विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ (कोरना भाइरस) महामारीका कारण साढे २ लाख भन्दा बढीको मृत्यु भइसकेको छ । लाखौं मानिसमा यो रोगको संक्रमण देखिएको छ र यो अझ बढ्ने क्रममा छ ।
जसको कारण समग्र विश्वको जनजीवन, आर्थिक तथा सामाजिक क्षेत्र तहसनहस दिशातर्फ उन्मुख छ । उद्योग व्यवसायमा परेको प्रतिकुल प्रभावका कारण विश्वभर करोडौं मानिसहरुको रोजीरोटी गुमेको वा गुम्ने अवस्थामा छ । लाखौ संख्यामा आप्रवासी नेपाली कामदारहरु नेपाल फर्कने क्रम जारी छ । उनीहरु पुन वैदेशिक रोजगारीका लागि जान सक्ने सम्भावना न्युन देखिन्छ । यस्तो अवस्थामा विप्रेषण कम हुने र बेरोजगारीको संख्या बढ्ने सम्भावना छ । कोरोना भाइरसको महामारी पछि पनि यी समस्या चुनौतिका रुपमा देखिने पक्कापक्की छ ।
स्वच्छ व्यवसायी समुह नेपालले न्यून आय भएका, सामाजिक तथा आर्थिक रुपले पछाडि पारिएका, शारीरिक रुपले अशक्त जीवन बिताइरहेका १० हजार भन्दा बढीलाई रोजागरी प्रदान गर्दै आएको छ । करिब ४५ हजार भन्दा बढीलाई यो व्यवसायले अप्रत्यक्ष रुपमा फाईदा पुर्याईरहेको छ ।
रोजगारी तथा स्वरोजगारीका अवसरहरु श्रृजना गर्ने, महिलाहरुमा उद्यमशीलता विकास र आर्थिक शसक्तिकरणका लागि सहयोग गर्ने, अनाथ बालबालिकाका लागि शिक्षा र आवासको व्यवस्था गर्ने, बृद्धबृद्धहरुका लागि आवासको व्यवस्था, कुष्ठरोगी तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि आवास गृह संचालनका साथै रोजगारीका थुप्रै अवसरहरु स्वच्छ व्यवसायी समूले प्रदान गर्दै आएको छ ।
नेपालका २६ मध्ये समुहमा आवद्ध २४ सदस्य संस्थाहरु निर्यातमुखी व्यवसायमा संलग्न छन् । अधिकांश व्यवसायी हस्तकलामा आधारीत व्यवसायी भएता पनि कतिपयले कफि, चिया एवं कृषि जन्य उद्योग व्यवसाय पनि गरिरहेका छन् । आर्थिक वर्ष २०७५/७६ मा यी संस्थाहरुको कुल निर्यात १ अर्ब २६ करोड बराबरको थियो ।
करिब १५ करोड २५ लाख बराबरको सामग्री स्थानिय क्षेत्रमा नै बिक्री भएको थियो । कोरोना भाइरसको महामारीसंगै विश्वभर छाएको आर्थिक मन्दिले चालु आर्थिक वर्षमा हालसम्म करिब २० प्रतिशत निकासीको माग बदर भइसकेको तितो यथार्थ छ । आर्थिक वर्षको अन्त्यसम्ममा करिब ५५ प्रतिशतले निकासीमा कमी आउने प्रक्षेपण गरिएको छ ।
निकाशीको अवस्था आउने आर्थिक वर्षमा झन् अत्यधिक घट्ने सम्भावना छ । चालु आर्थिक वर्षको अन्त्य सम्ममा सदस्य व्यवसायीहरुसंग करिब ५० देखि ६० करोड सम्मका अर्डरहरु निकासीको लागि तयारी अवस्थामा भए पनि विश्वश्यापी रुपमा भैरहेको बन्दाबन्दीले ती सामानहरुको निकासी हूने सम्भावना क्षीण हुँदै गइरहेको छ । जसले गर्दा ती उत्पादित सामानहरु गोदाममा थन्किएका छन् ।
यसले व्यवसायीको चालु पूँजी फस्न गएको छ । उद्योग व्यवसायहरुमा चालु पूँजीको चरम अभावका कारण कर्मचारी तथा उत्पादकहरु र कच्चा पदार्थको सप्लायर्सहरुलाई भूक्तानी समेत दिन नसक्ने अवस्था सृजना भएको छ । यसले गर्दा उद्योग व्यवसाय पूर्ण रुपमा धरासायी हुने अवस्था नजिक पुगेका छन् । यसले कुनै एक व्यवसायीलाई मात्र नभएर व्यवसायसँग संलग्न हजारौं परिवारलाई संकटमा धकेल्न खोज्दैछ ।
