(Japan) 27 th June | 2026 | Saturday | 6:47:16 PM || (Nepal) 3:32:16 PM
 
 

जापानमा नेपालीहरु बिकराल समस्यामा फस्दै, टोकियो कोरोना संक्रमित नेपालीको भित्रि पाटो

  POSTED ON : Wednesday, 22 April, 2020 | Views : 21778

जापानमा नेपालीहरु बिकराल समस्यामा फस्दै, टोकियो कोरोना संक्रमित नेपालीको भित्रि पाटो


गोकर्ण अधिकारी-टोकियो, जापान ।

डर वा भय पैदा गरेर कसैलाई तर्साउनु वा अत्याउनु हाम्रो न उदेश्य छ त कुनै नियत नै । तर अधिकतम खराब अवस्थामा पनि सकुशल सुरक्षित रहन पूर्व तयारी गर्न हतार भईसकेको छ भन्ने बोध गराउने सन्दर्भ यहाँ गम्भिर ढंगले उठाउन खोजेका मात्र हौं ।

अमेरिका बेलायत सहित कयौं देशमा कोरोना भाईरसबाट संक्रमणसँगै कयौं नेपालीको निधन भईसकेको छ ।

करिव दुई हजारको संख्यामा बिदेशमा रहेका नेपाली कोभिड १९ को संक्रमण शिकार हुँदा प्रवासमा रहेका नेपालीको साझा समस्या एउटै देखिन थालेको छ । त्यो हो आर्थिक समस्या, उपचार प्रक्रियाबारे जानकारी नहुनु अनि समस्या बढ्दै जाँदा के खाने भन्ने सम्मको बिकराल अवस्था ।

अध्ययन वा रोजगारका लागि बिदेशमा रहेका नेपालीमा पर्ने आर्थिक समस्या जापानमा रहेका नेपालीको हकमा पनि एउटै हो । पढाई र आफ्ना लागि आफैंले आर्थिक जोहो गर्नुपर्ने त्यसमा स्वदेशमा परिवार र ऋणको भारी पनि भरथेग गर्नुपर्ने ।

कलेजको मासिक शुल्क थपिंदै जाने तर काम नपाउँदा कमाई नहुने । त्यसमाथि नेपालबाट आउँदा लिएको ऋणले थिच्दा कोरोना कहरमा जापानका नेपाली युवा विद्यार्थीहरु उकुशमुकुशमा पर्न थालेका छन् । जसको असर क्रमश स्वास्थ्य जोखिम मोलेर काम गर्नुपर्ने बाध्यात्मक अवस्थामा फस्दै जान थालेका छन् ।

फलत अन्य देशमा नेपालीहरुमा कोरोना संक्रमणको घटना बृद्धि भईरहँदा जापानमा सुरुवात हुन थालेको छ ।

जापानमा कामदार भिषामा रहेका नेपालीहरु मुलत दुई प्रकारका छन् । एउटा अध्ययन पश्चातको रोजगारी, दोस्रो दक्ष कामदारको रुपमा कुक पेशामा कामगर्दै आएकाहरु ।

अध्ययनपछि जापानी वा नेपाली कम्पनीमै छिरेका भएपनि यस्तो प्रक्रियाबाट काम गर्दै आएकाहरु औषतमा जापानको कोरोना मारमा परिसकेका देखिंदैनन् । यद्यपी उनिहरुको समस्या सुरुहुने क्रमभने सुरु भईसकेको छ ।

...

भर्खर कम्पनीको भिषा लगाएकाहरु काम नपाउने अवस्थामा पुगेका छन् भने कयौं कम्पनी बन्द हुने अवस्थामा पुग्दा रोजगार गुम्ने खतरा उत्तिकै छ । यसबाट न उनिहरुले कमाई गर्न पाउनेछन् न त रोजगारको बैकल्पिक व्यवस्था यो अवस्थामा खोज्न नै । अन्तत यस्ता क्षेत्रमा कार्यरत नेपालीहरु पनि जोखिम मोलेरै कम्पनी बाहिर कामगर्न बाध्य हुने अवस्था देखिंदैछ । जसले नेपाली समाजमा कोरोन संक्रमणको जोखिमलाई उच्च बनाईदिएको छ ।

दक्ष कामदारको रुपमा कुक पेशामा आवद्ध श्रमिकहरुको समस्या यहाँ झनै बिकराल देखिन्छ ।

जापानमा जापानी, भारतीय, बंगलादेशी, नेपाली लगायत अन्य केही एशियन देशका नागरिकले यिनै देशका खाना पाईने नेपाली, ईण्डियन, एशियन रेष्टुरेण्टहरु सञ्चालन गर्दै आएका छन् ।

जहाँ नेपाली कामदारहरुले पछिल्लो एकबर्ष यता औषतमा मासिक १५ मान तलब पाउने गरेका छन् । यसमा नामुद भनिने नेपाली, इण्डियन रेष्टुरेण्ट हुन् वा गल्लीहरुमा खारे रेष्टुरेण्टका बोर्ड झुण्ड्याएर रेण्टुरेण्ट चलाईरहेका समाजसेवीहरुनै । सबैले कामदारलाई दिन तलबमान र व्यवहार उस्तै छ देश फेरिएको तर भेष नफरिएको झल्को दिने ।

कागजमा १८ देखी २८ मान वा सोभन्दा बढी उल्लेख भएपनि वास्तविक रुपमा उनिहरुले पाउने गरेको भने १२ देखी १८ मान आसपासनै हो । भलै यसमा एकाध रेष्टुरेण्ट छन् जसले १८ मान तलबमान दिएका त छन् तर कागजमा सबै सेवा सुविधा दिएको बनाएर जापानको श्रम कानुनलाई थांग्नामा सुताईदिंदै आएका छन् ।

अनि यतिसम्म हर्कत गर्ने ति रेष्टुरेण्टमा काम गर्ने कर्मचारीको अवस्था यो कोरोना महामारीमा कस्तो होला ?


