टोकियो, जापान ।
तपाई कहाँ बस्नुहुन्छ ? भन्नाले नेपाल वा एउटा बाहेक विश्वको अन्य कुनैपनि देश होस् । तपाई जहाँ हुनुहुन्छ त्यहाँ हराएका सामान पाउने सम्भावना कत्तिको छ होला ? ज्यादै कम प्रतिशत वा आशा नै मार्नुहुन्छ ?
जापान हुनुहुन्छ र यहाँको बारेमा कुरा गर्नुहुन्छ भने तपाईले कुनै सामान हराउनुभएको छ भने पाउने सम्भावना धेरै हुन्छ । अर्थात् जसले भेट्छ उसले प्रहरी मार्फत तपाईको सामान फर्काउने कुरामा तपाई ढुक्क जस्तै बन्नुभए हुन्छ ।
धेरैजसो मानिसका पर्स हराउने घटना हुन्छन् । त्यस बाहेक झोला, मोबाईल वा अन्य महत्वपूर्ण अनि बहुमुल्य सामान ।
पर्स नै हरायो भने पर्समा रहेको पैसा मात्र हराउँदैन अचेल । त्यसभित्र राखिएको महत्वपूर्ण कागजात सहित धेरै परिचयपत्र र बैंकका कार्डहरु हराउँछन् ।
अब ति सबैलाई तत्काल रद्ध गरेर नयाँ कार्ड बनाउनुपर्दाको दुख र हैरानी भनिसाध्य हुँदैन ।
तर जापानको हकमा भन्नुहुन्छ भने तपाईले भुलवस कहिँ कतै कुनै सामान छुटाउनु वा खसाल्नु भएर हरायो भयो भने पाउँछु भने आत्मविश्वास सहित प्रहरीकोमा निवेदन दिनुभए हुन्छ । किनकी जापानमा उक्त सामान पाउने व्यक्तिले हराउनेमा कति समस्या र पिडा भएको होला भन्ने अनुभव गर्न थालिसकेको हुन्छ र नजिकको प्रहरीमा उक्त सामान सकुशल बुझाईदिन पुग्नेगर्छन् ।
जापानको राजधानी टोकियो रहनुहुन्छ भने यहाँ बसोबास गर्ने सयौं नेपाली सहित हजारौं बिदेशीले यसको सुखद अनुभव गरिसकेको हुनुहुन्छ । प्रत्येक वर्ष यहाँ दसौं लाख सामान हराउँछन् तर खुशीको कुरा अधिकाशं व्यक्तिले हराएका आफ्ना सामान सकुशल पाउनेगर्दछन् ।
तथ्यांक अनुसार सन् २०१८ मा टोकियो महानगर प्रहरीले ५ लाख ४५ हजार भन्दा बढी मानिसको हराएको परिचय पत्र फिर्ता गरेको थियो ।
यसैगरी हराएको मोबाइल फोनमा करिब ८३ प्रतिशत अर्थात १ लाख ३० हजार फोन सम्वन्धित व्यक्तिले पाएका थिए ।
यती मात्रै होइन टोकियोमा हराएको करिब ६५ प्रतिशत अर्थात २ लाख ४० हजार भन्दा बढी पर्स हराएका व्यक्तिले पाउन सफल भएका थिए । अधिकाशं हराएका सामान हराएकै दिन सम्वन्धित व्यक्तिले पाएका छन् । ढिलो पाउनुमा हराएका मान्छेनै दावी गर्न नआउनु वा सम्पर्क ठेगाना पर्याप्त नहुँदा प्रहरीले नै बुझाउन नसक्ने समस्या पाईएको छ ।
अन्य देशको हकमा हराएका सामान भेट्ने व्यक्तिले फर्काउँदा अचम्म मान्ने, पुरस्कृत गर्ने ठूलै घटना मानिन्छ । तर जापानमा दिनको सयौं यस्ता सामान हराउने र अधिकाशं भेटेका व्यक्तिले प्रहरीमा बुझाउने गर्दछन् ।
यसमा बुझाउनै पर्ने बाध्यता, कडा कानुन वा डरत्रास केही छैन । न त पुरस्कार पाईने आशा वा सम्मान र चर्चाको आश्वासननै । जापानी नागरिकहरु अरुको सामान नफर्काउने भन्ने कुरा गर्दा चाहिँ बरु अचम्म मान्छन् । उनिहरुको सोच र संकार नै छ कि अरुको भेटेको सामान किन लिने ? जुन सामान आफ्नो नै होईन अनि अधिकार वा दाबी नै नहुने अरुको सामान लिएर के गर्ने ? जापानीहरु उल्टै प्रश्न गर्नेगर्दछन् ।
सन् २०१८ मा भेटेर फर्काइएको १ लाख ५६ हजार हराएका मोबाइल फोन मध्ये एउटापनि भेटेर बुझाउने व्यक्तिलाई दिईएको छैन । न त प्रहरी आफुले राखेको छ वा सरकारी ढुकुटीमानै दाखिला गरिएको छ ।
बरु हराएको फोन फेला परेपनि लिन नआउने करिव १७ प्रतिशत त्यस्ता मोबाईल निश्चित समयपछि प्रहरीले नष्ट गरिदिएको जनाएको छ । छोटो दुरीमा प्रहरीको साना बुथहरु रहने जापानमा सामान हराउँदा मात्र होईन तपाई नै हराउनुभयो वा अलपत्र पर्नुभयो भने तपाईको स्पष्ट विवरण प्रहरीले पाउनुपर्छ तपाईलाई घरको दैलोसम्म लगेर छाड्नेमात्र होईन अशक्त हुनुभयो भने उपचारको लागि अस्पताल समेत पुर्याईदिने काम गर्दछ ।
जापान बाहिर रहनुभएकाहरुले त जापानको उदाहरणीय अनुशरण गर्नैपर्ने यो जानकारी पढेर अभिप्रेरित हुनुभयो होला तपाई जापानमा हुनुहुन्छ भने के तपाईले यस्तो गर्ने गर्नुभएको छ ? कृपयाँ आफ्ना कुरा कमेण्टमा लेख्दै सकारात्मक यो जानकारी सेयर गर्न नभुल्नुहोला ।