(Japan) 26 th August | 2026 | Wednesday | 5:21:49 PM || (Nepal) 2:06:49 PM
 
 


आफैं जोगिऔं-आपतकालपछि पनि जापानको अवस्था २० को १९ नहुने आशंका ! -हिमाल लामा

  POSTED ON : Tuesday, 07 April, 2020 | Views : 10716

आफैं जोगिऔं-आपतकालपछि पनि जापानको अवस्था २० को १९ नहुने आशंका ! -हिमाल लामा


जापानमा「緊急事態宣言」आपतकालीन अवस्थाको घोषणा सँगै सार्वजनिक यातायात तथा मानिसहरू जमघट हुने अन्य विविध क्षेत्रहरूको पूर्ण बन्द नहुनुले समस्या समाधान नुहने देखिएको छ ।

बाध्यात्मक परिस्थिति बाहेक सबैजना आआफ्नो नियमित काममा लाग्ने हुनाले भोलिको अवस्था डरलाग्दो हुने देखिन्छ ।

अहिलेको विकराल परिस्थितिमा विकसित देशहरूमा फैलिरहेको कोरोना महामारिको अवस्थाले विकसित भन्दा कम विकसित देशहरू बढी सुरक्षित रहेको संक्रमितहरुको तथ्यांकले देखाएको छ ।

यद्यपि यतिखेर भूगोलका कुनै पनि देश र समुदाय यो महामारीबाट चोखो हुने अवस्था छैन । आज विश्व आक्रान्त पारिरहेको बेला सुर्योदयको देश जापान अर्थात् तपाईं हाम्रै कर्म भूमि पनि अछुतो छैन् र  रहेन पनि ।

दिनानुदिन कोरोनाबाट संक्रमित बिरामीहरू बढिरहेको परिप्रेक्ष्यमा जापान सरकारले मगंलबार अर्थात् आजै बेलुकी आपतकालीन अवस्था लागूको घोषणा गर्दैछ ।

बाहिर समाचारमा आइरहेको तथ्यलाई विश्लेषण गर्दै सुरु हुन लागिरहेको आपतकालीन अवस्थाको प्रभावकारिताको बारेमा सर्वत्र चर्चा भईरहेको छ ।

ब्रह्माण्डका धेरै देशहरू यतिखेर लक डाउन गरी आफ्नो देशको नागरिक बचाउन भएभरको सबै स्रोत, साधन र शक्तिहरू प्रयोग गरिरहेका छन् ।

तर जापान कानुन त व्यवस्था नभएकोले लक डाउन सम्म जाने मनस्थितिमा नदेखिएको आपतकाल घोषणाको प्रकृतिले पुष्टि गरेको छ ।


आपतकालीन अवस्थामा पनि लागू गरिएका ठाउँमा निम्नलिखित कुराहरु गर्न मिल्ने जापानी निकायहरुले विवरणहरु प्रकाशित गरेको पाईन्छ

१. यस आपतकालको अवस्थामा अन्य देशमा जस्तो लकडाउन भई हिडडुल नै बन्द हुने छैन । 

२. सरकारले सबैलाई घरमै बस्न अनुरोध गर्नेछ तर दैनिक आवश्यक  पर्ने अत्यावश्यक सामाग्रीहरुको खरीद गर्न सकिनेछ ।

३. सम्पूर्ण शैक्षिक संस्थानहरू बन्द रहनेछन् । 

४. सम्पूर्ण निजी व्यवसायहरु बन्द गर्न अनुरोध गरिने छ तर अनिवार्य भने हुने छैन । उदाहरणको लागि नेपाली रेस्टुरेन्टहरुको हकमा अनिवार्य बन्द भने गर्नु पर्ने छैन । बेलायत र फ्रान्स सरकारले लागु गरे जस्तो नियम पालना नगर्नेलाई कारवाही हुने अवस्था रहनेछैन  । 

५. सार्वजनिक सवारी साधन जस्तै रेल, बस, ट्याक्सी र निजी सवारी साधन सुचारु रहनेछन् ।

