(Japan) 26 th August | 2026 | Wednesday | 2:26:23 PM || (Nepal) 11:11:23 AM
 
 


'केही थान सुखका लागि मैंले जवानी अनि प्रियसीको साथ र आमाको काख बेचेको छु'

प्रभुराम बराल   POSTED ON : Monday, 27 March, 2023 | Views : 5776

'केही थान सुखका लागि मैंले जवानी अनि प्रियसीको साथ र आमाको काख बेचेको छु'


परदेशिने बाध्यता भनौ या रहर, दुइ छाक खान नपुगेको पनि हैन । मनमा उत्पन्न हुने हजारौँ चाहना अनि सपनाले आज लखेटिएको शरणार्थी जस्तै सुखका दिनको खोजिमा भौतारिदै विदेशी भुमिमा दिनहरु बिताइरहेको छु ।

मध्यम बर्गीय परिवारमा जन्म लिनु पनि एक अविशाप जस्तै लाग्छ मलाइ त, कुवाको भ्यागुतो सँधै कुवा भित्रै जति उफ्रिए पनि आखिर उसको संसार त्यहि कुवा नै हो । नत देशमा बसेर नै आफ्नो स्तर उकास्न सकिन्छ, परिस्थिति अनि उस्तै छ पन्ध्र बिस हजारको जागिर खान पनि दुनियालाई भनसुन गर्न पर्ने, हुनेखानेहरुको झोले बनेर हिड्न पर्ने चाहे आफु सक्षम अनि अव्वल नै किन नहोस् ।

देशको घिन लाग्दो राजनीति अनि अहिलेको परिवेशलाई हेर्यो भने त नेपाल फर्किन्न जस्तै लाग्छ । तर, ति बाल्यकाल अनि त्यो समयमा बिताएका समयहरुले सपनीमा चिच्याइ चिच्याइ पराइ बन्नै दिदैनन् ।

आफ्नो देशलाइ छाडेर खुसिको खोजिमा जापानको यात्रा तय गरेको पनि चार बर्ष बितिसकेछ । परिस्थिति उस्तै छन, भोगाइ उस्तै छन, दैनिकीहरु अनि नैरास्यतापन् । सोचाइ अनि भोगाइ बिचको फरक आकास जमिनको हुदो रहेछ । गाह्रो हुने भनेको त गएको एक दुइ बर्ष न हो संघर्ष गर्छु, जति नै गार्हो भए पनि डटेर सामना गर्छु सोचेको थिए तर अह एक दुइ बर्ष त के एक दुइ शताब्दी बिताए पनि दैनिकी उस्तै हुने रैछ।

हामी बिलासी जीवन नै नबिताए पनि आरामले दुइ छाक खाएर आफ्नो तवरले जीवनयापन गरेका मान्छे यो भागदौड अनि भीडभाडलाई मैले कहिल्यै नियाल्नै सकिन । काममा जादा यसो आखाँ डुलाएर स्टेशन तिर हेर्छु, त्यो दृश्यलाई आहाराको खोजिमा भौतारिरहेको कमिलाको भिडसंग तुलना गर्न पुग्छु । ठेस लागेर कोही लडिहाल्यो भने पनि त्ँ ठिक छस नि भनेर सोध्नु त परै जावस मरोस कि बाचोस उसको छेउ नि पर्दैन यहाँका मान्छेहरु ।

मायाले सुम्सुम्याउदै मेरो छोरो कति राम्रो, मेरो भाइ कति राम्रो,  मेरो भान्जो कति राम्रो आदि इत्यादि आफुलाई माया गर्ने मान्छेबाट सुनेका ती शब्दहरु त्यतिबेला अबिशाप जस्तै लाग्छन जब आफु बसेको छेउको मान्छे आखाँ तर्दै उठेर हिनिदिन्छ् । कयौँ भेदभाव अमानवीय व्यवहार भित्रका भोगाइहरुले नेपालको मायालाई अझ प्रगाढ बनाएर चाँडै आफ्नो मातृभुमिमा फर्किन प्रेरित गराउछ् ।

तुलनात्मक रुपले हेरिने दृष्टिहरुले पनि जीन्दगीमा धेरै पीडाको बोध गराउने रहेछ् । म खाडिमा छु त्ँ त जापानमा छस, कमाइ त धेरै राम्रो होला है ? यस्ता प्रश्नहरुले त झन आफैलाई उत्तर विहीन अनि मौन बनाइदिन्छन ।

मान्छेहरु मासिक आम्दनीलाई मात्रै हेरेर हातका औला भाचिरहेका हुन्छन, यो सोच्दैनन कि कलिलो उमेरमा १५/२० लाख ऋणको भार, कलेज फि अनि आफ्ना मान्छेहरुको माग । बोझको बोध जब महसुस हुन्छ तव आफ्नो अगाडि दुःखका बाटा बाहेक केहि देखिँदैनन् ।

जिवनको कालखण्डमा पीडादायी भोगाइहरु, जिवनमा थप जोडिदै जाने अनि छोडिदै जाने सम्बन्धहरु, लाखौं कोसिस गर्दा पनि आफ्नोपन दिलाउन नसकेका भावहरु, अधुरा कहानी,  अपुरा चाहना अनि केही मधुरा यादहरुले नै जिवनको वास्तविक अर्थ बताइदिदा रहेछन् ।

मैले मेरो जवानी बेचेको छु,  पृयसीको साथ अनि आमाको न्यानो काख । बाकिँ जीवन तिमिसंगै बिताउछु भनेर अग्निलाइ साक्षी राखेर ल्याएकी मेरी उनीसंग बर्षौ सम्म टाढिएर बस्न बाध्य छु ।

दोष न त अरुलाइ नै दिन्छु न त आफैलाइ नै, दोषी त परिस्थिति थियो,  समय थियो अनि देशको अवस्था । उस्तै छन म जस्ता लाखौँ युवाहरुको पीडा, खुसीको खोजिमा केही कमाउने सपना बोकेर घर छोडेर हिँडेका हामी युवा घर फर्किने सपना साचेर बाचिरहेका छौ ।

तिम्रा हरेक सपनाहरु साकार पार्न सकुँ, सारा खुसिहरु तिम्रो पोल्टोमा राखिदिन सकुँ । चाडै फर्किएर तिम्रो आखाँको वरिपरि एउटा खुसी अनि सुखी संसार बिताउने संकल्प गर्दछु आमा ।

...

प्रभुराम बराल 

सुनकोशी ४, ओखलढुङ्गा नेपाल

हाल :  खानागावा, जापान