नेपालमा कोरोना भाइरस (कोभिड–१९) बिरामीको सङ्ख्या बढे सँगै सो रोग निको भइसकेका केही व्यक्तिमा पुनः यसको संक्रमण देखिएको समाचार आएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार यही वैशाख ११ गते कोरोनामुक्त भएर घर फर्किएका काठमाडौंका ५४ वर्षीय पुरुषको फलोअप पिसिआर परीक्षण गर्दा पुनः पोजिटिभ देखिएको हो । त्यसैगरी तीनपटक गरिएको पिसिआर परीक्षणको नजिता नेगेटिभ आएपछि वैशाख १४ गते डिस्चार्ज भएका पर्साका ४४ वर्षीय व्यक्ति र रौतहटका १९ वर्षीय किशोरमा पनि पुनःपरीक्षण गर्दा कोरोना पोजिटिभ देखियो ।
यसरी संक्रमणमुक्त भएर अस्पतालबाट घर फर्किएका व्यक्तिको नियमित जाँचमा पुनःकोरोना पोजिटिभ नतिजा आउनु कुनै नौलो घटना भने होइन । जापान, यस्तो घटना रिपोर्ट गर्ने पहिलो देश हो भने केही हप्ता अघि मात्र दक्षिण कोरियामा कम्तीमा २ सय ६० जनामा पुनःपिसिआर परीक्षण पोजिटिभ आएको थियो ।
चीनको वुहान (जहाँ यो संक्रमण सुरू भयो) सहरको तथ्यांकअनुसार निको भइसकेका करिब ५ देखि १० प्रतिशतसम्मका कोरोना बिरामीमा पुनःपिसिआर परीक्षण गर्दा पोजिटिभ पाइएको थियो । आखिर किन हुन्छ त निको भइसकेका व्यक्तिमा पुनः कोरोना पोजिटिभ ? यसको जवाफ अघि पिसिआर परीक्षणका केही आधारभूत सिद्धान्त र कोभिड–१९संक्रमणको प्रतिरक्षा प्रतिक्रिया जान्न जरुरी हुन्छ ।
पोलिमेरेज चेन रिएक्सन (पिसिआर) परीक्षणमा रोग शंका गरिएका व्यक्तिको श्वास प्रणालीको माथिल्लो भागबाट नेजोफ्यारेन्जियल स्वाब अथवा तल्लो श्वास नलीबाट आउने खकार र ब्रोन्किओअल्वेलर ल्याबेजजस्ता नमुनामा कोरोना भाइरसको अद्वितीय आरएनए खण्ड पहिचान गर्दै कोभिड–१९ निदान गरिन्छ ।
यी नमुनाबाट आरएनए अलग (आइसोलेसन) गरी डिएनएमा रूपान्तरण गरिन्छ र यस डिएनएको पोलिमेरेज चेन रिएक्सन प्रयोग गरेर लाखौं प्रतिलिपिमा विस्तार (ऐम्प्लिफकेसन) गरी यो पत्ता लगाइन्छ । तर के जान्न जरुरी छ भने पिसिआर पोजिटिभको अर्थ नमुनामा कोरोना भाइरसको आरएनए छ भन्ने हो,भाइरस जीवितै छ भन्ने होइन । नमुनामा भाइरस जीवितै (एक्टिभ) छ वा छैन भन्ने जाँच्न भने भाइरसको कल्चर गर्नुपर्ने हुन्छ। नेपालमा अहिले यो भाइरल कल्चरको सुविधा उपलब्ध छैन ।
जब कोरोना भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ, तब हाम्रो प्रतिरक्षा प्रणाली त्यसविरुद्ध लड्न उत्तेजित हुन्छ । यस्ता रक्षा प्रणालीको एउटा तरिका भनेको एन्टिबडी उत्पादन गर्नु हो, जसले कोरोना भाइरस नष्ट गर्न मद्दत गर्छ । संक्रमण भएको ८–१० दिनमा बिरामीको शरीरले आइजिएम प्रकारको एन्टिबडी उत्पादन गर्न सुरु गर्छ। संक्रमणको १ महिनाभित्र आइजिएम एन्टिबडी उच्च तहमा पुग्छ र बिस्तारै घट्छ ।
बिरामीले आइजिजी भन्ने अर्को प्रकारको एन्टिबडी पनि उत्पादन गर्छ, जुन १०–१२ दिनभित्र रगतमा बढ्न थाल्छ र कम्तीमा केही महिनासम्म रगतमा रही रहन्छ । जब शरीरमा एन्टिबडीको मात्रा बढ्दै जान्छ,तब त्यसले कोरोना भाइरसमार्छ र बिरामी बिस्तारै रोगबाट मुक्त हुँदै जान्छ । त्यसकारण धेरैजसो बिरामीमासक्रिय भाइरसको संख्या कम हुँदै ३ हप्तासम्ममा भाइरसमुक्त हुन्छन् । यस पृष्ठभूमिका अब मूल प्रश्नमा प्रवेश गरौं– आखिर किन हुन्छ त कोरोना निको भइसकेका मानिसमापिसिआर पोजिटिभ ?