६. खाद्य सामाग्रीहरु र औषधीहरु बिक्री गर्ने पसलहरु खुल्ला रहनेछन्।

७. टोक्यो महानगरपालीकाले स्पेशल कल सेन्टरको व्यवस्था गर्नेछ । 

जसले आपतकाल सम्बन्धि आवश्यक जानकारी तथा सूचना दिनेछ ।

जापानमा यतिखेर कोरोना भाइरस तेस्रो अवस्थामा फैलिरहेको छ । अझ भन्ने हो भने सरकारको नियन्त्रण बाहिर गइसकेको बुझ्न सकिन्छ ।

यो प्रकोप एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुनाले व्यक्ति व्यक्ति बीचको सम्बन्ध जबर्जस्त टुटाउनु अत्यावश्यक रहेको स्वयं विज्ञहरुले बताईसकेका छन् ।

त्यसको एउटै विकल्प सवारी साधनमा रोक लगाउनु पनि हो । तर जापानले गरेको यस किसिमको आपतकालीन घोषणाले आम सर्वसाधारण जनताको  दैनिकीमा परिवर्तन हुने अवस्था देखिँदैन ।

विश्वका जतिसुकै विकसित र धनी कहलिएका देश भनिएता पनि मानव स्वभाव र प्रकृति एउटै हुन् ।

यहाँ भन्न खोजिएको के हो भने, जब सम्म बाध्यात्मक परिस्थिति कसैलाई पर्दैन तबसम्म कोही पनि घर भित्र बस्न सहर्स राजी हुँदैन् ।

यहाँ सार्वजनिक ट्रेन चल्ने छन्, भाडाका गाडी, कार चल्नेछन्, निजी सवारी साधन चल्ने छन् । अनि व्यक्ति व्यक्तिको निकटता हुने गतिविधि सबै खुल्ला भएपछि संक्रमण नियन्त्रणमा आउँछ चाहिँ कसरी ? त्यसैले यो अवस्थामा भेटघाट, जमघट र अन्य प्रत्यक्ष निकटताबाट टाढा हुने स्वविवेकी कदम चाल्नुनै अहिलेको लागि सजक र सुरक्षित रहने विकल्प हो ।

यो अवस्था आज भन्दा भोलि भोलि भन्दा पर्सी नाजुक हुँदै जाने भय जापानी नागरिकहरुले समेत व्यक्त गरिरहेका छन् । सबै जनाले आफ्नो ख्याल गरौं । ट्रेनमा यात्रा सकेसम्म नगरौं, गर्नु नै पर्ने अवस्थामा हातमा पञ्जा लगाई समात्ते ठाउँ वा स्टिलका डण्डीहरु नसमाऔं । 

शंक लागेको व्यक्तिको वरिपरि नपरौं । ट्रेनमा यात्रा गर्दा मोबाइल नचलाऔ ।

ट्रेनबाट झरेर हात धोएर मात्र कुनैपनि सामान प्रयोग गरौं । अनुहार, आँदा आदिमा छोऔं ।

माक्स अनिवार्य सही ढंगले प्रयोग गरौ । भाईरस अवे भन्ने जस्ता रोकथामका उपयोगी वस्तुहरूको प्रयोग गरौं ।

सुपर मार्केट अन्य पसलहरुमा जाँदा पनि सकेसम्म सोसियल डिस्ट्याण्टको नियम अनिवार्य पालना गरौं ।

अत्यावश्यक अवस्था बाहेक साथीभाईहरुसँग टाढा नै रहनु यतिखेर उपयुक्त रहन्छ । सोसियल मिडियाको भरपूर प्रयोग गरौं तर सकारात्क विषय अनि आधिकारित जानकारी दिने विषयहरु मात्र पढ्ने, हेर्ने र सुन्ने बानी बसालौं ।

हामी परदेशमा हुने भएकोले नेपालमा लक डाउन भएकोले परिवारको सदस्यहरूसँग समय बिताउने गरौं । साथीभाइसँग अनलाइन मार्फत कुरा गरौं । सकारत्मक कुराहरु एकअर्कामा साटाासाट गरौं । यस्तो बेला रचनात्मक कामहरू गरौं ।  अन्त्यमा आफू बचौं, परिवारलाई बचाऊ र समुदायलाई स्वस्थ राखौँ । किनभने स्वास्थ्य नै धन हो ।