(Japan) 27 th June | 2026 | Saturday | 6:40:28 PM || (Nepal) 3:25:28 PM
 
 

कोरोनाको कहरमा जापानमा 'कोम्बिनी'को डर

  POSTED ON : Friday, 24 April, 2020 | Views : 20144

कोरोनाको कहरमा जापानमा 'कोम्बिनी'को डर


इन्दिरा खनाल-जापान ।

कोरोना भाइरस कोभिड–१९ संसारभर महामारीको रुपमा फैलिदै छ ।  बच्चादेखी वृद्धवृद्धा सम्मको मानसिकतामा कोरोना मात्रै पसेको छ ।

सामान्य रुघाखोकी लाग्दा पनि कोरोना नै होकी भन्ने त्रासले मानिसहरुमा भय सिर्जना गरेको छ । घरबाट बाहिर निस्कियो की कोरोनाकै डर छ । मान्छेलाई मान्छेकै भय छ । 

गत डिसेम्वरमा चिनको वुहानबाट सुरु भयको यो भाइरस विश्वका २ सय ८ राष्ट्रमा पुगिसकेको विश्वस्वास्थ्य संगठनले जनाएको छ । छोटो अवधिमै झण्डै २ लाख व्यक्तिको मृत्यु भईसकेको कोरानाबाट दशौं लाख मानिस संक्रमित हुन पुगेका छन् ।

अझै कति थपिने हुन कतिले ज्यान गुमाउने हुन, अहिले नै भन्न सक्ने अवस्था छैन ।

कोरोनाको अहिलेसम्म न त औषधी नै बनेको छ, न त फैलावटको सिमा नै छ । न त समाप्त हुने मिती नै तय छ ।

जोखिम मोल्दै त्राही/त्राही भएर बाच्न बाध्य पारेको छ । आफन्त, घरपरिवार, साथीभाई, ईष्टमित्र संगै सिंगो देशसँगै व्यक्तिलाई परायाजस्तै टाढा बनाएको छ । 

जापानमा नयाँ वर्षको आगमन संगै कोरोना भाइरस

सन् २०१९ को डिसेम्वरमा चीनको वुहानमा देखिएको कोरोना भाईरस नयाँ वर्ष संगै जापानमा पनि प्रवेश गरेको थियो । २०२० को सुरुवात संगै जापानमा प्रवेश गरेको कोरोना भाइरस वुहान शहरको भ्रमण सकेर फर्केका ३० वर्षीय जापानिज नागरिकमा पहिलो पटक देखिएको थियो ।

उनी २०२० को जनवरी ६ मा चीनको वुहान शहरको भ्रमण सकी जापान फर्केका थिए । उनी नै पहिलो कोरोना संक्रमित भएको जापान सरकारले जनवरी १६ तारिखमा सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

त्यसको ठीक एक हप्तापछि थप २ जना संक्रमित पुष्टी भए । उनीहरु पनि वुहान शहरकै भ्रमणबाट फर्केका थिए । जनवरी महिनामा २ र३ जनामा फाट्टफुट्ट देखिएको कोरोना भाइरसले फेव्रुवरी महिनाबाट गती लिन थाल्यो ।

जनवरीको अन्त्य तिर जापान सरकारले वुहान शहरमा रहेका जापानी नागरिकलाई चार्टर्ड उडानबाट देश फर्काएको थियो । यसरी फर्केका मध्ये १४ जनालाई कोरोना भाइरस पुष्टी भएको छ । यस संगै संक्रमितको संङख्या हवात्तै बढी फेव्रुवरीमा २ सय ४० पुग्यो भने मार्चमा २ हजार हुदै अप्रिल २४ सम्म १३ हजार पार गरिसकेको छ ।

भाइरसबाट संक्रमितहुनेको संख्या घट्नुको साटो यो बढ्दो क्रममा रहेको देखिन्छ । संक्रमण कम गर्न जापान सरकारले आगामी मे महिनाको ७ तारिख सम्म  देशव्यापी आपतकाल घोषणा गरेको छ । तर ७ प्रिफेक्चरबाट देश व्यापी आपतकाल लगाउँदा समेत कोरोना रोगीको संख्या घट्नुको साथो बढेको बढ्यै छ ।


जापानमा काम गर्ने ठाउँ नै नेपालीका लागि मुख्य जोखिम


अध्ययन र रोजगारीका लागी जापान आउने अधिकांश नेपालीहरु सर्भिस सेक्टरमा काम गर्छन ।

होटल, रेष्टुरेन्ट, बार, म्याकडोनल, मोवाईल सेन्टर, कोम्बिनी (कन्भिनियन्स) स्टोर, सुपा जस्ता क्षेत्र नै नेपालीका मुख्य कार्य क्षेत्र हुन ।