एकपटक निको भएका बिरामीमा फेरि पिसिआर पोजिटिभ देखिनुको मूलतः ४ कारण छन् :

१. त्रुटिपूर्ण परीक्षण (गलत रिपोर्ट) पिसिआर परीक्षण गर्दा गलत (फल्स नेगेटिभ) परिणाम आउनु असामान्य होइन । त्यसैले कुनैपनि नेगेटिभ रिपोर्ट वास्तवमै नेगेटिभ हो कि होइन भनेर निश्चित गर्न जरुरी हुन्छ । बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्दा गरिने पिसिआर परीक्षण ‘फल्स नेगेटिभ’ भएको छ, अनि केही दिनपछि गरिने फलोअप पिसिआर परीक्षण गर्दा पुनः पोजिटिभ देखियो भने यस्ता व्यक्तिलाई ‘पुनः संक्रमित’ भन्नु उपयुक्त हुँदैन ।
यस्तो फल्स नेगेटिभ नतिजा आउनुमा थुप्रै कारण छन् । परीक्षणमा प्रयोग भएका रसायनको खराबी, नमुना संकलन गर्दा अपनाइएको विधि, नमुनाका प्रकार, भण्डारण र स्थानान्तरण लगायतयावत् कुरामा पिसिआर परीक्षणको नतिजा निर्भर हुन्छ । प्रायः बिरामी डिस्चार्ज हुनुअघि फल्स नेगेटिभ परिणाम आउनाका कारण राम्रो गुणस्तरको नमुना संकलन गर्न नसक्नु वा स्वाब संकलन गर्दा भाइरसको मात्रा घाँटीमा एकदम कम हुनु हो ।
पोजिटिभ पिसिआर नजिताका समयरेखा, नमुनाका प्रकारैपिच्छे फरक हुन्छन्। नेजोफ्यारेन्जियल स्वाबजस्ता श्वास प्रणालीको माथिल्लो भागबाट निकालिएका नमुनाको तुलनामा तल्लो श्वास नलीबाट आउने खकारजस्ता नमुनामा लामो समयसम्म पिसिआर पोजिटिभ देखिन्छ । यसको अर्थ नेजोफ्यारेन्जियल स्वाबमा पिसिआर नजिता नेगेटिभ भए पनि खकारमा पोजिटिभ देखिन सक्छ ।
त्यसकारण कोभिड–१९को क्लिनिकल व्यवस्थापनसम्बन्धी डब्ल्युएचओले जारी गरेको निर्देशिका अनुसार कोरोनाका बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि कम्तीमा २४ घण्टाको अन्तरालमा गरिने २ वटा पिसिआर परीक्षणको नजिता नेगेटिभ हुनुपर्छ । नेपालले यो निर्देशिकाअनुसारै जाँच गरिरहेको देखिन्छ ।
२. पुनः संक्रमण कोभिड–१९ निको भएकामा पुनः संक्रमण हुने सम्भावना एकदमै न्यून हुन्छ। कोभिड–१९ बाट संक्रमित भएका व्यक्तिले कोरोना भाइरसविरूद्ध एन्टिबडी विकास गर्छन् र उनीहरू फेरि यो भाइरससँग सम्पर्कमा आए तुरुन्तै त्यसविरूद्ध लड्न सक्छन्। त्यसकारण एकपटक कोरोना भाइरस संक्रमित भएका व्यक्तिले कोरोना भाइरसप्रति अस्थायी रूपमा प्रतिरक्षा प्रणाली विकास गर्न सक्छन् । संक्रमणको १–२ हप्ताभित्र शरीरले कोरोना भाइरसविरूद्ध एन्टिबडी उत्पादन गर्छ, जुन कम्तीमा केही महिनासम्म रगतमा रहिरहन्छ ।
