यो जगतमा समयको अन्तरालसंगै प्राकृतिक विपत्ति र महामारीको सामना पृथ्वीका सबै जीवित प्राणीहरूले गर्नु नै परिरहन्छ ।
यी अलौकिक विपत्ति र महामारीहरू मान्छेको कल्पना भन्दा बाहिर छन् तर विश्व मानव सभ्यतामा यस्ता विपत्तिहरूले विचलन ल्याईनै रहन्छन् जो सहनै पर्छ ।
सायद संसारमा सबैभन्दा बढी बोलीएको र सबैभन्दा बढी मान्छेले सुनेको पछिल्लो कुनै शब्द र त्यसको उच्चारण छ भने त्यो ‘कोरोना’ नै होला !
कोरोना भाइरसको विगविगि संगै यो लेखकको मनमा केही भावनाहरू पनि उद्धेलीत भएका छन् ।
भनिन्छ भावनामा बग्नु राम्रो होईन, त्यसको अलावा यो कठिन समय छ र यसको सामना गर्नु उचित हुन्छ ।
खैर परदेशबाट यसको सामना गर्नु सजिलो रहेनछ । जीवनमा पहिलो पटक साच्चीकै बन्दी बनेको अनुभुती गरेको छ मनले ।
हुनत परदेश पस्ने हामी सबैजना बन्दी जस्तै जिन्दगी विताईरहेका हुन्छौ बाकी समय पनि । किनकी चाहेको समय आफ्नो परिवार र घरदेशसंग देख-भेट गर्न नपाउनु पनि त एउटा बन्दी जीन्दगी नै हो ।
गुँड छाडेको चरी साँझ घर फर्कीन्छ तर देश छोडेको परदेशी पुनः घर फर्कीन बर्षौ लाग्छ । त्यसैले परदेशी जिन्दगीलाई बन्दी भनेको हुँ मैले ।
यसपाली त झनै मन अमिलो हुनुमा कोवीड-१९ को प्रमुख दोष छ । समयले हामीलाई साच्चीकै बन्दी बनाईदिएको छ ।
मलाई भुर्र उडेर घर जान मन लागेको छ । परिवारसंगै बस्न मन लागेको छ । विपदको वेला साहारा वन्न मन लागेको छ, तर चारैतीर पर्खाल लगाइए जस्तैगरी बन्द छन् नाकाहरू । ठप्प छन् यात्राहरू, चल्दै गरेको घडी ठप्प रोकीए जस्तै गरी रोकीएको छ सबै चिज ।
सरकारलाई दोष कत्ती पनि छैन्, बरू आभारका शब्द चढाउन मन छ । दोष त केवल आफु बाँचेको समय र जीन्दगीलाई छ । जो कहिल्यै, न खुसीमा परिवारको साथमा हुन सक्यो न दुखमा ।
खुसीमा टाढै भएपनी मान्ने मन, संझीने मन, दुखमा नमान्ने रहेछ । त्यसैले त भनीएको रहेछ आफ्नै मनलाई संझाउन गार्हो ।
फैलाउनेहरूले हल्ला यसरी फैलाईदिए की -'काठमाडौमा मान्छे मरीरहेछन्, विदेशमा मान्छे मरिरहेछन्, रातभर जहाजले औषधी फाल्छ, विदेशमा हुने अव फर्किन सक्दैनन् ।'
नाती-नातीना लिएर बसीरहेका मेरा बा-आमा पनि रून थाले 'बावु यस्तो के भयो, महामारी फैलीएकै हो ?'
संसार अहिले यसकै पिरलोमा छ तर नेपालमा फैलाईएको हल्ला सत्य होईन, यो हल्लै-हल्लाको देश हो आमा । त्यसरी पनि नआत्तीनु होला तर भाईरसबाट बच्न सबै सावधानी चाही अपनाउनु होला ।
सहर बसेर नाती-नातीना पढाईरहेका मेरा बा-आमालाई पनि मैले यो अनुरोध चाही गरेकी बरू बावु-नानी लिएर गाउँ जानुस, जन्मघर जानुस अन्तत मनले सबैभन्दा सुरक्षीत र आनन्द अनुभूति गर्ने ठाउँ त्यहीनै रहेछ ।
मलाई पनि घर आउन खुव रहर थियो, तर यसपाली बाटो खुला पनि छैन, हिड्न उपयुक्त समय पनि होईन ।
विपदको आयु लामो पक्कै हुने छैन्, केही समय पछी पुरानै लयमा हिड्ने छ संसार अनी हामी फर्कीने छौ आमा । दुखमा होस या सुखमा आखीर चाहीने, संझीने र फर्किने त घर नै रहेछ, देश नै रहेछ ।
यतीनै वेला यो पङ्तीकारको मनमा सबैभन्दा दुखेको अर्को एउटा पाटो र जीन्दगी छ, त्यो हो श्रमिक र गरिबहरूको जीन्दगी ।
हुने खानेहरू त महिनौको लागि सामान जोहो गर्छन्, केही बोरा चामल र दाल मात्र जोहो गर्यो भनेपनि बाहीर नगईकन बाच्न सक्ने छन्, तर ती हरेक दिन काम गरेर श्रमको पैसाले साँझ १ केजी चामल र दाल किन्नेहरू
बाले रिक्सा चलाएको पैसाले बेलुका भात खाउँला भन्दै पर्खीने गरिबका सन्तानहरू पनि लाखौ छन् त्यही माटोमा ।
हो उनीहरूको जिन्दगी कसरी चल्ला ? साबुन किनेर हात धुन नसक्ने लाखौ नागरीक छन् मेरो देशमा । मास्क र सेनेटाईजर प्रयोगको कल्पना त उनीहरूले सायद सपनामा पनि गर्दैनन् होला, के उनीहरूलाई पनि साबधानी अपनाउन मन नहोला र ?
ती लाखौ गरिबीको रेखामुनी बाच्नेहरूको पनि त जीन्दगी, अमुल्य जिन्दगी हो । कुन्नी के सोचीरहेछ मेरो सरकार उनीहरूको बारे, यो पङ्तीकार चाही यो ठुलो विपद मेरो देश सम्म नपुगोस । उनीहरूको बस्ती सम्म नपुगोस भनेर केवल भगवान संग पुकार गरीरहेको छ पर देश बाट ।
...
दीप पाठक
बाग्लुङ
हाल: टोकियो जापान