म एक नेपाली! बिश्वको जनसंख्यामा कुनै औचित्य नराख्ने संख्या तर मनुष्य हु, यो धर्ती मेरो पनि घर हो। म नेपाल सरकारले लागु गर्ने लकडाउन अबधिभर घर भित्र आफ्नो परिवार बाहेक कोहि सँग सम्पर्कमा नआएर बसिरहेको छु।
मोटो हुन्छु, गोरो हुन्छु, दारी आउला, कपाल बढला तर बिरामी हुँदिन र अरुलाई पनि बिरामी हुन बाट जोगाउने प्रयास गर्छु। यो मेरो पारिवारिक, सामाजिक र अहिलेको राष्ट्रिय जिम्मेवारी हो।
म जुन देशमा जन्मिएको छु, न हामी यहाँ आणविक परिक्षण गर्छौं, न भाइरस परिक्षण गर्छौ, न त ठूलो मात्रामा पर्यावरणलाई क्षति पुग्ने किसिमको रासायनिक पदार्थको उत्पादन र प्रयोग। न त हामी कहाँ ठुला-ठुला उधोग कलकारखाना छन, न त पदूषण गर्ने अन्य उपाय। बिश्व एउटा गाउँ हो भनेको सुनेको छु।
यो कस्तो गाउँ हो जहाँ मैले शान्तिले सफा सास फेर्न पाएको छैन, शान्तिले बाच्न पाएको छैन । भ्रमण गर्न चाहिँ यहाँ देशहरुको भिसा चाहिने तर यहाँहरुले आविस्कार गर्नु भएको रोग, डर, त्रास बिना भिसा हामी कहाँ पठाउँदा हामी खपेर बस्नु पर्ने? यसको जिम्मेवार को हो? किन हामी शान्तिले बस्न नपाउने?
आफ्नो सभ्यता, संस्कृति त्यागेर गाउँ गाउँमा बिदेशी सोच कस्ले ल्यायो? पुरानो सभ्यता छोडेर जुत्ता लगाएर खाना खान कस्ले सिकायो? हाम्रो देशमा निर्मित सुतिको बस्त्र छोडेर चिप्पिक टाँसिएको लुगा लगाउन कस्ले सिकायो? तामाको भाँडा छोडेर मेलामाइनको भाँडामा खान कस्ले सिकायो? नमस्कार छोडेर हात मिलाउन कस्ले सिकायो?
परम्पराकाल देखि चलेर आएको क्रियाको वास्तविकता नबुझी कस्ले हटायो? लास जलाउने जस्तो बैज्ञानिक बिधि छोडेर गाड्न कस्ले सिकायो? यी त केही उदाहरण मात्र हुन। नेपालीले यि कुराहरु बुझ्न् सकेनन। समग्र बिश्वले हामीलाई बुझ्यो र डरायो।
मनुष्यको जीवन आज रोकिएको छ। तर धर्ती मनुष्यको मात्र होईन सम्पुर्ण परजातीको हो। तसर्थ जीवन रोकिएको छैन, मुस्कुराउँदै फुल्दैछ। हामीले आफ्नो जीवनमा सरलता ल्यायौँ भने जीवन फेरि मुस्कुराउँछ।
हालको लागि घर-घरमा बसौं, अनुशासित भएर हात धुने र सरसफाइमा ध्यान दिउँ। जब माहामारी टर्छ, जीवनशैलीमा सरलता ल्याउँ। नेपालमा बनेको, नेपालको उत्पादनलाई प्रोत्साहन गरौं। करेसावारिमा आत्मनिर्भरताको बिउ रोपौ।
फजुल खर्च कटौती गरौं र सबैले आफू भन्दा कमजोरलाई सक्ने सहयोग गर्ने जीवनशैलीको सुरुवात गरौं। कि सम्पुर्ण मनुष्य सुरक्षित हुन्छ, कि सम्पुर्णको बिनास भन्ने कुरा आज कोरोनाले प्रमाणित गरेको छ । मेरो घर, मेरो परिवार भन्ने परम्पराको अन्त होस र हाम्रो समाज हाम्रो देश भन्ने शब्दको प्रयोग बढोस्।
मनुष्यको घमण्डले यो धर्ती केवल आफ्नो मात्र घर भन्ने गल्ती गर्यो। आज रोग र माहामारीले हामी पनि केवल एक तुच्छ प्राणी मात्र हौं भन्ने प्रमाणित गरिदिएको छ। यो धर्तीको सन्तुलन बिगारेको मनुष्यले हो। लोभ, बिकास र आधुनिक जीवनको खोजले बिनाश निम्त्याएको छ।