दादुराजस्ता भाइरसको संक्रमणले जीवनभर त्यसविरूद्ध प्रतिरक्षा प्रदान गर्छ। सार्सजस्ता अन्य कोरोना भाइरसका लागि भने यस्तो प्रतिरक्षा केही महिनादेखि केही वर्षसम्म हुने अध्ययनले देखाएका छन् । अहिलेको कोरोना भाइरस नयाँ भएकाले यसविरूद्ध बन्ने एन्टिबडी कति लामो समयसम्म रहन्छ र सुरक्षा दिन सक्छ, स्पष्ट भइसकेको छैन ।
तर अहिलेसम्मका अध्ययनले कोरोना भाइरस विरूद्धको प्रतिरक्षा प्रणाली कमसेकम केही महिनासम्म रहने देखाएका छन् । नेपालमा अस्पतालबाट डिस्चार्ज भएका पूर्वसंक्रमितको फलोअप पिसिआर परीक्षण केही दिनमै गरिएकाले पुनः संक्रमित हुने सम्भावना लगभग असम्भव देखिन्छ । त्यसैले ‘पुनः संक्रमण’जस्ता शब्दप्रयोग सावधानीपूर्वक गर्नुपर्छ ।
३. पुनःसक्रिय निको भएर अस्पतालबाट डिस्चार्ज भएकामा फेरि पिसिआर पोजिटिभ आउनुको अर्को कारण भाइरसको पुनः सक्रियता पनि हुन सक्छ । प्रायः हाम्रो प्रतिरक्षा प्रणाली, भाइरसलाई पूरै नष्ट गर्न सक्षम हुन्छन् । तर केही मानिसमा भाइरस केही समयका लागि निष्क्रिय रहेर हाम्रो प्रतिरक्षा कोषबाट लुकेर बस्न सक्छ (लेटेन्ट स्टेट) । जब भाइरस, हाम्रो शरीरभित्र निष्क्रिय अवस्थामा लुकेका हुन्छन्, तब तिनले कुनै रोगका लक्षण निम्त्याउँदैनन् । यसको मतलब– त्यस्ता व्यक्ति संक्रमणमुक्त जस्तै हुन् । तर यी निष्क्रिय भाइरस पुनः सक्रिय हुन सक्छ र यसले आफ्नो संख्या वृद्धि गरी रोग बल्झाउन पनि सक्छ ।
यस प्रकारको प्रक्रिया केही भाइरल रोगमा सामान्य हुन्छ । उदाहरणका लागि कतिपय बिरामीमा चिकनपक्स भाइरस प्रतिरक्षा प्रणालीबाट लुकी लामो समयसम्म निष्क्रिय रहन सक्छ । जब यस्ता मानिसको प्रतिरोधात्मक क्षमता कम हुन्छ, तब यो भाइरस पुनः सक्रिय भई भेरिसेलाजोस्टर (हर्पेस जोस्टर) भनिने रोग बल्झाउन सक्छ । तर पुनः सक्रियताको यस्तो अवस्थामा व्यक्तिसँग पहिलेनै कोरोना भाइरसविरुद्ध केही प्रतिरक्षा प्रणाली विकास भइसकेको हुने हुनाले रोगको लक्षण एकदम सीमित हुन्छ ।
त्यस्ता व्यक्तिले सामान्यतया अन्य व्यक्तिमा संक्रमण सार्न भने सक्दैन । तसर्थ लुकेर बसेका कोरोना भाइरसको पुनः सक्रियताले पनि पिसिआर पोजिटिभ देखिन सक्छ । तर त्यस्ता व्यक्तिले अरूलाई संक्रमित बनाउने जोखिम एकदम कम हुन्छ । धेरै वैज्ञानिक के विश्वास गर्छन् भने निको भइसकेका बिरामीमा फेरि पिसिआर पोजिटिभ आउनुको कारण पुनः सक्रियता पनि हो । तर यस विषयमा थप अध्ययन र अनुसन्धान आवश्यक छ ।
४. मृत भाइरल टुक्रा(डेडभाइरल पार्टिकल) को पहिचान निको भइसकेका बिरामीमा फेरि पिसिआर पोजिटिभ आउनुमा यो सबैभन्दा महत्वपूर्ण कारण हो । जब हाम्रो प्रतिरक्षा प्रणालीले कोरोना भाइरस नष्ट गर्न थाल्छ, तब बिरामी बिस्तारै निको हुँदै जान्छ । तर भाइरस मृत टुक्राका रूपमा केही समयका लागि हाम्रो कोषमा रहिरहन्छन् ।
