देशको मेरुदण्ड भनेको नै युवाशक्ति हो, अर्थात युवाशक्ति देश निर्माणको मेरुदण्ड हो । यति हुँदाहुँदै पनि दिन प्रतिदिन युवाहरूलाई आर्थिक, पारिवारिक र राजनैतिक अस्थिरताले देशबाट धकेलिइँदै छ ।
आजको समयमा युवाहरु १८ बर्ष पार नहुँदै १२ कक्षा सकेर पढ्ने, हास्ने, खेल्ने उमेरमा आफ्नो पसिना बेच्न विदेशिएको पाइन्छ । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा विदेशिनेको लर्को हेर्ने हो भने अधिकाशं युवा जनशक्ति धेरै देख्न सकिन्छ ।
आज भोलि १२ कक्षा सकिए पछि लोक सेवा तयारी, देशमा केहि गर्छु भन्ने युवा जमात आज भोलि सबै काठमाडौंको बाघ बजार, पुतलि सडक र बानेश्वर तिरको कन्सल्टेन्सीमा देखिन्छन ।
साथिको लह लहैमा भनौ या त आफ्नै खुशिले मानिसहरु सकि नसकि लाखौंको ऋण बोकेर जापान, अमेरिका, युरोप, अष्ट्रेलिया जाने तर्खर गर्छन । हिजो आज जापानमा विद्यार्थी भिषामा सहज बनाइएको छ । अनि भर्खरका कलिला विद्यार्थीहरु ऋण काँधमा बोकेर हजारौं सपनाहरू सजाएर जापान जान लाम लागेका छन् ।
झुठो आश्वासन दिलाउँदै जापान पठाउने एजेन्सिहरुको पनि ठुलै भिड छ ।
म प्रमोद गिरी हाल जापानको हिरोशिमामा बस्दै आएको छु । नेपाल हुदा सानो तिनो काम गरेर खर्च चलाएको थिएं, धेरै कमाउने सोच बोकेर साथी सरहको बन्न खोज्दा २१ बर्षको उमेर मा २१ लाखको ऋण थाप्लोमा बोकेर जापान आईपुगें ।
नेपाल हुँदा कन्सल्टेन्सीले भनेको जस्तै होला, नेपाल बसेर केहि गर्न सकिएन, अब जापान गएर केहि गर्छु भन्ने सोच बुनेर आएको म, कास नेपालवाट सोचेको जस्तो हुन्थ्यो त जापान ।
कन्सल्टेन्सीको झुठो आश्वासन बोकेर जापान आईपुगे अनि यथार्थमा धेरै फरक पाएँ ।
जापान आउने मानिसहरू सबैलाई अनेक थरिको आश्वासनहरु दिईएको हुन्छ । विद्यार्थीहरु पठाएर आफ्नो आर्थिक आम्दानी मात्र हेर्न एजेन्सी या सोझो भाषामा भन्दा दलाल भएपछि सोचेको एउटा र यथार्थमा अनेक हुँदो रहेका जिन्दगीमा ।
नेपालमा कन्सल्टेन्सीले दिएका झुठा आश्वासन जसले गर्दा जापान आइपुगे पछि तनाव, पिडा अनि दर्दमा आफुले आफुलाई डसेर संघर्ष गर्न बाध्य हुने गरेका छन् नेपाली विद्यार्थी । जसको फलस्वरूप कलेज र कामको दौरानले खानपिन अनि सुत्ने समय नहुनु, भोकभोकै हिंड्नु पर्ने विवशता, जति नै परिश्रम गरे पनि उपलब्धि नहुनु, काममा पनि अनावश्यक तनाव लिनु पर्ने, आफ्नो मनमा लागेका कुराहरू राख्न नसक्नु (किनकी भाषाको समस्या हुनु) अधिकांश रेस्टुरेन्टहरुले विद्यार्थीहरुलाई काम लगाउने अनि तोकिएको पारीश्रमिक नदिनु जस्ता समस्या आम विद्यार्थीहरुले भोग्ने पिडा हुन् ।
जसले गर्दा सुन्दर सपना सजाएर जापान आईपुगेका युवाको घाउमा नुनचुक मिसाए जस्तो हुन्छ ।
