मिन्नासान, कोन्निचिवा !
यस लेखमा हाम्रो स्वभावजन्य कुरा र त्यसले पार्न सक्ने मनस्थितिगत प्रभावको चर्चा गरिएको छ ।
सन्दर्भ एक
केही दिन पहिलेको कुरा, नाइट ड्युटी सकेर बिहान ६ बजे तिर ट्रेन स्टेसन आइपुग्दा एउटा अपरिचित नेपाली फोनमा बोल्दै थियो । ट्रेन आउने बेला हुन लागेको थियो । एकनासले बोलिरहेको उ एक्कासी ठूलो स्वरमा बोल्न थाल्यो । सबैले पल्याक पुलुक हेरे । मेरो कानमा एयरपड थियो ।
ट्रेनमा निदाउन सजिलो होस् भनेर म लोरी या त सानो स्वरमा जापानी गित वजाउने गर्थेँ । मैले पनि सुनेँ । उ प्रस्ट बुझिने गरि केही ठेट नेपाली गाली र केही अङ्ग्रेजी गाली मिसाएर बोल्दै थियो । उसले प्रयोग गरेका गालीका शब्दहरु सेन्सर लगाउनु पर्ने खालका थिए । यद्यपि मैले सबै सेन्सर नलगाई सुनेँ । उसको बोलीबाट बुझिन्थ्यो उ कुनै केटीलाई नराम्रो बोलिरहेको छ ।
त्यहाँ यो नेपाली गाली सुन्ने नेपाली म एक्लै थिए । त्यसैले पनि मैले साथीहरु कोहि छन् कि, केही भन्लान् कि भनेर सोच्नु परेन । ट्रेन आयो । उ गाली बोल्दै ट्रेन भित्र पस्यो । यतिबेला उसको बोली घरी मत्थर घरी चर्को बन्दै थियो । म अर्को डब्बामा छिरेँ ।
सन्दर्भ दुइ
बिदाको दिन, खुब मिल्ने साथीहरु छौँ ४ जना । रुममेट र पल्लो रुममा बस्ने २ जना ग्लासमेट । सबैको कुरा मिल्यो : आज रमाइलो गरौं । केही क्यान बियर बोकेर त्यस बेलुका नजिकैको खोला किनारमा गयौं ।
सबैको पास्ट लाइफको र सपनाका कुरा भए । जापानको भोगाइका अफ्ठ्याराहरुलाई हिम्मतको पैतालाले कुल्चेर बढ्ने हिम्मत केही क्यान रित्याइसकेपछि आयो । अब कोठा फर्कियौ । संगै खाना खायौं । एउटा साथी थियो । जसको अहिले संगै पढ्ने कलेजको केटीसंग प्रेम सम्बन्ध थियो । यो सबैलाई थाह भएकै कुरा थियो । खाना खाईसकेर उसले केही क्यान थप्यो । लाग्यो आज उसलाई ठुलै युद्ध लड्नु छ । उसले बाटैबाट सबैलाई उसको कुरा सुन्दिनु पर्ने उर्दि लगाएको थियो ।
अब उ बोल्न थाल्यो, यार साथी , तिमीहरु भनन उसलाई म लास्टै माया गर्छु । उसले वास्तै गर्दिन यार । जति बेलै म्यासेज गर्छु । फुर्सदमा रिप्लाइ गर्छे । फोन गर्छु । एकोहोरो बोल्नु पर्छ । उसले केही वास्तै गर्दिन । भेट्न खोज्छु, मान्दै मान्दिन । (हामी हास्यौ।)
उ बोल्यो : 'एक्लै होइन क्या ! कलेज पछाडीको पार्कमा दिउँसो एकैछिन । कहिल्यै भेट्नै खोज्दिन । कलेजमा मसंगै हुँदा पनि आँखाले कस्लाई खोजिराछ झै डुलाउछे । कहिलेकाहीँ काममा संगै हुदा नि म संग हुनुको फिल नै देखाउदीँन यार । म भने उसलाई घरको बुहारी बनाउने सपना देखिराछु ।'
उ धाराप्रबाह बोलिरहेको छ ।
हरेक बेला उसलाई नै सम्झिराहुन्छु यार कस्सम । बुझ्दै बुझ्दिन । वास्तै गर्दिन । लास्ट दिक्क लाग्छ यार । कस्ता कस्ता घाँस सङ्ग जिस्किराको हुन्छे । म सङ्ग दुई शब्द मन लगाएर खुशी भएर बोल्दिन । भन्छे तँ स्मार्ट भइनस् त टिकटक बनाउँदैनस् । अलिकती बोल्नै परे झनक्क झन्किएर रिस र दोष देखाएर बोलिरहेकी हुन्छे ...'
