बिहानै मोबाइलको म्यासेन्जर मा म्यासेज आयो 'दाई भिसा सकिन लाग्यो अब के गर्ने ?' पिडा मिसाएर गरिएको प्रश्न सहित को यो म्यासेज ले मिठो निद्रा नै हराइदियो ।
मिठो सपना र त्यो सपना पुरा गर्ने अभिलाषा लिएर घर, परिवार, साथीभाई अझ भनौ सिंगो देशलाई नै छोडेर निधारमा रातो टिका अनी काधमा जिम्मेवारि बोकेर परदेश लागेका हजारौ विद्यार्थीको पिडा हो यो ।
समयमै पढाई पुरा गरेर भिसा परिवर्तन गर्ने र कुनै एउटा कम्पनीमा स्थाइ कामदारको रुपमा काम गर्ने सपना सबैको हुन्छ । त्यसैको लागि कनिकुथी दिनरात नभनेर दौडिरहेका विद्यार्थीहरु हरेक 'ट्रेन स्टेसन'मा भेट्टाउन सकिन्छ ।
म विद्यार्थी भिसामा यहाँ 'जापान' आएको हुनाले यि कुराहरुमा गहिरो अनुभब छ्न । म सँग मात्र हैन हरेक विद्यार्थी भिसामा आएकाहरुको अनुभबहरु उस्तै छ्न, बस् कती लेखिए, सुनाइए कती लेखिएनन्, सुनाइएनन् यत्ती मात्रै फरक हो ।
आज केही कुरा लेख्ने जमर्को गरेको छु ।
समस्या नहुने मान्छे यो संसारमा कोही पनि छैन । हरेक मानिस सानातिना समस्यामा अल्झिरहेको हुन्छ । तर कहिले काही सामान्य लागेका समस्याहरुले जटिल रुप लिन पुग्छ्न र त्यसलाई पार लगाउन सकिने बाटाहरु बन्द हुन पुग्छन् ।
त्यसपछी मान्छे अतालिन्छ र कसैको सहारा लिन खोज्छ । सहारा लिन खोजेको मान्छेसँग केही उपाय भए त ठिकै हो नत्र दुखद घटना समेत निम्तन सक्छ ।
जापान विद्यार्थी भिसामा आएपछी नेपालमा 'प्लस टु' सकेको छ भने २ वटा कोर्स अनिवार्य गर्नु पर्ने हुन्छ । नेपालमा ब्याचलर पुरा गरेको खण्डमा भने एउटा कोर्स मात्रै गरेपनि भिसा परिवर्तन गर्न सकिन्छ ।
प्लस टु सकेकाहरुलाई निहोंगो गाक्कोउ 'जापानी भाषा स्कूल' र सेन्मोन गाक्कोउ 'व्यावसायिक स्कूल' वा दाइगाकु 'विश्वविद्यालय'को पढाई पुरा गर्नु पर्ने हुन्छ ।
ब्याचलर सकेकाहरुलाई भने निहोंगो गाक्कोउ 'जापानी भाषा स्कूल' को पढाई पुरा गरे मात्रै पनि भिसा परिवर्तन गर्न सकिन्छ ।
प्राय जापानमा नेपाली विद्यार्थीहरुले पढ्न कम, काम गर्न ज्यादा समय दिएको पाईन्छ । फलस्वरुप भिसा परिवर्तन गर्ने बेलामा बिभिन्न समस्या आउने गरेका छ्न ।
केही विद्यार्थी बाहेक अधिकांश पैसा कमाउने उदेश्य बोकेर आएका हुन्छ्न । यो हामी नेपालीको रहर नभएर बाध्यता हो र यही नै यथार्थ हो, यसलाई स्विकार गर्नुपर्दछ ।
यहाँ आएर केही बर्ष अध्ययन गरेर उत्कृष्ट कम्पनीहरुमा राम्रो तलब पाएर काम गर्ने नेपालीहरुको संख्या पनि छ ।
सामान्य अवस्थामा विद्यार्थी भिसामा रहेकाहरुले एक हप्तामा २८ घण्टा भन्दा बढी काम गर्न नपाउने कानुनी प्राबधान रहेको छ । तर देखी १४ लाख रुपैयाँसम्म खर्च गरेर जापान आएपछी आएको खर्च उठाउनकै लागि भए पनि अधिकांश विद्यार्थीले यो नियमलाई पालना गरेको पाईंदैन ।
फलस्वरुप 'भिसा रि अप्लाई' गर्दा बिभिन्न समस्या भोग्नु परेका घटनाहरु हामी माझ आउने गर्छ्न ।
अवसरले भरिपूर्ण देश भएपनि हामी नेपालीहरु आफ्नै समस्यामा रुमलिरहेका हुन्छौं ।
लाखौं ऋण लिएर यहाँ आएपनी सोचे जस्तो र सुने जस्तो कमाइ नहुँदा हामीलाई हरेक कुराले पिरोलिरहेको हुन्छ ।
यसपाली पढाई पुरा गरेर काम वर्किङ भिसा अप्लाई गर्नको लागि कम्पनीहरु छनोट गर्ने कामहरु झन्डै २०१९ को अगस्ट महिना बाट सुरु भएको थियो ।
