(Japan) 26 th August | 2026 | Wednesday | 5:20:41 PM || (Nepal) 2:05:41 PM
 
 


काठमाडौं बसेर राजदूत राणा भन्छिन् : ‘हाइ लेभल’मा सबै जानकार छन् अरूले के भन्छ मतलब राख्ने कुरा भएन

  POSTED ON : Sunday, 05 April, 2020 | Views : 6590

काठमाडौं बसेर राजदूत राणा भन्छिन् : ‘हाइ लेभल’मा सबै जानकार छन् अरूले के भन्छ मतलब राख्ने कुरा भएन


काठमाडौँ, नेपाल ।

जापानको टोकियोस्थित नेपाली नियोगकी राजदूत प्रतिभा राणा दुई महिनादेखि काठमाडौंमा छिन् । जापानमा कोरोना संक्रमण देखिएको एक महिनापछि गत फेब्रुअरी ९ मा उनी काठमाडौं आएकी हुन् ।

राणा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटामा २०१७ जुनमा राजदूत बनेकी थिइन् । पछिल्लो तथ्यांकअनुसार झन्डै ३ हजार ४ सय जापानी नागरिक कोरोनाबाट संक्रमित छन् । ८० भन्दा बढीको निधन भइसकेको छ ।

केयर गिभरका रूपमा कार्यरत एक नेपाली युवती पनि संक्रमणमा परेर उपचाररत छिन् । जापानमा श्रमिक, विद्यार्थी, व्यवसायी गरी झन्डै ९० हजार नेपाली छन् । संकटको घडीमा ती सबैको अभिभावक बन्नुपर्ने राणा आफैं अहिले टोकियोमा छैनन् ।

यसबारे उनीसँगको कुराकानी : 


परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा रहेका नेपालीको निगरानी गर्न दूतावासलाई निर्देशन दिइएको भन्नुभएको छ। तपाईं भने झन्डै दुई महिनादेखि काठमाडौंमै हुनुहुन्छ नि?

के म चरा हो र उडेर जाऊँ? सबैतिर बन्द छ, प्लेन उडिरहेको छैन। यस बेला नकारात्मक मात्रै बनिरहने? मैले यहाँ प्रधानमन्त्री, मन्त्री, सचिव सबैलाई आफ्ना बारे जानकारी गराएकी छु। अब तपाईं नै भन्नुस्, के म हिँडेर टोकियो जाऊँ? अहिले कोरोनाको सन्त्रासमाझ अन्तर्राष्ट्रिय हवाई उडान पनि छैन। सबैजसो देश ‘लकडाउन’ अवस्थामा छन्। यो अवस्था बुझ्नुपर्‍यो नि।

सन् २०११ मा जापानमा विनाशकारी भूकम्प र सुनामी आउँदा टोकियोको नेपाली दूतावास हजारौं नेपालीको सेवा–सुरक्षाप्रति सचेत नभई रातारात ओसाका ‘सिफ्ट’ भएझैं तपाईं यो संकटको घडीमा उनीहरूको साथ हुनुहुन्न। यही भएर बुझ्न चाहेको हुँ।

विगतमा के भएको थियो, त्यतातिर म जान चाहन्नँ। तर त्यहाँका नेपाली त्यो घटनाबाट आक्रोशित रहेको मैले थाहा पाएँ। टोकियोमा राजदूत भएर गएपछि बितेको ३३ महिनामा मैले जतिको काम अरूले गर्न सकेको छैन। यो दाबी गरेरै भन्न सक्छु।

अहिलेको अवस्थामा जापानस्थित नेपालीको गुनासो, कोरोना संक्रमणको सन्त्रासबारे मलाई राम्ररी थाहा छ। मैले दूतावासमा हटलाइन पनि राखिदिएकी छु। जापान सरकारसाग पनि नियमित सम्पर्कमा छु। टोकियोमै महामारी बढ्ने आशंकाको स्थिति छ। म सबै तहमा नियमित सम्पर्कमा छु।


आफ्नो पालामा जत्तिको काम अरूको पालामा भएकै थिएन भन्नुभयो। यसबारे केही जानकारी मिल्थ्यो कि?

हेर्नुहोस्, मेरै पालामा नेपालबाट सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको जापान भ्रमण सम्पन्न भयो। राष्ट्रपतिज्यूको जापानी प्रधानमन्त्रीसँगको १५/२० मिनेट लामो भेटवार्ता, टोकियोमै भारतीय समकक्षी रामनाथ कोबिदज्यूसँगको भेटवार्ता सामान्य कुरा थिएन। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीज्यूको पनि टोकियो आवतजावत भयो। पर्यटन प्रवर्धनका काममा पर्यटनमन्त्री पनि आउनुभयो। अरू मन्त्रीज्यूहरू पनि आवतजावतमा रहनुभयो। प्रधानमन्त्रीज्यूलाई पनि भ्रमणको निम्तो आएको छ।

मेरै पालामा रोजगारीका क्षेत्रमा १४ वटा सेक्टरमा कामदार पठाउने सहमति बनेको छ। यो सपनामा पनि देख्न नसकिने कुरा हो। जापानका लागि कुनै सार्क मुलुक यत्तिको प्राथमिकतामा छैनन्। यो मेरै जोडबलले भएको हो। कालोसूचीमा रहेको नेपाल वायुसेवालाई फुकुवा गराएर जापान उडानमा लैजाने म नै हो। १२/१४ वर्षपछि नेपाल वायुसेवा जापान पुगेको हो। त्यो काम अरू कसले गर्‍यो र? तर, कोरोनाका कारण धेरै कुरा उथलपुथल भएको अवस्था छ। फेरि नेपाल सरकारले पनि तुरुन्तै तयारी जुटाउन सकेन।

काठमाडौंबाट शनिबार मात्रै कतार, जर्मनी, फ्रान्ससहित मुलुकका लागि चार्टर्ड फ्लाइट गएका थिए। इच्छा भए यस्तै प्रबन्ध गरेर जान सकिन्थ्यो होला नि?

म प्रयासरत छु। जापानकै लागि पनि चार्टर्ड फ्लाइट सम्भव हुन्छ कि भनेर विभिन्न तहमा प्रयास भइरहेको छ। तर, अरू देशले गरेको चार्टर्डमा जाने कुरा आएन। अरूतिर कुरा भइरहेकै छ। जापान जान हङकङ, बैंकक, क्वालालम्पुर, दोहा सबै ‘ट्रान्जिट’ रोकिएका छन्।

दोहाबाट केही उडान जापान गइरहेकै देखिन्छन् त?

त्यसो होइन। अरूको चार्टर्डमा म कसरी जाने? फेरि दोहा गएर साइकल वा बसमा टोकियो जाने हो र? म सबै स्थितिप्रति जानकार छु। इच्छाले रोकिएर यहाँ बसेकी होइन। मेरो अहिलेको काठमाडौं बसाइबारे ‘हाइ लेभल’मा सबै जानकार हुनुहुन्छ। अरू सबै तह–तप्काले के भन्छ, मैले मतलब राख्ने कुरा भएन।

...

देवेन्द्र भट्टराईले कान्तिपुर दैनिककालागि लिनुभएको अन्तर्बार्ता सभार गरिएको हो ।