उसका गुनासा र चिन्ताका यस्ता कुराहरु त्यो रातभरीमा सकिएनन् ।
सन्दर्भ तीन
खाजा के ल्याको छौ त ? सोध्नै पर्दैन है तिमीलाई ! रातीको १२ बजेको 'क्युकेइ' मा मैले उसलाई हेर्दै भने । उ हाँसी मात्र । वर्ष २१, उज्यालो चेहरा । चितवनबाट जापान आएको ४ महिना मात्र भएको छ । 'आज कलेजबाट यतै आउनु पर्यो । खाना खानै पाएन नि दाइ ।' आज उसले काममा आउना साथ यो भनेकी थिइ । आज खाजा चेन्ज भएको छ कि मैले अनुमान लगाएर सोधेको थिएँ । तर उत्तर उसले नदिएरै मैले बुझे आज पनि उसको खाजा एक प्याकेट चाउचाउ रहेछ । उसले ३ महिना काम गर्दा कहिल्यै खाजा चेन्ज गरिन । र चाउचाउ पनि २ प्याकेट ल्याइन ।
'यतिले पुग्छ त रात भर काम गर्न इनर्जी ?' मैले सोधे ।
'मलाइ त पुग्छ दाइ, साथीको पनि नाइट काम छ प्राय यहि चाउचाउ खाएर कलेज जान्छु । यहि बोकेर आउने हो खाजा । यहि मिठो लाग्छ ।'
उसले अर्को कुरा पनि भनेकी थिइ, कि प्रायः समयमै निद्रा नलागेर टिकटक हेर्दै बस्ने कुरा । अनि २, ३ घन्टा मात्र सुती कलेज जाने र काममा आउने कुरा । मलाई डर लाग्यो । मैले उसलाई हेरेर भनेको थिए ।
'माइ लाइफ माइ रुल' उसले यसो चाहिँ भनिन ।
सन्दर्भ चार
हामीले काम गर्ने ठाउँकै नेपाली साथीलाई एउटा जापानिजले जापानीज भाषामा सोध्यो । 'समिर सान, जापान कहिले सम्म बस्ने ?' समिरले पुलुक्क म तिर हेरेर बोल्यो । 'जहिले सम्म जापानले बस्ने भिसा दिन्छ त्यहिले सम्म । है ! ?'
मैले सहमतीको टाउको हल्लाइदिए । सधैं कहिले क्युकेइको बेला कहिले काम सुरुहुनु पहिले त कहिले काम सकेपछी समीर र त्यो जापानीज साथी कुरा गरिरहेको हुन्थे । समिरको जापानीज भाषा राम्रो थियो । त्यसैले उसले सबै कुरा सजिलै बुझाउन सक्थ्यो । समिरले हेर्दा हेर्दै उसलाई फोहोरको थुप्रोको काठमाडौ देखायो । नेपालमा कुनै कम्पनी छैन । मास्टर्स गरे पनि महिनाको २० हजार कमाउन सकिन्न भन्ने बुझायो । गुणस्तर परिक्षण नभएको र केमिकल भएको खाने कुरा खानु पर्छ भन्ने बुझायो ।
नेपालमा हुँदा आफू नेता भएको बुझायो र काम मिलाए बापत पैसा खाएको बुझायो । उसको भाषा राम्रो थियो र उसले यो पनि बुझायो कि हामी सबै नेपाली बिद्यार्थीहरु पढ्न हैन बरु पैसा कमाउन जापान आउने हो ।
उसले यि सबै कुरा किन भनिरहेछ, थाह छैन, मैले के बुझिन । र भने 'नराम्रो त छ । तर सबै नखोलेको भए हुन्थ्यो यार ।' उसले छाती चौडा गरेर बोल्यो 'मैले नभने पनि यिनिहरु नेपाल गएपछि देखिजान्छन् नि !'
मैले अझै बुझिन यो लजिक ।
किन नाङ्गिन हतार हुने हो र हामीलाई आफ्नो अवस्थासङ्ग ?
सन्दर्भ पाच
हरेक बोलीमा 'टुट..' लगाएर बोल्ने एउटा साथी छ । कलेजले खोजेको अपार्टमेन्टमा साथीहरु संग बस्न थालेको एक महिनामै उसले एक दिन छुट्टै 'फ्राइ प्यान' ल्यायो । एउटा थाल ल्यायो । एउटा ग्लास, एक एक वटा चम्चा र काटा ल्यायो । नेपालबाट सङ्गै आएका साथीहरु नै थिए । १ महिनामै उसले यस्तो गर्यो । उ भन्छ, 'यो त मेरो खान्दानी गुण हो । बाउ पनि आमा पनि दाइ पनि दिदी पनि लास्ट रिसाउछन्, म हो बरु कम रिसाउने । बाउआमा त छुट्टिएका छन् । सवै आफ्नो आफ्नो खाने हो । कुनै मु..हरुको मतलब छैन ।' यसो त उसले एक महिना सम्म सबै सँगै घुम्ने फोटा खिच्ने गरिरहेकै थियो । सुनिन्छ, अहिले उसको कसै संग बोलचाल समेत छैन ।
कलेजबाट फर्कदा एक दिन २ जना भयौं । मैले अनुहार तिर हेर्दै बोले 'सुनन, किन रीसाको हो केटाहरुसगं ?'
