आदरणीय जापानका प्रधानमन्त्री आबे शिन्जो ज्यू,
विषय : मास्क अभाव भएकाले सहज व्यवस्थापन गराईपाउँ भन्ने बारे ।
महोदय,
उपरोक्त सम्वन्धमा म नेपाल घर भई विगत ४ बर्षदेखी रोजगारको शिलशिलामा जापानको राजधानी टोकियोमा बस्दै आएको छ ।
दुईसाता यता चीनबाट फैलिएको सरुवा रोग कोरोना भाईरसको संक्रमण जापानदेखी नेपालसम्म फैलिएको छ ।
सयौंको ज्यान लिईसकेको यो रोगबाट दशौं हजार व्यक्ति संक्रमित हुँदा जापानमा समेत प्रभावितहरुको संख्या बढिरहेको जापानी टेलिभिजनहरुले समाचार प्रशारण गरिरहेको देखिरहेको छु ।
कोरोना भाईरसबाट जोगिने उपायहरु मध्ये घर बाहिरको यात्रामा निस्कँदा वा अन्य व्यक्तिहरुबिच रहनुपर्दा अनिवार्य मास्क लगाउन चिकित्सकहरु र जापानी अधिकारीहरुले अनुरोध गरेको समाचारहरुमा देखे पढेको छु ।
तर टोकियो सुगिनामी कु कोएन्जी (म बस्ने ठाउँ नजिक) का सबै फेमिलिमार्ट, सेभेन ईलेभेन, लसन, एवन, मिनिस्टप, सेईयु, ह्याकुयेन पसल लगायत आधादर्जन बढी पसलमा दुईदिनदेखी मैंले चाहेरपनि मास्क किन्न पाएको छैन ।
म गएको समयमा सकिएको देख्छु र रित्तै फर्कने गरेको छु । म काम गर्ने सुईदोउबासी रेल स्टेशन नजिकको माथि नाम उल्लेख गरिएका ५ वटा पसलमा आजै बिहान ६ बजे पुग्दा पनी पाउन सकिन । जसका कारण सामान्यतया एकदिनमात्र प्रयोग गर्न मिल्ने मास्क मैंले तीन दिनदेखी लगाईरहेको छु ।
जापानमा सामान्य अवस्थामा सामान अभाव कहिल्यै नभोगेको मैंले विशेष अवस्थामा सरकार र सम्वन्धित सेवादिने कम्पनीहरुले विशेष पहल गरेर अभाव हुन दिंदैनन् भन्ने सुनेको पढेको थिएं ।
तर कोरोना भाईरसको संक्रमणबाट जोगिन प्रारम्भिक जानकारी सार्वजनिक हुन नपाउँदै मास्क जस्तो सामान्य वस्तु अभावका कारण म जस्ता सामान्य नागरिकलाई कस्तो समस्या परेको होला तपाई महसुस गर्न सक्नुहुन्छ भन्ने विश्वास लागेको छ ।
एक त बिदेशी त्यसमा पनि भाषागत कठिनाईका कारण यस्ता बस्तु सहज नपाउँदा जापानमा रहेका लाखौं विदेशीले सायद धेरथोर मैले जस्तै समस्या भोग्न थाल्नुभएको होला ।
मलाई डर छ आउँदा दिनमा यसको अभाव झनै बढ्ने अनि मैंले चाहेरपनि मास्क किन्न नपाउँदा कतै म रोगको शिकार बन्न त पुग्दिन ।
आदरणीय प्रधानमन्त्री आबे ज्यू,
हुनलाई 'यो सानो कुरामा के पत्र नै लेखेको होला ! साथीभाई चिनेजानेकालाई भनेर सरसापटी लिएर चलाएको भएपनि हुन्थ्यो' भन्नपनि सक्छन् । मैंले त एकदुई दिनलाई एकदुईवटा मास्क सापटी लिएर चलाउँला पनि तर म जत्ती पनी भाषा नजानेका अनी यसरी गुनासो गर्न नसकी मनमै गुम्साउनेहरुले के गर्लान् भन्ने लागेकाले आफ्नै गुनासो पोखेको हुँ ।
म एक बिदेशी त्यसमा पनी नेपाल जस्तो भौगोलीक रुपमा सानो अनि अबिकसित देशको नागरिकको कुरो तपाईसम्म आईपुग्ला भन्नेमा मलाई त्यतिधेरै विश्वास त छैन । तरपनी आधुनिक प्रविधिको जमानामा प्रविधिले संसारलाई पछि पारेको देशमा प्रविधि नै प्रयोग गरेर लेखेको पत्र पुगिहाल्छ कि भन्ने झिनो आशा मनमा पालेको छु ।
मलाई विश्वास छ यो पत्र तपाईसम्म पुर्याउन सबैको साथ पाउनेछु । अनि धेरैको साझा समस्या बनिरहेको मास्कको यो अभाव छिट्टै हट्नेछ ।
अन्त्यमा जापानको ईतिहाँसमै सबैभन्दा लामो समय प्रधानमन्त्रीको रुपमा नाम लेखाउनुभएको तपाईलाई बधाई सहित बाँकी कार्यकाल सफलताको कामना गर्दछु ।
नेपालले यस बर्ष नेपाल भ्रमणबर्ष २०२० आयोजना गरेको जानकारी यहाँसम्म पक्कै नेपाल सरकारले गराएको होला । यो अवसरमा जापानको हार्दिकता र सहयोगबाट कृतज्ञ रहेका नेपालीहरुको प्रतिनिधित्व गर्दै म एक नेपाली नागरिक तपाईलाई नेपाल भ्रमणको लागि सबिनय अनुरोध सहित हार्दिक निमन्त्रणा समेत गर्दछु ।
मलाई दृढ विश्वास छ मास्क अभावको यो समस्या समाधानमा तपाईले पहल गर्नुहुनेछ नै, साथै नेपाल भ्रमणको लागि नेपाली जनताको तर्फबाट प्रतिनिधि एक नेपाली युवाले गरेको अनुरोधलाई सकारात्मक रुपमा लिएर जापानको प्रधानमन्त्रीको रुपमा तपाईलाई नेपालमा स्वागत गर्ने शुभअवसर छिट्टै मिल्नेछ ।
निवेदक
गोकर्ण अधिकारी
हाल : टोकियो, जापान
स्थाई घर : नेपाल