'लौ न नेपाल मै केहि पेशा ब्यबसाय गर्नु पर्यो' भनेर नातागोता, आफन्त, साहु महाजन कहाँ ऋण लिन गइयो भने कसैले फुटेको कौडि पत्याउदैनन तर बिदेशको भिसा लाग्यो भनेर आवश्यक खर्च मिलाउन माग्न गइयो भने सबैले पैसा पत्याउनुले पनि हाम्रो समाजमा बिदेश मोह र विश्वासलाई दर्शाइ रहेको छ । यस बाहेक अर्को पाटो भनेको स्वदेशमा गरिने लगानि अनिश्चितताको मनस्थितिलाई पनि उजागार गरेको देखिन्छ ।
अचेल हाम्रो समाजमा यस्तो भास्य निर्माण भएको छ कि, बिदेश पुगियो भने जसरि पनि जिवन सुध्रिन्छ भने नेपाल मै केहि गरियो भने त्यो केवल जीवन कटाउने मेलो (टाइम-पास) मात्र हो ।
एक त हाम्रो नेपाली परिवेशमा 'पुसिङ फ्याक्टर' ले बढि काम गरिरहेको हुन्छ भने 'पुलिङ फ्याक्टर' करिब करिब लोप नै भैरहेको परिवेशमा आफ्नो भबिस्य नेपालमा नदेखेर वल्लो घरको साथि पनि प्लस टु पास हुना साथ बिदेश नै गै रहेको छ , पल्लो घरको पनि, दौतरिहरु सबै नै बिदेशिनु अनि बिदेशिएर रमाइलो गरेको तस्बिरहरु मात्र सामाजिक सञालमा पोस्ट गर्नुले पनि नेपाल हुने लाइ जसरि पनि आफु पनि बिदेशिने भुत सबार हुन्छ। हो अहिले यस्तै 'ट्रेण्ड'ले गर्दा गाउ घर मात्र होइन शहर बजार पनि युवाहरु नभएर खालि हुनै लागिसक्यो ।
अंग्रेजिमा अलि कमजोर भए पनि खासै फरक नपर्ने र भिसा सक्केस रेट पनि अहिले अरु देशहरुमा भन्दा उच्च नै देखिईरहेको हुँदा विद्यार्थी भिसामा युवा जमातको आकर्शक गन्तब्य वनेको छ जापान ।
प्रस्तुत लेख जापानमा नेपाली विद्यार्थीहरुले अहिले सम्म गरेका आत्महत्याका घटनाहरु र डिप्रेसनको मुख्य कारण आर्थिक सवाल जोडिएको हुँदा आउँदा दिनमा आउन लागेका भाइबहिनि हरुलाई सचेत गराइ विशेष गरि विद्यार्थी भिसामा जापान आउन लागेका भाइ बहिनिहरु अनि जो भर्खरै आएका छन्, उनिहरुलाइ सम्बोधन गर्दै यि तमाम् युवा विद्यार्थीहरुले गलत सुचनाको प्रभावले जापान आएर दुःख नपाउन भन्ने उद्देश्यले तयार पारिएको हो ।
यसबाट कुनै परामर्शदाता कन्सल्टेन्सिहरुको ब्यापारमा आच पुर्याउने मक्सद बिल्कुल हुदै होइन । जो जापान आउन तयारि गरिरहेका हुन्छन्, उनिहरु प्रायले यो मिडिया मार्फत धेरै सुचनाहरु लिने हुदा ति नौजवानहरुलाई वास्ताबिक सुचना दिनु यस लेखको मक्सद हो ।
बिदेश भन्नासाथ सबै बिदेश उस्तै अफ्ठ्यारै हुन्छ । अझ सुरुवाति चरणमा एक परिवेशबाट अर्को परिवेश, फरक भुगोल्, फरक चलन्, फरक कानुन सबै कुरामा फरकपना । युरोपियन मुलुक्, अमेरिकन मुलुक्, अस्ट्रेलिया लगायत अन्य धेरै देश हरुमा अङ्ग्रेजि भासाले काम चलाउन सकिन्छ, जुन त्यहा पुग्ने हर कोहिले बोल्न बुझ्न सक्छन ।
