उमेरले दूई बिस पाँच् नाघिसकेको किस्ने 'ओइ केटा हो, आज मौसमले लास्टै च्यालेञ गरिरहेको छ । के घर मै थुनिएर बसिरा बेहुलि जसरि। निस्क चोक तिर। मास्तिर देउरालिमा अहिले नयाँ खतरा दाम्मि रेस्टुरेन्ट खुल्या छ । त्यहिँ गएर मौसमले दिएको च्यालेञ एसेप्ट गर्ने के आज । शुभ कार्यमा किन ढिला साथि हो' भन्ने आशयले आफ्नो जिग्रि दोस्तहरु जतिलाई घाम डुब्नु अगाडि नै कोठामा राम्रो सङ नेटवर्क नटिप्ने हुदा बार्दलि बाट मुण्टो तन्काउदै फोन घुमाउन भ्याइ(नभ्याइ छ।
उता आमा पटुकिको फुर्कोले टाउकोमा फेटा बाधि धोति थोरै माथि सारेर भकारो सोहोर्दै गरेकि आमा अचानक फत्फताउन थाल्छिन। राम ! राम! राम ! "हेर-हेर बजियाकाे किर्याले हालेछ नि । त्यसकी आमाकाे सैयाँ त्यसका बाउकाे साँडे। गतिलो दाम्लाेले टुमुर्क्याउँनु नि अर्काको बाली ख्वार बलियो पारेर दुध खाने भकाे असत्ती । त्यस्काे साँड बान परेर ठाउँको ठाउँ भुतुकै गाेठाँ मराेस् । भिरबाट लडेर मरे पनि हुन्थ्यो नि । त्याे रुन्चि अझै उठिन ? एई जा-जा किस्ने तँ चैं मुखियालाई बाेला । याे मुलुक मारा असत्तिलाई अर्मल नतिराई त काँ छाेडुँला र ? मुखियाको घर हुदै काेल्पाटे भिनाजु, खाेलापरी भडारि बडाबा, भुसाल्नि काकि, ओखरबोटे तुले खड्का, सिमखोले थपिनि जेठि, कुवापानी घिम्रे साइलो, भित्ताघरे न्यावर् मामा, रात्माटा भुन्टिका बाउ र सातपत्रे गोतामे, च्युरिबोटे बुजेल कि कान्छि ब्वारि लाई पनि बाेलार ले । यसलाई त छाेड्नै हुँदैन । त्याे (जुम्रि थपिनि लाई ) मेरो बालीको अर्मल नतिराेस् त त्यस्काे जगटा उखेल्न सकिन भने म पनि चिउरीबाेटे आशामरु साहुकि छाेरी हुँइन । मेरा पाेई घरमा छैनन् भनेर हेप्ने मलाई । हेर हेर तेस्काे सैंयाले सकिहालाे नि ।"
आफ्नो घुर्यानको भर्खरै सुत्ला च्याप्नै लागेको मकै छिमेकि थपिनि साइलिको डिङ्गो पसेर सोत्तर पारेको देखेसि रिसले आगो हुदै आमा क्रोधित हुन्छिन। तर भर्खरै फोन गरेको मध्य उनै थपिनि आमैको छोरो बिस्ने को भैसि भएकोले किस्नेले, हे भै गो नि त आमा। एक चोटिलाइ हुन्दिनु। भनेर टार्ने कोसिस गर्छ। आमा झन रिसले क्रोधित हुदै "आफ्नै तुलिगाडो कुलङ्गार भए सि सत्रुले पेल्दैन त। दिन भरि पस्सारिएर बस्छ, ओर को सिन्को पर सार्नु छैन। खालि त्यहि मोबाइल मा झुण्डिएर जोत्तिएको छ। जति बेला पनि।" भन्दै आमा फत्फताइ रहदा किस्ने चाहि साथि भाइ बिच फोनमा भएको सल्लाह बमोजिम देउरालि को नया रेस्टुरेन्ट तिर लस्किन्छ। खुइय.. गर्दै आमा चाइ भैसि खेदाउदै भुन्भुनाइ रहन्छिन।
पाचै जना दौतरिहरु बिस्ने, किस्ने, पर्काशे, रत्ने र गोबिन्दे) देउरालि पुग्छन। किस्ने बाहेक अरु चार जना खाने ममलामा 'आएको बात छैन' क्यारेक्टरका हुन भने किस्ने एक जनामा भने दारु बाहेक अरु 'ऐजन ऐजन समान गुण' स्वभावत बिसेसता धारि दोस्तियारि हुन। उनिहरुका बा आमा आपसमा जत्ति नै झै झगडा गरेतापनि उनिहरु बिचको याराना भने बाल्यकाल देखि नै घनिस्ट रहदै आएको हुन्छ।
