अमरदेव वास्तोला-
म कुनै काङ्ग्रेस या कुनै कम्युनिस्ट र कुनै माओवादी भन्दा पहिला यो देशले जन्माएको सुपुत्र हुं । जो एक आम नेपाली ।
यो देशको वर्तमान र भविष्य पनि हुं। कुनै बेला वर्ग संघर्ष, जातीय उत्पीडन, सर्वहारा जस्ता ओजिला शब्दहरुको घुट पिलाएर त कहिले जनसरकार, क्रान्ति र निम्नवर्गहरु प्रतिको आमुल परिवर्तन र उत्थान जस्ता लड्डु खुलाएर मेरा बा लगायत हजारौं बा दाई दाई दिदीहरु कम्युनिस्टबाट माओवादीको जनजालमा ऑंखा चिम्लेर होमीएका थिए।
मेरो हातमा कलम थमाएर अक्षरहरु चिनाउदै गर्द र पाठशालामा नेपाल एक शान्तिक्षेत्र देश नेपाल भनेर चिनाइदै गर्दा, प्रचण्डले झोसेको जनयुद्धको आगो गाउँ शहर हुँदै देशभर फैलियो । हुन पनि वर्ग र संघर्षको झुटो आश्वासन देखाएर, मेरा बा जस्ता कैयौं बुवाहरुको काँधमा बन्दुक बोकाएर बलिको बोका पो बनाइदैछ भन्ने उनीहरुलाई के पत्तो।
अनि हाम्रा सोझासाझा समस्त बुवाहरुले सर्वहारा, समाजवाद र वर्गसंघर्षको लागी यति इमानदार पूर्वक युद्ध गरे कि म जस्ता छोराहरुको हक हित संरक्षण होस् भनि आफ्नो ज्यानको आहुती दिएर नेपाली माटोको लागी नेपाली माटोमा शहीद हुन पुगे । देशको शहीद बन्न सके पनि नसके पनि मेरा बा मेरो चाहिँ शहीद हुन् ।
आज हाम्रै बाहरुको शहादतको सिढीँ उक्लेर हिजो पायल चप्पलमा राजधानी छिरेकाहरु र कछाडमा जंगल छिरेकाहरु नयाँ कोट लगाएर संसद पसेका छन् । आज म देख्दै छु, बुझ्दैछु केवल व्यक्तिगत स्वार्थ र राज्यसत्ताको लागी उनीहरुले सब उथल-पुथल मच्चाएका छन् । आफ्नो स्वार्थ पूरा भएपछि जनतालाई उहीँ अवस्थामा सीमित गरेर उनीहरु एक्लै बिलासिताको दुनियाँमा रमाए । हाम्रा बाहरुको रगतमा होली खेलेर रङ्गिएका हातहरुले कहिले सोचेनन् टुहुर्याइएका ती कलिला हातहरु कुनै दिन ठुला हुनेछन् र सोध्नेछन् आफ्ना बाहरुको योगदानको मुल्य, खोज्नेछन् नयाँ नेपाल ।
जनयुद्धकालीन त्यो भयावह स्थिति, त्यो क्रूरता, त्यो नरसंहारको उत्तर न इतिहासले दिन सक्छ न कुनै न्यायालयले नै दिन सक्छ । सायद एउटा परिवर्तनको आभासले ती रित्याइएका काख, लुटिएका जोवन, खोसिएका काँध, पखालिएका सिन्दुरहरुलाई केही सान्त्वना दिन सक्थ्यो होला। तर अफसोच आजको अवस्थाले न त्यो बलिदानको आभास दिलाउँछ न त्यो सत्र हजारको ज्यान लिने युद्धको कुनै औचित्य देखाउँछ ।
बरु उल्टै देशप्रतिको आस्था र निष्ठाका लागि गरेको हजारौं शहीदहरुको योगदान माथि घोडा चढेर, तल्लो समाजको पिँधमा रहेका दलित, जनजाति, महिला, गरीब, क्षेत्रीय उत्पीडनमा परेकाहरु झनै पिँध भासिएर चुहिंदै गरेको अवस्थामा, कतै हेलिकप्टरले केक बोकेर ति पीडाहरुमा नुन चुक छर्कने दुस्साहस हुन्छ । अनि कतै ७० करोडौंको डिल कान्डहरुले मुग्लानमा बेचिएका रगत पसिनाहरुको बेजोड अवमूल्यन हुन्छ । देशका तमाम कुना कन्दराहरुमा दिन दहाडै उखुबारीमा कैंयौ निर्मलाहरु अस्मिता लुटिएर बेमौत मर्दै गर्दा, हेलिप्याडमा सोफासेट तेर्स्याएर ति लुटिएका अस्मिताहरु प्रति ब्यंग गर्छन्।
यसैले यी पिँधका निम्छराहरुको आवाजहरुलाई सतहमा ल्याएर उजागर गर्नको लागि, बाध्य भएर, एक दाईको नाताले, एक छोराको नाताले, अनि एक नागरिकको नाताले लाखौं रतनहरुको प्रतिनिधित्व गर्दै, बम एसिड र लाठी बर्सिने शहरमा “थ्रु द सूज थ्रो” विरोधको नयाँ शैलीलाई जन्माएको हुँ ।
“हिजो झुटो परिवर्तनको नाराले माईन्ड वास गराइएका अनि शहादत भएका समस्त शहीदहरुको योगदानलाई लत्याएर, राजकीय सुख सयलमा विराजमान भएर, आज फेरी पुन निर्लज्ज वर्ग संघर्षको अपाच्य भाषण गर्दै गर्दा हजारौं शहीदका असन्तुष्ट आत्माहरु बाको रुपमा म माथि सवार भएपछि, सम्पूर्ण छोराहरुको प्रतिनिधित्व गर्दै मैले पनि प्रचण्डले जस्तै परिवर्तनको आगो जुत्ता प्रहारले झोसेको हुँ।”
मेरो प्रहार कुनै ब्यक्ति बिशेषलाई नभएर एक ब्यक्ति बिशेषले रचाएको रक्तकुण्डमा शहादत भएका १७ हजार शहीदहरुको एकमुस्ट आवाज हो। त्यसैले प्रचण्डले सिकाए जस्तो बम र ग्रीनेडको बिपरीत भएर एक शहीद कमान्डरको छोराको नाताले नयॉं बिरोधको शैली मैले जुत्ताबाट सुरुवात गरेको हुं ।