मिडिल इस्ट तिर प्राय भारतियहरु धेरै हुने हुँदा थोर बहुत हिन्दि भासाले गुजारा चल्छ पनि तर जापान त्यस्तो देश हो, जहा उनिहरु कै आफ्नै नेटिभ ल्याङ्वेज बुझ्न सकिएन भने, न त यहा काम नै भन्ना साथ पाइन्छ न त दैनिक गुजारा चलाउन नै सहज । तिन-तिन ओटा लिपिमा रहेको यहाको भासा विश्वकै बहुतै कठिन मध्यको एक हो ।
१० बर्स देखि बसोबास गर्ने मानिसले समेत राम्रोसँग भनेको बुझ्दैनन यहाको भासा, बोल्न र लेख्न त झन कठिन देखिन्छ ।
'वर्ल्ड इकोनोमिक फोरम' ले तयार गरेको प्रतिबेदन अनुसार जापान बिश्व कै तेस्रो धेरै कुल ग्राहस्थ उत्पादन भएको धनि राष्ट्र हो । औसत तलब ४७,१०० आमेरिकन डलर प्रति बर्ष उसले दिने गरेको देखाइएको छ । जुन बिश्वको उच्च तलब दिने राष्ट्र (जहा नेपालिहरुको पुग्ने पहुच तुलनात्मक रुपमा केहि सहज) छ । संसारमै महङ्गिको प्रभाव यसरि बिकराल बन्दै छ कि, सो बाट जापानले समेत आफुलाइ अछुतो राख्न सकेको छैन ।
जति सुकै धनि, इण्टेलिजेन्समा अब्बल कहलिएता पनि जापानमा लैङ्गिकताका आधारमा ज्यालामा अझै बिभेद रहेको छ । पुरुसको औसत आय भन्दा महिलाको झण्डै २० प्रतिसत कम रहेको देखिन्छ । यहि पाँच बर्ष अघि र अहिलेलाइ तुलना गरेर हेर्ने हो भने डाटामा जस्तोसुकै फिगर देखिएता पनि वास्तबमा बजार भाउ सतप्रतिसत भन्दा माथिल्लो डिग्रिमा उकालो लागेको देखिन्छ । जसको असर सबै सेक्टरमा परेको भएता पनि खास गरि बिदेशि विद्यार्थी, आश्रित भिसा स्टाटस भएका, कुक भिसामा रहेका, न्युन ज्यालारेट भएका श्रमिक यसबाट सबै भन्दा बढि प्रभावित भएका छन ।
'कामदार अभावले यति ओटा कम्पनि बन्दै भैसक्यो, यत्ति बन्द हुने अवस्थामा पुगे, कामदारलाइ यस्तो उस्तो सुबिधा थपिए' जस्ता केहि प्रतिनिधिमुलक समाचार सुनेपनि समग्रमा हेर्दा यो बकम्फुसे समाचार मात्र हुन आउँछ । हकिकतमा यहाँ, जहा पनि पहिलो कुरा भासा कुन लेभलको छ भन्ने प्रश्न नै प्रमुख कारक बन्छ, भने दोस्रोमा भिसा स्टाटस । फलानो भिसाकोलाइ काम हुन्नु भन्ने उत्तर धेरै ठाउँमा कामगर्ने मान्छे चाहिएपनि पाउने जवाफ हो । अझ आज भोलि त अध्यागमनले तोकिदिएको काम गर्न पाउने अधिकतम सिमा प्रति हप्ता २८ घण्टा समेत काम गर्न पाइदैन सबैले ।
अनेक अनेक बिमा प्रणालिमा सहभागि भईएन भने १९ घण्टा भन्दा बढि काम गर्न नपाइने। धेरै ठाउमा काम लगाइदिने ह्युमान रिसोर्सेज कम्पनिहरुले आफ्नै नियम बनाएको हुन्छन । जुन प्रति हप्ताको १९ घण्टाको काम र सो बाट आउने कमाइबाट खान बस्न समेत सक्ने अवस्था रहन्न भने पढाइ खर्च कसरि जुटाउनु ? जसले गर्दा नब आगन्तुक विद्यार्थीहरुको जिवनयापन अवस्थामा झन झन बिकराल बन्दै गएको देखिन्छ ।