आमाले जति नै गालि गरे पनि उ दोस्ति छोड्न सक्दैन । र त बुर्कुसि मार्दै अरु भन्दा अगाडि नै पुगिसकेको हुन्छ । होटलमा पुगि उहि सदा झै मगाउछन सोमरस अनि सो निल्न सहज होस भन्नाको खातिर सितन।
पिउनेहरु आपसमा गफिदै रमाउछन्, उ सितन देखेर रमाउछ। बोतल सिद्दिदै जान्छ, रक्स्या हरुले सितन मगाउदै जान्छन्, ल्याएर राख्न पाएको हुन्न, अरुले सिन्काले घोचेर एक/एक टुक्रा उठाउन भ्याएको हुन्नन्, उसले प्लेट चाटाचुटि पारिसकेको हुन्छ। झल्लु मात्ने गरि सड्काएको साथिले त खासै मतलब नगर्ला, तर कम मातेकोले त उसलाइ ध्यान दिइरहेको हुन्छ नि, उसको युवा अवस्था देखिकै सितन हण्टर ह्याबिट ।
पिउनेहरु सामान्य भन्दा सामन्य कुरामा पनि रमाउने, भाबुक हुने अनि उत्तेजित हुनु स्वभाबिक नै हो। किस्ने पनि सङ्ग सङ्गै अन्य साथिहरु कुन मुडमा प्रस्तुत हुन्छन्, आफुलाइ सोहि मुद्दामा ढालिहाल्छ। अर्थात मातेका साथिहरु हास्ने बेलामा उ पनि अरु भन्दा ठुलो आवाजले हासिदिन्छ। अरु भाबुक बन्ने कथा आउदा सबै भन्दा अनुहार उसैले बिगारिदिन्छ र अरु भन्दा सिरियस टोपलिन्छ तर आखा भने केवल सितन मै केन्द्रित गरिरहेको हुन्छ।
केहि पहिला पहिला मोबाइलको युग आउनु भन्दा अघि सम्म किस्नेलाइ 'बिल तिर्ने बेलामा जहिल्यै पिसाब आइहाल्थ्यो' र एक्छिन है भनेर बिल पेमेण्ट नहुञेल सौचालयमै बसिरहन्थ्यो तर अहिले उसको स्टाइलमा अलि परिवर्तन आएको छ। सितन आउञेल आउदै न आएको फोन्/म्यासेज प्राय बिल आउना साथ उसको फोन आइहाल्छ र जुरुक्क उठेर बोलेको जस्तो गरि पेमेण्ट नहुना साथ फोन मै अल्मलिरहन्छ।
कहिले काहि त आउदै न आएको स्विच अफ मोबाइलमा पनि "हेल्लो हेल्लो" भन्दै लुसुक्क लस्किहाल्ने उसको आदत आज पर्यत्न पनि छुट्न सकेको छैन। कहिलेकाहि बिल आउने बेला हुना साथ लास्टै 'अर्जेण्ट काम' मनसपटलमा उसलाइ सम्झना झ्वाट्टै आउछ र बहाना बहानेर सुइकुच्चा ठोकिहाल्छ।
आजसम्म किस्नेले कुनै दिन पनि पैसा तिरेको रेकर्ड उनिहरुको जिवनिको डिक्स्नेरिमा खोज्दा भेटिन्न। तर उसको काम चाहि वल्लो गाउ देखि पल्लो गाउको पुच्छर सम्मैका होटल हरुमा कुन-कुन स्न्याक्स (सितन्) उपलब्ध हुन्छ उसलाइ कण्ठस्थ हुन्छ। अनि मिठो चिल्लो बोलेर बाकिलाइ कन्भिन्स गर्न सिपालु छ।
त्यो विशेषताले युक्त भएको मानिस फेरि अरुले कुनै बेला प्याच्चै भनिहाले पनि एक कानले सुनेर अर्कोले उडाइदिने खालका हुन्छन। अर्थात सितन हण्टिङले गर्दा उसका सहनसिलताको गुण अथाह छ। अनि भोलि फेरि घाम डुब्न पाएको हुन्न फेरि साथि भाइ जम्मा गरिहाल्छ केवल 'सितन हण्टिङ' को लागि।