दक्षिण कोरियाको एक अध्ययनले देखाएअनुसार निको भएका बिरामीको फोक्सोका कोषमर्मत (रिपेर) हुने क्रममा मृत भाइरस भएका मृत कोष खकारसँगै श्वास प्रणालीको माथिल्लो भागमा आउने गर्छन् । स्वाब संकलन गर्दा यस्ता मृत भाइरस भएका कोषपनि नमुनामा आउन सक्छन् । नमुनामा भएका यी मृत भाइरसमा आरएनएका टुक्राटाक्री पनि हुन्छन् । फलस्वरूप यस्ता स्वाबको पिसिआर गर्दा गलत (फल्स पोजिटिभ) परिणाम आउने गर्छ ।
निको भइसकेका कोभिड–१९का बिरामीले केही हप्तासम्म मृत भाइरलको टुक्रा भएका मृत फोक्सो कोषबाहिर निकाल्न सक्छ, जसलाई पिसिआरले पोजिटिभ रिपोर्ट गर्छ । त्यसैले यस्ता बिरामीलाई पुनः संक्रमितभन्नु गलत हो । के बुझ्न जरूरी छभने पिसिआर, भाइरसको आरएनए पत्ता लगाउन गरिने परीक्षण हो, तर प्रत्यक्ष जीवित भाइरसको परीक्षण होइन ।
धेरैले नबुझेको कुरा चाहिँके हो भने पिसिआर केवल भाइरसको आनुवांशिक सामग्री (आरएनए) को परीक्षण हो, सक्रिय भाइरस पत्ता लगाउने होइन।अर्को शब्दमा पोजिटिभ पिसिआर परिणाम भनेको भाइरल आरएनएको पहिचान गर्नु मात्र हो, जीवित भाइरस देखाउनु होइन ।
त्यसकारण निको भइसकेका मानिसमा पोजिटिभ पिसिआरले मृत भाइरल टुक्राको उपस्थितिलाई संकेत गर्छ । यस्ता व्यक्तिलाई ‘पुनः संक्रमित’ भन्न मिल्दैन भने उनीहरूले अन्य व्यक्तिमा भाइरस सार्न सक्दैनन् । यस्ता नमुनामा जीवित भाइरस छ कि छैन भनेर थाहा पाउन भाइरल कल्चर गर्नुको विकल्प छैन ।
संक्षिप्तमा
१. पिसिआर विधि भाइरसको आरएनए पत्ता लगाउन गरिने एक परीक्षण हो, सक्रिय (लाइभ) भाइरस पहिचान गर्ने परीक्षण होइन। त्यसैले कोभिड–१९ निको भइसकेकाव्यक्तिमा पिसिआर पोजिटिभ आउँदैमा पुनः संक्रमित भन्न मिल्दैन ।
२. कोरोना संक्रमणमुक्त भइसकेका मानिसमा केही महिनाभित्रै पुनः संक्रमण हुने सम्भावना एकदमै कम हुन्छ ।
३. कोभिड–१९निको भएका व्यक्तिमा फेरि केही दिनमै पिसिआर पोजिटिभ देखिनुको सबैभन्दा मूल कारण नमुनामा मृत भाइरल टुक्रा रहिरहनु हो ।
लेखक:
डा. रोजित श्रेष्ठ
उपप्राध्यापक (चिकित्सा प्रयोगशाला)
होक्काइडो विश्वविद्यालय, जापान
Twitter: @Rojeetshrestha
डा. पूजा न्यौपाने
माइक्रोबायोलोजिष्ट,
स्वास्थ्य विज्ञान विश्वविद्यालय होक्काइडो, जापान
(डा. श्रेष्ठ : उपप्राध्यापक, चिकित्सा प्रयोगशाला,होक्काइडो विश्वविद्यालय, जापान र डा. न्यौपाने : माइक्रोबायोलोजिस्ट स्वास्थ्य विज्ञान विश्वविद्यालय, होक्काइडो, जापान)