अब दुई मिनेटमा रेल आउँछ । यो आजको अन्तिम रेल हो । तिमी उभिएको लेन दुई नम्बर डिब्बाको हो, म उभिएको तीन नम्बर । तिमीले मलाई नदेखेकी पनि हैनौ,तर देखे जस्तो गर्न चाहन्यौ भन्ने बुझ्न मलाई त्यती अफ्टेरो पनि छैन !
अँ साँच्ची, अफ्टेरोको कुरा गर्दा याद आयो, तिमीलाई बहुत अफ्टेरो भयो रे जापान आउन भन्ने सुनें । तेश्रो पटकमा बल्ल भिसा निस्क्यो रे । ‘एनी वे’ बधाई सानी ! कम्तिमा तिमीलाई देख्न पाएँ, सकुशल छौ जान्न पाएँ । खुसी पनि देखिन्छ्यौ, महसूस गर्न पाएँ ।
विगत कोट्याउनु घाऊ कोट्याउनु सरह हो ! प्रेम कोट्याउनु त झन घाऊ बाट रगत निकाल्नु सरह हो । तर जब दुबैको रेल नै अन्तिम हो भने आऊ एकै छिन एउटै डिब्बामा ‘सफर’ गरौं !
सानी हेर त, सीट एउटा पनि खाली छैनन । अन्तिम रेलको विशेषता नै यही हो, उभिएर यात्रा गर्नु पर्छ । सबलाई यही रेल समात्नु पर्छ नत्र भोली हुन्छ । जीवनमा सबलाई आज चाहिएको छ । सबथोक आज चाहिएको छ । कसलाई भोली चाहिएको छ र ? तिमीले पनि त अन्तिम रेल समाएकी हौ जीवनको !
कस्ती मोटाएकी ? सुख पाए झैं । खान्दानमा परे झैं ! राम्री देखिएकी छौ । अनि सुन न, म त कैलै मोटाउन सकिन । सुख पाइन सायद । मेरो सुख कहाँ थियो, नबिर्सेको भए तिमीलाई अलीअली थाहा होला भन्ने अपेक्षा रह्यो !
तिमीलाई सोध्नु पर्ने प्रश्नहरू मानिसहरू अचेल मलाई सोध्छन । जस्तो कि: मेरो बिहे किन भएन ? तिम्रो सन्तान किन भएन ? सानी, हामीलाई आफ्नो भन्दा बढी अरुलाई हाम्रो चासो छ । संसार यही रहेछ !
सुनेको छु, तिमी बस्ने एरियामा रूम भाडा बहुत महँगो छ । मेरोमा एउटा रूम पुरै खाली छ । तर मेरो खाली ठाउँ भर्न न तिमीलाई पहिले सजिलो थियो, न आज नै छ । त्यसैले त अन्तिम रेल भेट्टाउने बेला सम्म तिमी ‘गाम्बात्ते’ गरिरहेकी हौली !
नाम सुन्दा असजिलो लाग्ने हो, तर सब भन्दा सजिलो भिसा हो ‘डिपेन्डेन्ट’ भिसा । तिमीलाई सजिलो छ । तिमीलाई सजिलो हुनु पनि पर्छ । तिमीले जीवनमा सजिलो मन पराएकी पनि त हौ । केही समय अफ्टेरो झेलेऊ, माफी चाहन्छु । त्यो समय फर्काउन मिल्ने भए म फर्काइदिन्थें । तर समय ऋण त हैन नि है, सानी ।
यो अन्तिम रेलले प्रत्येक स्टेशनमा मान्छे पर्खिन्छ । किनकि यसले मानिसहरूको समय बुझ्छ । म कल्पना गर्छु, तिमी पनि मेरो अन्तिम रेल बन्नु पर्थ्यो । तर तिमी खुद अन्तिम रेलमा सवार हुन मन्जुर भयौ !
मलाई एउटा सल्लाह चाहिएको छ, सानी । म प्रेम विवाह गरुँ कि मागी विवाह ? खुसी केमा बढी छ ? हुन त प्रेम गरेर खुसी भइन्छ भन्ने भ्रम बाट बिउँझिइसकेको छु । तर प्रेम नगरेर खुसी भइन्छ भन्ने अर्को भ्रममा प्रवेश गर्न पनि ममा हिम्मत छैन । आफूलाई माया नगर्नेले अरुलाई के माया गर्न सक्छ र है सानी ? यसर्थ माया गर्ने मामिलामा तिमी म भन्दा अगाडी छौ भन्ने लागेर यो सल्लाह मागेको ! कि म बिहे नै नगरूँ र ? बिहे अन्तिम रेल बनोस्, म यो चाहन्न !