यो पाँच वर्षलाई तुलना गर्ने हो भने, खाद्यान्नको मुल्य झण्डै दुईगुणा बढेको छ भने ज्याला जति थियो करिब करिब उस्तै नै छ । अझ विद्यार्थी, कुक जस्ता पेशामा नेपालीहरु धेरै आवद्ध जागिरमा लगभग तलब उस्तै नै छ । जति धेरै आप्रवासिहरुको सङ्ख्या बढ्यो, उत्ति नै समस्या बढ्दै जान्छ, अनि आफुले तोकिदिएको ज्यालामा काम गर्ने भए गर नत्र म अर्कै राख्छु भन्ने बार्गेनिङ पावर बढिरहेको हुन्छ कम्पनि अनि ह्युमान रिसोर्सेज कम्पनिहरुको ।
बल्ल बल्ल मुस्किलले पाएको काम्, नगरि पनि नहुने भनेर जति मानसिक टर्चर र शारिरिक रुपमा गार्हो भए तापनि गर्नु पर्ने बाध्यता एकातिर बिद्यमान छँदैछ, दिन रात नभनि, निन्द्रा समेत राम्ररी पुरा गर्न नपाइ डडाल्नो सड्किने गरि काममा जोतिएर महिनौ भरि खट्दा पनि पढाइ शुल्क तिर्न हम्मे हम्मे परिरहेको अवस्था छ । उता नेपालमा हुने नातेदार, आफन्त, साथिभाइ अनि घर परिवारकाहरुले चाहि यताको कमाइको अङ्क मात्र कण्ठ गरेर बसेका हुन्छन । त्यो अङ्क प्राप्त गर्न कत्ति ढाड चस्किने गरि दलिनु पर्छ भन्ने सोच्ने फुर्सद भएपनि सोच नेपाल बस्नेहरु प्राय कसैलाइ हुन्न ।
केहि पहिला जापान आएको कुनै छुल्याहाले गएर गफ लाइदिएको हुन्छ कि, 'घण्टै पिच्छेको पैसा आउछ जापानमा त । यसो पैसा खाचो पर्यो भने फुत्त एक पसलमा गयो २/३ घण्टा काम गर्यो, चार पाच हजार लिएर निस्क्यो । कस्तो आनन्द छ पैसा कमाउन ।' एक जना जापान आउन तयारि अबस्थामा रहेका भाइले मलाइ भन्दै थिए कि, 'जापानमा एक येनमा सीम र मोबाइल दुबै पाइन्छ रे अनि महिनाको शुल्क मात्र तिर्दा हुन्छ अरे, जापानको सबै ठाउमा वाइफाइ फ्रि जोन हुन्छ अरे । पैसा खाचो पर्यो भने यसो कुनै पसल वा कम्पनिमा गएर दुइ चार घण्टा काम गर्यो, तुरन्तै पैसा लियो अनि फर्कियो, त्यस्तो सिस्टम पो छ रे त !'
घण्टाको १२ सय माथि नै तलब हुन्छ अनि जति मन लाग्यो त्यत्ति काम गर्ने हो । महिनाको कम्तिमा पनि तिन लाख त तिमिहरु पुग्ना साथ कमाइहाल्छौ । एउटा काम कलेजले जाना साथ लगाइदिहाल्छ । अर्को काम त्यहिका सिनियरहरुले ह्याण्डक्यास काम लगाइदिन्छन । दुइ ओटा २८ २८ घण्टा मात्रै काम गर्यौ भने पनि साढे दुइ लाख त तिमिहरुले पुग्नासाथ कमाइहल्छौ मसहनाका भन्ने जस्ता अपुर्ण जानकारी जापान आउने तयारीमा रहेका विद्यार्थीहरुलाई कन्सल्टेन्सिका धुर्त परामर्शदाताले सुनाइदिएका रहेछन ।
सबै सुनेपछि मैले त्यत्ति सहज हुन्न है भाइ जापान्, यहा तिमिहरुलाइ कन्सल्टेन्सिहरुले मनको लड्डु घ्यु सङ्ग खुवाइरहेका छन । त्यो हकिकतमा मिल्दैन यहा । धेरै गार्हो छ भनेर सुझाव दिएको, उसले उल्टै प्रगति गर्न लाग्यो भनेर इर्स्या गरेको भनेर मै सङ्ग रिसाएर तर्कियो । अहिले जापान आएपछि भने पुर्पुरो समातेर बसिरहेको छु भन्दै थिए ।
