेसिनु पर्यो, यो मेरो आवस्यकता हो । त्यो राष्ट्रियता होइन भनेर मैंले मेैं अनुकुल हुनेगरि बुझ्न थालेको छु ।

विदेशमा मैंंले भिषा जोगाउनकै लागि देशमा फर्के मलाई नै ज्यानको खतरा छ भन्न समेत पछि परेका छैंनौं । त्यो मेरो बाध्यता हो, जसको लागि मैंले मेरो राष्ट्रियतालाई आघात पुर्याईरहेको छ ।

म सोच्ने गर्छु, हाम्रा नेताहरुलाई पनि आफ्नो पद बचाउनु छ । आफ्ना बिरोधिहरुबाट बच्नु छ । आफ्नो हातमा शक्ति र सत्ता भएन भने भोलि आफ्नो ज्यान नै खतरामा छ भन्ने लाग्दो हो । जसरी मलाई यहाँ भिषा नजोगिए देश फर्कंदा ज्यान खतरा हुन्छ भन्ने लागेको छ ।

अनि त्यही आवश्यकतालाई पुरा गर्नको लागि जायज नाजायज देशलाई भन्दा आफु र आफ्नालाई प्राथमिकतामा राखेर सबै काम गरिरहेका छन् ।

यँहा त सबै आफ्नो आवश्यकता अनि बाध्यताको लागि दौडिरहेका छौं । अनि कुनै नै कुनै कोणबाट राष्ट्रलाई घात गरिरहेको छौं । कृषकले बढी फाइदा लिन बिषादी हालेर तरकारी फलाउँछ । पसले फाइदाको लागि नै मिति गुज्रिएका सामान र मिसावट वस्तु बेच्छ ।

पत्रकार आफ्नो लोकप्रियता देखाउनको लागि सानो कुरालाई पनि बांगो टेंडो अनि आवश्यक विषयलाई सानो र अनावश्यक विषयलाई ठुलो बनाएर समाचार बनाईरहेका छन् ।

वकिल, कामदार, कर्मचारी सबै उस्तै छन् यसमा नेता र कार्यकर्ताको कुरा गरि साध्यनै छैन । सबै आफ्नो बाध्यता र आवश्यकता अनि फाइदाको लागि अरु सबै कुरा भुलेर लागि परिरहेका छन् ।

तर सबै आफुलाई नम्बरी रास्ट्रबादी अनि अरुलाई राष्ट्रघाती देख्ने र आक्रोश पोख्न अभिशप्त छन् ।

आफ्नो आवस्यकता पुरा गर्दा बाध्यता अनि अरुको आवश्यकता पुरा गर्दा  राष्ट्रघात भन्ने पनि हुन्छ र ?

हो, बिदेशी मुद्रा कमाउन हामी विदेश जान जरुरी छ । तर हामीले कमाएको पैसा सबै फेरी पनि बिदेश नै जाने अहिलेको क्रम हामीले रोक्न सकेनौ भने हाम्रो देश कहिल्लै पनि बन्दैन । गएको एक दशकको देशको अवस्थाले हामीलाई यो पाठ पढाईसकेको छ ।

अबको हाम्रो एउटै नारा आत्मनिर्भरता हो र हुनुपर्छ । दुई चार पैसा महँगो नै किन नहोस, बरु अलिकति कमसल नै होस् नेपालमै उत्पादन गरौं नेपालमा नै प्रयोग गरौं । असली राष्ट्रप्रेम त्यो हुनेछ ।

हामी भन्ने गर्दछौ नेपाल खत्तम भयो । विदेश यस्तो छ, उस्तो छ । तर मलाई आजकल लाग्ने गर्छ म खत्तम हो । म नै राष्ट्रघाती हो । अनि मैले नै यो नेता अनि समाज जन्माएको हो ।

आखिर म अनि मेरो सोचार्इमा असली राष्ट्रबाद नपलाएसम्म जति जेसुकै गरेपनि केहि हुने वाला छैन । जुन अबको पहिलो आवश्यकता पनि हो ।

हाम्रै भूभाग मिच्ने अनि हामी लाईनै भिभिन्न आरोप लगाउने ईण्डियन मिडियाको कुरा र नेताका सुनेर भित्रि मन दुखेको छ । तर यो दुखेको मन र टुटाउन खोजेको राष्ट्रियता अनि लुछ्न खोजेको भूमिलाई जोगाउन पहिलो शर्त हामी स्वावलम्बि बन्न जरुरी छ ।

देशलाई मायाँ गर्नु मात्र राष्ट्रवाद होईन आत्मनिर्भर बन्दै परनिर्भरता हटाएर आफ्नै बलबुतामा देश समृद्ध बनाउनु असली राष्ट्रवाद हो ।

जय राष्ट्रबाद ।