जापानिज भाषामा राम्रो भएका जापानिज भाषा लेभल 'N1, N2' पास गरेकाहरुलाई कम्पनीहरुले सहज रुपमा काम दिने गर्दछन् ।
उत्कृष्ट कलेजहरुले आफ्ना विद्यार्थीहरुलाई रोजगारीको लागि सजिलो होस् भनेर कलेजको अन्तिम सेमेस्टरको सुरुवातबाटनै बिभिन्न सेमिनार गर्ने र कामको लागी सहयोग गर्ने गर्छ्न । त्यसो त अन्य कलेजले पनि बिभिन्न ठाउँमा भएका सेमिनारमा आफ्ना विद्यार्थीलाई सहभागि गराउने गरेको पाईन्छ ।
यो उनै उत्कृष्ट विद्यार्थीहरुको लागि मात्रै हुन्छ ।
छानिदै गएका त्यसमा पनि बिदेशी विद्यार्थीहरुलाई भने यस्ता सेमिनारहरुले कमै मात्रामा लाभ दिएको भेटिन्छ ।
हुनत हामी नेपालीहरु अरु भन्दा चलाख पनि भएर होला यस्ता झण्झटिला प्रक्रियामा नलागेर एउटा मध्यस्तकर्ता 'बोलीचालीको भाषामा दलाल' खोज्यो, जागिर खोज्ने देखी डकुमेन्ट बनाउने, भिसा अप्लाई गर्ने सम्मको काम उसैलाई जिम्मा लगाइदिने र आफुले दनादन पार्ट टाइम जागिर गर्ने गर्छौ ।
४०/५० मान (झण्डै नेपाली ४/५ लाख) तिरेर यो काम गर्नु गरिरहेको विद्यार्थीहरुको कटु सत्यता हो ।
होटल, रिसोर्ट, खानेकुरा बन्ने कम्पनी, सामान बन्ने फ्याक्ट्रि लगायत थुप्रै ठाउँहरुमा कामको लागि सहयोगि भूमिका खेल्ने दलालहरुले पनि यस्पाली केही गर्न नसक्ने अवस्था आएको छ ।
सन् २०२० पछी अन्तर्वातामा छनोट भएर भिसा प्रकृया गर्न नपाउदै अधिकांश कम्पनीहरुले नियुक्ती खारेज गरेका छ्न ।
कारण हो कोभिड-१९ (कोरोना भाइरस) जस्ले सारा विश्वलाई थला पारीरहेको छ ।
ब्यापार घाटा नहोस्, अर्थतन्त्र गिरावटको मारमा नपरियोस भनेर बिभिन्न योजना र राहतका प्याकेजहरु घोषणा भएका छ्न जहाँ बिदेशीहरुलाई पनि समेटिएको छ ।
विद्यार्थी भिषामा महँगो शुल्क तिरेर भर्खर जापान आएका अधिकांश विद्यार्थी त समस्यामा छ्न नै नयाँ काममा प्रबेश गर्न चाहनेहरु पनि यो समस्याले मारमा परेका छन् ।
यसको प्रमुख कारण हो आत्मबिश्वासमा कमी । हामीले आँफै काम खोज्न नसक्नु, तोकिएको भन्दा धेरै काम गरेकाले अनेक समस्या पर्न सकिने डर, भाषागत ज्ञानको कमी लगाएत विद्यार्थीकै अनेक कमजोरी रहेका छन् ।
सधैं समय आफ्नो पक्षमा हुँदैन, त्यसैले आफुलाई सक्षम र चलायमान बनाउनु जरुरी छ । अवसरलाई सहि समयमा सदुपयोग गर्न सक्यो भने यस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ र अरुको आश र भर पर्नु पर्दैन ।
जापानमा नियम कानुन अक्षरस पालना हुन्छ भन्नाले नेपालमा जस्तो कानुनी दाउपेचमा छुटकारा पाउने अवस्था हुँदैन ।
हरेक ठाउँमा समानता, बिभेदकारी प्रबृती अन्त्य यहाँको मुख्य बिशेषता लाग्छ ।
सानालाई ऐन ठुला लाई चैन भन्ने नेपाली लोकोक्ती यहाँ लागू हुँदैन । त्यसैले सबैमा समान किसिमको ब्यवहार नै यहाँको विशेषता बनेको छ ।
हरेक नागरिकले सम्मानजनक जीवन ब्यतित गरेको आभाष गर्न सकिन्छ । बिकासलाई हेर्ने हो भने हरेक क्षेत्रमा समान किसिमले बिकास भएको छ, लाग्छ यहाँ केही कुराको अभाब नै छैन ।
म हरेक दिन कामना र चाहना बोकी रहेको छु मेरो देश नेपाल पनि नेपाली पहिचान बोकेको जापान जस्तो बनोस् ।
बाँकी अर्को भेटमा !
-अर्जुन आचार्य, जापान