टुसुक्क बस्न समेत नपाइ निन्द्रा थकाइ केहि नभनि रात दिन घोटिदा बडो मुस्किलले किस्ताबन्दिमा निकालेको मोबाइल्, त्यो मोबाइलबाट खिचेको केहि सेकेण्डको टिकटक भिडियो अनि महिना दिनमा बढो मुस्किलले जुटाइएको केहि घण्टाको घुमफिरको तस्बिरले नेपाल तिर रहेकाहरुले मुल्याङ्कन गरेका हुन्छन यता बस्नेको स्तर ।
अर्का तिर नेपालमा हुनेहरुले चाहि साथि भाइ देखि घर परिवार्, इस्टमित्र देखि नाता-कुटुम्ब सम्मले पैसा कै बोटमा चढेर टिपिरहेको झै गरि पैसा देखि यावत सामाग्रिको 'डिमाण्ड लिस्ट' पठाइरहेका हुन्छन ।
कसैलाई पैसा, साथिभाइलाइ मोबाइल, दिदि बहिनिलाइ स्कुटर्, आफन्त नातेदारलाइ क्यामेरा, कुनै लाइ के, कुनै लाइ के !
डिमाण्ड लिस्टमा उल्लेख भएको सबै बुँदा पुर्ण रुपमा पुर्ति गर्न सकियो भने सबैको प्यारो, नत्र भने ओठ लेप्राइसकेका हुन्छन । अझ भनौं बोलचाल बन्दकै अवस्था आउँछ । आमा बा बाहेकले यहा कसरि जिउदै छ भन्ने प्रश्न मनमा खासै कहिल्यै लिदैनन । उता नेपालबाट आउदाको ऋणको सावा ब्याजको कथा अलग्गै छ । नेपालबाट जापान आउँदा त्यो ऋण जुटाउन जसले एकसुका सहयोग गरेको हुँदैन उसैबाट धेरै उपहार र नगदको डिमाण्ड आएमा अचम्म नमाने हुन्छ ।
अपवादलाइ छोडेर हेर्ने हो भने, जापानका सेम्पाइ (बरिष्ठ)हरुको मनस्थिति पनि ठ्याक्कै गाडि चालकहरुको जस्तो हुन्छ । खलासि हुँदा ताका आफु जसरि हेपिएर दुःख पाएको थियो, उ चालक हुना साथ आफ्नो सहचालकलाई आफैले पुर्ववत रुपमा जस्तो भोगेर आएको थियो, त्यस्तै ब्यबहार गर्न खोज्छ वा गरिरहेका हुन्छन् । हो ठ्याक्कै सेम्पाइहरुले पनि भासा कम हुने नब आगन्तुकहरुबाट केहि न केहि लाभ उठाउन खोजेकै हुन्छन । दिन भरि पढाइ, सकिना साथ सुक्खा पाउरोटि चपाउदै साइकलको पेलाइमा सेम्पाइबाट बढो मुस्किलले बकस गराइदिएको काममा हत्तारिदै पुग्नु, त्यो सकिना साथ रातभरि निन्द्रा माया मारेर काममा जोतिएर हाइ काड्दै, कोठामा पुग्नासाथ पुन पढ्न पुग्नु, क्लासमा बस्दा पढाइ तिर भन्दा बढि निन्द्राले झुप्प झुप्प बनाइ रहँदा बेक्कारमा किन जापान आएछु म भन्ने मनस्थिति हर-कोहिमा कुनै न कुनै पल आएकै हुन्छ ।
यसरि रात दिन नभनि जोतिएर एकैछिन रेष्ट गर्नु पर्यो भनि कोठामा पुग्दा अनेक अनेक शिर्षकमा तिर्नु पर्ने बिलको लम्बेतान रसिद आफु भन्दा अघि आइपुगिसकेको हुन्छ ।
