(Japan) 27 th June | 2026 | Saturday | 6:40:11 PM || (Nepal) 3:25:11 PM
 
 

'कोरोना कहरले थल्याएको वर्ष र हेर्नै नपाई झरेका साकुरा'

  POSTED ON : Tuesday, 21 April, 2020 | Views : 4732

'कोरोना कहरले थल्याएको वर्ष र हेर्नै नपाई झरेका साकुरा'


वसन्त ऋतुसँगै जापानको मौसममा शितल आभास मात्र भित्रिंदैन यहाँको राष्ट्रिय फुल साकुरा फुलेर कोएन  (पार्क) नै सेताम्मे वनेको हुन्छ ।

अनेक वहानामा जापानमा वसोबास गर्दै आएका विदेशिहरू सहित जापानी नागरिकहरु मनोरन्जन तथा घुमफिरको लागि हरेक बर्ष यही मौसम कुरेर वसेका हुन्छन ।

उसो त जापानलाई विश्व भरका पर्यटकहरुले नै साकुराको देशको उपनामले चिन्ने गरेको छन् । करिव १ लाखको संख्यामा रहेका हामी नेपालीको लागी पनी साकुरा फुल्ने याम पहिलो रोजाईको समय पर्ने गर्छ ।

पारिवारिक घुमघाम होस् या साथिभाईहरु विचको भेटघाट नै किन नहोस, बारविक्यु (नेपाली बनभोज)सम्मको जमघटले साकुरा मौसम कुरेको हुन्छ ।

यसबर्ष त झनै जापानले आयोजना गरेको ओलम्पिक २०२० रोचक र विशेष हुनेवाला थियो । लाखौंको संख्यामा खेलाडी र दशौं लाखको संख्यामा विदेशी पाहुना भित्रयाएर आर्थिक फड्को मार्ने दाउमा रहेको जापानको लागि कोरोना भाईरस खाने वेलामा हुरी बतास सहित खानामा धुलो परेको जस्तो मात्र होईन थालै उडाए जस्तो हुन पुगेको छ ।

विदेशी आगन्तुक पाहुनाले खचा-खच देखिनु पर्ने सार्वजनिक स्थलहरु अहिले सुनसान प्राय छ ।

विश्वभरवाट दैनिक जसो सयौ उडानमा हजारौको संख्यामा आवतजावत गर्ने हवाई क्षेत्र करिव शुन्य प्राय छ । होटल र रेष्टुरेन्ट व्यवसायवाट फड्को मार्दै गरेको जापानको अर्थतन्र ओरालो लाग्न थालेको तथ्य पर्यटक आगमन ९३ प्रतिशत बढीले घटेको तथ्यांकले बोलिरहेको छ ।

विकास र प्रविधीमा मार्दै गएको फड्को सँगै पछिल्ला केही वर्ष यता जापानले कामदारको चरम अभाव भोग्दै आएको थियो । तर जापान कोरोना भाईरसवाट आर्थिक मन्दितर्फ लाग्दै गर्दा यहि अवस्था लम्बिएमा आफ्नै नागरीकको बेरोजगारी समस्या सँग जुध्नु पर्ने स्थिति आउने आंकलनहरु सुरु हुन थालेको पाईन्छ ।

अर्को तर्फ समय र महंगो धनराशी खर्चेर आफ्नो सुनौलो भविष्य निर्माणको पुर्व तयारीमा रातदिन खटिरहेका लाखौं विदेशी विद्यार्थीहरू कामका लागी कम्पनी नपाउने त हैन भन्ने चिन्ता र पिरलोमा पुगेका छन ।

हुन त यो समस्यामा जापान मात्र पिरोलिएको भने होईन । महाशक्ती राष्ट्रहरु देखी युरोपीयन र खाडि मुलुकहरु हुदै सम्पूर्ण विश्वनै एक साथ चपेटामा धकेलिईरहेको छ ।

अझै सरल शब्दमा भन्ने हो भने हालसम्म अमेरिका, बेलायत, ईटाली, फ्रान्स, स्पेन, चिन आदि देशको मानवीय क्षतीको तुलनामा जापान सुरक्षित नै देखिन्छ ।

तथापी पछिल्लो समय बृद्धिहुँदै गईरहेको संक्रमित संख्याको बढोत्तरीले ढुक्क हुनसक्ने अवस्था देखिएको छैन । मात्र आशा गर्नुपरेको छ कि छिट्टै विश्वले कोरोना भाईरस विरूद्धको लडाईमा सकारात्मक जितको वाजी मार्ने छ र हामी सबैको सपना पुरानै लयमा अगाडी वढ्ने छ ।

अनि कोरोना कहरले यसबर्ष थलिएको जापान जाग्नेछ र हेर्नै नपाई ओईलाएर झरेका साकुरा फेरी अर्को बसन्त ऋतुमा अँकुराउनेछन् । एउटा महाउत्सव ओलम्पिकको भव्य स्वागतको लागी ।

-प्रकाश पन्त 'प्रतिरोध'