(Japan) 17 th February | 2025 | Monday | 10:36:44 AM || (Nepal) 7:21:44 AM
 
 


ददिवल खड्का जसले एनआरएनमा कहिल्यै लाभ खोजेनन्, योगदान मात्र गरिरहे

  POSTED ON : Wednesday, 13 September, 2023 | Views : 2674

ददिवल खड्का जसले एनआरएनमा कहिल्यै लाभ खोजेनन्, योगदान मात्र गरिरहे



जापानको पहिलो भ्रमण गर्दैगर्दा पनि झण्डै चार दशक अघि उनलाई लागेको थिएन कि जीवनमा यति लामो समय परदेशि भूमिमा बिताउनेछु ।

जीवनमा उच्च शिक्षा हासिल गरेर नेपालमा नै सेवा गर्ने इच्छा रहेका उनि अर्थात् ददिवल खड्कालाई त्यहि उच्च शिक्षा हासिल गर्ने आर्थिक व्यवस्थापन कै लागि जापान छिरायो । यहि जापानले पटक पटकको असफलतापछि अहिले स्थापित पनि गरायो ।

आज भन्दा ३४ वर्ष पहिला ददिवल खड्कालाई विदेशिने भन्ने मनको कुनै कुनामा पनि थिएन तर आफैले नसोचेको कुरा भयो । स्नातक तह पोखराको पृथ्वी नारायण क्याम्पसमा सकाएर केही समय आफ्नै जिल्ला म्याग्दीका विभिन्न गाउँमा जागिर समेत गरेका खड्काले परिवारले स्नातक आफैंले आर्थिक व्यवस्थापन गरेर पढ्न आग्रह गरेपछि उहाँलाई विदेशिने सोच पलायो ।

सन् १९८८ का पहिलो पटक पर्यटक भिषामा जापान प्रवेश गरेका खड्काले पुन प्रवेश गर्दै विद्यार्थी भिषामा रहेर जापान मै भाषा अध्ययन गर्ने योजना बनाए ।

त्यस पश्चात् रेष्टुुराण्ट तथा होटल सम्बन्धी व्यावसायिक शिक्षा पनि अध्ययन गरेका खड्काले साढे ३ दशकको जापान बसाईमा यहि क्षेत्रमा आधा बढि समय विताइसकेका छन् ।

जापान बसाइका सुरुवाती दिन सम्झदा अनुहारमा उदास भाव व्यक्त गर्दै खड्काले आफ्नो क्यारिएर निर्माणका लागि निम्नस्तरको मानिने काम समेत गरेको अनुभव सुनाए । 'जीवनको कुनै अवधिमा निकै दु:ख गरियो भनेमात्र पछिल्ला दिनहरुमा सुख मिल्ने बुझाई मैंले भोगेको जीवन अनुभव हो' खड्काले जापानमा १८ वर्षसम्म विभिन्न कम्पनीहरुमा सयौं जापानी बिचमा एक बिदेशीको रुपमा जागिर गर्दाका चुनौति, समस्या र रमाइला अनुभव सुनाउँदै भने ।

'कामलाइ देवता र कार्यस्थललाई मन्दिर' ठान्ने खड्का हक्की स्वभाव भएकै कारण आफूले काम गरिरहेको होटलमा आफूभन्दा जुनियरलाई व्यवस्थापकीय जिम्मा दिई आफूलाई मिनिमाइज गरेको महशुस भएपछि लोभ लाग्दो तलब पाउँदा पाउँदै बिचैमा जागिर चटक्कै छाडेर व्यावसाय गर्ने सोचमा पुगे ।

आजभन्दा १८ वर्ष अगाडी आफूसँग भएको सिपको उपयोग गर्ने उदेश्य राखी जापानी स्वादको खाना दिने रेष्टुरेण्ट संचालन गरेपनि त्यसबाट सोचे जस्तो सफलता मिलेन । असफलतामा कत्तिपनि विचलित नभई खड्काले नेपाली इण्डियन स्वादको खाना दिने गरी नयाँ रेष्टुरेण्ट व्यवसाय संचालन थाले ।

लोभ लाग्दो जागिर छोडेको, व्यवसायले पनि सोचेजस्तो सफलता नदिएको भएपनि हार नमानिकन जागिरको शिलशिलामा र जापान बसाईका क्रममा प्राप्त अनुभवहरुलाई अंगाल्दै उनले रेष्टुरेण्ट व्यावसायलाई निरन्तरता दिइरहे । जसले उनलाई पटक पटकको असफलतापछि जापान मै स्थापित मात्र गराएन एक परिपक्व व्यवसायीको रुपमा अहिले डेढ लाख नेपाली माझ चिनाएको छ दिलदार ददिवल दाईको उपनामले ।

व्यवस्थापकीय क्षमता बढाउदै र ग्राहकहरुको चाहना बमोजिमको स्वाद र सेवा प्रदान गर्न थालिेपछि व्यवसाय उकालो लाग्न थाल्यो । विगतका अनुभवलाई समेट्दै परिवारजनको समेत सहयोगमा खड्काले कुनै समय २९ वटासम्म रेष्टुरेण्ट टोकियो एरियामा संचालनमा ल्याए ।

व्यवसाय फस्टाउदै जानु र व्यवस्थापकीय क्षमतामा कमी आएकोले उकालो लागि रहेको सफलतालाई बचाइ राख्न नसकेको स्वीकार्दै खड्का भन्छन् 'भएको व्यवसायलाई चाहिँ मैंले जोगाएर थप फैलाउन सकिन ।'