जापान आउने नब आगन्तुक भाइबहिनिहरुले आउना साथ सुरुमै ठुलो सपनालाइ हकिकतमा पुरा गर्छु त्यो पनि चाडै भन्ने मनमा नलिनुहोला । आमाले बनाउनु भएको खाना खाएर थाल मै चुठ्ने, दिदि बहिनिले धोइदिएको लुगा लगाएर वरको सिन्को पर नसारेका, सुकुमार-सुकुमारिहरुलाइ सुरुवाति दिन बहुतै गार्हो हुन्छ जापानमा । यहा हुने चिनेजानेका मानिसहरुको केहि सेकेण्डको टिकटकको रमाइलो पल्, फेसबुक लाइभ हेरेर म पनि पुग्ना साथ त्यस्तै उन्नति प्रगति गर्छु भनेर योजना नबनाउनु होला । त्यो आएको केहिबर्षसम्म कसैगरि सम्भव हुन्न । बहुतै संघर्ष गरेका हुन्छन उनिहरुले जो यहा सहज जिवनयापन गरिरहेका छन । नेपालका कन्सल्टेन्सिहरुले आय मात्रै जानकारि गरिदिन्छ्न अझ त्यो रकमको अङ्कलाइ थप हाइलाइट गरि गरि । ब्यय अर्थात् खर्च कति हुन्छ कहिल्यै भन्दैनन वा भनेपनि वास्तविकता नभनी कम भन्छन् । अझ भनौं कमाई धेरै भन्छन् खर्च कम भन्छन्, सबै कन्सल्टेन्सि हरुलाइ भन्न खोजेको होइन । एकाध राम्रा सुझाव दिने खालका पनि छन। तर अधिकाशं कन्सल्टेन्सि यथार्थ कुरा दिने विषयमा दोषी पाईन्छन् ।
उदाहरणको लागि एउटा विद्यार्थीले नियमत जम्मा २८ घण्टा काम गर्दा कमाउने भनेको उहि १ लाख २० हजार जापानी येन १२ मान औसत हो । उसले त्यहि रकममा सामाजिक बिमा, सिटि ट्याक्स, आयको कर कट्टि, कोठा भाडा, ग्याँस, बिजुलि, पानि, फोहोर्, ट्रेन भाडा, खाना खर्च, खाजा खर्च, मोबाइल खर्च, इन्टरनेट खर्च, कलेज फि, बिरामी भए उपचार तथा अन्य पकेट खर्च लगायत शिर्षकमा के कति खर्च हुन्छ होला भन्ने कुराको जानकारि विद्यार्थी भाइ बहिनिहरुलाइ कसल्टेन्सि संचालक वा त्यहाँका कर्मचारीहरुले पुर्ववत रुपमा सुचना नदिनु भनेको पनि गलत सुचना दिनु सरहको गुनाह मानिन्छ । जुन नेपालका ९९ प्रतिशत कन्सल्टेन्सिहरुले गरिरहेका छन् ।
सत्रु समेत सामान्य बोल्नसक्ने भाषा नभई जापान नआओस् यहि भन्छन् जापान आइपुग्ने ९९ प्रतिशत विद्यार्थी वा अन्य भिषाका नेपालीहरु । किनभने जापान लामो समय बस्ने गरि आएका अधिकाशं नेपालीहरु सामान्य बोल्नसक्ने भाषा पनि नभनाई आउने गरिरहेका छन् । जापान भाषागत ज्ञान बिना आउनु भनेको दुःखको पोखरिमा हाम फाल्नु सरह हो । जापानी भाषामा कमसेकम सामान्य कुराहरु बुझ्ने र आफुले भन्न खोजेको कुराको छेउ टुप्पो कहि न कहि छुने गरि सङ्केत र टुटेफुटेको तालमा भए पनि आफ्नो कुरा बुझाइन सक्ने हैसियत छैन भने सोचेको भन्दा धेरै दुख पाइन्छ । यतिकुरा बुझाउन सक्ने र नसक्नेले पाउने रोजगार र कमाईमा धेरै भिन्नता पर्नजान्छ ।
