(Japan) 26 th August | 2026 | Wednesday | 5:21:21 PM || (Nepal) 2:06:21 PM
 
 


“न मलामी, न अन्तीम संस्कार”

  POSTED ON : Sunday, 12 April, 2020 | Views : 5810

“न मलामी, न अन्तीम संस्कार”


     मृत्यु आफैँमा दुखद हो, तर मृत्यु पश्चात पनि समय यति क्रुर बन्नेछ भन्ने कल्पना मानव त के भगवान संग पनि थिएन होला !

कोविड-१९ ले सबैभन्दा बढी पिडा र चित्कार तिनै देशमा थपीरहेको छ, जुन देशमा विज्ञान र प्रविधिको चरम विकास र प्रयोग भएको छ । चिकित्सा विज्ञानको विकाशले यसलाई रोक्न सकेन भन्ने मेरो आशय होईन, यही महामारी आज भन्दा ५० वर्ष पहिले भएको भए सायद यसको क्षतिको लेखाजोखा असामान्य हुन्थ्यो होला ।

वर्तमान समय, विज्ञान,प्रविधि र सुचनाको चरम विकास अनी शिक्षा-स्वास्थ्यमा मान्छेको पहुँचले गर्दा औषधी नभए पनि हावा सरी फैलीईरहेको यो भाईरसबाट मान्छेहरू स्वयं आफैँले-आफूलाई बचाईरहेको छन् । कतिपय देशहरूले यो भाईरस माथी खेलवाड र हेलचक्राई गर्दा उनीहरूको अहिलेको अवस्था नाजुक बनिरहेको छ र ठुलो जन-धनको क्षति बेहोर्नुपरेको आँखै आगाढी प्रष्ट छ ।

परदेशमा रहेको नेपाली समुदाय पनि यो महामारी बाट अछुत रहन सकेको छैन। पछिल्लो समय वेलायत र अमेरीकामा रहेको नेपाली समुदायमा कोरोना भाईरसले ठुलो क्षति पुर्याएको छ। विभिन्न अनलाईन र संवन्धीत देशका नेपाली सोसाइटी मार्फत प्राप्त जानाकारी अनुसार करिब ६०० भन्दा बढी नेपालीमा संक्रमण देखीएको छ भने वेलायतमा ८, अमेरीकामा ५ र युएईमा १ गरी १४ जना नेपालीको कोरोना भाईरसको कारण दुखद निधन भएको छ।

       केही दिन पहिले कोविड १९ को कारण मेरा गाउँले काकाको वेलायतमा दुखद निधन भयो।मैले वेलायतमा रहनुभएका दाईलाई सोधे, दाई कस्तो छ अवस्था? गाउँले काकाको निधनको खबरले दुखीत बनायो भने । दाईको प्रतिक्रिया थियो: यस्तो अवस्था आयो भाई, गाउँले काकाको निधन भएको छ न मलामी जान सकिन्छ, न अन्तीम संस्कारमा, न परिवारलाई भेट्न नै जान सकिन्छ । केवल घर भित्र बस, आफू बच र समाजलाई बचाऊ भन्ने मुल सिद्धान्त बाहेक अर्को कुनै विकल्प नरहेको दाईको ठहर थियो! म मौन सुनीरहे, मन-मनै काकाको आत्माको चिर शान्तिको कामना गरे र फोन राखिदिए ।

      हामीले सधै कहिरहने एउटा उखान छ “जिउदाको जन्ती-मर्दाको मलामी” खैर आज यस्तो अप्रिय मृत्यु आयो हाम्रो सामुन्ने न मलामी बन्न सकिन्छ न सान्त्वनाका शब्दहरू लिएर घरसम्म पुग्न। यो विवशता परदेशमा खड्कीरहेको छ आज । मनको मान्छे बिरामी हुँदासम्म अस्पतालको शैय्यामा भेट्न जान सकिदैन् ।

कसैले मृत्यु भन्दा माथी प्रेम रोपेरे भेट्न जाने चाहाना राख्छ भने पनि अस्पतालले त्यो प्रेमलाई ईन्कार गरिदिन्छ । आफ्नो प्रिय मान्छेको अन्तीम संस्कार कहाँ भईरहेछ, कसरी भईरहेछ, कसले गरीरहेछ भन्ने सम्म थाहा हुदैन आईशुलेसनमा रहेका परिवारलाई ।

केवल खबर हुन्छ त अन्त्येष्टि गरियो । हे ईश्वर मृत्यु दुखद हो थाहा छ, अन्तीम विदाई अप्रिय हुन्छ थाहा छ तर बाच्नेहरूको लागि जिन्दगीभरलाई चित्कारका आँशुहरू थमाएर, रहर र ईच्छाहरू माथी बज्रपात गर्ने यी मृत्युहरू बन्द गरिदेऊ र हामीलाई थमाईदेऊ पुरानै मृत्यु ।।

...

:-(कोविड १९ को कारण दिवंगत आत्माहरूको चिर शान्तिको कामना साथै संक्रमित सबै-सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु)


-दीप पाठक

टोक्यो जापान