'म अलि उदार स्वभावको छु, मैले हिजो भोगेका समस्याहरु अरुहरुले भोग्नु नपरोस् भनि मेरो होटलमा काम गर्ने कामदारहरुलाई पनि होटल व्यवसाय संचालनका विधि प्रक्रिया आदिका बारेमा नियमित जानकारी दिन्छु अनि होटल संचालनमा ल्याउनका लागि पनि आवश्यक सहयोग गर्छु, त्यसैले मलाई गर्व लाग्छ मेरो कम्पनी एउटा पाठशाला जस्तै बन्दै आएको छ । मेरो कम्पनीमा काम गर्ने अधिकांशले अहिले होटल व्यवसाय संचालन गरेकाछन् । यसका लागि मैले आवश्यक सबै सहयोग गरी सहकार्य पनि गरिरहेको हुन्छु' खड्का आफ्नो रेष्टुरेण्टमा काम गरेर व्यवसायी बनेकामा गर्व गर्छन् ।

समाजका हरेक क्रियाकलापमा सहभागिता जनाइ सक्रियतापूर्वक भूमिका निर्वाह गर्नका लागि व्यवसायपछि खड्को क्षेत्र मोडियो भनौं वा थपियो गैर आवासिय नेपाली संघमा सहभागी हुन थाले । एनआरएनए जापानको स्थापनाकाल देखिनै प्रत्यक्ष रुपमा उपस्थिति जनाएपनि सक्रिय सहभागीता भने खड्काले २०१७ बाट एनआरएनए आईसिसि सदस्यका रुपमा जनाउन थाले । संस्थालाई पारदर्शी र नेपाली समुदायको अभिभावकीय संस्थाको रुपमा विकसित र परिचालित गराउने पवित्र मनसाय राख्दै खड्काले २०२१ २०२३ कार्यकालको उत्तरार्धमा आइपुग्दै गर्दा एनआरएनए एसिया प्यासेफिक क्षेत्रको उपसंयोजकको जिम्मेवारी निःस्वार्थ भावले पुरा गरेको बताउनुहुन्छ । 'मैंले पदिय जिम्मेवारीमा रहेर कुनैपनि लाभ लिइन, लोभ राखिन तर सकेको समय, सहयोग र उपस्थिति जनाएर सबै काममा सहयोग गर्दै पदिय जिम्मेवारी पुरा गरेको छु' खड्का दावीका साथ गर्वले भन्छन् ।

स्वदेशमा पनि भोलिका दिनमा व्यवसास संचालन गर्ने योजना सहित केही पूर्वाधारहरु निर्माणको तयारी गरिरहेको बताउने खड्का आफुले गर्न सक्ने सहयोग सबै क्षेत्रमा गरिरहेको बताउँछन् ।

खड्का भन्छन् 'मलाई लाग्छ जुनसुकै कामका लागि पनि आफुमा सिप जरुरी छ, त्यसका लागि आफुले निरन्तर रुपमा सोचेको उपलब्धी हासिल नभएसम्म दत्तचित्त भएर कार्य गरिरहनुपर्छ । अप्ठ्यारो परिस्थितिमा पनि आत्तिनु हुदैन र लगनशिल मेहनती भएर कार्य गरेमा अवश्य पनि एकदिन सफलता हासिल हुन्छ ।'

व्यवसायका लागि औपचारिक शिक्षा जरुरी रहेपनि त्यो भन्दा महत्वपूर्ण व्यवहारिक शिक्षा रहेको बताउँदै खड्का आफ्नो सम्पूर्ण जीवन विदेशमा नै सुम्पने इच्छा नरहेको र स्वदेशमा पनि आफ्नो सिप र दक्षतालाई उपयोग गर्ने मन रहेको सुनाए । हालको अवस्थामा स्वदेशमा विभिन्न कारणले गर्दा पूर्ण व्यवसायिक वातावरण नरहेको यर्थाथता जनाउँदै खड्का वातावरण सहज बन्दै गएमा स्वदेशमा केही गर्ने इच्छा र चाहना रहेको सुनाउँछन् ।

देखावटी र बनावटी सामाजिक सेवामा रुचि नराख्ने खड्का विदेशमा नेपाली समुदायहरुका विभिन्न संघ संस्था हुनुलाई सकारात्मक रुपमा लिने तर आफूले सक्दो सहयोग गर्न सक्ने पवित्र मन लिएर मात्र लाग्नुपर्ने बताउँछन् ।

संघ संस्थालाई सेवा गर्ने माध्यमको रुपमा लिनुपर्ने र त्यस्ता संघ संस्थाहरु जहिले पनि विधि विधान र पारदर्शी रुपमा संचालन हुनुपर्ने उनको जोड रहँदै आएको छ ।

'अरुलाई सहयोग गर्दा मनमा आनन्द आउने गर्छ' खड्का भन्छन् 'त्यसैले जापानको नियम कानून र वस्तुस्थितिको बारेमा जानकार नहुने नेपालीलाई आफूले अध्यागमन सम्बन्धी हरेक कार्यमा सहयोग पुर्याउदै आइरहेको छु ।' समाजका हरेक क्रियाकलापमा सहभागिता जनाइ सक्रियतापूर्वक भूमिका निर्वाह गर्दै सँधै सबैलाई सकेको सहयोग गर्दै कुनै लाभ र लोभको आस नगरेका खड्का यसपटक भने एनआरएनए आइसिसि सह कोषाध्यक्षको भूमिकामा रहेर जिम्मेवारी निभाउने इच्छा रहेको बताउँदै संस्थालाई पारदर्शी र नेपाली समुदायको अभिभावकीय संस्थाको रुपमा थप विकसित गराउन र परिचालित गराउन सबैको साथ र सहयोगको अपेक्षा गरिरहेका छन् ।