आफ्नो भन्ने मान्छे कोहि हुन्न, आफ्नाहरु आफ्ना जस्ता हुँदैनन् सबै आ आफ्नै सुरमा । आफ्नै कोठामा संगै बस्ने साथी बिमारी हुदा पनि अर्को साथीले हेर्दैन वा हेर्न चाहेर पनि आफ्नै परिस्थितिले उसले सहयोग गर्न सक्दैन । साँच्चै परदेश भनेको परको देशनै हो रहेछ ।
नेपाल हुँदा आफ्नो मात्र नभई आफ्नो परिवारको सपना बोकेर आएको थिएँ, घरमा लाखौको ऋण छ । खै कसरि तिर्ने हो ? न काम छ, न काम खोजि दिने कोहि छ ।
न आफैं काम खोज्न जान भाषा राम्रो छ, कलिलो उमेर धेरै सोच्न नै नसकिने रहेछ । यहाको विद्युतको बिल, फोनको बिल, पानीको बिल, ग्यासको बिल, ईन्सुरेन्सको बिल खै के के को के के ।
सबैको पैसा तिर्नै पर्ने, एउटा भन्दा काम गर्न नियमले नमिल्ने, एउटा काम गर्दा यतैको खर्च नपुग्ने । घरमा पैसाको लागि बिहान ढोका नखुल्दै मान्छे लिन आउछन भन्ने खवर आउँछ ।
खै जिन्दगी कतै सुन्दर देखिएन, नेपाल हुँदा कहिल्यै नछोएको मान्छे जाँड र रक्सिको सहारा लिन पुगें, केहि राहात होला भन्ने भ्रममा । नसामा हुँदा केहि टेन्सन न होला भनेर, समस्याको समाधान नपाए पछि चारै तिर अन्धकार मात्र देखिन्छ ।
अनि सोचिंदो रहेछ अन्तिम बिकल्प भनेको आत्महत्या मात्र हो । धेरैले संघर्षले थकित रहँदा आएको गलत यो सोचलाई चिर्न नसक्दा जापानमा दुःखद खवरहरु समेत सुन्नु परिरहेको छ ।
म मात्र हैन जापान आउने मानिसले कयौंलै भोग्नु परेको यो दुःख अनेक छन् । काम लगाई दिन्छु भनेर केटि मान्छेहरुलाई आधा रातमा होटेल र समुन्द्र किनारमा लैजाने पनि नेपालि नै छन यहाँ । उनिहरुको सोच र नियत यहाँ भनिरहन नपर्ला । जापान सोचे भन्दा धेरै फरक छ ।
हाम्रो नेपाली मानसिकतामा नेपालीहरुको पारिवारिक परिस्थिति रहर बाध्यता लगायतका कुराहरुले पढाईको उदेश्य देखाएर आए पनि अध्ययनमा एकत्रित हुन सकिरहेका हुदैनौं, जसले जापान बसाइको धेरै कुरामा प्रत्यक्ष अप्रत्यक्ष असर गरिरहेको हुन्छ । जस्तै जापान टेक्न नपाउदै पीआर कसरि लिने भिषा कसरि परिबर्तन गर्ने के गर्दा पढ्नु पर्दैन भन्ने जस्ता छोटो तथा असुरक्षित बाटो रोज्न खोज्दा समस्या बढदो छ । मेरो अहिलेसम्मको अनुभवले भन्छ, यस्तो बन्द गरौं र भाषा अध्ययनमा बिशेष ध्यान दिऔं ।
नेपालबाट आउने हरेक नेपालीलाई मेरो एउटै सुझाव अरुको कुराको पछाडि लागेर आउनु पुर्व, एक पट्क जापानको यथार्थता बारे कम्तिमा जापानमै भएकाहरुसँग बुजेर आउनु होला । होईन भने सबैको लागि जापान जापान जस्तो देश नहुन सक्छ । सक्नेले कडा मिहिनेत गर्छ, आफ्नो जीवन सरल, सहज बनाउछ । नसक्नेले एकपटक सोचेर, बुझेर, तयारी गरेर नआएमा दुख मात्र खेप्नुपर्ने हुनसक्छ ।