यो शताब्दीमै विश्वकै सबैभन्दा बिशाल बुद्धमूर्ति निर्माण गर्न भनी आजभन्दा ३ बर्षअघि म जापान आएको हो । म यता आउने समय दशैंको मुखैमा थियो । दु:खसुख बर्ष दिन बिताएर बिजयादशमीको दिन बुवाआमाको हातको टीका थाप्नु मेरो सौभाग्य हुन्थ्यो तर यहॉको यो एेतिहासीक कामको लागि म दशैंको टीका र जमरालाई मनको खोपीमा संगालेर जापान उडें ।
म यता आईपुग्दा उता दशैं आईसकेको थियो । तर जापान आएपनि बिदेशमा मेरो पहिलो दशैं रमाईलै भएको थियो । फूकुओकामा नेपाली साथीहरुसँगको भेटघाट, एकआपसमा टीका ग्रहण र नाचगानले त्यो सालको दशैं सुखद नै भयो । त्यसो त नेपालमा रहँदा बुवाआमाको हातको टीकाबाट शुरु गरेर दशैंभरि टीका र आशिर्वाद थाप्दै हिंड्नुको सौभाग्य बिदेशमा हुँदा कहॉ पो मिल्ला र! तरपनि आफूले भ्याएसम्म आफ्नो संस्कृतिलाई बिदेशमै भएपनि जोगाउदै लैजानुमा अद्भूत आनन्द छ ।
३ बर्ष भएछ मैले मेरो घरपरिवारसँगै बसेर दशैं मनाउन नपाएको । यहॉपनि पोहोर सालको दशैंको टीकाको दिन नेपाल घरमा टीकाको साईत थियो, बुवा आमाले भिडीयो कलमै भएपनि टीकाको आशिर्वाद दिने भनेर कुरीरहनु भएको थियो भने यता मेरो ड्यूटीको समय थियो । ड्यूटी सकेर वहॉहरुसँग भिडीयो कलमा सम्पर्क हुँदा नेपालको २ बजिसकेको थियो ।
यसरी अबेरसम्म कुरेपनि छोरालाई आशिर्वाद दिन पाउँदा वहॉहरुको त्यो अनुहारमा खूशीको रंग झल्कन्थ्यो । यसपाली पनि त्यस्तै हुन्छ होला । नेपालमा वहॉहरु बिहान उठेर टीकाको थाली र जमरा तयार पार्दै गर्दा यहॉ म यो पहरामा झुण्डिएर धूलोमा रुमल्लिदै ढुंगा फुटाईरहेको हुनेछु । घण्टौंसम्म वहॉहरु मलाई पर्खिरहनु हुनेछ र यसपाली पनि उसरी नै वहॉहरुको आशिर्वाद शिरोपर गर्नेछु ।

बिदेशमा रहँदा आफ्नो देश र संस्कृतीको झनै धेरै माया लाग्दो रहेछ, झनै धेरै महत्व बढ्दोरहेछ । बालापन देखिको प्रत्येक बर्षका अविष्मरणीय ती प्रत्येक दशैंहरु प्यारा छन्, सम्झनामा ताजै छन् । बालखकालमा हजुरबुवाले टीका लगाईदिएर दिनुभएको त्यो चाराना दक्षिणा आज करोडौं करोडको याद बनेर बसेको छ ।
त्यस्तै यूवावस्थामा विद्यालयको पढाई सकिएसँगै छुट्टीएका साथीहरुसँगको भेटघाट हुने अवसर थियो प्रत्येक दशैं । अब जिन्दगीले लामो बाटो पार गरीसकेको छ । आफ्नै परिवार, आफ्नै जिम्मेवारीहरु बढेका छन्, थपिएका छन् ।
चाडबाडको बेला त उनीहरुको मायाले तानेर अहिले नै त्यहॉ पुगौं झैं हुन्छ तर जिम्मेवारी र बचन पनि त बिर्सनु भएन । जापानको यो बिशाल बुद्धमूर्ति निर्माणमा आफूले दिएको बचन र लिएको जिम्मेवारीलाई पुरा गर्न मेरा केही दशैंहरु खाली निधार जॉदो छ ।
म यता भएपनि उता घरमा दशैं आएको छ । घरमा सपरिवार दशैंमा रमाईरहेका छन्, यो नै मेरो खुशी हो । अबको केही बर्षमा जापानको यो बिशाल बुद्धमूर्ति निर्माण सम्पन्न गरीसकेर घर फर्केपछि धूमधामका साथ दशैं मनाउने धोको जून बॉकी छदैंछ ।

वास्तवमा हामी नेपाली विश्वमा जहॉजहॉ छौं, दशैं त्यहॉ त्यहॉ हामीसँगै पुगेको छ । जापानमा पनि यहॉ रहेका नेपालीहरुले दशैं कार्यक्रमको आयोजना गरी हर्ष उल्लासका साथ दशैं मनाएका खबरहरु सुनेको छु । यसरी बिदेशमा रहेर पनि आफ्नो संस्कृतिलाई आत्मसात गर्दा गर्ब लाग्छ ।
हाम्रोजस्तो अमूल्य संस्कृति संसारमा अरुको कमैमात्र होला । तर चाडबाड मनाउने शिलशिलामा कहिलेकॉही अत्याधीक मादक पदार्थ सेवनले उत्पन्न झैंझगडा र हुलहुज्जतको समाचारहरु बाहिर आउँदा भने हामीले आफू र आफ्नो संस्कृतीलाई नै पो अपमान गर्दै छैनौं भन्ने प्रश्न पनि उठ्छ ।
त्यसैले हामी जहॉ रहेपनि हाम्रो चाडपर्बलाई माया गरेर हर्षोल्लासका साथ यसलाई सभ्य र भव्य रुपमा मनाऔं । र अन्यमा, सम्पुर्ण महानुभावहरुमा बडादशैं २०७६ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
-मञ्जुल मितेरी
उर्लाबारी, मोरङ
(हाल : खामीआमाकुशा, कुमामोतो, जापान)