उसले केही ननभेज वाक्य बोल्दै थियो । मैले जान्ने भएर थपे 'यसरी रिसाउदा आफैलाई गाह्रो हुन्छ । रिस उठाउनेहरुको दोष एउटा पाटो हो । तर रिसाइरहनुमा शतप्रतिशत आफ्नो गल्ती हुन्छ । किनकी रिसले आफैलाई कमजोर वनाउने हो । आफ्नै अनुहारको उज्यालो खाइदिने हो । आफ्नै मनमा गाठो कसिदिने हो । किन आफैलाई गाह्रो बनाउने । फर्गिभ एन्ड फर्गट देम । बाहिर राम्रो सम्बन्ध बनाउ । तिनीहरुलाई देखेर मनमा कुनै भाव नआवोस् ।'
उ ट्वा परेर सुन्यो । मैले भन्न खोजेको के थियो, कति बुझ्यो उ जानोस् । अन्ततः केही 'प्योर अङ्ग्रेजी' मिसाएर बोल्यो । 'माइ लाइफ माइ रुल ।' कुनै मु...ले सिकाउनु पर्दैन !' उसले भुइमा हेरेर अनुहार अँध्यारो बनायो । 'तिनीहरुसंग त जिन्दगीमा बोल्दिन । मेरो आफ्नै बाउ आमा संग त महिनौं बोलचाल हुन्न । रिस उठाए भने । ती नभए नि मेरो जिन्दगी चल्छ ।'
रुम पुग्न अलिकती बाटो बाँकी थियो । 'सुनन, म कोम्बिनी निस्कनु छ । यताबाट गए है ।' मैले उसको अध्यारो अनुहारको बाटो जान सकिन । उ केही नबोली गयो ।
...
यस्ता सन्दर्भ कयौं छन् । कति नयाँ सन्दर्भ तपाइले देख्नु भोग्नु भएको पनि छ । यो सबैलाई समेट्दा के हामी मनस्थितीगत सन्तुलनमा छौँ ? कि हामी हाम्रा कमजोरीहरुद्वारा निर्देशीत छौँ, भन्ने सोच्न बाध्य बनाउछ । त्यसै पनि नयाँ भूगोल, नयाँ परिवेश नयाँ र कठोर परिश्रमको मैदान हो जापान ।
यहाँ कति धेरै कुरा ख्याल गर्दा गर्दै पनि दुःखद समाचार बनिरहेका मान्छेका समाचारहरु हामीले मासिक सुनिरहेका हुन्छौं । अनि हामी के गरिरहेका छौ ? कि 'माइ लाइफ माइ रुल'को अर्थ 'माइ रिस, माइ घमन्ड माइ पारा', म मरुँ कि बाँचु, अरु बाँचोस् कि मरोस् 'खान्केनाइ' हो र ?"
किन हामी आफ्नै भावनात्मक कमजोरीलाई आफ्नो शक्ति मानेर पुजा गरिरहेका छौँ ।
किन जो जरुर छैन 'अहंकार' आइ रहेको छ हाम्रो हरेक बोलीमा ? किन 'टेम्पोररी' मान्छेहरु संग मस्किन र नजिकको सर्कलको आफन्तहरु संग झर्कन मन लाग्छ ?
किन नराम्रो कुरा देखाउन सुनाउन बुझाउन र चर्चा गर्न जागर लाग्छ ? कोहि बाटोमा भेटिएको मान्छेले वास्ता गरेन भनेर झोक्राइरहन र मुड अफ हुन के ले प्रेरित गरिरहेको छ ?
किन जापानी पोर्टलको न्युजमा नआउने गरि के खाने, कती सुत्ने कसरी सोच्ने, बाच्ने भन्ने कुरामा हाम्रो शक्ति खर्च हुन्न ?
मुख्य कुरा, श्वास प्रत्येक सेकेन्डमा रिन्यु हुन्छ । खाना, पानी प्रत्येक ४र५ घन्टामा । तर रिस, घमन्ड र अहंकार ???
के यो जिन्दगीभर साथैमा बोकेर हिड्दा सबैलाई देखाउदैर बाढ्दै हिड्दा जिन्दगी उज्यालो हुने हो ? बिलकुल होइन । यो हाम्रो अनुहारको उज्यालो खाने भाइरस हो ।
त्यसैले
फर्गिभ देम, फर्गट देम ।
थिङ्क पोजेटिभ बी पोजेटिभ
लभ योरसेल्फ फर्स्ट
आत्मदृस्टी
आत्मआलोचना
अनि बल्ल
'माइ लाइफ माइ रुल'
...
उदिप्त, ओसाका जापान