हाम्रो दिमागमा अनेकन कुरा छन सानी ! हजारौं मानिसका नाम छन, कैयौं सपनाका चाङ छन ! जस्तो कि यो डिब्बामा मान्छेहरू ! हेर त ‘एकिएन’ले कसरी धकेलिरहेछ मान्छेहरूलाई भित्र ? तिमीलाई तिम्रो बिहेको झल्को आएन ? सरी नरिसाऊ है, यही भिडले गर्दा जीवनमा पहिलो पटक तिमीलाई छुन पाएँ । भिडमा छुनु र भीरमा दौडिनु उस्तै उस्तै रहेछ, सानी !
भोली त तिमीले डिब्बा ‘चेन्ज’ गर्छ्यौ होला है, उदाउने र अस्ताउने समय निर्धारित भए पनि घामले बादल ओढे झैं ! ओढ्ने कुरा गर्दा याद आयो सानी, तिमीलाई ढाकाको सल खुब मन पर्थ्यो । त्यो बेला ढाका कस्तो महँगो ! अचेल ढाकाको भाऊ घटेको कि म ढाका किन्न सक्ने भएको ? सस्तो सामान तिमीले कैलै लगाइनौ ! मेरो ‘प्राइस ट्याग’ मैले ऊ बेलै च्यातेको हुँ ! अचेल ‘बार्गेनिङ’ खुब चल्छ यो जीवनमा । चाइनिजहरू संग काम गर्दा गर्दा म चाइनिज सामान भएको छु अचेल !
‘मेड इन जापान’ को अझै पनि उत्तिकै महत्व छ, सानी । मैले रोजेको सामान र सपना दुबै मन नपराए पनि कम्तिमा मैले रोजेको देश मन पराइछौ, खुसी यसैमा लागेको छ । त्यसो त अन्तिम रेल बाहेक विकल्प पनि त हुँदैन, आज नै गन्तव्य पुग्नु पर्नेहरूको लागि ! जे होस, कैलै भेट नहोस् भनेकाहरू पनि आज भेट भयौं । यो सूर्योदयको देश हो नि त सानी, हरेक उत्पत्तिको मुहान नै सूर्य हो नि !
अब केही समय तिमीले खुब ‘मान’ छाप्छ्यौ ! बुझिनौ ? बहुत पैसा कमाउँछ्यौ भनेको क्या ! अनि तिमीले घडेरी किन्छ्यौ ! आफ्नो नाममा पास गर्छ्यौ । प्रेममा लेखिने नाम पास गर्ने चाहिं मालपोत नबनेका है, सानी ! नत्र त मेरो कमाई कती मान बराबरको हुँदो हो अहिले सम्म !?
यहाँको ‘रामेन’ले बहुत मोटाउन हाल्छ । ‘सुसी’ खानू है बरु । भात सहितको समुद्री खाना हो । महत्वाकांक्षाको सबै भन्दा ठूलो प्रतीक नै समुद्र हो । संसार खानेहरूले समुद्री खाना खान पहिले सिक्नु पर्छ ! जापानमा ‘ड्रिंक’ सस्तो छ, भेराइटी पनि उस्तै छ ! विगत सम्झिन मन लागे कहिलेकाहिं पिउनू, नत्र ‘ह्याकुयेन’मा जस्तो भन्यो त्यस्तै कफी पाइन्छ । अँ साँच्ची, यहाँ कफी चाहिं सामान्य हो । धनीले मात्र पिउने जिनिस हैन !
म उल्लू छु सानी । सल्लाह दिने बानी अहिले सम्म हटेन । अरुलाई धेरै सल्लाह दिनेको आफ्नो जीवन कैलै मजबुत नबनेको मैले धेरै देखेको छु । तैपनि म सुध्रिन । सुध्रेको भए आज यसरी भेट हुँदैन्थ्यो । अन्तिम रेल भोली पनि आउँछ ठ्याक्कै आजकै समयमा । तिमी आउली नआउली खै !?
सानी, म तिन स्टेशन यता पुगेछु ! अब ट्याक्सीमा फर्किन्छु रूम । ‘जान्छु’ पनि नभनी गयौ है यसपाली पनि....!?
क्रमश:
- हेमन्त गिरी, टोकियो
जापानिज शब्दहरू:
गाम्बात्ते- मेहेनत गर्नु
एकिएन- रेल स्टेशन कर्मचारी
मान- दश हजार येन
रामेन- जापानिज नुडल्स
सुसी- समुद्री माछा मिसाइएको जापानी भात
ह्याकुयेन - सय येन