यि क्षेत्रमा काम गर्दा दैनिक सयौं मानिससंग हेलमेल र प्रत्यक्ष सम्पर्क हुन्छ । जहाँ सक्रमणबाट जोगिन जतिनै उपाय वा विधि अपनाउँदा पनि त्यो अपर्याप्त हुनेदेखिन्छ ।

हालसम्म संक्रमण पुष्टि भएका ३ जना नेपाली पनि यस्तै क्षेत्रमा संलग्नहरु रहेको पाईएको छ ।

सक्रमित मध्ये २ जना रेष्टुरेन्ट र १ जना वृद्धवद्धा स्याहार केन्द्रमा कार्यरत थिए । यसले पनि ती क्षेत्र जोखिम छन् भन्ने पुष्टी गर्छ । 

संक्रमणको दर बढ्दै जाँदा जापानका अधिकाश कम्पनी संगै होटल र रेष्टुरेन्ट प्राय बन्द छन् । जसका कारण हजारौ व्यक्ती रोजगार विहीन छन् ।

मानिसहरु एकातिर कोरोनाबाट त्रसित छन भने अर्कातीर काम नपाएर भैतारिरहेका छन् । यो समस्या लम्बिंदै गएमा दैनिकी कसरी धान्ने भन्ने चिन्ता यहाँका नेपालीहरुमा पर्न थालेको पाईएको छ ।

उनीहरु रहरले होईन बाध्यताले काम खोजिरहेका छन् । जोखिम मोलेरै पाईने ठाउँमा काम गरिरहेका छन् ।

जापानमा २४ सैं घण्टा सेवा दिने कोम्विनी स्टोर खुल्ला छन् । जहाँ दैनिक उपभोग्य सामग्रीको खरिद बिक्री हुन्छ । त्यहाँ अहिले पनि उत्तिकै भिडभाड नै देखिन्छ । खरिदका लागि मानिसहरु लामो लाईनमै बस्छन् भने बिक्रीका लागि कामदार तयारी अवस्थामै हुन्छन ।

करिब १ लाख नेपाली रहेको जापानमा ठुलो हिस्सा बिद्यार्थी र कामदारसँगै उनिहरुका डिपेन्डेण्टले ओगटेको छ । जसमध्ये अधिकांशको रोजाई कोम्विनी स्टोर नै पर्ने गर्छ ।

सबै ठाउँमा हुने, समय पनि दिने र सजिलो हुने हुदा कोम्विनीमा काम गरेको धेरैको साझा भनाई छ । कतिपयले हिजोका दिनमा समय र सजिलोको लागि रोजेको कम्विनी आज विकल्प बनेको छ । जसबाट उनिहरुको जापान बसाई र खर्च सबै यहिकामबाट टरिरहेको छ ।


कम्विनीको काम रहर होईन बाध्यता हो


व्यक्ती-व्यक्ती बीचको प्रत्यक्ष सम्पर्कबाट कोरोना सर्छ भन्ने धेरैलाई थाहा छ । थाहा भएर पनि नेपालीहरु जापानमा त्यस्तै ठाउँमा काम गर्न बाध्य छन् । यहाँ रहर र कमाउने उदेश्यले काम गरिएको छैन । 

दैनिकी टार्न र पेट भर्नका लागि गरिएको छ । 'कोठामा बस्नु के खाएर बस्नु ? कसरी भाडा तिर्नु ? त्यसैले डरैडरमा भएपनि काम गर्न आएँ' सिन्जुकुको सेवेन ईलावेनमा काम गर्ने एक युवतिले भेटमा भनिन् ।

'पैसा भएन भने केही छैन यहाँ, विदेशमा आफ्नो कोही हुदैन' मनिलो मुख लगाउदै उनले थपीन् । उनको कुराले हो जस्तै लाग्यो उता आफ्नै देशमा त लकडाउन हुँदा कति मजदुर, गर्भवती र सुत्केरी भोकभोकै सयौं किलोमिटर हिडेको अनि बाटोमै सुत्नु परेको छ भने यो त परदेश हो । 

यहाँ कसले कसलाई चिन्छ र सहयोग गर्छ भन्ने अवस्था छैन किन भने सबै जना काम गर्ने खाने हुन भने त्यसमा पनि सबैको समस्या उस्तै छ ।

१ दिन होईन २ दिन होईन महिनौ बितीसक्यो न त यसको सिमा छ नत नियन्त्रणका लागि औषधी नै । २/४ पैसा राखेकाको पनि सक्किसक्यो । अर्का एक नेपालीले भेटमा बढ्दै गएको समस्या सुनाए ।