प्रशंग ईकेबुकुरोमा कोरोना संक्रमित नेपालीहरुको

एकसाता अघि ईकेबुकुरोमा एकजना नेपाली पुरुष कोरोना भाईरसबाट संक्रमित हुन पुगे । उनि थिए ईण्डियन खाना बेचिंदै आएको तीनवटा रेष्टुरेण्टका देवकोटा थरका नेपाली सञ्चालक ।

कोरोना भाईरस संक्रमण पछि उनि सहजै उपचारको लागि अस्पताल भर्ना भए । जसमा उनलाई जापानी महिला विवाह गरेका कारण तथा भाषा सहित आर्थिक पक्षले बलियो साथ दियो ।

तर सञ्चालक कोरोना भाईरस संक्रमित पुष्टिपछि रेष्टुरेण्टका कर्मचारीहरुमा परेको मार र भारभने बडो उदेकलाग्दो छ ।

करिव ३५ जना कर्मचारी रहेको उक्त रेष्टुरेण्टमा अर्का एक कर्मचारीमा हिजो मंगलबार कोरोना भाईरस संक्रमण पुष्टि भईसकेको छ ।

संक्रमण पुष्टिपछि पनि अस्पताल उपचारको लागि भर्ना हुन नसकेका नयाँ संक्रमित आफैं कोठामा बस्दै आएका छन् ।

आफुमा कोरोना संक्रमण जन्य लक्षण पाईएपछि आफ्ना परिवारका सदस्यलाई नजिकको व्यक्तिकोमा पठाएपनि उनिहरुमा संक्रमण सरे नसरेको भगवान भरोसाको विषय छ ।

स्वयं संक्रमित व्यक्तिलाई समेत अस्पताल भर्ना हुन जापानी निकायले अझै केही दिन कुर्न भनेको छ । यस्तोमा संक्रमित व्यक्तिमा संक्रमणको मात्रा धेरै भएको पाईंदा उनको स्वास्थ्य लाभको कामना बाहेक केही गर्न नसकिने नाजुक अवस्थामा हामी उभिएका छौं । यसमा गर्नसक्ने एउटा निकाय नेपाली राजदूतावासको त्यहाँसम्मको दुरदर्शिताको सक्रियता देख्न नपाईंदा यहाँका संघसंस्थाले त्यहाँसम्म गर्न भ्याउलान् भन्नु झनै टाढाको विषय भईहाल्यो ।

५ जना कर्मचारी कार्यरत एउटै रेष्टुरेण्टका एकजनामा संक्रमण पुष्टि भईसक्दा समेत अन्य कर्मचारीको सामान्य स्वास्थ्य परिक्षण अहिलेसम्म हुन सकेको छैन । यसअघिनै संक्रमण पुष्टि भएका रेष्टुरेण्टका सञ्चालक सबै रेष्टुरेण्टमा दैनिक जाने र सबै कर्मचारीसँग नजिक रहने गरेका कारण अन्य रेष्टुरेण्टका कर्मचारी उस्तै चपेटामा परेका छन् । भलै उनिहरुमा अहिलेसम्म कोरोना संक्रमणजन्य गम्भिर लक्षण देखिनसकेको कर्मचारीहरुले बताएका छन् ।

नाम मात्रको सेल्फ आईसोलेसनमा आफ्नै कोठामा त बसेका छन् तर परिवारका सदस्यहरु समेत साथमा रहेका कारण सबैनै संक्रमणको उच्च जोखिममा परेका छन् । यसमा न जापान सरकारले भनेको होटलमा सेल्फ आईसोलेसन बस्ने सुविधा कसैलाई थाहा छ, न थाहा हुने केही ब्रुजुक नेपाली समुदायले उनिहरुलाई सहयोग गर्ने त्यो तत्परता देखाउने ठूलो छाती बनाउने आँट गरेको छ ।

यसमा कसले के भूमिका खेल्न पर्थ्यो वा खेलेन भन्दा पनि हामी कहाँनेर चूकिरहेका छौं भन्ने विषय महत्वपूर्ण छ । किनभने यसले हामीलाई आगामी दिनमा अघि बढ्न मार्ग देखाउनसक्छ ।

एउटा कुरा के हो भने आगामी दिनमा यि र यस्ता घटना बढेर जाने निश्चित छ । जसबाट बच्न न रेष्टुरेण्टका मालिकको साथ त्यहाँ कामगर्ने कर्मचारीले पाउनेवाला छन् न जापान सरकारको निकायबाट नै ।

किनभने रेष्टुरेण्टका मालिकहरुले आफु बच्न र व्यापार बचाउन पहिलो प्राथमिकतामा राख्नेछन् भने जापानी निकायहरु पहिला आफ्नै नागरिकको उपचार प्राथमिकतामा लाग्नेछन् ।

जुन कुरा अहिले नेपाली संक्रमितले जापानी निकायबाट पाईरहेको उपचार प्रक्रियाबाट छर्लगं भईसकेको छ ।