जङ्गल काटेर घर-घरमा बाटो पुर्याउनु, नदिनालाको बालुवा र ढुङ्गामा नोट देख्नु, हातमा माटो लाग्ला भन्ने पीर गर्नु, आफ्नो बारीको उत्पादनको प्रयोग छोडेर प्याकेज खानामा रमाउनु जस्ता गल्तीहरु प्रति सचेत बनौं। लाखौ रुख काटेर एयरपोर्टको औचित्यको बारेमा सोचौं।
बिना स्वास्थ परिक्षण कुनै बिदेशीलाई पर्यटनको नाममा भित्र्याउने बारेमा सोचौं, शहर झलमल गर्ने र चिल्लो सडक भन्दा ग्रामिण स्वास्थ्य संस्थाका बारेमा सोचौं, अनलाईन भन्दा ओनग्राउन्ड बिकासको बारेमा सोचौं। मनुष्यले यो युद्ध जित्छ तर यो गल्तीबाट बिश्वले ज्ञान नलिए फेरि दोहोरिँदैन भन्न सकिने अवस्था छैन।
यो सबै धनका लोभी बस्ने समाज हो जुन मेरो सामाजिक यात्रामा धेरै अनुभव गरेको छु। आज कोरोनाले ल्याएको जीवन र मरणको अनिश्चितता र पैसाले उपचार नपाउने सबैभन्दा ठुलो डरले हामी सबैलाई एउटै सतहमा ल्याएको छ ।
कति धेरै गुनासो थिए हाम्रा मनमा? अहिले कोरोना मात्र जाओस्, म यो गर्छु, त्यो गर्छु, भन्ने भावनाहरु मस्तिष्कमा होलान्। भुकम्पमा नक्कली पीडितको लर्को देख्दा मेरो भित्री हृदय रोएको थियो। ठुला-ठुला महल भएकाहरुले पनि रातो किताबलाई आफ्नो सामाजिक प्रतिस्ठाको रुपमा देखे।
आज सरकारले, राजनीति दलले, संघसंगठनले केही गरेन भन्ने सुन्छु। भ्रस्टाचारको हामी ठुला-ठुला परिभाषा गर्छौ। जग्गा जमिन बेच्दा कर छल्ने, मालपोत मिलाउने, ब्यापारमा कर छल्ने, बिल बढाएर भुक्तानी लिने, पद दुरुपयोग गरेर घुस लिने, प्रकोपमा कालाबजारी गर्ने, फाइदाको लागि नक्कली औषधी बेच्ने लगायत लाखौं कुकर्म हामी गर्छौं। कमाएको, लुटेको धन काम नलाग्ने होला भनेर कहिल्यै सोच्न नसक्ने हाम्रो घमण्ड हल्लाउँदै अहिले कोरोना आएकोछ।
मरिन्छ कि भन्ने पीर मनुष्यमा हुनु स्वभाभिक हो र कुकर्म गर्नेमा अझै बढी हुनु पनि स्वभाभिक हो। अब त पैसा छ कस्ले के गर्न सक्छ मलाइ?, यो देशको कानुनले छुन सक्दैन, चुनाव त म जितेर आइहाल्छु, छोराछोरीलाई बिश्वमा जहाँ जान पनि कस्ले रोक्ने?, भन्नेहरु पनि अहिले डराएर बसेका छन।
लुट भन्दा पहिलेको हिँडाइ संझनुस त; त्यो सरल खाना, त्यि कहिलेकाँही मात्र आउने पाहुना, त्यो सरल लुगा, त्यो रातीको अचेत निद्रा, त्यो सामाजिक सक्कली इज्जत, त्यो पारिवारिक एकता र प्रेम। अहिले समय आएको छ अब आफूले गरेको कुकर्मको पश्चताप गर्ने र यो माहामारीबाट जिवीत रहे सुधार हुने हृदय संकल्प गर्ने। मनको शान्तिका लागी अचुक औषधि भनेको एक्लो समय बिताउनु नै हो।
अन्तमा, कोरोनाले नेपाल र नेपालीको केही बिगार नगरोस् तर हरेक ब्यक्तीलाई लोभमुक्त र इमानदारिता सिकाएर जाओस । श्री पशुपतिनाथले सबैको रक्षा गरून्। मेरो लेखाइले कसैको मन दुख्यो भने आफू परिवर्तन हुनुहोला म क्षमापार्थी छैन।
(लेखक दिबस खनिया सामाजिक अभियन्ता, लाईफ कोच साथै टेलिभिजन प्रस्तोता हुन ।)