उत्पादनमा संलग्न नेपालका विभिन्न ३५ वटा जिल्लाका लघु तथा साना उद्योगहरु तथा साना किसानहरु र उत्पादकहरुको रोजगारीमा अन्यौलता छाएको छ । त्यसैगरी स्वच्छ व्यवसायी समुह नेपालमा आवद्ध संस्थाहरुद्वारा संचालित वृद्धाश्रम, बालगृह, पुर्नस्थापना केन्द्र र अस्पतालहरुमा पनि यसको असर पर्न थालेको छ । यो आर्थिक मन्दीका कारण यस्ता सामाजिक प्रतिष्ठानहरुलाई रकम अभावका कारणले खानपीन, स्याहारसुसार, औषधि उपचार आदि सेवा प्रवाहमा निकै अफ्ठ्यारो परिस्थिति सृजना भएको छ । तसर्थ उद्योग व्यवसायलाई सुरक्षित अवतरण र सञ्चालनका लागि नेपाल सरकारको महत्वपूर्ण भूमिका, सहयोग र दृृढताको आवश्यकता छ ।
वर्षौंदेखि कर्मचारी तथा श्रमिकहरुबाट उठाइएको १ प्रतिशत सामाजिक सुरक्षा कर हालसम्म बिना उपयोग सरकारी खातामा संचित छ । संकटको घडिमा धेरैलाई स्वरोजगार बनाइरहेको देशका साना उद्योग र व्यवसायलाई बौराउनका लागि सरकारको मद्धत अत्यावश्यक छ । त्यसका लागि त्यो संचित कोषमा रहेको मौज्दात रकम उद्योग व्यवसायमा कार्यरत श्रमिक तथा कर्मचारीहरुको ६ महिनाको ज्याला तथा तलब रकमको कम्तिमा ५० प्रतिशत अनुदानका रुपमा प्रदान गरी सहयोग गरे ठूलो राहत हुनेछ । यसले बेरोजगारीको समस्या तत्कालका लागि समाधान गरेर थप रोजगार सिर्जना गर्न मद्धत पुर्याउनेछ ।
यस्तै, सहुलियतपूर्ण ऋण, विदेशी मूद्रा आर्जनको आधारमा बिना धितो निर्यात प्रवर्धन सहूलियत दरमा ऋण उपलब्ध गराउनका साथै सरकारले उपलब्ध गराउने वित्तिय तथा बजेट कार्यक्रमहरुमा लघु तथा साना उद्योगहरु एवं सामाजिक व्यवसायहरु (Social Enterprises) लाई बिशेष प्राथमिकता दिनु पर्ने देखिन्छ ।
कोरोनाको संकट जसोतसो झेलिरहेको हाम्रो मुलुकलाई त्यसपछिको आर्थिक संकट र बेरोजगारीले झनै सताउने देखिन्छ । वैदेशीक रोजगारमा गएका युवाहरुको ठूलो जमात स्वदेश फर्कदै छन् । उनीहरुलाई साना व्यवसायमा लगाएर देशले ठूलो फाइदा लिन सक्छ । यस बिषम परिस्थितिबाट देशको अर्थतन्त्रलाई जोगाउन स्थानिय उत्पादन तथा स्थानिय बजार प्रवर्धनको विकल्प छैन ।
त्यसका लागि आगामी ३ वर्ष विशेष औद्योगिक विकास वर्षको रुपमा घोषणा गर्दै “स्वदेशी उत्पादन, स्वदेशी उपभोग” को नारा दिई व्यापक रुपमा स्थानिय बजारको सृजना तथा प्रबद्र्धन गर्न सकिन्छ । सरकारी निकायहरुमा अनिवार्य रुपमा स्थानिय उत्पादनको उपभोग नीति लागु गरी आयातलाई कम गर्न सके त्यसले देशलाई ठूलो फाइदा पुर्याउने छ । साथै स्वदेशी उत्पादमा लागेका उद्योग तथा व्यवसायलाई प्रोत्सहान पनि मिल्नेछ ।
दिर्घकालिन रुपमा पर्यटन प्रवद्र्धन गर्न नेपाली कला, कौशलहरुको जगेर्ना तथा प्रवद्र्धनको आवश्यकता छ । नेपाली वास्तुकलालाई प्रवद्र्धन गर्न सकेको खण्डमा मात्रै पनि लाखौं जनताहरुले स्थानिय स्तरमा नै रोजगारी पाउने छन् । यसले हजारौं साना तथा मझौला उद्योगहरुको स्थापना हुन मद्धत गर्नेछ । जसले लाखौं युवालाई स्वदेशमै रोजगारी दिलाउनेछ । यसका लागि सरकारले सरकारी भवन तथा अन्य निर्माणहरु तथा कार्यालयहरुको श्रृंगार गर्न अनिवार्य रुपमा नेपाली कला संस्कृति झल्किने तथा नेपाली उत्पादनहरुलाई उपयोग गर्ने नीति ल्याउन आवश्यक छ ।
...
लेखक स्वच्छ व्यवसायी समुह नेपालका अध्यक्ष हुन् ।