(Japan) 27 th June | 2026 | Saturday | 6:47:15 PM || (Nepal) 3:32:15 PM
 
 

महिला उत्प्रेरणाका लागि पुरूषत्वलाई सही सिमामा राखौं

Keshab Thapa   POSTED ON : Tuesday, 19 May, 2020 | Views : 5620

महिला उत्प्रेरणाका लागि पुरूषत्वलाई सही सिमामा राखौं


हाम्रो नेपाली समाज, दक्षिण एसियाली समाज र सायद सम्पूर्ण बलवान समाजमा पुरूषत्वको आडमा आडम्बर व्याप्त छ ।

हामी महिलाको क्षमतामा प्रश्न चिन्ह खडा गर्ने गर्छौं । यसले कतै सामाजिक संस्कार तथा घर बाहिरबाट आम्दानी लिएर आउने अनि आफू अनुकुल दासत्व स्वाकार्न बाध्य त बनाई रहेका छैनौ ?

घर बाहिरको आम्दानीलाई बहाना बाजीमा चलाखी गरेर महिलाको क्षमतालाई अवमुल्यन र चुला चौका, बाल बच्चाको रेख देखमै सिमित गरिरहेका छौं ।

के यसो गर्दा हामीले आधा आकाश ओगटेका महिलालाई आफ्नो क्षमता प्रकट गर्ने अवसरमा पर्खाल लगाउँदै वन्चित त गरेका छैनौ ?

मानव जीवनमै संभवत पहिलो पटक करिव ८ अरब मान्छेहरू अदृश्य भाइरसका कारण अहिले बन्धक अवस्थामा छन् ।

यो संकटले पुरूष प्रधान समाजका हामीहरूले महिलाहरूको नगन्य साना साना नजरमा नगनिने कामहरू कति हुँदा रहेछन् ? दैनिक घरमा कति काम रहेछन् ? भन्ने नाङगो आखाँले देख्ने र भोग्ने मौका जुलाईदिएको छ । यस अर्थमा भाइरस संक्रमणपछि भएका लकडाउन वा आपतकालको सकारात्मक पक्षको रुपमा यसलाई हेर्न सकिन्छ ।

कोभिड-१९ पुरूष समाजका लागि महिलाहरूको देन बोध गराउने  महत्वपूर्ण कडि बनेको छ । आँखै अगाडी बाध्य भएर देख्न अनि भोगगर्न बाध्य पारिदिएको कोरोना संक्रमण यस अर्थमा राम्रो पक्षको रुपमा अगाडी आएको छ ।

हामी पुरूषहरूले कमाएर ल्याइदिएकै छु नी । त्यो भन्दा के गरौ ? म फेरी खाना बनाओै, भाडा मोलौ, कपडा धोऔं ? भनि चुप गराउँदै आएका थियौं ।

घर बाहिरको कुनै ज्ञान, सिप, कला, सिर्जना केही गर्न वा ईच्छा प्रकट गर्दा महिलाहरुलाई किन जान्ने हुनपर्यो ? मैले गरेर त यस्तो हाल छ, तिमिहरुले के लछारपाटो लाउँछौ र ? भनि चुप गराउँदै आएका पुरुषहरुको मुखमा कोरोना संक्रमणले बिर्को लगाईदिएको छ । घरभित्रको भवसागर कामलाई महिलाले सम्हालिदिंदा पुरुषलाई कतिसम्म फुक्काफाल हुन मौका मिलिरहेको रहेछ भन्ने आत्मानुभूति गराईदिएको छ ।

अनि महिलाको चाहना लाई तिलाञ्जली दिएर त्यस्ता सपना र सोच आउनै नसक्ने गरी समाजमा प्रकट र प्रस्फुटन हुनबाट रोकिराखेका त छैनौं ? हाम्रो समाज र संस्कारले कतै महिला समाज माथि हामी र हाम्रो समाजका लागि ठुलो गुन लगाउने अवसर बञ्चित गरिराखेका त छैनौं ?

महिलाहरूलाई चुलो, चौका, बाल बच्चाको लालनपालन भन्दा टाढा सोच्ने र कदम चाल्नै नहुने गरी मन मस्तीकबाट नै दासत्व स्वीकार्न बाध्य बनाइ, के हामी चाही उनीहरू बराबर नै खटिएका छौ त ? महिलाहरू जति नै इमान्दारी छौ त ? प्रश्न हामीतिरै उब्जिएको छ ।

हामी संधै बिना अर्थपूर्ण, महत्व दिएभन्दा कम आवश्यकताका बाहिरका विषयवस्तुहरू, मित्रहरू, जुवातास, जाड रक्सीका भेलाहरू, सामाजिक सञ्जाल, गेम आदी इत्यादिमा कति समय बिताउछौ ? त्यसमा महिलाहरू बाट ओैला ठडिदा कस्तो जवाफ र उत्तर दिन्छौ ? कहिल्यै आत्मबोध नगरेका विषयमा समयले नै बोध गर्न बाध्य बनाईदिएको छ ।

वास्तवमा के हामी सत्य र साचो रूपमा आवश्यक काम कुरामा भन्दा  व्यक्तिगत भोग विलासलाई बढि प्राथमिकता दिएर महिला शोषण त गरीरहेका छैनौ ?

