देशमा घिनलाग्दो राजनितिकले उत्पन्न गरेको गिर्दो आर्थिक संकटले गर्दा जो कोहिले पनि अहिलेको परिवेशमा नेपालमा बसेर आफ्नो भविष्य सुनिश्चित गर्न सक्छु भनेर कल्पना समेत गर्न नसक्ने अवस्था आइलागेको छ । त्यो भन्नुको अर्थ के हो भने, विकल्पको रुपमा देश छाड्न सक्षम मान्छे नेपालमा बस्न चाहंदैन र बस्ने वातावरण छैन भन्दा पनि फरक नपर्ला ।
आजभन्दा करिब एक दशक अगाडीका साना नानीबाबुहरुलाई ठूलो भएपछि के बन्छौ ? भनेर सोध्दा उनिहरुबाट उत्तर पाउने गरिन्थ्यो कि डाक्टर, ईन्जिनियर, पाईलट यस्तै यस्तै बन्ने । तर ठिक अहिलो सोहि प्रश्न गर्ने हो भने उत्तरमा पाउने गर्छौ कि ठूलो भएर अमेरिका, अष्ट्रेलिया, बेलालय, क्यनडा, जापान जस्ता देश जाने । कहिले १२ कक्षा पास गर्नु र देश छाड्नु भन्ने भाष्यले समाजमा जरा गाडीसकेको छ । त्यसैको फलस्वरुप १२ कक्षा पास गर्ने बित्तिक्कै विदेश पलायनको सपना नबुन्ने हो भने समाजले नकार्न सक्ने कहालि लाग्दो अवस्थाको बाटो तर्फ समाज अगाडी बढिरहेको छ ।
म आफू पनि माथि उल्लेखितमा पर्दछु र आफू पनि जापानमा हराएको भविष्य खोजिरहेको हुनाले विशेषगरी जापानकै कुरा जोड्न चाहन्छु ।
के तपाइले नेपालबाट फोटामा हेरेर सोचे जस्तै हो त जापान ? पक्कै पनि होइन । केहि समय अघि जापान गएको साथीभाई वा अरुकसैले समुन्द्रको किनार घुम्दै गरेको फोटा सामाजिक संजालमा राखेको देखेर आहा क्या दाम्मी जापान, म चै कहिले पुगेर यसरी नै फोटा खिचेर फेसबुकमा राख्ने होला भन्ने सोचले मात्र तपाइ जापान आउने सोच नबनाउनुस ।
आफ्नै देशमा त एकदिन घर छाडेर अन्यत्र कतै गयो भने केहि न केहि समस्या आइपर्छन भने घर मात्र नभई आफ्नो देश नै छाडेर त्यसमा पनि भाषा समेत नबुझ्ने देशमा तपाइ आउॅंदै हुनुहुन्छ भने त्यहा आउनसक्ने समस्याको कल्पना नगरि तपाइ जापान आउनु भनेको तपाइ जीवनमै सबैभन्दा ठूलो भुल गर्दै हुनुहुन्छ भन्ने हो ।
यदि तपाइ साच्चिकै केहि गर्ने सोच बोकेर जापान आउदै हुनुहुन्छ वा भर्खर आउनु भएको छ भने तपाइले सबैभन्दा सुरुमा आफ्नो हिम्मत दर्हो बनाउन जरुरी छ । दृढ अठोट बनाउनुपर्छ र भाषा अध्ययनमा सबैभन्दा बढि ध्यान दिनुपर्छ, जसले गर्दा आएको १,२ महिना नबित्दै कमाई, प्रेम, विवाह, जापानको संघर्षबाट आत्तिएर आत्महत्याको बाटो तिर अग्रसर हुन अवस्था आउनेछैन ।
हामी प्रायजसो सुरुमा जापान आउने बेलामा दश तिर बाट ब्याजमा पैसा खोजेर आएका हुन्छौ । त्यसैले जापान आएको केहि समय देखि घरमा बुबाआमा सॅंग फोनमा कुरा गर्दा पैसा कहिले पठाउने ? ऋण कहिले तिरिसक्नु हो ? जस्ता प्रश्न आउछन र त्यो वास्तविकता पनि हो । यस्ता समस्या तपाईंका मात्र होइन जापान सहित विश्वभर परदेशिएकाहरुलाई आउने समस्या र चुनौति हो भनेर लिनुपर्दछ ।
त्यसैले जापान आएको केहि समय पछि आफूले सोचे जस्तो काम, पैसा नभएर अनेकौ समस्या आइपर्दा नअतालिई, कुनै नराम्रो बाटो नरोजि समस्याको समाधान गर्न सक्छु, म हिम्मत हार्दिन भन्ने साहस छ भने मात्र तपाइ जापान आउनुस । नत्र भने तपाइ जापान मात्र होइन तपाईं विदेश कतै नजानुनै उत्तम हुन्छ ।
त्यसैले म त भन्छु यदि तपाइ जापान आउने नै हो भने बाघको जस्तो साहसी मुटु लिएर मात्र आउनुस । होइन भने कुखुराको चल्लाको जस्तो सानो मुटु लिएर जापान नआउनुस् । तपाईं आफैं सोच्नुस् बाघले गर्नुपर्ने शिकार कुखुराको चल्लाले गर्न खोज्दा कस्तो हुन्छ ?
जापानमा आएर एकाध समस्या, चुनौति, पिडाहरुबाट अत्तालिएर, भागेर जीवन त्याग गर्ने सोच बनाउनुपर्ने अवस्था आउन नदिन पहिलेनै माथि उल्लेख गरेका कुरा सोच्नुस् र आएर समस्यासँग जुधिरहनुभएको छ भने नडगमगाई हिम्मत बाँधेर अघि बढ्नुस् तपाईंले एकदिन सफलताको शिखर चुमेरै छाड्नुहुनेछ । अनि तपाईंलाई आज असफल र कायर देख्ने र भन्नेहरुले एकदिन तपाईंकै नाममा शुभकामना र सफलताका कथा लेख्नेछन् ।
आत्महत्या समस्याको समाधान हुँदै होइन्, ठूलो समस्या भने हो । त्यसैले समस्यासँग भाग्ने होइन समाधान गरेर अघि बढ्ने साहस बटुलौं, मेहनत, परिश्रम र धैर्यता राखौं । कठिन परिस्थितिपछि पाएको सफलताको सुन्दर कथा तपाईंकै नाममा लेखिनेछ ।
...
झापाली सुमन सुवेदी
हाल टोकियो, जापान