ईकेबुकुरोको फेमिली मार्टमा काम गर्ने महिला भन्छिन “श्रीमानले काम गर्ने रेष्टुरेन्ट बन्द भयो, मैले काम नगरेत गाँसै अड्किन्छ” ।

यो उनको मात्र समस्या होईन विशेषगरि दक्ष कामदारको रुपमा कुक पेशा अँगाल्दै आएका अधिकाशं नेपालीको साझा पिडा हो यो ।

जसका कारण जोखिम मोलेरै काम गर्न बाध्य छन् नेपालीहरु । यस्तै विपत र परिस्थितीलाई सम्बोधन गर्दै जापान सरकारले राहत घोषणा गरेको छ । प्रत्येक व्यक्तीलाई १ लाख जापानी एन दिने विषय । कम्पनी बन्द भई तत्काल काम गर्न नपाएका वर्किङ भिषा भएका व्यक्तीलाई आंशिक काम गर्न पाउने नीती पनि ल्याएको छ । यी सबै नीनी, नियम, प्याकेज, व्यक्तीको दैनिकी संग जोडिएका छन् ।

ठुला महल, पसल बन्दहुँदा अहिले सबैको विकल्प चाहेर वा नचाहेरपनि कोम्विनी नै बनेको छ । २४ सैं घण्टा सेवा दिने कोम्विनीहरु सेवेन ईलाभेन, फेमीली मार्ट, लोसन, न्युडेज जस्ता पसलहरुमा अहिले पनि मानिसको भिडभाड देखिन्छ ।

आँशिक खोलिने सुपाहरुमा पनि उत्तिकै घुईचो नै देखिन्छ । कामदारले दैनिक सयौं मानिसको आमनेसामने परेर काम गर्नु पर्ने बाध्यता छ भने खरिद कर्ताहरु पनि उत्तिकै जोखिममा छन् ।

त्यहाँ बिभिन्न थरीका मानिस आउछन् । चाहेरपनि सामाजिक दुरी कायम गर्न सकिंदैन । सानो ठाँउ धेरै मान्छे, २ ३ वटा लाईन हुन्छ । क्रेर्तालाई निस्किन हतार हुन्छ भने बिक्रेतालाई पठाउन ।

यस्तै प्रकिया प्रत्येक दिन चलिरहन्छ । धेरै मानिस संगको हेलमेलले गर्दा जोखिम झनै बढेको छ । 

 

सुरक्षित रहने उपाय 


संक्रमितको संङख्या बढेसंगै कोम्विनीहरुमा लगानीकर्ताले केही सतर्कता भने अपनाएका छन् ।

कामदार र उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरी अधिकांश कोम्विनीहरुले रेजीको अगाडी बाक्लो सेतो रंगको प्लास्टिक लगाएका छन् । यसले केही हदसम्म बोल्दा, हाछ्युँ गर्दा र खोक्दा उछिट्टिने छिटालाई रोक्न मद्त गर्छ । तर यत्तिकैमा ढुक्क हुने अवस्था भने देखिदैन् ।

दैनिक मास्कको प्रयोग गर्ने पटक-पटक अल्कोहल छर्कने, सेनिटाईजर प्रयोग गर्ने, तातो पानी पिउने, रसिलो र पोसिलो खानेकुरा खाने, शरीरको शुरक्षात्मक शक्ती बढाउने, योगा आशन गर्ने, शरीरलाई फुर्तिलो बनाउने, आत्मबल बढाउने, आवत जावत गर्दा,  ट्रेन चढ्दा संयम्मित भएर चढ्ने गर्यो भने पनि संक्रमणबाट बच्न सकिन्छ ।

यस संगै जापान सरकार, नेपाली राजदुताबास, यहाँ रहेका नेपाली मिडीया, एनआरएनए, बिभिन्न संघसस्थाले दिएको सुचना र जानकारी लियौं भनेपनि सुरक्षित रहन र संक्रमणबाट बच्न धेरैहदसम्म सहयोग पुर्याउने देखिन्छ ।

स्वदेश र परदेशमा हुनुको भिन्नता यही हो । त्यसैले जहाँ छौ सुरक्षित रहौं, बचेर काम गरौं । बाँचे भोली कमाउन सकिन्छ, संक्रमण सरे सहयोग गर्ने पाउन मुश्किल मात्र पर्दैन नजिकै आएर ढाडस दिंदै आत्मियता साटिदिनेको साथ पनी पाईंदैन ।

...

लेखिका : एबिसीटेलिभिजन जापान प्रतिनिधि हुन् ।