हामीलाई स्वतन्त्रताको नाममा निस्फिक्रि समयको खुल्लापन चाहिंदा महिलालाई चाही त्यो समय चाहिदैन ?

त्यसैले हामी पुरूषले समाजको बारेमा कति किताब पढ्दै छौ ? फेसबुक या अन्य सामाजिक सञ्जालमा कति समय दिंदै छौं ? कति मात्रामा आवश्यक भेलाहरु भएका छन् र उपस्थिति जनाईरहेका छौं ? कति समय आफ्नो भोक विलास, रसलिलामा रम्दा महिलाहरुले घरमा कसरी समय व्यतित गरिरहेका छन्, के हामीले कहिल्यै यो कुरा सोचेका छौं ?

त्यसैले पुरुषहरुले आफ्ना क्षमता, ईच्छा र आवश्यकतालाई मात्र सर्वोपरि नठानि महिला भित्र पनि सिप, क्षमता, ज्ञान रहेको छ र त्यसलाई प्रकट हुन र दिन सिक्न र सक्नुपर्छ । महिलाहरूको पनि आत्मसम्मान गर्ने परिपाटि बसाल्नुपर्छ ।

अनावश्यक समय सामाजिक सञ्जालमा खर्चिएर आडम्बरी वकालत गर्नुभन्दा चुला चौकामा जीवन साथीलाई सँगै साथ दिदा महिलाहरूमा कस्तो हर्ष उमगं आउला त्यसमा रमाउने गरौ । डर र त्रास नै पुरूषत्वको परिचय हो भन्ने घमण्ड फालेर महिलालाई दासत्व स्वीकार्न बाध्य होईन समान सम्मानको संकारलाई साथ लिएर अघि बढौं ।

परिबन्दमा पारेर नाम मात्रको व्यस्ततालाई बहाना बनाएर दासत्व स्वीकार गराउन बाध्य नपारौं । महिलापनि आफ्नो स्वच्छाले स्वतन्त्रतामा रम्न चाहन्छन् । कहिल्यै सोच्नु र सोध्नु भएको छ उनिहरुले समान स्वतन्त्रतालाई कति उपभोग गर्न पाएका छन् ?

त्यसैले कोरोनाको एउटा सकारात्मक पाठको रुपमा बनावटी, देखावटी व्यस्तता र पुरुषत्वको आडम्बरी जीवन शैलिलाई बदलौं । सत्यवादी बनौ, रथका दुई पांग्रा हरेक काम र कुरामा व्यवहारमा ल्याउन थालौं ।

हामी जो कोही पनि मुर्ख, ठग, डटुवा बन भन्न रूचाउदैनौ । त्यसैले ह्रदय देखिनै मुर्ख, ठग, डटुवा हुनबाट जोगिने प्रण गरौ ।

घरका महिलाहरूको भावना, चाहना, ज्ञान, सिप, कलालाई पनि सकारात्मक सोचले आकार ग्रहण गर्ने वातावरण प्रदान गरौ । यसले परिवारसँगै सिंगो समाज र संसारको लागि ठुलो देन मिल्नेछ ।

अनावश्यक देखावटी र बनावटी व्यस्ततालाई त्यागेर घर र परिवारमा सिर्जनात्मक सहयोगी बनेर समय बिताओै ।

महिलालाई कमजोर बनाउदै, दासत्व स्विकार गराउदै, आफ्नै मात्र स्वतन्त्रता आफ्नै मात्र जीन्दगी जिउने पुरातन शैलीलाई त्यागौं । किनभने घर समुधर हुन तराजु सन्तुलित हुनुपर्दछ जसरी रथ गुड्न  दुई पांग्रानै आवश्यक पर्दछ ।

महिलाको आत्मसम्मान र क्षमता एवं शिपको प्रकटमा साथ दिंदै उनिहरुको स्वतन्त्रता, आफ्नो चाह अनुसारको समय, चाहनालाई बुझ्ने अभ्यास गरौं । यसले घरायसी कामहरू गरेर तनाव हटाउने, परिवार खुशी बनाउने, सकारात्मक घर, परिवार, समाज र देश नै बनाउने बाटो देखाउन सक्छ ।

त्यसैले अरुको मानसम्मान गरौं, आफुले पनि मानसम्मान पाईन्छ ।