भासा न्युनतम 'एन ४ लेभल' नबनाइ आउनु भनेको जानाजान दुःख भोग्न आउनु हो । किनकि जापानमा सामान्यतया जापानी बाहेक अँग्रेजी वा अन्य जुनसुकै भाषा राम्रो भएपनि निश्चित क्षेत्र बाहेक अन्यत्र काम गर्दैन । अविभावकहरुले पनि तल्ला गाउको टिम्बुरबोटे भुर्तेल काकाको छोरोले ६ महिनामा सबै ऋण तिरिसकेर थप पैसा पठाइसक्यो रे । माथ्ला गाउको भडारिकि छोरिले त्यत्रो प्रगति गरिसकि एक बर्षमा जस्ता कुरा गरेर अरु सङ्ग तुलना गरि जापान आएका विद्यार्थीहरुलाई एक बर्ष नपुग्दै कमाइ माग्न थाल्नु भनेको सिधा टर्चर दिनु र फ्रस्टेशनमा लैजानु हो । जापान आएका नेपाली विद्यार्थीहरुको बर्षदिन भित्रमा जेजति ज्यान जाने खालका दुर्घटना वा अस्वस्थता भएका छन् अधिकांशको कारण कमाई र बाँकी प्रेम वा पारिवारिक अविश्वास जस्ता कारणले सिर्जना भएका छन् ।
भर्खरै जुङ्गाको रेकि बस्दै गरेका अल्लारे उमेरका किशोर युवाहरु जसले नागरिकता र पासपोर्ट सङ्ग सङ्गै जसो निकालेका हुन्छन्, जापान टेकेको २४ घण्टामा सपनाको जापान र वास्तविकताको जापानमा लाखौं अन्तर पाउँछन् । अनि जापान हुनेहरुले पनि आउन चाहने भाइबहिनिहरुलाइ ठुलो महत्वकांक्षा लिने भन्दा पनि भाषाको ज्ञान्, व्यवहारिक कठिनाइ अनि यहाको चुनौतिहरु उजागार गरिदिएमा नेपालबाट विद्यार्थी मात्र निर्यात गराउने कन्सल्टेन्सिहरु सच्चिन सहयोग पुग्नेथियो । कन्सल्टेन्सिहरुले केवल सहि सत्य र यहाको वास्तबिक कठिनाइ बताइदिएमा पनि गलत कुरा सुनेरै यहा उच्च सपना बुनेर आउने हालको सङ्ख्यामा आधा कमि हुने देखिन्छ ।
जापान बिश्वकै तेस्रो धनि राष्ट्र, हजारौ अर्बपतिहरु भएको देश हो । लाखौ लाख उद्योग कलकारखानाहरु भएको, बिश्वको सबै भन्दा धेरै तलबमान दिने राष्ट्रहरुमा २५ औं स्थानमा पर्ने देश हो भनेर चिनिन्छ । जुन नब आगन्तुक विद्यार्थीहरुका लागि कम्तिमा तीन बर्ष 'ल्हासामा सुन छ कान मेरो बुच्चै' झै सिद्द हुन्छ ।
अर्को अर्थमा भन्नु पर्दा झट्ट बाहिरबाट हेर्दा यहा पैसा कै रुख देखिएता पनि यहा रहेका विद्यार्थीहरुका लागि त्यो कागलाइ बेल पाक्यो, हर्स न बिस्मात भने झै भएको छ ।
जापान आउनै हुन्न भन्ने होइन । यहा मेहनत र धैर्य गर्नेका लागि सम्भावनाका द्वारहरु प्रसस्तै खुल्दै जान्छ तर जसरि नेपालका कन्सल्टेन्सिहरुले सुन कै रुखमा चढ्न जादैछौ भन्ने आशयले भर्खरै १२ पास गरेका अल्लारेहरुलाइ गलत र अपुर्ण जानकारि दिदै जापान पठाउँदै आएका छन, त्यसमा पुर्ण सत्यता छैन ।
यहाँ आएर दुःख पाउनु भन्दा अघि गर्नु पर्ने मानसिक रुपमा तयार रहन सकुन, भविष्य बनाउने धैर्यता अनि खट्न सक्छु भनेर मानसिक रुपमा पुर्ण तयार भएर आउदा यहा अवसरहरु पक्कै नभएको होइन तर जापान उनिहरुले हौस्याइदिएको जस्तो सहज भने छँदैछैन । त्यो अबोध जोशका निर्दोश मनहरुलाई आवश्यकता भन्दा बढि सपना देखाइदिएर असुल्ने कमिशन बन्द गर्न सम्बन्धित सरोकारवाला कन्सल्टेन्सिहरुलाई अनुरोध गर्दछु ।